धादिङ बन्दका क्रममा दुईवटा बम विस्फोट

काठमाडौँ : बिनाकारण आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी झूट्टा मुद्दा लागएको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार आह्वान गरेको धादिङ जिल्ला बन्द प्रभावकारी बनेको नेकपाले जनाएको छ । जिल्लाभित्र पर्ने मुख्य राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा एकाध सवारीसाधन चले पनि बाँकी रुटमा सवारीसाधन नचलेको नेकपा धादिङले जनाएको छ ।
बिहानैदेखि जारी बन्द साँझ ५ बजेबाट खुलेको छ । जिल्लाका ग्रामीण क्षेत्रका सडक पूर्ण रूपमा बन्द रहेको र मुख्य राजमार्गमा सुरक्षा गस्ती दिएर केही सवारी चलाएको पाइएको जानकारी नेकपा धादिङले दिएको छ ।
यसैबीच सिद्धलेक गाउँपालिकाको बुङ्चुकस्थित बैरेनीमा दुईवटा बम विस्फोट भएको जानकारी प्राप्त भएको छ । धादिङ संवाददाताका अनुसार बैरेनीस्थित सडकमा राखिएका दुईवटा शक्तिशाली बम सुरक्षाकर्मीले निष्क्रिय पार्ने क्रममा विस्फोट भएको जनाइएको छ । अहिलेसम्म बम राखेको घटनाको जिम्मेवारी कुनै पक्षले लिएको छैन ।
यही बुधबार पार्टीनिकट जनवर्गीय सङ्गठनहरु युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष कुवेर घिमिरे ‘सुरक्षा’, युवा सङ्गठनकै धादिङ जिल्ला अध्यक्ष ईश्वर श्रेष्ठ ‘चट्टान’ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ धादिङका त्रिचन्द्र देवकोटा ‘इच्छुक’ लाई सिद्धलेक गाउँपालिका पुङ्चुङबाट भित्तेलेखन गरिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो ।

हिजो बिही नेकपा धादिङका सेक्रेटरी बुद्धले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना निर्दोष नेता कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेर शान्तिपूर्ण राजनीति गतिविधि गर्न पाउने अधिकारमाथि सरकारे हस्तक्षेप र दमन गरेको भन्दै त्यसलाई रोक्न र गिरफ्तार नेताहरुलाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित आज धादिङ बन्दको घोषणा गरेका थिए ।
सिद्धलेकको कालीदहमा बन्द जारी रहेको समयमा चलाइएका दुईवटा मालवाहक ट्रक बन्दकर्ताले तोडफोड गरेका छन् । पछिल्लो चरणमा सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि जनजागरण तथा शान्तिपूर्ण राजनीतिक अभियान जारी राखिराखेकै बेला पनि निगरानी, हस्तक्षेप र गिरफ्तारी बढाएको छ ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :