‘रक्तमुछेल हात लिएर ह्वाइट हाउस छोड्नु पर्ला !’

अहिले विश्वको राजनीति दक्षिण अमेरिकी देश भेनेजुएलामा केन्द्रित हुन पुगेको छ । गत २३ जनवरीमा अमेरिकी कठपुतली हुँवा गुएइदोले आफँैले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्वराजनीति ध्रुवीकृत त भएको छ नै, साथसाथै युद्ध र गृहयुद्धसम्मका कुरा पनि आउन थालेका छन् । विश्वका शक्तिराष्ट्र र नयाँ एवम् पुराना साम्राज्यवादीहरू तीव्र रूपमा ध्रुवीकृत भैराखेका छन् ।

दक्षिणअमेरिकामा अवस्थित उत्तरपूर्वमा क्यारेबियन सागर, पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल र पूर्वमा गुयना रहेको भेनेजुएला ९ लाख वर्गकिलोमिटर क्षेत्रफल रहेको र २३ वटा प्रान्तमा बाँडिएको छ । २ करोड ३८ लाख ६० हजार जनसङ्ख्या रहेको उक्त देशमाथि किन अमेरिकी साम्राज्यवादको सबैभन्दा बढी सरोकार र हस्तक्षेप बढिरहेको छ ? यसको रहस्य खुलिसकेको छ । सबैले बुझेको कुरा हो– साम्राज्यवादको अर्को देशमाथिको हस्तक्षेपको पहिलो सर्त भनेको त्यहाँको साधन–स्रोतमाथिको दोहन हो । अमेरिकाको भेनेजुएलामाथिको गिद्देदृष्टि भनेको त्यहाँ रहेको प्रशस्त मात्राको तेल, सुन र हीरा हो । यी ३ वटा कुरामा आफ्नो एकलौटी पकड बनाउनका लागि उसले आफ्नो अनुकूलको कठपुतली सरकार वा शासकको खोजी गरिरहेको छ । त्यसैको परिणाम विगतका राष्ट्रपति ह्युगो चाभेज र अहिलेका नवनिर्वाचित राष्ट्रपति निकोलस मडुरोका विरुद्ध जेहाद नै छेडेको छ ।

अमेरिकाको ध्वाँस, दबदबा र पक्षधरताका कारण विश्व अमेरिकाकै चाहनाबमोजिम ध्रुवीकृत हुन पुगिराखेको छ । यसैको प्रभाव दक्षिणएसिया र नेपालमा पनि पर्न गएको छ । अहिले नेपालको संसदीय राजनीतिमा यो धेरै नै बहसको विषय बनिराखेको छ । बहसको मुख्य कारण भेनेजुएलालाई लिएर सरकारी नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालले निकालेको वक्तव्य र पछि गएर सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयबाट निकालिएको वक्तव्य बन्न गएको छ । साथै सरकारी नेकपाको सचिवालय बैठकले यसअघिका वक्तव्यभन्दा नरम भाषामा पुनः प्रकाशित गरेर अमेरिकी साम्राज्यवादको दलाली पुष्टि गर्न खोजेको भान हुन थालेको छ ।

प्रचण्डको वक्तव्य कुनै राजनीतिक अडान, साम्राज्यवादको हस्तक्षेपको विरोधका कारण नभएर दबाबमा परी छलकपटपूर्ण तरिकाले निकालिएका रहस्यहरू खुल्दै गएका छन् । प्रचण्ड र सरकारको भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका पक्षमा जस्तो देखिएको वक्तव्य आउनुमा यो सरकार साम्राज्यवादी नीतिको विरोधी नभएर पछिल्लो क्रममा विश्व राजनीतिक मञ्चमा देखापरेका विभिन्न परिदृश्य र मूल रूपमा केपी ओली स्विट्जरल्यान्डको डाभोसमा भएको सम्मेलन बन्न पुगेको छ ।

डाभोसमा भएको उक्त सम्मेलन विश्वका पुँजीपति र साम्राज्यवादी देशहरूको सहभागिता र हालीमुहाली रहेको थियो । उक्त सम्मेलनमा केपी ओली आफूहरू पनि अब पुँजीवादी भएको प्रमाण पेस गर्न पुगेका थिए । उनले त्यहाँ गएर भाषण पनि गरेका थिए । उनी सहभागी भएको उक्त सम्मेलनमा कुनै सहभागी देशको एकजना प्रतिनिधिले चिनियाँ राष्ट्रपतिलाई विश्वको सबैभन्दा ठूलो सैतान भनेर बोलेका थिए । त्यसपछि केपी सरकार र चीनका बीचमा सम्बन्ध चिसिएको थियो । त्यही क्रममा भेनेजुएलामा जनवरी २३ को घटना हुन पुग्यो । केपी सरकार र प्रचण्डले चीनसँग सामीप्य देखाउनका लागि मडुरोका पक्षमा वक्तव्य निकालेर ‘पाप धुने’ योजना बनाएका थिए । त्यसका मुख्य योजनाकार बन्न पुगे बलराम बासकोटा । त्यही सन्दर्भमा प्रचण्डको वक्तव्य बाहिर आयो । तर उनीहरूका लागि उक्त वक्तव्य प्रत्युत्पादक बन्न पुग्यो । पार्टीभित्र खैलाबैला मच्चियो । अमेरिकाले नेपाली राजदूत अर्जुन कार्कीलाई बोलाएर वक्तव्यका बारेमा स्पष्टीकरण नै सोध्यो । नेपालमा अहिले आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउने मनुवा, पार्टी र सङ्घ÷सङ्गठनहरूले विरोध गरिराखेका छन् । त्यो विरोधको सामना केपी एन्ड प्रचण्डलाई भारी हुन पुगेको छ । यसरी भेनेजुएलाको राजनीतिक परिघटनालाई लिएर नेपाल पनि तानिन पुगेको छ । यहाँका साम्राज्यवादविरोधी शक्तिहरूले त अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोध गरेकै थिए । सरकारमा रहेको केपी सरकार पनि अनपेक्षित रूपमा विरोधको कित्तामा पुगेको छ ।

उता भेनेजुएलामा अमेरिकाले खडा गरेको हुँवा गुएइदोलाई टेको दिइरहेको छ । युरोपियन युनियन सम्बद्ध राष्ट्रहरूले त हुँवा गुएइदोलाई राष्ट्रपतिको समर्थन गरिसकेका छन् । तर पनि ऊ सफल हुन सकेको छैन । मडुरोले त्यसको प्रतिवाद गरिराखेका छन् । ३ फेब्रुअरीमा मडुरोले एउटा टेलिभिजन एक्सप्रेसलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘अब गृहयुद्ध हुने कि नहुने भन्ने परिस्थितिको पूर्ण जिम्मेवार भेनेजुएलामाथि हस्तक्षेप गर्ने बाहिरी साम्राज्यवादी शक्ति रहेको छ ।’ साथै उनले अर्को प्रसङ्गमा भनेका छन्, ‘यस्तै हो भने अहिलेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनताको रगतले लतपतिएको रक्तमुछेल हात लिएर ह्वाइट हाउसबाट बिदा हुने दिन आउँदैछ ।’ उनका यी भनाइ अमेरिकालगायत साम्राज्यवादी देशको हस्तक्षेप र जिद्दीले भेनेजुएलालाई साम्राज्यवादीहरूको युद्धमैदान बनाउन सक्दैन भन्न सकिन्न । यसले एकपटक विश्वमा साम्राज्यवादविरुद्ध सशक्त मोर्चा खुल्ने सम्भावना रहेको छ । सम्पादकीय

२०७५ माघ २४ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!