एनसेलको ठगीविरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन

 

उदयपुर : अखिल (क्रान्तिकारी) ले बुधबार जिल्ला सदरमुकाम गाईघाट बजारमा विरोध प्रदर्शन गरेको छ ! एनसेलले राज्यलाई ७२ अर्ब कर नतिरेको र आफ्नो सङ्गठनका कोषाध्यक्ष नरेन्द्र विकलाई सरकारले गिरफ्तार गरेको विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उल्लेख्य रूपमा विद्यार्थीको सहभागिता रहेको थियो । सरकारी गलत नीति र एनसेलविरुद्ध नारा लगाउँदै बजार परिक्रमा गरी पीपलचोकमा कोणसभा सम्पन्न गरिएको विद्यार्थी सङ्गठनले जनाएको छ । कोणसभामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् उदयपुर जिल्ला अध्यक्ष विकासले एनसेलले तत्काल कर नतिरे जनताले कारबाही गर्ने चेतावनी दिए । आफ्ना केन्द्रीय कोषाध्यक्षलाई झूटो मुद्दा लगाई सरकार र प्रहरी प्रशासन मिलेर फसाउने षड्यन्त्र गरेको उनको भनाइ थियो ।

गिरफ्तार नेतालाई तत्काल रिहा गर्न उनले आग्रह गरे । रिहा नगरिए सङ्गठनले कडा सङ्घर्ष गर्ने चेतावनी उनले दिए । कोषाध्यक्षको रिहाइका निम्ति माघ २४ गते उदयपुरका सम्पूर्ण शैक्षिक सङ्घसंस्था बन्द गरी सहयोग गर्नका लागि आह्वान गरे ।

आफ्नो सङ्गठनको दृष्टिकोण प्रस्ट पार्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवम् सगरमाथा ब्युरो संयोजक डीबी लामाले आगामी दिनमा सबैखाले शैक्षिक भ्रष्टाचार, माफियाकरण र अन्यायअत्याचारका विरुद्ध अन्तिम लडाइँ लड्ने बताए ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :