जनमुक्ति सेना : विघटनविरुद्ध विद्रोह र पुनस्र्थापनाप्रति गौरव

 जनमुक्ति सेना सर्वहारावर्ग र श्रमिक जनताको आफ्नो सेना हो । यो जनताको व्यवस्था स्थापना गर्ने एक अग्रदस्ता पनि हो । नेपालमा जनमुक्ति सेना माओवादी जनयुद्धलाई विजयसम्म पुर्याउन र सर्वहारावर्ग र श्रमिक जनतालाई अधिकार र मुक्ति दिलाउन तत्कालीन माओवादीद्वारा निर्माण गरिएको थियो । तत्कालीन क्रान्तिकारी मानिएको नेतृत्वको सचेतन पहल र वस्तुगत स्थितिको आवश्यकतामा जनमुक्ति सेनाको निर्माण भयो । नेपाली जनता र राष्ट्रका पक्षमा यसले ठूलो बलिदानी गरेर आफ्नो इतिहास रगतले लेख्ने आँट ग¥यो । जनयुद्धको सुरुआतसँगै यसले निर्माणको प्रारम्भिक आकार ग्रहण गर्दै गयो । यसको बृहत् आकार जनयुद्धको उचाइसँगै बढ्दै गयो र चारवटा डिभिजनको विशाल शक्तिमा यो सङ्गठित भयो जुन नेपाली श्रमिक जनताका निम्ति खुसीको कुरा त थियो नै, विश्व सर्वहारावर्ग र क्रान्तिकारीहरूका निम्ति पनि खुसी र गर्वको कुरा थियो । नेपालको पार्टी, नेपालको जनमुक्ति सेना र नेपालको नेतृत्व विश्व सर्वहारावर्गको एउटा आशा–भरोसायोग्य बन्दै गएको थियो ।
महान् उद्देश्यसहित निर्माण भएको सेनाले तत्कालीन सत्ताको स्थानीय तहका सम्पूर्ण अवयवहरू कब्जा गरी जनताको सत्ता सञ्चालनका निम्ति टेवा पु¥याउँदै उक्त सत्ताको रक्षा गरेको थियो । जहाँ जनताको आफ्नै सत्ता चलेको थियो । जसको आन्तरिक रक्षक लाखौँको सङ्ख्यामा निर्माण भएको जनमिलिसिया थियो भने बाह्य रक्षक जनमुक्ति सेना । तत्कालीन सत्तासीन मान्छेहरूको विश्लेषणअनुसार पनि ८० प्रतिशत भूभाग तत्कालीन माओवादी वा जनमुक्ति सेनाको कब्जामा थियो । राज्यसत्ता ३० प्रतिशत भूभाग र सीमित सहरहरूमा खुम्चिएर पराजित मानसिकतामा आफ्ना दिन गन्ती गर्दै बस्न बाध्य थियो । नेपालको क्रान्ति र जनमुक्ति सेना विश्वक्रान्तिको एउटा झिल्कोका रूपमा सल्कँदै थियो । नेपालमा तत्कालीन शाही नेपाली सेना पराजयको अन्तिम क्षणमा थियो । विघटन र विसर्जनको दिशामा साम्राज्यवादीहरूले धानिदिएको प्राणमा घिटिघिटी गरेर तड्पिरहेको थियो । अन्ततः त्यो अन्तिम पराजय हुनुको विकल्प थिएन । जनमुक्ति सेनासँग लाखौँकरोडौँ नेपाली जनताको विशाल घेरा पनि साथमा थियो । यसरी विजयको सन्निकट पुगेको जनमुक्ति सेनालाई पार्टीकै सर्वोच्च नेता पार्टी अध्यक्ष तथा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर भन्नेले ठूलो धोका दिए । अन्ततः जनमुक्ति सेना विसर्जन र विघटन गरियो । केहीलाई नाम फेरिएको नेपाली सेनामा भर्ती गरियो भने केहीलाई पाँच लाख रुपैयाँ दिएर लिलाम बिक्रीसरह गरियो । केहीलाई अयोग्यताको बिल्ला भिराएर जबरजस्ती बाहिर निकालियो । यसरी नेपाली क्रान्ति र जनमुक्ति सेनाको विसर्जन र विघटन गरियो । आज त्यहीमध्येका पूर्वलडाकु वा पूर्वजनमुक्ति सेना बहिर्गमित लडाकु आदिइत्यादि नाम दिएर एनजीओ÷आईएनजीओ गुहार्ने र पैसा असुल्ने साधन बन्दैछन् । यो दोष पूर्वजनमुक्ति सेनाहरूको त हुँदैहोइन, यो दोष त तिनलाई धोका दिने नेताहरूको हो । मन्त्री क्वार्टरमा गएर बिष पिउनु, हामीलाई पैसा चाहियो भन्दै माग राख्नु, अनशन बस्नु, रुनु–कराउनु, एनजीओ÷आईएनजीओसँग पैसा माग्नु, क्रान्ति हुँदैन, सकिँदैन भन्नु पूर्वजनमुक्ति सेनाका नाममा यो अनैतिक कार्य हो । म पनि पूर्व जनमुक्ति सेनाको सदस्य भएको नाताले मलाई अनैतिकजस्तो लाग्छ ।

प्रचण्डले नेपाली जनता, सर्वहारा क्रान्ति र जनमुक्ति सेनालाई धोका दिँदै गर्दा समयमा उनीहरूलाई चिन्न नसक्नु हाम्रो पनि कमजोरी छ । हिजो प्रचण्डविरुद्ध कुरा गर्दा लात्ती–मुड्की गर्नेहरू सायद आज पूर्वजनमुक्ति सेना लेख्नेहरू पनि थिए । विष पिउनेहरू पनि वैद्य–विप्लवको नाम सुन्न चाहँदैनथे । सायद समयमा नै जतिबेला विप्लव र वैद्यहरूले प्रचण्डलाई चिनेका थिए, जनमुक्ति सेनाले पनि चिनिदिएको भए आज यो अवस्था देख्नु पर्दैनथ्यो होला ।

पूर्वजनमुक्ति सेना भन्नेहरूलाई क्रान्तिप्रति माया, वर्गप्रति प्रेम, आफ्नो जनमुक्ति सेनाप्रतिको लगाव हो भने कमरेड विप्लवले खरानीबाट उमारेर पुनः जनमुक्ति सेनाको संरक्षण र विकास गर्नुभएको कुरा अब कसैबाट छिपेको छैन । इमानदारीपूर्वक जोडिनु क्रान्तिप्रतिको इमानदारी र न्यायसङ्गत हुन्छ । क्रान्तिलाई पनि टेवा पुग्छ । यो हाम्रो कर्तव्य पनि हो । हराउन थालेको पहिचान पुनर्बहाल हुन्छ । नयाँ सपनाको सुरुआत हुन्छ । अन्यथा पूर्वजनमुक्ति सेना नेपाल बनाएर वर्षमान, जनार्दन, बलदेव, पासाङहरूबाट केही झर्ला अनि खाउँला भन्ने सोच्नु पनि नेपाली क्रान्तिप्रति धोका र अनैतिक कार्य मात्र हुनेछ । पूर्वसिनियर भनिएका कमान्डरहरू पनि जनमुक्ति सेनाको पैसा लुटेर कोही उच्च श्रेणीका ठेकेदार बनेका छन् त कोही नेपालका कहलिएका गुन्डा जसले जनमुक्ति सेनाको श्रम, पसिना र रगतको ब्याज खाइरहेका छन् । आज उनीहरूको बास नेपालका तारे होटेलहरूमा रोमान्सको जीवनसहित बितिरहेको छ । उनीहरूलाई सामान्य मान्छेहरूले पनि घृणाका रूपमा हेरिरहेका छन् । उनीहरूलाई सिनियर कमान्डर सोचेर पनि केही हुनेवाला छैन । उनीहरू क्रान्ति र परिवर्तनभन्दा धेरै टाढा पुगिसकेका छन् प्रतिक्रान्तिको सेवकका रूपमा । सुरा–सुन्दरी र धनदौलतमा मस्त ती कमान्डरहरूबाट नै व्यावहारिक प्रतिक्रान्ति भएको हो । तीबाट सकारात्मक अपेक्षा गर्नु गोरु ब्याउनुजस्तै हुनेछ । बरु अबको क्रान्तिको निशानामा ती प्रतिक्रान्तिका मतियार पनि हुनेछन् र हुनुपर्छ ।
अब रह्यो नयाँ बनिरहेको जनमुक्ति सेनाको कुरा । यो ज्यादै कठिन कुरा त हो नै तर असम्भव कुरा कदापि हैन । विगतको जनमुक्ति सेना निर्माणका सकारात्मक र नकारात्मक अनुभवहरू हामीसँग छन् । आजको सेना त्यसको वैज्ञानिक समीक्षासहित बन्ने कुरा हो । विगतको वर्गसङ्घर्षको अनुभव र समीक्षाले हामीलाई केही नयाँ ज्ञान र शिक्षा दिएको छ । त्यही नयाँ विकसित ज्ञानसहितको विकसित सेना नै आज बन्दै गरेको वा बन्ने सेना बन्नेछ । यो क्रान्तिकारी जनता र वर्गका निम्ति गर्व गर्न लायक कुरा हो । अब बहालवाला जनमुक्ति सेना बनिसकेको सन्दर्भमा पूर्व जनमुक्ति सेना भनिरहन जरुरी हुँदैन । निःसर्त जनमुक्ति सेनामा समाहित हुनुपर्छ । अन्यथा पूर्वजनमुक्ति सेना नाम राखेर मन्त्री, पूर्वडेपुटी कमान्डरहरूकहाँ गुलामी र चाकडी गरेर, हात थापेर, भिक मागेर जीविकोपार्जन त हुन सक्ला तर त्यसले नेपाली क्रान्तिलाई कुनै टेवा पुग्नेछैन । अझ हिजो निर्माण भएको क्रान्तिकारी सेनाको स्वाभिमान र आत्मसम्मानमा आँच आउनेछ । त्यसकारण पनि आज निर्माण भैरहेको जनमुक्ति सेना एकीकृत जनक्रान्तिमा समाहित हुनु एक मात्र हाम्रो स्वाभिमानी काम हो ।

क्रान्ति–प्रतिक्रान्ति नेतृत्वको धोकाधडीले हाम्रो जीवनमा परेको असरका कारण नेपाली समाजमा मनोवैज्ञानिक नकारात्मक असर पर्न गएको थियो । तर क्रान्तिकारी नेतृत्व सही कार्यदिशा र व्यावहारिक तथा वैज्ञानिक प्रयोगद्वारा जनताको, समाजको मनोविज्ञान पुनः क्रान्तिप्रति आशा र विश्वासमा बदलिँदै गएको छ । जनमुक्ति सेना निर्माणको प्रश्नले सबैको मन उद्वेलित भएको छ । जीवनमा रङ भरिएसरि भएको छ । नेपाली जनताको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षा, क्रान्तिप्रतिको आशा र विश्वासले पुनः नेपालमा विशाल जनमुक्ति सेना निर्माणको जगमा आमूल परिवर्तन सम्भव छ भन्ने देखाउँदैछ । यो अवस्थामा पूर्व र पश्चिम भनेर बरालिनु दिवालियापन हुनजान्छ । पुनः लाखाैँको सङ्ख्यामा जनताको आफ्नै सेना निर्माण आजको आवश्यकता हो । यो सम्भव छ, सम्भव बनाउनुपर्छ ।

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :