निर्मला पन्तका हत्यारा सरकारकै संरक्षणमा : सुदर्शन


 ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले क्रान्तिका लागि बस्तुगत परिस्थिति तयार रहेको भन्दै आत्मगतस्थिति तयार बनाउनु पर्ने कुरामा जोड दिएका छन् । नेकपाको ललितपुर जिल्ला समितिले शनिबार  आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता सुदर्शनले सरकारको गतिविधिको कारण पनि क्रान्तिको वातावरण तयार बन्दै गएको बताए । नेता सुदर्शनले युद्ध आफ्नो चाहनाको विषय नभएपनि परिस्थितिले क्रान्तिको लागि युद्धको माग गरेको खण्डमा तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

आफ्नो पार्टीले देशब्यापी सञ्चालन गरिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ ले एकीकृत जनक्रान्तिको लागि बलियो आधार बनाउने उनले बताए । अभियानमा एकजुट भएर लाग्न र जनताको घरआँगनमा पुगेर स्थानीय सरकारले मच्चाएको भ्रष्टचार र अत्याचारको भण्डाफोर गर्न कुनै कसर बाँकी नराखेर लाग्न पनि नेता सुदर्शनले कार्यकर्तालाई निर्देशन दिए । एक प्रसंगमा उनले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बलात्कारी र हत्यारा सरकारकै संरक्षणमा रहेको दाबी गर्दै यसमा प्रहरी प्रशासन पनि जिम्मेवार रहेको बताए । सुदर्शनले अहिले प्रधानमन्त्री केपी ओली र प्रचण्डहरु क्रान्तिको बद्नाम गर्न र नेकपाविरुद्ध भ्रम छर्न लागिपरेको बताए ।

शनिबार  सम्पन्न  प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य उत्तमले पार्टीका हरेक नेता-कार्यकर्ता बहुप्रतिभावान र सक्षम हुनुपर्ने बताए । साथै नेता उत्तमले आफनो पार्टीले सञ्चालन गरेको अभियान ललितपुरमा तीव्रता रूपमा चलिरहेको र यसले अलपत्रमा पारिएको नेपाली क्रान्तिलाई पूर्ण गर्न मजबुत आधार तयार पार्ने बताए ।

प्रशिक्षण कार्यक्रमको अध्यक्षता गरेका नेकपा ललितपुरका सेक्रेटरी विपिनले पार्टीको केन्द्रीय अभियान जिल्लामा तीव्र गतिमा चलिरहेको भन्दै सबै नेता कार्यकर्ता अभियानमा सहभागी हुने बताए ।

२०७५ माघ २० गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :