जनता जगाउन विकट वस्तीहरुमा पुग्यो नेकपाको अभियान टोली

जाजरकोट : संसदवादी पार्टीहरु सत्ताको लागि संसदमा लुछाचुँडी गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु भने संगठन सुदृढिकरण तथा विस्तार अभियान लिएर तराई, पहाड र हिमाली बस्तीहरुमा जनताका घर आगन पुगिरहेका छन् । अभियानकर्मीहरु नेपाल भारत सिमाक्षेत्रमा काँडेतार लगाउनेदेखि लिपुलेखसम्म पुगिरहेकाछन् । पूर्वको इलामदेखी पश्चिमको दार्जुलासम्म छरिएर रहेका नेकपाका अभियानकर्मीहरुले आफनो अभियानले जनतामा नयाँ आशा संचार गरिरहेको अनुभव बताउने गरेका छन् ।
       यसैबीच नेकपाका नेता कार्यकर्ताहरु अभियान लिएर तत्कालीन जनयुद्धको आधारइलाका जाजरकोटका विकट गाउँवस्तीमा पुगिरहेका छन् । जिल्लाको उत्तर–पूर्वमापर्ने घरङगा, रग्दा, भगवती, जस्ता विकट गाउँहरुमा पुगेका अभियानकर्मीहरुले जनतासँग साक्षात्कार गर्ने मौका पाउदा आफुमा नयाँ उत्साह थपिएको बताउने गरेका छन् । अभियान टोलीमा रहेका जाजरकोटका नविनले भने ‘हामी जाजरकोटका विकटवस्तीहरुमा परिचालित छौ । हाम्रो अभियान टोली अहिले घरङगा भन्ने गाउँमा पुगेको छ । आज मात्र यहाँ कार्त भन्ने गाउँबाट नेपाली काँग्रेसका इलाका सदस्य लोकेश सिहं र मोती प्रसाद सिहं लगायत ६ जना हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । हाम्रो पार्टीप्रति जनताको आकर्षण बढिरहेको छ । गाउँ घरहरुमा पिढीसभा, जनसभा घरदैलो कार्यक्रमहरु गरिरहेका छौ ।’
       जाजरकोटका ती गाउँहरु तत्कालीन जनयुद्धका आधार गाउँहरु हुन । उक्त क्षेत्रमा १५ जनाको अभियान टिम लिएर पुगेका नेकपा सल्यानका सेक्रेटरी महेन्द्रले भने ‘यहाँबाट चाहेको समयमा र सवै ठाउँहरुबाट टेलीफोन गर्न समेत सकिदैन मोवायलमा ब्यालेन्स पनि सहज उपलब्ध हुन सक्दैन । हामी यहाँ आउदा जनताले हामीमाथि गरेको भरोसा देख्दा हामी धेरै उत्साहीत भएका छौैं ।’

       अहिले जाजरकोटमामात्र जिल्लाभरी नेकपाका ५ वटा अभियान टोली परिचालीत भएका छन् । आफनो राजनैतिक प्रभाव विस्तारको लागि जनसंगठन निर्माण,गठन र पुनर्गठन गर्न नेकपाले पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य देखी सबैतहका नेता कार्यकर्ताहरुलाई अभियानमा परिचालित गराएको छ । संगठन सुदृढिकरण तथा विस्तार अभियान २ नाम दिइएको उक्त अभियान २ महिना चल्ने बताइएको छ ।
२०७५ माघ १६ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :