प्रचण्डले भैसी पुजा गर्नु र केपीले होलीवाइन खानु साँस्कृतिक प्रतिक्रान्ति हो : पुन

पाँचथर : मेचीमा सञ्चालन भैरहेको  नेकपाको संगठन सुदृिढकरण तथा बिस्तार अभियान अन्तर्गत पाँचथर कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको यासोक क्याम्पसको प्राङ्गणमा सामना साँस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतीसहित जनसभा सम्पन्न भएको छ ।
जनसभालाई नेकपाका पोलिट ब्युरो सदस्य तथा अभियान टोली प्रमुख ओम प्रकाश पुनले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै पुनले अहिलेको सरकार राष्ट्रियरुपमा दलाल पुँजीपति र अन्तर्रास्ट्रियरुपमा साम्राज्यवादी शक्तिहरूको इसारामा चल्ने कम्युनिस्टको ओल ओढेको सामाजीक दलाल फाँसिवादी सरकार भएको बताए । अहिलेको सरकारमा रहेका कम्युनिस्टहरू सुधारिएका पञ्च जस्ता भन्दै सरकारको काम कार्वाही सुधारिएको सामन्तवाद जस्तो भएको बताए । नेता पुनले भने –‘प्रचण्ड मन्दिरमा घण्ट हल्लाउँदै भैसिको पुच्छर समातेर पुजा गर्छन्, केपी ओली प्रधानमन्त्री कार्यालयमा ग्रह शान्तिको जग्गे लगाउँदै सँुगुरको पुच्छर समातेर पुजा गर्छन् । अर्कोतर्फ क्रिस्चियनको प्राथना स्थलमा गएर होली वाईन खाने जुन हर्कत गर्छन यो भनेको राजनीतिक प्रतिक्रान्ति मात्रै नभएर साँस्कृतिक प्रतिक्रान्तिको महापत हो । कार्लकाउत्सी र बर्नस्टीनको रुसी चेलो खु्रश्चेभ र खु्रश्चेभका नेपाली चेला केपी प्रचण्ड हुन् ।’
संसदबाट समाजवाद कहिल्यै स्थापना हुन नसक्ने भन्दै नेता पुनले केपी प्रचण्डको संसदीय पुँजीवादी समाजवाद बिश्व र नेपालमा असफल भैसकेको बताए । नेपालमा दलाल पँुजीवाद असफल भएकोले बैज्ञानिक समाजवाद अनिवार्य भएको कुरामा जोड दिदै नेता पुनले छोटै अबधिमा नेपाली जनताले समाजवाद देख्न पाउने दाबी गरे । उनले थप भने–‘बहुदलको बिकल्प राणा शासन भएन । राजतन्त्रात्मक संसदीय ब्यवस्थाको बिकल्प पञ्चायत भएन र अबको दलाल संसदीय पुँजीवादको बिकल्प अर्को कुनै नामको पुँजीवाद वा राजासहितको पुँजीवाद हुन सक्दैन ।’


सामना साँस्कृतिक परिवारका सह–संयोजक आरोह नेपालीको सञ्चालन, लिम्बुवान मुक्तिमोर्चाका केन्द्रीय संयोजक बिजय लिम्बूको स्वागत र पार्टीका पाँचथर जिल्ला सचिव पेम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज दर्शनले अभियान टिमलाई स्वागत अभिनन्दन सहित मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न ब्युरो र जिल्लाबाट आएका अभियानकर्मी, स्थानीय बुद्धिजीवी, ब्यापारी, शिक्षक, प्राध्यापक, बिद्यार्थी र स्थानीय जनताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
२०७५ माघ १७ गते बिहिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :