छोरी हिँडेकै बाटोमा लाग्छु : जानुका गिरी (सहिद सरिता गिरीकी आमाको आत्मस्वीकृति)

चारमहिने वैचारिक, राजनीतिक र सङ्गठनात्मक अभियान माघ १ गतेदेखि चल्दै थियो । माघेसङ्क्रान्तिकै दिन अभियान उद्घाटन गर्ने निर्णय थियो । माघ १ गते चाडको दिन हो भन्ने थाहा नभएर त्यो तिथिमिति तयार भएको थिएन । आफूले नै निर्णय गरेको वा माथिल्लो समितिको निर्णय ‘माओभन्दा जान्ने भएर’ उल्ट्याउने रुचि पनि हाम्रो थिएन । पूर्वी कमान्डका ४ वटै कार्यक्षेत्रमा कार्यक्षेत्र (महाभारतको पुछार) मा नै कार्यक्रम राखिएको थियो । काम कुरो एकातिर कम्लो बोकी अर्कैतिर भनेझैँ पूर्वघोषित क्षेत्रबाहिर सहरतिर औपचारिकता पूरा गर्नेभन्दा समस्या, हतारो र कमजोर भए पनि तल्लो महाभारतमै कार्यक्रम राखिएको थियो ।

अपराह्न ३ बजे क. उमा भुजेल क. लक्ष्मण, क. दिनेश र म सिन्धुली मुल्कोटको सहिदद्वारमा शिर झुकाएर उकालो लाग्यौँ । बाटो त बाइरोडको बाटोमा धुलो उडाउँदै भन्ने गीतजस्तै रहेछ । बाटोमा विद्यालयबाट फर्किंदै गरेका छात्राहरूले कसैको घरमा ढोका खोलेर पानी खुवाए । जति उकालो चढ्यो उति नागबेली कोसी । रामेछापका नाङ्गा दुःखी डाँडाहरू देखिन्थे । उकालो चढ्दै गर्दा मेचीका साथी जित लिम्बू हामीलाई भेट्न आइपुगे । अपरिचित ठाउँमा परिचित अनुहार भेट्दा आफन्तीपन अनुभूति हुँदो रहेछ । अपराह्न हामी नाङ्गेडाँडाको विद्यालयमा पुग्यौँ । विद्यालयको छातीमा हजारौँ वर्ष पुराना वरपीपलका जोडीहरू थिए । मैले त्यो जोडी वरपीपलसँगै असारे काकाकाकी सम्झेँ । यो जोडी वरपीपलको फेदमा कति पुस्ता हजुरबा–आमाले पसिना सुकाए होलान् । कति भरियाले भारी बिसाए होलान् । कति युवाले प्रेम गाँसे होलान् । हजारौँ वर्षको कथाव्यथा छातीमा बोकेर मौन हेरिरहेको बूढो वृक्ष हेर्दै मैले भनेँ, ‘यो वरपीपल त असारे काकाजत्तिकै बूढो होला हगि ?’ मेरो शब्द भुइँमा खस्न नपाउँदै साथी लक्ष्मणले ‘असारे काकाभन्दा पनि बूढो होला दाइ’ भनिहाले । हामीलाई टारीगाउँसम्म पुग्नु थियो । यात्रा टारीगाउँतिर सोझ्यायौँ । त्यो अल्पसङ्ख्यक हायु जातिको बस्ती हो । रामले लङ्कामा आक्रमण गरेपछि धर्मरक्षाका लागि कुल देवता लिएर भाग्दाभाग्दै हायु जाति सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गामा आइपुगेको ठानिन्छ ।

बाटोमा सहिद सरिता गिरी (२० वर्ष) को घर पथ्र्यो । २०६१ सालमा उदयपुरमा माओवादी हौँ भन्दै सादा पोसाकमा आएको शाहीसेनाले बासमा सरिताको हत्या गरेको थियो । सहिद सरिताकी आमा जानुका गिरीलाई नभेटी कसरी बाटो काट्नु र ! छोटो भेटमै आमाले ‘जेठी छोरी काठमाडौँ छे । ज्वाइँ बेपत्ता छन् । कान्छी सहिद भई । बुबाले अर्को जातिकी लिएर कतै गए । एक्लो ज्यान । यो झुपडी कुरेर बसेको छु नानी’ शिलुको हात समात्दै भन्नुभयो । साथी जितले आमाको हातमा फलफूलको सानो पोको राखिदिए । आमाले पानी खुवाउनुभयो । भलाकुसारी चल्दै थियो । आमाले छोरी नै भेटेजस्तो लाग्यो नानी, तिमीहरू आउँदा न्यास्रो मेटिएझैँ हुन्छ । म पनि छोरीकै बाटोमा लाग्छु भन्नुभयो । अभियानकी जनकपुर कमान्डर शिलुलाई सहिदकी आमा जानुकाले भन्दा हामी द्रवीभूत भयौँ । एकछिन कोही बोलेन । स्तब्ध भए सबै । साँझ पर्दै थियो । आधा घन्टा अझैँ हिँड्नु थियो । हामी यसअघि नचिनिएर के भो र ! सहिदकी आमा र हाम्रो बीचमा युद्धको नाता थियो । युद्धको नाता गहिरो, निकै गहिरो हुँदो रहेछ ।

झमक्क साँझमा एउटा छाप्रोमा सिन्धुलीका पुराना साथी शशि र साथीहरू भेटिए । कार्यक्रमका विषयमा छलफल भयो । पसिनाले लुछुप्पै भिजेको थियो शरीर । चिसो हावा सुनकोसीतिरबाट दक्षिण हानिँदै थियो । पसिनाले बाहिरी कपडासम्म भिजेकाले शरीर काप्न थाल्यो । दिलबहादुर हायु दाइ जनयुद्धको समयमा कलकत्तामा काम गरेका नेता हुन् । हायु दाइसँग कलकत्ता दिल्लीदेखि पन्जाबसम्मका जनयुद्धको सेरोफेरोका कुरा भए । हायु दाइले गौरव, हरिबोल, प्रमोद, शेरमान सबैसबैका कुरा गरे । जीवनका अथाह कथाव्यथाको भारीले थिचिएका उनको अनुहारमा त्यसका निलडामहरू देख्न सकिन्थ्यो । त्यसो त हरेक मान्छेको जीवन अथाह व्यथाको पुञ्ज हुन्छ नै । प्रधानमन्त्री र साधारण हली उत्तिकै व्यस्त हुन्छन् । उत्तिकै कथाव्यथा हुन्छन् । तिनीहरूको प्रभाव र दायरा मात्र फरक हुने त हो । ठूलाबडा मात्र व्यस्त हुने, तिनीहरूको मात्र योगदान र कथाव्यथा हुन्छन् भन्ने कुरा ठूलाबडाको इतिहास र मनोविज्ञान हो भन्ने ठान्छु म । हायु दाइले गाउँकै रेखाबहादुर हायुको स्मरण गरे । हायुले त्यस क्षेत्रमा माक्र्सवादी साहित्यको प्रचार गरेका थिए । त्यहाँ सङ्गठनको जग भने असारे काका थिए ।

All-focus

हाम्रो छलफल शून्यमा आधारित नभएर उद्देश्यमूलक हुन्थ्यो । बिहान तिलक हायु, शिलु र साथीहरू बसेर छलफल गरियो । तिलकले भेट्नासाथ हाम्रो अनुहारतिर हेर्दै तपाईंहरू सबै नयाँ जस्तो छ नि भने । शिलुले ‘पार्टीको त पुरानै हो’ स्वर दबाएरै भन्नुभयो । ‘हो हो यताको नयाँ, पार्टीको पुरानो जस्तो लाग्यो’ हायु भन्दै थिए । ‘भेषराज दाहालले ३–०–३ राइफल सेनालाई बुझाएर भागेको थियो । काठ्माडौँमा अहिले होन्डा कुदाएर हिँड्छ । नेता भएको छ । हरिबोलले हामीलाई चिन्दैनन् । त्यत्रो दुःख गयो । यस्तो भयो । यो सबै बाहुनक्षेत्रीको खेल हो । जनजाति र दलित सत्तामा पुग्नुपर्छ’, एकै सासमा तिलक दाइले भनिहाले । हिजो कर नतिर भन्थे । आज कर तिर्न दबाब दिन्छन् । तपाईंहरूलाई प्रचण्ड–बाबुरामको काम मन परेन । त्यसैले चुनावमा गएन । सरकारमा गएन । अलग्गै बस्यो । बिजुली, बाटो, मोटर यी त भाडाका टट्टु हुन् । भाडा खान आइहाल्छन् । औँलाले सुनकोसीतिर देखाउँदै भने । सुनकोसीको पानी यी पाखामा ल्याउन सक्नुपर्छ । भारतलाई दिएर अझ कोसी उच्च बाँध बाँध्न दिएर विकास हुन्छ ? बूढाले सरल भाषामा दार्शनिक कुरा गरे । सङ्गठन बनाएपछि तिलकले पारिको बन देखाउँदै ऊ पारिको बनमा माओवादी छ भनेर हेलीबाट बम खसाल्यो । गिरिजाले कम ग¥यो त ? पुराना दिनहरू सम्झिए । आमैले सानासाना टुक्रा ब्नतरुल ल्याएर ‘सङ्क्रातिमा बनतरुल खायो भने गति परिन्छ रे’ भन्दै बाँडिन् । गति परिन्छ भने त खानै प¥यो नि भन्दै मैले टिपेँ । त्यसपछि सङ्क्रान्ति मनाइयो । त्यसपछि हामी नाङ्गेडाँडातिर फर्कियौँ । उता त्यसै बीचमा कमरेड शिलुले ९२ वर्षकी पार्टी सदस्य कृष्णकुमारी राईसँग भेटघाट गरिसक्नुभएको थियो । हायु बड्डा रेखाबहादुरको गएको वैशाखमा निधन भइसकेको थियो ।

अपराह्न २ बजे असारे काकाको गाउँमा रहेको विद्यालय प्राङ्गणमा कार्यक्रम सुरु भयो । स्थानीय जनता गुरुप्प परेर बसे । ‘असारेको पार्टीको कार्यक्रम छ रे भनेर सुन्न आएको’ एकजना युवा भन्दै थिए । एक हूल हजूरआमाहरू मञ्च कब्जा गरेर बसे । हामीलाई रमाइलो लाग्यो । २०५५ साल जेठ २ गते सहिद हुनुभएकी जया दहालकी आमा राधादेवी दाहाल कतैबाट थाहा पाएर मञ्चमा आएर ‘नानी म जया दहालकी आमा’ शिलुको हात समातेर भन्दै हुनुहुन्थ्यो । साथी शशिले ‘आमा काठमाडौँ जानुभएको छ भनेर घरमा नपसेको’ भन्दै सम्मान साथ मञ्चमा बसाए । अभियानका अभियन्ताहरू शिलु, जित, नयनलगायतलाई सहिद परिवार, आयोजक जिल्ला र स्थानीयले भव्य अभिनन्दन गरे । प्रचण्ड–बाबुरामले चौबाटोमा फालेको झन्डाको प्रतीक ठूलो झन्डा उठाएर हामीले अभियन्ताहरूलाई झन्डा माथिमाथि उठाउनुहोला है भन्दै हस्तान्तरण ग¥यौँ । कार्यक्रममा स्थानीय जनताको ठूलो सहभागिता थियो । चाडपर्वमा जनता उपस्थित हुँदैनन् भन्ने कुरा व्यवहारबाट खण्डन भइरहेको थियो । चाडबाड जनतालाई भन्दा नेतालाई लाग्दो रहेछ– उपस्थित जनता हेरेर साथीहरू भन्दै थिए । पत्रकार सिर्जना तिमिल्सिनाले समाचार र विचारको समायोजन गरिरहनुभएको थियो । तिमिल्सिनाका नसामा पूर्वेली रगत प्रवाह भएको सहजै काम र मनोविज्ञानबाट बुझ्न सकिन्थ्यो । कार्यक्रम सक्दा सबै हर्षित र उत्साहित देखिन्थे । अभियन्ता प्रमुख शिलु ‘सुरुआत नै राम्रो भयो । भावना, विचार र सङ्गठन तीनै पक्षमा’ भन्दै हुनुहुन्थ्यो । अर्जुन कटुवाल नेतृत्वको जनगणतान्त्रिक सम्पर्क मञ्चको सहयोग र सहभागिता आत्मीय थियो । हामी मुल्कोटतिर ओरालो झर्दा शिलु नेतृत्वको अभियान टोली भोक, थकाइ र सुनकोसीको सिरेटोलाई ललकार्दै अर्को योजना निर्माणका लागि चौरमा झुरुप्प भएकोे देखिन्थ्यो । मेची, कोसी र सगरमाथाका अभियन्ता र नेतृत्वका साथीहरूको प्रगति विवरण सुन्दा हामीलाई झनै उत्साहित पारेको थियो ।

२०७५ माघ १२ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :