प्रियजन ! अहिलेलाई यत्ति भन्छु

खुल्नेछ क्षितिज
र, झुल्किनेछ जरुर
क्षितिजपारिको घाम
फाट्नेछ भुइँकुहिरो
र, हट्नेछ जरुर
अन्धकारको याम
प्रियजन,
अहिलेलाई यत्ति भन्छु ।

भन्थे,
व्याकुलमय हुन्छ
प्रतीक्षाको घडी
तपस्या हो यो
तपस्वीहरू मात्र पुग्न सक्छन्
क्षितिजपारिको घामसम्म ।

जारी नै छ अनवरत
यो युगको तपस्या
घामका सन्तानहरूको ।

मानव जातिको यो महान् उत्सवमा
थकानका सुस्केरासँगै
सुस्ताउलान् कोही देउरालीहरूमा
काँतर तर्कनासँगै
हराउलान् कोही भञ्ज्याङहरूमा
केही फरक पर्दैन
घामका सन्तानहरूलाई ।

प्रियजनहरू,
हुनु पर्दैन निराश
खानु हुँदैन हरेस
जारी नै छ तपस्या
यसबेला
तपस्वीहरूका लागि
सामलको अभाव
र खजानाको खाँचो
बुझिदिनु पनि तपस्या हुन्छ
एक फाँकी सातु
भुटेको मकै
र सेरोफेरोको सूचना
जतन साथ
साँचिदिनु पनि तपस्या नै हुन्छ ।

२०७५ माघ ५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :