जनताले युद्ध र आन्दोलन भोगेको भएतापनि क्रान्ति भोगेका छैनन् – नेता नरबहादुर कार्की

  

जाजरकोट : नेपाली जनताले विगत जनयुद्ध र जनआन्दोलन भोगेको भएतापनि क्रान्ति नभोगेको नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्कीले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन, नेपाल जाजरकोटको तेस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् ।

जनयुद्ध र जनआन्दोलन जस्तो नहुने बताउदै नेता कार्कीले भने,‘नेकपाले उद्घोष गरेको एकीकृत जनक्रान्ति विगत जनयुद्ध जस्तो हुन्छ कि ? फेरी गाउँ–गाउँमा आएर रोटी मागेर खाने हुन कि ? लडाईका मोर्चाहरुमा धेरैले ज्यान गुमाउनु पर्ने अवस्था आउने हो कि ? भन्ने सोचबाट सबै टाडा रहन आवश्यक छ, देशको राजधानी र ठुला शहरमा मात्र केन्द्रित हुने पुरानै तरिकाको जनआन्दोलन जस्तै त होला भन्ने सोचाइबाट पनि मुक्त हुन आवश्यक छ, एकीकृत जनक्रान्तिको मोडेललाई हामीले गाउँ र शहर, हिमाल, पहाड, तराई, पुर्वदेखि पश्चिमसम्म एक साथ गरिने विद्रोहका रुपमा उठाउन खोजी रहेका छौँ ।’
दुई तिहाई बहुमत सहितको अहिलेको केपी वोली नेतृत्वको सरकार कम्युनिस्ट सरकार नभएर नेपाली काङ्ग्रेसको भाग दुई भएको जीवन रुपान्तरणका विश्व प्रशिक्षक समेत रहेका नेता कार्कीले वली सरकारकै पालामा वाइटबडी काण्ड, ३३ किलो सुन काण्ड, निर्मला पन्तको हत्या काण्ड जस्ता काण्डै काण्ड भएको बताए ।

नेता कार्कीले भने, ‘मैले आफैले पढाएका अधिकांश विद्यार्थीहरु नै अहिलेको सरकार र सत्तामा रहेका छन्, म कुनै अवसरको खोजीमा मात्र भएको भए कोही न कोहीसँग कुरा गरेर अवसर लिन सक्थे तर, अवसरको खोजीमा नभएर यो मुलुक परिवर्तन गर्नको लागि म गत मङ्सिर ८ गते देखि विप्लवको नेतृत्वमा अगाडी सारिएको एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित भएको हौँ ।’

उनले आफुहरुले गर्ने भनेको एकीकृत जनक्रान्तिले कोही पनि राजनैतिक पार्टी, स्थानीय तहका जनप्रतिनीधि, समाजसेवी, बुद्धिजीवी, नेपाल प्रहरी र नेपाली सेनासँग लडाई लडेर जनतालाई आफ्नो बनाउने नभएर विचारवाटै जनतालाई उठाउन खोजी रहेको बताए ।


युवा सङ्गठन, नेपालका केन्द्रीय अध्यक्ष पाटनले युवा सङ्गठन, नेपालको मुख्य भुमिका भनेको गाउँ–गाउँमा भइरहेको अनिमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्नु रहेको भन्दै अहिलेको शासन, व्यवस्थाबाट जनताले मुक्ति नपाएको ठहर गर्दै आफ्नो सङ्गठनको मातृ पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडी सारेको बताए ।
बिगत जनयुद्धमा जाजरकोट जिल्लाले महत्वपूर्ण भूमिका पुरा गरेको बताउदै अध्यक्ष पाटनले आगामी दिनमा हुने एकीकृत जनक्रान्तिको अविभारालाई पुरा गर्न जाजरकोटका युवाहरु पछि नपर्ने आफुले बिश्वास लिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जाजरकोटका सेक्रेटरी केवी मल्लले विगत जनयुद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि हजारौ नेता, लाखौं कार्यकर्ताहरुले देखेको अधुरो सपना पुरा हुन नसकेको बताए ।
खुल्ला रुपमा गरिएको युवा संगठन नेपाल, जाजरकोट तेश्रो जिल्ला सम्मेलनको उद्घाटनमा सिस्ने जनसाँस्कृतिक परिवारले विच–विचमा सांस्स्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो । युवा सङ्गठन नेपाल, जाजरकोटको तेश्रो जिल्ला सम्मेलनको बन्द सत्र शनिबारसम्म चल्ने जानकारी सम्मेलन आयोजक समितिका संयोजक खडक सिंहले  दिएका छन् ।

२०७५ माघ ५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :