दमनविरुद्ध शक्तिशाली प्रतिरोध गर्छौं : हेमन्तप्रकाश वली ‘सुदर्शन’ स्थायी समिति सदस्य, नेकपा

sudarsan 12

»» वर्तमान राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनुभएको छ ?

सैद्धान्तिक रूपमा भन्नुपर्दा राजनीति र अर्थतन्त्र अभिन्न रूपमा जोडिएका हुन्छन् । यही कारणले गर्दा माक्र्सले यसलाई राजनीतिक अर्थशास्त्र भन्नुभएको थियो । लेनिनले राजनीति भनेको अर्थतन्त्रको केन्द्रीय अभिव्यक्ति हो भन्नुभएको छ । राजतन्त्रको अन्त्य र कथित लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएपछि नेपालमा दलाल पुँजीवादी अर्थतन्त्र हाबी भएको छ । दलाल पुँजीवाद भनेकै आफ्नै देशमा विकसित उद्योग र कारखानाबाट उत्पादित माल उपभोग र वितरण गर्ने होइन, बरु विदेशमा उत्पादित माल आयात गरी महँगोमा बिक्री गर्ने र स्वदेशको कच्चा पदार्थ माटोको मूल्यमा साम्राज्यवादलाई निर्यात गर्ने पराश्रित पुँजीवाद हो । नेपालका वर्तमान संसद्वादी दलहरू दलाल पुँजीवादमाथि आश्रित छन् । यी दलहरू साम्राज्यवादको दानापानी खाएका घोडाहरू हुनाले उसले जता लगाम तान्यो त्यतै कुद्छन् । यो कुरा हाल भइरहेको कथित स्थानीय चुनावले पुष्टि गर्दछ । यसबाट के निष्कर्ष निस्कन्छ भने कम्युनिस्ट क्रान्तिकारीहरू, दलाल पुँजीवादका विरोधी देशभक्त र प्रगतिशील शक्तिहरू मिलेर औद्योगिक पुँजीको विकास गर्न दलाल पुँजीवादी राज्यसत्तालाई वैज्ञानिक समाजवादी राज्यसत्ताले प्रतिस्थापन गर्नुपर्दछ ।

भर्खरैको स्थानीय चुनावलाई नियाल्दा संसद्वादी दलहरूमा राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्ठा नै देखियो । नेपाली काङ्ग्रेस र नेकपा (माके बीच, नेकपा (एमाले र राप्रपाबीच, नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी पार्टीबीचको चुनावी तालमेल भारतीय साम्राज्यवादको योजनामा भएको छ । यसखालका वर्गसमन्वयलाई पराकाष्ठामा पु¥याएर नै राष्ट्रिय आत्मसमर्पणवादमा पतन गराउन सकिन्छ । मधेसवादी दलहरूले त उनीहरूलाई प्रत्यक्ष मार्गदर्शन गरिरहेकै छन् । उनीहरू वास्तवमा इन्दिरा गान्धीले १९७५ मा तय गरेको उद्देश्य पूरा गर्न चाहन्छन् । उनको उद्देश्य के थियो भन्ने कुरा ‘र’ का पूर्वअधिकारी आरके यादवले आफ्नो किताब ‘मिसन र’ मा लेखेका छन्, “काओ (भारतीय गुप्तचर संस्था ‘र’ का संस्थापक प्रमुख) ले मलाई के भनेका थिए भने सिक्किमको विलयपछि चीनको बढ्दो उपस्थितिले गर्दा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको निदहराम गरिरहेकाले नेपालको तराई क्षेत्रलाई अलग्याउने उनको योजना थियो । उनले १९७५ मै भारतका लागि माओवादी खतराको भविष्यवाणी गरेका थिए जुन अहिले भारतका लागि गम्भीर सुरक्षा चुनौती बनेको छ । यद्यपि भारतमा राजनीतिक अस्थिरताको कोणबाट नेपालको तराईलाई विलय गर्ने कुरा स्थगित गर्नु पर्दथ्यो जसबेला सिक्किमलाई भारतीय सङ्घमा विलयको लगत्तै जुन १९७५ मा इन्दिरा गान्धीले देशमा आपत्कालीन स्थितिको घोषणा गरेकी थिइन् । धेरैजसो विपक्षी नेताहरू उनले गिरफ्तार गरेकी थिइन् र आन्तरिक राजनीतिक भुमरीले गर्दा बाह्य क्षेत्रीय योजना सूत्रीकरण गर्न अवरुद्ध भएको थियो । दुर्भाग्यवस, १९७७ मा भएको चुनावमा इन्दिरा गान्धी पराजित भइन् र उनको पार्टी सत्तामा आउन पाएन र काओको तराई विलय गराउने कारबाही र अरू कार्यभारले ठोस रूप लिन पाएनन्” –पृ.२६३,२०१४, मानस प्रकाशन ।
कति खतरनाक छ ! ‘र’ का पूर्वअधिकारीले प्रकाशमा ल्याएको र भूतपूर्व प्रम इन्दिरा गान्धीको निर्देशनमा संस्थापक ‘र’ प्रमुख आरएन काओले नेपालको तराईलाई भारतमा गाभ्न बनाएको योजना ।  आज एकातिर, इन्दिरा गान्धीको यही अधुरो कार्यभार पूरा गर्न टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन्– दलाल संसद्वादी दलहरूले । अर्कोतिर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा देशभक्त र प्रगतिशील शक्तिहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरू उठाएर सङ्घर्ष गरिरहेका छन् ।  आजको नेपालको राजनीतिक स्थिति यही हो ।

»» तपाईंहरू भूमिगत जानुभयो भन्ने चर्चा छ नि ?

हामी अहिले भूमिगत होइन, बरु जनताका बीचमा छौँ । यो रहरको कुरा होइन, क्रान्तिको आवश्यकता र आजको वस्तुस्थितिअनुरूप अपनाइने एउटा कार्यशैली हो ।

»» दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ । त्यसप्रति यहाँको भूमिका कस्तो रहला ?

पहिलो चरणमा हामी शान्तिपूर्ण तरिकाले यसको औचित्य नरहेको र विकल्प स्थानीय जनसत्ता भएको कुरा राख्दै जनताको बीचमा अभियान लिएर जाँदा हाम्रो पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी निर्मम यातना दिइएको छ । अहिलेसम्म प्रमुख जिल्ला अधिकारीले धरौटी लिएर छोड्ने र बाहिर निस्कनेबित्तिकै पुलिसले समातेर फेरि थुन्ने काम भएको छ । यसले के देखाउँदैछ भने विद्यमान राज्यसत्ता फासिवाद लागू गर्न खोज्दैछ । यसले जनप्रतिरोध जन्माउँछ । कथित दोस्रो चरणको स्थानीय निर्वाचनमा हामी आफ्नो अभियानमा अघि बढ्दै जान्छाँंै, दमन भयो भने कडा जनप्रतिरोधलाई कसैले रोक्न सक्तैन ।

»» सरकारले तपाईंका कार्यकर्ताहरूलाई देशैभरि गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने गरिरहेको छ । सरकारको यो रबैयाले के कुराको सङ्केत गर्दछ ?

यसले जनप्रतिरोध जन्माउँदैछ है भनेर माथि नै भनिसकिएको छ । २०५२ तिरका सरकारका रबैया पनि यस्तै थिए । राज्यसत्ता उही हो, फरक कति हो भने त्यसबेला दमनको प्रतिरोध गर्नेहरू अहिले दमन गर्नेहरूको अग्रपङ्क्तिमा छन् । उनीहरूको हिसाबकिताब पनि जनताले अग्रपङ्क्तिमै राखेर चुक्ता गर्नेछ । थप कुरा उनीहरू क्रान्तिका धोकेबाजहरू पनि हुन् । उनीहरू कार्ल लिब्नेख्त र रोजा लग्जेम्बर्गका हत्यारा सिदेमान हुन चाहन्छन् भने हाम्रा दस हजारभन्दा बढी कार्ल र रोजाको पङ्क्ति ग्रहण गर्न हामी तयार छौँ ।

»» चुनाव खारेजी अभियानलाई क्रान्तिसँग जोड्छौँ भन्नुभएको छ । त्यसको अर्थ के हो ?

हाम्रो चुनाव खारेजी अभियान जनताको शोषण, दमन र अत्याचार गरिरहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादसँग जोडिएको छ । नेपाली जनताले पटकपटकका क्रान्तिमा हजारौँको सङ्ख्यामा आहुती दिएका छन्, यातना भोगेका छन् र अङ्गभङ्ग भएका छन् । परिणाममा उनीहरूले उही संसदीय व्यवस्थाको यातना र शोषण भोग्नुपरेको छ । हिजो आफैँले ज्यान दिएर सुरक्षा गरेका र भरणपोषण गरेका नेताहरूले फेरि उही राज्यसत्तामा पुगेर आफ्नै दमन गर्न आउँछन् । नयाँ रूप र रङको पुनरावृत्तिविरुद्ध सांस्कृतिक विद्रोहसँग पनि यो जोडिएको छ ।

»» तपाईंहरूले भर्खरै राजनीतिक परिषद् (पीबी) को बैठक सम्पन्न गर्नुभएको खबर छ । त्यसका मुख्य निर्णयहरू केके छन् ?

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक परिषद्ले मूलतः कथित स्थानीय चुनाव खारेजी अभियानको प्रारम्भिक समीक्षा गर्दै यसको विकास गर्ने निर्णय गरेको छ ।

»» पहिलो चरणको चुनाव खारेजी अभियानकाे समीक्षा कस्तो रह्यो ?

यो अभियानले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्प धाराको वाहक हाम्रो पार्टी रहेको कुरा जनतामा स्थापित गरेको छ । पार्टी बलियो बनाउने आधार प्रदान गरेको छ । राज्यको दमन भएमा कालीकोटको मालकोटजस्तो नमुना जनप्रतिरोध जनताले गर्न सक्छन् भन्ने कुरा स्पष्ट पारेको छ । सयौँ नेता र कार्यकर्ताहरूको गिरफ्तारी र उनीहरूको क्रान्तिकारी भावनाले जनतालाई पार्टीप्रति आशावादी र प्रज्वलित बनाएको छ । साठी प्रतिशत मतदाता जनताले संसद्वादीहरूलाई मतदान गरेका छैनन् र बाँकीले सेना र प्रहरीको घेराबन्दीको आडमा दलाल संसद्वादी गुन्डाहरूको करकापले मत खसालेका छन् । दलाल पुँजीवादी राज्यसत्ताद्वारा प्रतिबन्ध लगाउने उद्देश्यका साथ गरिएको हस्तक्षेप परबाह नगरी रातो खबर सञ्चार सञ्जालले सत्यतथ्य जनतामा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मानवअधिकारकर्मीहरूको पनि सत्यतथ्य जनताको बीचमा लिने कुरामा महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो पार्टी अझै जनताको बीचमा पुग्न आवश्यक छ भन्ने कुरा स्पष्ट पारेको छ । सङ्क्षिप्त समीक्षा यही नै हो ।
»» प्रसङ्ग बदलौँ, भारतीय प्रहरी गत बिहीबार डोटी प्रवेश गरी त्यहाँको एक नागरिकलाई अपहरण गरेको छ र नेपाल प्रहरीले अपहरणकारीलाई नै छोडिदिएको छ । यो घटनालाई कसरी हेरिरहनुभएको छ ?

आज साम्राज्यवादले आफ्ना कठपुतलीमार्फत नवउपनिवेश चलाइरहेको छ । नेपालका शासकहरू भरतका कठपुतली भएको कुरा यो घटनाले पनि पुष्टि गरेको छ । यही कारणले गर्दा नेपाल प्रहरीले ती अपहरणकारीलाई पक्राउ गरिसकेको अवस्थामा पनि कठपुतली सरकारको आदेशमा ससम्मान र सुरक्षित सीमापारि पठाइएको छ । यस घटनाका बारेमा हाम्रो पार्टीका प्रवक्तामार्फत हाम्रो धारणा पनि सार्वजनिक भइसकेको छ । फेरि नेपालमा भीमसेन थापा र भीमदत्त पन्त जन्मन जरुरी भइसकेको छ । “पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ; कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौँ” जस्ता राष्ट्रिय गीत घन्काउँदै नेपालले आफ्ना गुमेका भूभाग फिर्ता लिने अभियान सञ्चालन गर्नुपर्ने बेला आएको छ ।

»» चितवन भरतपुर महानगरपालिकाका े मतगणना विवादबारे के भन्नुहुन्छ ?

यो धाँधलीको पराकाष्ठा र हरुवा गोरुको छेरुवा दाउबाहेक अरू केही पनि होइन । काङ्ग्रेस र एमाले संसदीय चुनावमा धाँधली गर्न अभ्यस्त भइसकेका खेलाडी हुन् भने माके नयाँ प¥यो । सत्ताको बलमा गरिएको उसको धाँधली नयाँ जोगीले बढी खरानी घसेजस्तै भएको छ । मतपत्र च्यात्न लगाएर १९ वडाको पुनर्निर्वाचन गर्न लगाउनु आची गर्नेलाईभन्दा देख्नेलाई लाज भएको छ । संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावको योभन्दा नाङ्गो चित्र अर्को पाउन गाह्रो छ ।

»» कमरेड किरणले यहाँहरूको कार्यदिशालार्इ रहस्यवादी तथा गन्तव्यविहीन भन्नुभएको छ नि ?

कमरेड किरणजस्तो परिपक्व नेताले नेपाल कम्युनिस्ट पार्टीको यति स्पष्ट कार्यदिशालाई रहस्यवादी तथा गन्तव्यविहीन भन्नु दिउँसै रात पार्नुजस्तै हो । उहाँले हाम्रो दस्ताबेज पाउनुभएको छ । मलाई लाग्छ, उहाँले त्यो दस्ताबेज पढ् नुभएको छ । पढ्नुभएको छैन भने त्यो उहाँको लापरबाही हो । लेनिनको सशस्त्र विद्रोह र माओको दीर्घकालीन युद्धको विकास एकीकृत जनक्रान्तिबाट जनसत्ताहरू निर्माण गर्दै वैज्ञानिक समाजवादमा पुग्नु हाम्रो कार्यदिशा हो । मालेमावाद हाम्रो मार्गदर्शक सिद्धान्त हो । हामीले आठौँ महाधिवेशनमा यसको विकासका लागि शिलान्यास गरेका छौँ । पार्टी, जुझारु शक्ति र संयुक्त मोर्चा निर्माण हाम्रो व्यावहारिक जीवनको अभ्यासमा छ । राजनीतिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति अघि नबढाईकन प्रतिक्रान्ति रोक्न सकिँदैन । अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध र साम्राज्यवादविरोधी संयुक्त मोर्चाको विकास गर्नुपर्छ । यी नै हाम्रो कार्यदिशाका मूल पक्ष हुन् ।
बरु क. किरणले नेतृत्व गरेको नेकपा (क्रामा) को कार्यदिशा र कार्यनीतिबीच कत्तिको तालमेल रहेको छ ? वर्तमान परस्थितिमा कथित स्थानीय चुनाव उपयोग गर्ने कार्यनीतिले पुरानो सत्ता बलियो बनाउन मद्दत गर्छ कि कमजोर बनाउन ? यो त पुष्पकमल दाहाललगायत संशोधनवादी र संसद्वादीहरूलाई सेवा गर्ने काम भएन र ? सारा संशोधनवादीहरू संसद्वादी आहालमा डुबेको बेला क्रान्तिकारीहरूले जनतालाई कम्युनिस्ट लक्ष्य र उद्देश्यतिर स्पष्ट मार्गदर्शन गर्ने हो कि अझै अन्योलको भुमरीमा फसाउने हो ? आखिर मोहनविक्रम र तपाईंको कार्यदिशामा के फरक भयो र ? दिन काट्ने, काल पर्खने कार्यदिशाले काम चल्दैन कमरेड । यो देशमा क्रान्ति गर्नुपर्छ भनेर शिरमा कफन बाँधेका क्रान्तिकारीहरूलाई अर्को क्रान्तिकारीले त प्रोत्साहन पो दिनुप¥यो, खुट्टा तान्ने र भ्रम पार्ने कामले त प्रतिक्रियावादी र संशोधनवादीलाई नै मद्दत पु¥याउँछ ।

»» संसदीय चुनावमा भाग लिएका कतिपय नेताहरूले तपाईंहरूको चुनाव खारेजीलाई अवसरवादी बहिष्कार भनेका छन् । त्यस खालको टिप्पणीप्रति यहाँहरूको प्रतिक्रिया कस्तो रहला ?

यो त जो चोर उसैको ठूलो स्वर भनेजस्तै हो । जो दलाल पुँजीवादी संसदीय व्यवस्थालाई बचाउन र आत्मसुरक्षावादले ग्रसित छाला बचाउन चुनावमा भाग लिन्छन् तिनले चुनाव बहिष्कार गरी संसदीय व्यवस्थाको विकल्प देखाउने क्रान्तिकारीहरूलाई अवसरवादी देख्नु उनीहरूमा आएको विश्वदृष्टिकोणमै विचलन हो । योभन्दा बढी भन्नु जरुरी नै छैन ।

रातोखबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :