नेकपाका विरुद्ध दुष्प्रचार

 

काठमाडौँ : पछिल्लो समयमा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध कपोलकल्पित र असाध्यै भ्रामक समाचारहरू प्रसारण भइराखेका छन् । केही दिनअघि मात्र रातो पार्टी अनलाइनले प्रकाण्डलाई विप्लवले धम्काए, नेकपामा गुट आदिइत्यादि समाचार छापिएको थियो । उक्त समाचारको नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले खण्डन गरेका थिए । आज माघ ४ गते शुक्रबार १२ खरी नामक एक अनलाइनले ‘विप्लव र प्रकाण्डबीच फाटो, हतियार किन्न भारतमा ३ करोड !’ शीर्षकमा अर्को भ्रामक समाचार छापेको छ ।

पछिल्लो क्रममा केपी वली सरकारले विभिन्न तिकडम र योजना बनाएर दमन गरी उक्त पार्टीलाई सिध्याउने योजना बनाएको थियो । नेताहरूलाई धमाधम गिरफ्तार गराएको थियो । देशका विभिन्न जिल्लाहरूमा झूट्टा मुद्दा लगाएर घुमाएको थियो । त्यसक्रममा प्रकाण्डलगायत केन्द्रीय तहका ११ जना नेताहरू र सयौँ कार्यकर्तालाई गिरफ्तार गरिएको थियो ।

उक्त दमनका बीचमा नेकपाले पार्टी पुनर्गठन दिवस पारेर गत मङ्सिर ८ गते काठमाडौँमा विशाल प्रदर्शन तथा सभा सम्पन्न गरेको थियो । यसरी नेकपाप्रति जनताको समर्थन बढ्दै जानु र सरकारप्रति वितृष्णा हुनुले सरकारसीनहरू आत्तिन पुगेका थिए ।

अहिले आएर उक्त पार्टीलाई कमजोर पार्न र जनतामा अनावश्यक र असत्य भ्रम फैलाउन योजनाबद्ध तरिकाले सरकारका नजिक रहेका केही सञ्चारमाध्यमहरूले यस्ता हुँदैनभएका समाचारहरू प्रसारण गरेको नेकपाको दाबी छ । उसले भनेको छ, ‘यस्ता भ्रामक र कपोलकल्पित समाचारबाट जनता, समर्थक र शुभचिन्तकहरू कोही भ्रमित हुन आवश्यक छैन । जब प्रतिक्रियावादीहरू कमजोर हुन पुग्छन्, जनताबाट उनीहरूप्रतिको विश्वास उड्छ अनि उनीहरू भ्रमको सहारा लिन पुग्छन् । विप्लव र प्रकाण्डका बीचमा त्यस्तो कुनै असमझदारी छैन । जहाँसम्म भारतबाट हतियार किन्ने कुरा ल्याइएको छ यो योजनाबद्ध दमन गर्न रचिएको कुचाल मात्र हो ।’ नेकपाले भारतीय राज्य पक्षलाई साम्राज्यवादी भन्दै आएको छ ।

२०७५ माघ ४ गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :