वाइडबडीकाण्डमा मुख्य दलका शीर्ष नेता नै संलग्न – डा. भट्टराई

काठमाडौँ : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा शीर्ष तीन दल नै भ्रष्टाचारमा संलग्न रहेको दाबी गरेका छन् ।

उक्त पार्टीले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संयोजक भट्टराईले आफू प्रधानमन्त्री र आफ्नै पार्टीकी नेत्री हिसिला यमी पर्यटनमन्त्री रहेको समयमै दुईवटा ठूला जहाज किन्ने व्यवस्था गरिएको भए पनि आफू प्रधानमन्त्रीबाट हटेपछि सरकारले प्रदान गर्ने जमानतको गलत उपयोग गरी हवाईमाफियाको साँठगाँठमा प्रमुख राजनीतिक पार्टी र सरकारले वायुसेवा निगमबाट दुईवटा वाइडबडी विमान खरिद गर्दा अर्बौं भ्रष्टाचार गरेको दाबी गरेका छन् । भट्टराईले वायु सेवा निगमलगायत ऋण प्रदान गर्ने कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष समेतलाई डुबाउने प्रपञ्च गरिएको पनि बताए ।

उक्त कार्यक्रममा डा. अच्यूत वाग्लेले वाइडबडी प्रकरणमा भ्रष्टाचारीहरूलाई जोगाउने खेल भइरहेको भन्दै चिन्ता प्रकट गरे ।  त्यस्तै सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवले वाइडबडी प्रकरणमा सुगतरत्न कंसाकार मुख्य दोषी र तीनजना मन्त्री दोषी रहेकाले उनीहरूलाई कुनै बहानामा उन्मुक्ति दिन नहुने बताए । उनले सामान्य कर्मचारीले एकदुई हजार भ्रष्टाचार गर्दा तत्काल कारबाही हुने तर अर्बौं भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिन लागेको भन्दै आक्रोश व्यक्त गरे ।

२०७५ माघ २ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :