वैज्ञानिक योजनाको उत्कर्ष मङ्सिर आठ

१) आरम्भ
गत साउन महिनामा नेपाल कम्युनिस्ट पार्टी आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सम्पन्न भएको थियो । बैठकले महासचिव क. विप्लवद्वारा प्रस्तावित ‘नयाँ परिस्थितिको नौलो कार्यभार’ नामक राजनीतिक प्रस्ताव व्यापक छलफलसहित पारित गरेको थियो । पारित प्रस्तावमा विगत योजनाको समग्र समीक्षा, विद्यमान राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिसहित आगामी योजनाको सुस्पष्ट खाका अघि सारेको थियो । नेपाली राजनीतिमा समस्याहरू झन्पछि झन् विकराल बन्दै जानुको कारण के हो ? संसद्वादी राजनीतिक पार्टी र नेतृत्व किन विवादित बन्दै गइरहेका छन् ?

विद्यमान राज्यसत्तालाई बुझ्ने मामिलामा राजनीतिक पार्टीमा किन ‘अन्धाको हात्ती छमाइ’ भैरहेको छ ? काङ्ग्रेस लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टीको गुड्डी हाँक्नमै ठिक्क छ । एमाले स्वैरकल्पनाका कुरैकुराको कुइरीमण्डलमा भौँतारिइरहेको छ । माके विगत जनयुद्धको फोबियाग्रस्त भएर थल्लिएको छ । हँसिया–हथौडा अङ्कित रक्तिम झन्डालाई आस्था बुझेका होनहार, त्यागी र क्रान्तिकारीहरूसमेत आज वाम एकताका फुरौला बाँड्दाबाँड्दै उफ्रौलामा थचारिइरहेका छन् । लिङ्गे पिङजस्तो पार्टी एकताभित्रका जुहारी सुन्दा लाग्छ– त्यो केवल पौवापाटी हो । यस्तै भद्रगोलका कारण आज पश्चगामी शक्तिहरू भूत बनेको राजतन्त्र ब्युँताउने सपना देखेर ढ्याङ्ग्रो ठोकिरहेका छन् । चौतर्फी वैदेशिक चलखेल बढिरहेको छ । गतिहीन सत्ता सरकारको रबैयामा भ्रष्टाचारीको माखे दाउले संस्थागत रूप लिइरहेको छ । संवैधानिक रूपमै भ्रष्टाचार मौलाइरहेको छ ।

‘घोडाको लेप्रो खस्ला र खाउँला’ भन्ने आसमा स्यालको जुनी बितेझैँ जनता हल्लैहल्लामा भोट हाल्छन् । ‘जत्ति जोगी आए’नि कानै चिरिएका’ भन्ने दिन दोहोरिन छोड्दैन । यसको खास कारण एउटै छ– वास्तविक रूपमा नेपाल र नेपाली सुहाउँदो व्यवस्था के हो ? उत्तर सुस्पष्ट छ– वैज्ञानिक समाजवाद । के नौलो जनवादबिना नै वैज्ञानिक समाजवाद ? हो, वैज्ञानिक समाजवाद भनेकै पूर्ण जनवाद हो । के नामधारी कम्युनिस्टको दुई तिहाइ सरकार वैज्ञानिक समाजवाद होइन ? बिल्कुल होइन । बरु सामाजिक दलाल पुँजीवादी सरकार हो । यसले फासिवादी सत्ता अभ्यास गरिरहेको छ । नेपालको मुख्य राजनीतिक अन्तरविरोध भनेको पुँजीवादी, दलाल पुँजीवादी राज्यसत्ता र श्रमिक जनताका बीचको अन्तरविरोध हो । जनताले वैज्ञानिक समाजवाद प्राप्त नगरेसम्म उक्त अन्तरविरोध हल हुनेवाला छैन । सही विचार र नेतृत्वको विकासमा राज्यसत्ता र जनताबीचको अन्तरविरोध हल गर्नु क्रान्तिको उद्देश्य हो । विचार, कार्यदिशा, कार्यनीति, नेतृत्वको विकासको अन्तर्वस्तु आमूल परिवर्तनकारी क्रान्ति हो । पुँजीवाद, दलाल पुँजीवाद र वैज्ञानिक समाजवादबीच भीषण टकरावमा क्रान्तिले विजय हासिल नगरी वैज्ञानिक समाजवाद अस्तित्वमा आउन असम्भव नै हुने कुरामा दृढ हुनु क्रान्तिकारिता हो भन्ने कुरामा दुईमत छैन ।

कम्युनिस्ट पार्टी, युवाशक्ति र श्रमजीवी जनताको एकता आजको आवश्यकता भन्ने कुराको अनुभूति अन्तरहृदयदेखि नेपालीजनहरूले गरिरहेका छन् र सत्य पनि यही हो । यही फराकिलो र वैज्ञानिक तरिकाद्वारा मात्र आत्मनिर्भर जनजीविका, स्वाधीन राष्ट्रियता र पूर्ण जनतन्त्र प्राप्त हुनेछ । समाज दर्शन र प्रकृति विज्ञानलाई एकाकार गर्नु र उन्नत राष्ट्र एवम् मानव समाजको निर्माण गर्नु एकीकृत जनक्रान्तिको मर्म हो । एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवाद प्राप्तिको क्षितिज उघार्न नेपाल कम्युनिस्ट पार्टीले योजनाबद्ध रूपमा अभियानहरू सञ्चालनलाई निरन्तरता दिएर एकपछि अर्को उचाइ हासिल गरिरहेको छ । यहाँ चारमहिने केन्द्रीय योजनाअन्तर्गतको अभियानको सान्दर्भिकताबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

२) योजना, अभियान, उद्देश्य र प्राप्ति

साउन आधादेखि मङ्सिर आधासम्मको चारमहिने योजना केन्द्रीय समितिद्वारा एकमतले पारित भएको थियो । योजनाको मूल नारा थियो– सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ ! वैज्ञानिक समाजवादका लागि सङ्घर्ष गरौँ !! योजनाको उद्देश्य थियो– जनसङ्गठनका मेरुदण्ड (स्पाइनल कर्ड्स) निर्माण तथा सुदृढ गर्नु र राष्ट्रघात, जनघात र सामाजिक विकृति, विसङ्गतिका विरुद्ध जनपरिचालनमा गुणात्मकता हासिल गर्नु । योजनाको मर्म छालजस्तो अभियानद्वारा मात्र पूरा हुन्थ्यो । तदनुरूप भदौ एक गतेबाट अभियान उद्घाटन भयो । उक्त अभियानको नाम थियो– ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान ।’ अभियानको अवधि थियो एक महिना पन्ध्र दिन । छब्बीस केन्द्रीय र व्यापक स्थानीय टोलीहरू आआफ्नो प्रतिबद्धता र इच्छाशक्तिसहित जनताको माझ गएका थिए । केन्द्रीय सामना परिवारलगायत सांस्कृतिक टोलीहरू क्रियाशील हुनुले अभियानमा प्रभावकारिता पैदा भएको थियो । नेपाल कम्युनिस्ट पार्टीको विशेषता भनेकै केन्द्रीकृत अभिव्यक्तिका साथ नाका खोल्ने हो । क्रान्तिका कुनै पनि आवश्यक अवयवहरू एकअर्काका अन्तरविरोधी हुँदैनन, बरु एकअर्काका परिपूरक हुन्छन् । तसर्थ ‘सबैले सबै काम गर’ को नीति पार्टीले लागू ग¥यो । बहुआयामिक अभ्यासमा सामूहिक ढङ्गले जाँदाको आनन्द बेग्लै खालको हुने गर्छ । जनश्रममा आधारित भएर क्रान्तिलाई दह्रोसँग पकड, उत्पादन बढाऊ भन्ने माओको जनदिशाको अभ्यासले आमनेता र कार्यकर्तामा नयाँ गति पैदा ग¥यो । जनसमुदायसँग व्यापक छलफल र बहस गर्दै उनीहरूको सुखदुःखको साथी बन्दै जाँदा पार्टी समितिभित्र भावनात्मकता पैदा भयो । शान्तिकालले टाठाबाठालाई ‘माथि’ र होटेलका कोठा, नेताका चोटातिर फर्काएको थियो । नेताको मनोविज्ञानअनुसार हावादारी गफ लगाउने, अरूलाई न्यूनीकरण र आफैँलाई फूर्तिवाला र अब्बल दर्जाको अभिनय गर्न प्रेरित गरेको थियो । खुराफाती सांस्कारिक रोग पार्टीले ठम्याइसकेको थियो । ‘हुटिट्याउँको आकाश थमाइ’ को कुरा सुनेर नेताहरू दिग्भ्रमित हुने कम्ती खतरा थियो र ! अमूक सहयोद्धालाई विपक्षी बनाएर विरुद्धमा भोटिङ लाइन तयार पार्ने प्रवृत्तिको सिकार के क्रान्तिकारीहरू बनिहाल्थे त ? भ्रम मात्र थियो गैरजिम्मेवार त्यो तुच्छ तरिका । त्यो त कामचोर र कमाउधन्देहरूको आत्मरतिशिवाय अरू केही थिएन । बरु अचुक ओखती थियो अभियान । सम्पन्न अभियान सबैको परीक्षा पनि त थियो । आखिर अभियानको सार नदीजस्तो गतिशील बन्नु थियो । गतिशीलताले शुद्धीकरण पनि त गर्दथ्यो । केन्द्रदेखि स्थानीय तहसम्म लय मिल्दा अभियानको सङ्गीत पनि त क्रान्तिमय भएरै छाड्यो । सबैमा उत्साहजनक ऊर्जा पैदा भयो । जहाँ क्रान्तिकारी गतिविधि हुन्छ त्यहाँ उज्यालो पैदा हुन्छ । जहाँ उज्यालो पैदा हुन्छ त्यहाँ जनविश्वास र आत्मविश्वास अवस्य जाग्दछ । सही विचार र कार्यदिशा जनतामाझ लैजाँदा भौतिक शक्तिमा बदलिनु अनिवार्य थियो । परिणामस्वरूप व्यापक सङ्गठन बने । सेल निर्माण भए । एकाइहरूसम्म फैलियो एकीकृत जनक्रान्ति । जनजनको मनमनमा फैलियो कम्युनिस्ट नीति र नेतृत्व । सबै जिम्मेवार नेता–कार्यकर्तालाई जिम्मेवारीबोधका साथ पद्धतिमा चल्न सिकायो । । गर्व गर्न सिकायो । अरूका राम्रा सिक्ने र आफ्ना खराब हटाउने सुल्टो दिशामा हिँड्न सिकायो अभियानले । भित्र एकता, रूपान्तरण, आँटी, इच्छाशक्तिवान् र गतिशील बन्न सिकायो भने बाहिर वर्गसङ्घर्ष, क्रान्ति, सामाजिक दायित्वबोध गर्न सिकायो । पार्टी र क्रान्तिप्रति भरोसा पैदा गरायो । ‘जनताको भाषा बुझ’ भन्ने माओको उक्तिअनुसार नै अभियात्रीहरू गाउँगाउँ, बस्तीबस्ती पुग्न सफल भए । गरे सम्भावना क्रान्तिकै छ भन्ने बुझेर ज्ञानी बने । जनताका माझ राज्यसत्ताको भत्ता खाई मत्ताएका साँढेहरूको बिगबिगी सुनिसाध्य छैन । जनता अत्तालिएका छन् । लुटको राज अन्धाधुन्ध मच्चिएको छ । के गाउँ, के सहर जहाँ पनि पीडित र पीडक छन् । पीडितहरू यावत् सन्त्रासमा छन् । पेसेवर सीआईडी र सुराकीहरू जुकाजस्तै स्याउँस्याउँती छन् । तल्लाघरे राते काइँलाका छोराछोरी विप्लव पार्टीमा लागेछन् भनेर हल्ला मच्चाएर तर्साउने प्रयास गर्छन् तर आफू पनि डराउँदा रहेछन् । माथिको आदेश हो भन्ने थेगो नै बनेको पाइन्छ । पुलिस प्रशासन खासै सरकारी आदेशमा लड्ने पक्षमा भने देखिँदैन । गरे विप्लवले केही गर्छन्, अरू त सब भ्रष्टाचार र कमाउ धन्दामा चुर्लुम्म डुबिसके भन्छन् । बाउन्नसाले अवस्था छैन अहिले । सरकारले मच्चाए मच्चिहाल्ने । सबैले सबैको चेहरा राम्ररी चिनेका छन् । जनताका अगेनीमा दिलचस्वीका साथ एकाकार हुन मन्जुर हुनु क्रान्तिकारीको मात्र दायित्व हो भन्ने कुरा अब निर्विकल्प साबित भैसकेको छ । जनश्रममा भाग लिनु, उनीहरूलाई आफ्नै घरमा झैँ सघाउनु जनताको भाषा बुझ्नु हो । उनीहरूको समस्या बुझ्नु र हल गर्न प्रतिबद्ध बन्नु उनीहरूको भाषा पढ्नु हो । जनता के हो ? उसमा के त्यस्तो सिर्जनाको खानी छ ? उसको अभाव के हो ? राम्ररी बुझ्न सके क्रान्तिकारीमा उत्कृष्ट रूपको मानसिक आनन्द प्राप्त हुन्छ र त क्रान्तिकारिता उजिन्छ । यो अभियानमा नेतृत्वले पार्टी पङ्क्तिलाई विचारको उज्यालो दिएर पठायो । फर्कंदा भौतिक तागतसहित नाफामा पु¥यायो अभियात्रीको गतिले । पार्टीलाई व्यापक रूपमा स्थापित ग¥यो । पार्टी र क्रान्तिले आधारभूत जनसमुदायदेखि मध्यम वर्गसम्ममा खुट्टा टेकायो । टाउकाले टेकेको कम्युनिस्ट आन्दोलनलाई खुट्टाले टेकेर गतिशील तुल्याउनु द्वन्द्वात्मक भौतिकवाद हो ।

३) सामाजिक दलाल सरकारको रबैया

सरकारी संयन्त्र गत केन्द्रीय समिति बैठकको पेरिफेरीमा ढडिया थापेर बसेको रहेछ । प्रवक्तालगायत एघारजना पीबीएम र सीसीएमलाई गुण्डा शैलीमा गिरफ्तार ग¥यो । देशैभर दर्जनौँ अभियात्रीहरूलाई समेत गिरफ्तार गरी नाङ्लो ठटाएर हात्ती तर्साउने नीति लागू गर्न खोज्यो । देशविदेशमा समेत चर्चा चल्यो । मानौँ देश गृहयुद्धमा छ । जनदबाब, न्यायिक दबाब बढ्यो । पार्टीको पहलमा सङ्घर्षका कार्य शानदार रूपमा सफल भए । अन्ततः सरकार सर्वाङ्ग नाङ्गियो । न्यायपालिका र कार्यपालिकाबीचमा समेत दोहोरी चल्ने अवस्था उत्पन्न भयो । । सर्वोच्च अदालतवाट रिहाइको आदेश हुन्छ तर मानवअधिकारकर्मीको सामुबाट बाजझम्टाइ गरी लगिन्छ माथिको आदेशमा । यो कस्तो कम्युनिस्ट सरकार ? अझै झुक्किनुको अर्थ ब्वाँसाको कन्याइमा घोडाको इहलीला समाप्त हुनुजस्तो होइन र ?! एकातिर आफ्नै कानुनको धज्जी उडाएर कार्यपालिकाको हस्तक्षेपमा झूट्टा मुद्दाका चाङ लाग्दै जान्छन् । जिल्ला–जिल्ला डुलाएर राजबन्दीहरूलाई मानसिक यातना दिने र सन्त्रास फैलाउने दुष्प्रयास हुन्छ । शारीरिक यातना दिन पनि पछि पर्दैनन् शासक–प्रशासकहरू भने अर्कोतिर देशैभर वलात्कार, हत्या, हिंसा, लुटपाट, तस्करीको सञ्जालले चुनौती दिँदासमेत उनीहरूलाई दण्डित गर्नु त कता हो कता ‘चुँ’ सम्म बोल्न सक्दैन । निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्नेले अरू के पत्ता लगाउँछ ? अनि जोदाहाहरू लत्रन्छन् र न्यायपूर्ण क्रान्ति रोकिन्छ ? यी सब बासी, सडेगलेका तौरतरिका मात्र हुन् । एकीकृत जनक्रान्ति यी सब हिसाब गरेरै अघि बढिरहेको छ । अन्ततः बेकसुर राजबन्दी रिहाइको विकल्प रहेन । राजनीतिक रूपमा उच्च बहस केन्द्रित भयो । नकारात्मकताबाट सुरु भएको खेल सकारात्मक परिणाममा अवतरण भयो । यही हो एकीकृत जनक्रान्तिको वैज्ञानिकता ।

४) उत्कर्ष पार्टी पुनर्गठन दिवस

चारमहिने योजनाका मूल दुई पक्ष थिए ः सङ्गठनात्मक अभियान र जनपरिचालनसहितको सहयोगात्मकता । ती दुवै योजनामा पार्टी शानदार रूपमा लक्ष्यमा पुग्न सफल भएको छ । योजनाको उत्कर्ष मङ्सिर आठ गतेको जनमुक्ति सेना दिवस तथा पार्टी पुनस्र्थापना दिवस नै थियो । हजारौँ कार्यकर्ता र जनता उत्साहजनक रूपमा काठमाडौँमा उर्लिए । पार्टीको तागत सबैले अनुभूत गर्न पाए । नेपाल कम्युनिस्ट पार्टी वैकल्पिक शक्तिका रूपमा सुस्पष्ट देखाप¥यो । त्यो शक्तिशाली उपस्थिति क्रान्तिकारी पार्टी पुस्ट्याइँ थियो । एकीकृत जनक्रान्तिको जनअनुमोदन थियो । नेतृत्वको दूरदर्शिताको परिणाम थियो । योजनाको वैज्ञानिकता थियो । सही विचार र सही राजनितिक कार्यदिशा भए सबथोक प्राप्त हुन्छ भन्ने माओको ठम्याइ कति सान्दर्भिक रहेछ । सरकारले अन्तर्राष्ट्रिय रूपमै सर्वाधिक लाज नमानेको कुरा के देखियो भने राजधानीको मुटुमा सभा गर्न लायक स्थान नै छैन । बबुरो सरकारको हबिगत दुनियाँले देखे । क्रान्तिदेखि तर्सन्छ तर शान्तिपूर्ण सभाका लागिसमेत राज्यको व्यवस्था छैन । खुलामञ्च बसपार्कमा बदलिएको छ । यो लथालिङ्ग अवस्थालाई एकीकृत जनक्रान्तिले व्यवस्था गर्छ भनेरै जनसागर उर्लिएको बुझ्नु अन्यथा हुनेछैन । चारमहिने सचेत पहलकदमीको परिणाम मङ्सिर आठमा देखिँदा कथित नामधारी कम्युनिस्ट प्रधानमन्त्रीले एउटा नाटक मञ्चन गरे । नयाँ युगको सुरुआत भन्दै विज्ञापन शैलीमा घनटाउके तस्बिर अङ्कित होर्डिङबोर्ड टाङ्न उर्दी जारी गरे । उता क्रिस्चियन सभामा ताहुरमाहुर देखाएर प्रभुले तुक्र्याएको रक्सी खाए । यो संयोग मात्र हो वा एकीकृत जनक्रान्तिको प्रभावलाई अन्यत्रै मोडिदिने त्रुप ? जे होस्, अध्यात्मवादी र भौतिकवादी दुई विश्वदृष्टिकोणको चित्र प्रस्ट देखाप¥यो । यति मात्र कहाँ हो र, सीके राउतजस्ता भारतीय साम्राज्यवादका एजेन्ट (मधेस टुक्र्याउने योजनाका कठपुतली) सँग जोडेर वार्ताको हल्ला सरकारबाट हुनु, राजबन्दी रिहाइ गर्दा वार्ताटोलीको दमनकारी नाटक रच्नुमा उदेकलाग्दो चाल देखिन्छ । पार्टी प्रवक्तालगायत कमरेडहरूलाई छोड्न बाध्य हुँदा लाज छोप्ने अस्त्रको अर्को नाम ‘वार्ता’ हो वा पुरानै जानीमानी आएको भुक्तभोगी खेल ? सात सालपूर्वका खेल, सत्र सालपूर्वका खेल, बाउन्न सालपूर्वका खेल, बैसट्ठी–त्रिसट्ठी सालपछिका सबै खेल र चाल रामरी थाहा छ । वार्ता शब्द त उही छ, सर्वसाधारणलाई सहजै र मिठै लाग्छ तर वार्ताभित्र खाँदिएको बारुदको गन्ध, सुगन्ध थाहा पाउने घ्राणशक्ति क्रान्तिकारीहरूमा जरुर हुन्छ भन्ने कुरा सामाजिक दलाल सरकार र उसका नोकरचाकरहरूलाई राम्ररी थाहा हुनुपर्छ । दमनले क्रान्ति सिद्धिँदैन बरु विकसित भएरै दमनकारी, फासिवादी सत्ताको समूल नष्ट गर्ने सामथ्र्य राख्नु साँचो अर्थको माक्र्सवाद हो ।

४) निष्कर्ष

स्वाधीन र प्रकृतिको अनुपम उपहारसरहको प्यारो नेपालमाथि चौतर्फी साम्राज्यवादी हस्तक्षेप बढेको छ । नेपाली अनुहारका दलाल, सामाजिक दलालहरू पद र पैसाको लोभमा लाछी भएर नेपाल आमाको लिलाम गर्ने मनसुवाका साथ दिल्ली, वासिङ्टन, युरोपियन कम्पनीहरूसँग सौदाबाजी गरिरहेका छन् ।

देश र जनताका लागि त्याग र बलिदान गर्ने नेपाल आमाका होनहार छोराछोरीको बिजोग बनाइसके । सहिद परिवारको हबिगत कस्तो कहालीलाग्दो छ । दसलाखे राहतले सहिद परिवारमा विखण्डन जन्माएको छ । बेपत्ताको सपना बेपत्ता पार्ने कुचेष्टा कम्ती खतरनाक छैन । घाइते योद्धाहरूलाई सडक सङ्घर्ष गर्न विवश तुल्याइएको छ । होनहार युवाहरू विदेशका गल्लीहरूमा श्रम पोखिरहेका छन् । दलालहरूमार्फत उनीहरूको रगतपसिना जुकाझैँ चुसिन्छ । आज रेमिट्यान्सले देशको घाटामा पर्खाल लगाएको छ । भूमाफिया, शैक्षिक माफियालगायत बिचौलिया दलालहरूको बिगबिगीले नेपाल आमा आहत छिन् । वैदेशिक शक्ति केन्द्रबाट राष्ट्रलाई स्वाधीन र दलाल राज्यसत्तावाट श्रमजीवी जनतालाई मुक्त गराउन एकीकृत जनक्रान्तिको मात्र खाँचो छ । हरेक चुनौतीको सामना गर्दै कठोर मेहनतका साथ अघि बढ्न मङ्सिर आठको उत्कर्षले पैदा गरेको सन्देश हो । एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवादी क्रान्तिमा विजय हासिल गर्नु आजको अपरिहार्य र अनिवार्य आवश्यकता हो ।

२०७५ पुस २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :