अखिल (क्रान्तिकारी) कास्की अध्यक्ष गुरुङ गिरफ्तार, निस्शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी

पाेखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला अध्यक्ष काजी गुरुङलाई गए राती प्रहरीले गिरफ्तार गरेको छ । उनलाई पोखराको अमरसिंहचोकबाट गिरफ्तार गरिएको प्राप्त समाचारमा जनाइएको छ । गिरफ्तार गुरुङलाई कहाँ राखिएको छ र किन गिरफ्तार गरिएको हो भन्ने बारेमा प्रहरीबाट आधिकारिक जानकारी आएको छैन । अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले आफ्नो फेसबुक स्टाटसमार्फत आफ्नो सङ्गठनका केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङलाई तुरून्त निस्शर्त रिहा गर्न माग गर्दै निस्शर्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी दिएका छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा गुरुङ गुरुङ गिरफ्तारीको कारण खुलाउंदै अघि लेखेका छन्, ‘हिजो कामको सिलसिलामा सहिद स्मृति आवासीय विद्यालय पोखरामा भएको भ्रष्टाचारको विषय उठाएका कारण सामाजिक फासिवादी दलालहरूको दुई तिहाई सरकारका मतियारहरूले प्रतिष्ठानका अध्यक्ष हरि अधिकारी (कुमार)को सुराकीमा गिरफ्तार गरिएको बुझिएको छ । गिरफ्तारिले तिम्रो कदम विरूद्ध अझ आक्रामक र निर्मम भएर लाग्ने ताकत पैदा गर्ने छ ।’

यसैबीच अद्यक्ष गुरुङ गिरफ्तारीमा परेको जानकारी जिल्ला उपाध्यक्ष आस्था नेपालीले आफ्नो फेसबुक स्टाटसमार्फत दिएकी छिन ।
आफ्नो फेसबुक स्टाटसमा उनले अघि भनेकी छिन, ‘अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष क.काजी गुरुङलाई दलाल प्रहरी प्रशासनले बिनाकारण गिरफ्तार गरेको छ । गिरफ्तार कमरेड काजि गुरुङलाई बिना सर्त यथा शिघ्र रिहा गर होइन भने सडकमा आगो बाल्न नपरोस् !!’
जिल्ला उपाध्यक्ष नेपालीले आफ्नो स्टाटसमा ‘यो लोकतन्त्र हो, राजतन्त्र होइन विचार गर !! नेपालीले फरक मत, फरक विचार राख्न पाउने अधिकार हो तर राज्य यति आतंकित किन ???’ भनेर प्रश्न गरेकी छिन् ।

२०७५ पुस २० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :