क्रान्तिको लागि ज्यान हत्केलामा राख्न तयार छौँ : प्रकाण्ड

 

बुटवल  : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले देश र जनताको भविष्यको लागि एकीकृत जनक्रान्तिको माध्यमबाट संघर्ष गर्दै जनताको सत्ता वैज्ञानिक समाजवाद ल्याउनको लागि आफूहरु ज्यानलाई हत्केलामा राख्न तयार रहेको बताए । उनले कुनै पनि तत्वले कमजोर बनाउन नसक्ने र आफूहरु निश्चित विजय हुनेमा दृढ रहेको बताए । क्रान्तिकारी पत्रकार सङ्गठनले आयोजना गरेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्न पश्चिमदेखि बुटवल आइपुगेका प्रवक्ता प्रकाण्डले पत्रकार सम्मेलनमार्फत पार्टीका धारणाहरु सार्वजनिक गरे । क्रान्तिकारी पत्रकार सङ्गठनले बुटवलमा राखेको पत्रकार सम्मेलनमा उनले बाहिर भ्रम फिजाइए जस्तो आफ्नो पार्टीले कुनै जनयुद्ध वा शसस्त्र क्रान्तिको पक्षमा नरहेको बताए, तर राज्यपक्षले अनावश्यक मुद्दा लगाउने दुख दिने र बन्दुकको बलमा आफ्ना आन्दोलनहरुलाई निस्तेज पार्न खोजे आफूहरु चुप नलाग्ने भन्न पनि उनले छुटाएनन् ।

उनले भनेका छन्,‘राजनीति रुपमा एकीकृत जनक्रान्तिमार्फत देशको व्यवस्था परिवर्तन गरेर जनताको सत्ता स्थापना गर्नको लागि वैज्ञानिक समाजवादको विकल्पसहित संघर्षमा छौँ, राज्यले आतंककारीजस्तै व्यवहार गर्छ, अन्य अपराधिक समुहलाई जस्तै व्यवहार गर्छ भने राज्यसँग लड्न तयार छौं ।’ अहिलेको सत्ता कम्युनिस्टको सत्ता नभएको र कम्युनिस्ट आन्दोलन र पार्टीलाई सिद्धाउनको लागी विदेशी प्रतिक्रियावादीले योजनाबद्ध रुपमा यो सरकार बनाएर जनतालाई कम्युनिस्टप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफूहरुलाई केपी(प्रचण्ड गठनबन्धनका पार्टी भन्दा ठूलो पार्टीको रुपमा रहेको जिकिर समेत गरे ।

त्यसैयरी नेता प्रकाण्डले भनेका छन्, ‘हामिले विगतका कमजोरीहरुबाट धेरै पाठ सिकेका छौं, बदलिदो विश्वपरिवेश र नेपाली मौलिकतामा आधारीत रहेर वैज्ञानिक ढंगबाट नयाँ क्रान्तिको स्वरुप तयार गरेका छौं, अब नेपालमा क्रान्ति कसैले रोकेर रोकिनेवाला छैन ।’

उनले आफूहरु सरकारसँग वार्ता गर्न भने तयार रहेको बताए । कुनै समूह नभई दलकै हैसियतमा सम्बोधन भए वार्ता गर्न तयार रहेको उनको भनाई थियो । ‘वार्ताका लागि हामी तयार छौं, तर हामी राजनीतिक हैसियत भएको पार्टी भएकाले त्यहीअनुसार सम्बोधन हुनुपर्छ ।’ नेता प्रकाण्डले भने । उनले सरकारले वार्ता टोली गठन गरेपनि त्यसको कुनै अर्थ नभएको बताए । विगतमा संविधानसभा र गणतन्त्रका लागि लडेकाहरुलाई आंतकारी भन्नेहरु नै प्रतिगमनकारी भएको बताए ।

आफूसहित विप्लवका नेता(कार्यकर्ता पक्राउको प्रसंगमा प्रकाण्डले सरकारले पुष्टि गर्न नसकेर आफ्नै निर्णयमा असफल भएको तर्क गरे । ‘सरकारले आफूले गरेको कामको जिम्मा पनि लिन सक्दैन, यो भन्दा लाजमर्दो बिषय के हुन्छ’ उनले प्रश्न गरे। सरकारले ६२/६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियाबाट छुटेका समूहसँग वार्ता गर्ने भनेर भनेकाले त्यो समूहमा नेकपा नपर्ने उनको जिकिर छ । उनले नेकपा जनयुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘हामी जनयुद्धको पक्षमा छैनौ, तर सरकारले बन्दुक देखाउछ भने त्यसका विरुद्ध हामी उत्रन्छौ,’ उनले भने । क्रान्तिकारी पत्रकार सङ्गठनका महासचिव हिम विष्टको सञ्चालनमा भएको सो पत्रकार सम्मेलनको अध्यक्षता सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका रुपन्देही ईन्चार्ज संगम पुन, नवलपरासी ईन्चार्ज शरद ओली, रुपन्देही सेक्रेटरी अमर आरसीलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

२०७५ पुस १० गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :