बझाङको बिचगडामा  नेकपाकाे विशाल जनसभा , केपी-प्रचण्डका दर्जनौँ नेता-कार्यकर्ता विप्लवतिर

  

बझाङ : नेपाल कम्युनिस्ट पार्टी बझाङको आयोजनामा बिहीबार बुङलको बिचगडामा विशाल जनसभा सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियान अन्तरगत सम्पन्न भएको जनसभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । देश अहिले इतिहासमै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको क्षेत्रमा निकै संकटमा परेको कुरामा जोड दिदै नेता पुनले अहिलेको केपी वलीको कथित कम्युनिस्ट नाम मात्रको सरकार सर्वथा असफल भएकोले अब नेपालमा वैज्ञानिक समाजवाद अपरिहार्य भएको दाबी गरे । श्रमजीवी र बुद्धिजीवी पलायन हुने देशले कहिले पनि उन्नति गर्न नसक्ने र देशमा अहिले कोही पैशा कहाँ पाउ र कोहि पैसा कहाँ लुकाउ भन्ने दरिद्रताको दलाल लोकतन्त्र आएकोले यसको विरुद्धमा आम सोसित पीडित जनता उठ्नु पर्ने कुरामा जोड दिंदै यो क्षेत्र जनयुद्धको आधार क्षेत्र भएको तर अहिलेका दलाल सामाजिक पुँजीवादी प्रचण्ड मण्डलीले एमाले जस्तो दलाल संसदवादी दक्षिणपन्थी शक्तिसँग पार्टी विलय गराएर यो क्षेत्रलाई उपेक्षा गरेको पनि नेता पुनको दाबी थियो ।

सभालाई अर्का वक्ता पार्टीका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्काले आफुले जनयुद्ध देखि पछि सभासद हुदा समेत आफुले आधार क्षेत्रलाई नभुलेको र अहिले पनि पार्टी र आफू एकीकृत जनक्रान्तिको नयाँ अभियानमा लागेकाले जनताले साथ दिनु पर्ने बताएका थिए । जनयुद्धमा बुङलि जनताको अपार सहयोग रहेको कुरा भाबुकतापुर्वक स्मरण गर्दै अबको क्रान्तिमा पनि जनताको सहयोग रहने आशा व्यक्त गर्दै नेता खड्काले क्रान्तिमा सामेल हुन जनतालाई आह्वान गरे । कार्यक्रममा ब्युरो सदस्य लक्ष्मण खड्का, सामना परिवारका केन्द्रीय संयोजक सरल माझी, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य बिरु तिरुवा, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय सदस्यद्वय पार्वती सिंह र सर्मिला थापा, अखिल (क्रान्तिकारी)का नेता तिलकबहादुर कुवर लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा बुद्धिजीवी, शिक्षक प्रााध्यापक, पत्रकार, युवा विद्यार्थी, सुरक्षाकर्मी लगायत हजारौँ जनताको सहभागिता रहेको थियोे । कार्यक्रममा स्थानीय बाजा र नाच सहित सामना कलाकारले बेजोड प्रस्तुती प्रस्तुत गरेको थियोे । कार्यक्रम आरोह नेपालीको सञ्चालन, लक्ष्मण बुढाको अध्यक्षता र भरत मल्लको स्वागत भाषणमा सम्पन्न भएको थियोे । कार्यक्रममा पुर्व माओवादी केन्द्रका जिल्ला नेताहरू राजु ओखेडा, पुरन जप्रेल, सन्तोष देउल्याल, मनोज पुजारा, गणेश बहादुर जप्रेल लगायत, खप्तड छान्नाबाट धनबहादुर धामी , सर्मिला थापा, संगिता थापा, सिमा थापा, जयन्ती थापा, मनिसा थापा,बसन्ति थापा,सन्जु थापा लगायतका युवाहरु, बुङलबाट दिपेन्द्र धामी, प्रिया कुवर, अमर बोहरा लगायत, सरकारी नेकपाका अनेरास्ववियुका जिल्ला सहसचिव डिके बोहरा, क्याम्पस इकाई अध्यक्ष महेन्द्र बोहरा, शंकर पातली लगायत पार्टी प्रवेश गरेका छन् ।
यसरी पार्टी प्रवेश गर्ने दर्जनौ आगन्तुकलाई प्रमुख अतिथि ओमप्रकाश पुनले टीका र मालालगाई स्वागत गरेका थिए ।

२०७५ पुस ६ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :