सिंहदरबारको डीएनए परीक्षण

कविता

स्रोत भन्छ–
निर्मलाको बलात्कार र हत्याको चार महिनापछि
कञ्चनपुर मात्र होइन,
सिङ्गो मलुकभरि दन्किएपछि विद्रोहको आगो
उडाएर केपी ओलीका पोस्टर सडकछेउका खम्बाहरूबाट
टाँसिएपछि निर्मलाका पोस्टरहरू
र गर्जिएपछि देशैभर
नेकपा नामको सक्कली बाघ
चौधौँ शङ्कास्पद व्यक्तिको सूचीमा थपियो एउटा अर्को पात्र
जे पनि हुन सक्छ उसको नाम
काठमाडौँमा भेटियो एउटा ‘लागूपदार्थ दुव्र्यसनी’
(ऊ क्रान्तिको ‘दुव्र्यसनी’ पनि हुनसक्छ र
हुनसक्छ साँच्चिकै पेसेवर दुव्र्यसनी पनि)
र सुरु गरियो उसको डीएनए परीक्षण !

डीएनए परीक्षणअघि सोधियो उसलाई–
मन्त्री छ कि छैन तेरो बाउ वा काका ?
सांसद हो कि हैन तेरो मामा वा ससुरा ?
पुलिस–सेनाको हाकिम छ कि छैन तेरो दाजु वा भिनाजु ?
कहाँसम्म छ तेरो पहुँच ?
सिंहदरबार, भारतीय दूतावास ? वासिङ्टन ?…

छैन हजूर, कोही छैन यो सत्तामा मेरो
न प्रधानमन्त्री, न गृहमन्त्री, न मन्त्री
न राष्ट्रपति, न प्रदेशमन्त्री, न प्रदेश सांसद

साँच्चै हो त ?
कोही छैन तेरो यो सत्तामा ?
उसो भए हिँड् हाम्रो प्रयोगशालामा÷यातनालयमा
हामीलाई चाहिएको थियो तँजस्तै मान्छे
‘शङ्कास्पद’, पहुँचविहीन, आवाजविहीन
दे बयान छिटो–
बलात्कारपछि मैले नै हो निर्मलाको हत्या गरेको भनेर
दिइस् भने तैँले बयान हामीले सोचेजस्तै
जोगिनेछन् हाम्रा मान्छेहरू
जोगिनेछ हाम्रो सत्ता
जोगिनेछ हाम्रो पद र सुखसयल तेरो एउटा बयानले

मौनमौन थियो– कञ्चनपुरबासी (अर्थात् नेपालबासी)
हेरिरहेको थियो ऊ तलदेखि माथिसम्म
आफूलाई बयान लिनेको शरीरमा र
रेखारेखा पढिरहेको थियो ऊ डीएनए परीक्षण गर्ने सफेद पोसाकधारीको अनुहार
सकिएपछि इन्कारी बयानको अन्तिम वाक्य
अलि गम्भीर भएर भन्यो उसले–
ओ शासक !
परीक्षण गर तिम्री राष्ट्रपतिको डीएनए
भेट्नेछौ अलिकति महारानी ऐश्वर्याको सनक
जाँच तिम्रो प्रधानमन्त्रीको रगत
पाउनेछौ केही लेन्डुप दोर्जेको रक्तकण
निकाल प्रचण्ड नाउँको सत्ताधारी पार्टीको द्वितीय अध्यक्षको टाउकोबाट अलिकति मस्तिष्कका नसा
भेट्नेछौ त्यहाँ ख्रुस्चेभ र देङका असली प्रतिबिम्बहरू
उभ्याऊ रामबहादुर र श्यामबहादुरहरूलाई कठघरामा
पारिदिएका हुन् तयार बलात्कारका लागि
तिनकै जीहजुरी गर्नेहरूले निर्मला र शर्मिष्ठाहरूलाई
मारेका हुन् तड्पाई–तड्पाई र फ्यालेका हुन् झाडीहरूमा
बन्द गर यो सब नौटङ्की दुनियाँको डीएनए परीक्षणको
र बन्द गर बुझपचाउँदै दुःख दिन जनतालाई
साँच्चै पत्ता लगाउने हो भने राष्ट्रका असली बलात्कारी र हत्यारा
खडा गर सिंहदरबार, बालुवाटार र निर्मल÷शीतल निवासभित्रै प्रयोगशालाहरू
भेट्नेछौ त्यहीँ हजारौँ निर्मला र शर्मिष्ठाका बलात्कारीहरू
हत्याराहरू, चेली–दलाल र मातृघातीहरू

तर
तर पुरानो भैसकेको छ तिम्रो प्रयोगशाला
सक्तैन छुट्ट्याउन असरी बलात्कारी र हत्याराहरू
राष्ट्रघाती र मातृघातीहरू
त्यसका लागि बनेको छ नयाँ प्रयोगशाला
हो, त्यसको नाउँ हो एकीकृत जनक्रान्ति
पत्ता लगाउनेछ त्यसैले
सुगौलीमा गुमेको र नेपालको मानचित्रबाट एकाएक गायब भएको
नेपाली भूभागको सिमाना
राख्नेछ हिसाब त्यसैले
नालापानीमा वीरता देखाउनेहरूको इतिहास र
कोसी, गण्डक, महाकाली, बिप्पा र लिपुलेकमा गद्दारी गर्नेको
राख्नेछ मालेमाको प्रयोगशालामा र
लगाउनेछ पत्ता जनयुद्धलाई दुर्गन्धित सत्तासँग साट्नेहरूका काला अनुहार
चिन्नेछ अनि हजारौँ निर्मलाहरूका बलात्कारी र हत्यारा
गर्नेछ डीएनए परीक्षण उसैले
लाम लगाएर मदन भण्डारीका हत्यारा र मतियारहरू पनि

नयाँ स्रोत भन्छ–
मिल्छ, दुरुस्तै मिल्छ
भीमसेन थापा, अमरसिंह र भक्ति बुढाहरूलाई रुवाएर मार्ने
लखन, कृष्णलाल, भीमदत्त र कृष्ण सेनहरूलाई तड्पाएर सास लिने
मदन भण्डारी, सुरेश वाग्ले र आयामहरूको प्राणपखेरु उडाउने
नमिता, सुनीता र निर्मलाहरूको बलात्कार गरी हत्या गर्नेहरूको डीएनए
बरु छिटो सक्रिय पार्नुपर्छ जनक्रान्तिको प्रयोगशाला
र सुरु गरिहाल्नुपर्छ परीक्षण गर्न सिंहदरबारहरूको डीएनए ।

२०७५ मङ्सिर २७ बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :