‘पवित्र’ जाँड शुक्राणुको सम्मिश्रण

गत मङ्सिर ८ गते र मङ्सिर १६ गते काठमाडौँमा नेपाललाई मात्र नभएर विश्वमा नै चर्चामा आएका दुईवटा घटनाहरू भएका छन् । दर्शन, दृष्टिकोण र राजनीतिका हिसाबले यी दुईवटा कार्यक्रम एकअर्काका प्रतिलोम हुन् । मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा हजारौँहजार जनताको उपस्थितिमा जनप्रदर्शन र जनसभा आयोजना गरेको थियो । यो जनप्रदर्शन र जनसभाले नामधारी कम्युनिस्टहरूको सरकारलाई मात्र चुनौती दिएन, संसद्मा लगेर कम्युनिस्ट ठीक पार्न सकिन्छ भन्ने अनुभव र ज्ञान बटुलेर भारतलगायत विभिन्न देशको क्रान्तिलाई रोकेका र प्रतिक्रान्तिमा परिणत गर्न सफल भएका देशीविदेशी प्रतिक्रियावादीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न पनि सफल भएको छ । यसले भौतिकवादलाई परित्याग गर्दै आदर्शवादका सामु आत्मसमर्पण गरेका ती ‘सकारात्मक धार्मिक’ कम्युनिस्टहरूको स्वर्गमा धावा बोलेको छ । साथै उनीहरूको आत्मसमर्पणको पनि सुनिश्चितता धर्मराउन पुगेको छ । यसरी नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा मङ्सिर ८ गतेले एउटा ज्युँदोजाग्दो इतिहास बनाएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आधारमा कम्युनिस्ट क्रान्तिको नयाँ भविष्य कोरिरहेको छ ।

उक्त कार्यक्रमको छैटौँ दिनपछि मङ्सिर १४ गतेदेखि १६ गतेसम्म एउटा विवादित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘युनिभर्सल पिस फेडेरेसन’ ले ‘हाम्रो समयका आलोचनात्मक चुनौतीहरू ः अन्योन्याश्रित, पारस्परिक समृद्धि र सार्वभौम मूल्य’ को ब्यानरमा नेपाल सरकारको सहआयोजनामा नेपालको महँगो होटेलमा कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रमलाई ‘एसिया प्यासिफिक सम्मेलन’ को नाम दिइएको थियो । उक्त सम्मेलनलाई एसियाको राजनीतिक विषयमा छलफल गर्ने कार्यक्रम भनिए पनि जब संस्थाकी प्रमुख हक जा हान मुनले देशैभरिबाट आएका स्थानीय र सङ्घमा निर्वाचित जनप्रतिनिधिहरू, कहाँसम्म भने कार्यक्रममा उपस्थित प्रधानमन्त्रीसमेतलाई ‘आशीर्वचन’ दिइन् र उनका श्रीमान् सन म्युग मुनको शुक्रकीट मिसाएर बनाइएको होली वाइन— पवित्र जाँड ख्वाइयो भन्ने कुरा व्यापक भयो । कैयौँ पत्रिकाले यसबारेमा सम्पादकीय पनि लेखे ।

अहिले नेपालका छापाहरू यो सम्मेलन, प्रधानमन्त्रीलाई ‘सुशासन’ का लागि दिइएको एक लाख अमेरिकी डलरको ‘सम्मान’ र कार्यक्रममा देशभरिबाट नवनिर्वाचित भनिएका जनप्रतिनिधिहरूलाई बोलाएर मुनले दिएको आशीर्वचन र होली वाइनद्वारा गरिएको पवित्रतालाई लिएर निकै सनसनीपूर्ण समाचारहरू छाइरहेका छन् । छापाहरूले यसरी महत्व दिनुको मुख्य कारण कम्युनिस्ट नामको सरकार नै उक्त कार्यक्रमको आयोजक बन्न पुग्यो र संविधानमा धर्मनिरपेक्ष भनिए पनि हिन्दुधर्मको दबदबा रहेको नेपालमा क्रिस्चियन धर्मको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुनु र त्यसमा नेपालका कम्युनिस्ट भनाउँदाहरूको नै बढी हालीमुहाली हुनु रहेको छ । यसअघिका प्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, पूर्वराष्ट्रपति रामवरण यादवजस्ता गैरकम्युनिस्टहरू यस्ता कार्यक्रमहरूमा सहभागी, सम्मानित वा आशीर्वचनद्वारा पवित्र नभएका होइनन् । धर्म भनेको अफिम हो भनी आदर्शवादका विरुद्ध छुट्टै दर्शनको खोज गरेर नयाँ र वैज्ञानिक दृष्टिकोण निर्माण गरेका कम्युनिस्टहरूले नै नाङ्गो पक्षपोषण गरेको विषयको विरोध हुनुलाई स्वाभाविक मानिन्छ ।

धर्मका बारेमा कार्ल माक्र्सले १८४२ मा नै स्पष्ट धारणा राख्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘जब धर्म राजनीतिक तत्व बन्दछ र यो राजनीतिको विषयवस्तु हो भने यो कुरा बडो कठिनाइपूर्वक भन्नु आवश्यक छ– अखबारहरूले सक्ने मात्र होइन, राजनीतिक प्रश्नहरूमाथि बहस गर्नैपर्छ । यसले सहजै देखाउँछ, दर्शन विश्वज्ञान हो । यसको विश्व विचरणका लागि स्वयम्लाई सम्बन्ध राख्ने बढीभन्दा बढी अधिकार छ । त्यसमा पनि अर्को संसारको, धर्मको ज्ञानभन्दा राज्यको । यहाँ प्रश्न यो होइन, राज्यको दार्शनिकीकरण गरियोस्, बरु यसको दार्शनिक रूपले व्याख्या राम्ररी गर्ने वा नराम्ररी, दार्शनिक रूपले गर्ने वा गैरदार्शनिक रूपले, पूर्वाग्रही भएर वा पूर्वाग्रहबिना, सचेत वा अचेत ढङ्गले, सङ्गतिपूर्ण वा असङ्गतिपूर्ण ढङ्गले, बुद्धिसङ्गत ढङ्गले वा अद्र्धबुद्धिले भन्ने हो । तपाईं धर्मलाई संवैधानिक कानुनको एउटा सिद्धान्त बनाउनुहुन्छ भने तपाईं धर्म स्वयम्लाई एक प्रकारको दर्शन बनाउँदै हुनुहुन्छ ।
(कार्ल माक्र्स, अखबारहरूमा धर्म र दर्शनको बहस, रेनिस जेइटुङ नं. १९५, जुलाई १४, १८४२, पूरक, दार्शनिक रचनाहरू, माक्र्सदेखि माओसम्म, अनु ः हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पृ. २६ दोस्रो हरफ)

धर्म र राजनीति सँगसँगै जन्मिएको भन्न सकिन्छ । राजनीति गर्नका लागि धर्मको आड पाइन्छ । यो परापूर्वकालदेखिको प्रचलन नै हो । राजनीतिलाई दर्शनले निर्देश गरेको हुन्छ । समाजवादी आन्दोलनले पुँजीवादका विरुद्ध धावा बोल्दा र पुँजीवादलाई परास्त गरिरहँदा भौतिकवादी दर्शनले समाजवादी राजनीतिलाई निर्देश गरिराखेको थियो । जब पुँजीवादको हालीमुहाली हुन थाल्यो तब आदर्शवाद पनि हाबी हुन पुग्यो । त्यसले पुँजीवादलाई निर्देश त गरिराख्यो नै तर विभिन्न रूप र रङमा देखापरेका संशोधनवादी कम्युनिस्टहरूलाई लपेटिरहेको छ । उनीहरू पुँजीवादीकरण हुँदै गर्दा आदर्शवादलाई उनीहरूले नीतिगत रूपमा नै अँगाल्नुपर्ने पहिलो र अनिवार्य सर्त बन्न पुग्यो । भौतिकवादी दृष्टिकोणलाई परित्याग गरी आदर्शवादमा प्रवेश गर्दा ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेजस्तै संशोधनवादीहरूले आदर्शवादीकरण हुनका लागि पुँजीवादीहरूलाई पनि उछिनिरहेका छन् ।

दस वर्षको जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र झापा विद्रोहमा सहभागी भएका केपी ओलीहरूले आफूलाई तीव्र रूपमा आदर्शवादीकरण गरिराखेका छन् । माधव नेपालहरू आफ्नी श्रीमतीलाई दसैँको टीका लगाई खुट्टामा ढोग्न लगाउँछन् । उनी हिन्दू धर्म मात्र होइन, क्रिस्चियन धर्मप्रति पनि अनुकूल देखिएका छन् । उनले मुनले दिएको आशीर्वचन र उनका श्रीमान्को शुक्राणु मिसिएको जाँडबाट पवित्र भएका समाचारहरू आएका थिए ।
प्रचण्डले जनयुद्ध परित्याग गर्दैगर्दा भैँसीपूजा गरे । दसाग्रह कटाउन भन्दै फलामको औँठी लगाए । देवताहरूको पनि देवता महादेवको भक्त ठहरिन बोलबम शिरताज लगाएर सहभागी भए । रामदेवले लगाइदिएको जन्तरमन्तरद्वारा शोभायमान भए । आफ्ना सहयोद्धा रामबहादुर थापासँगै म्याग्दीमा गएर शिवजीको आरती उतारे ।

जनवादी संस्कृतिको ध्येय लिएको झापा विद्रोहमा वैचारिक रूपमा विचलित भएर आदर्शवादसँग साँठगाँठ गर्न पुगेपछि वर्णशङ्करका रूपमा जन्मिएको जनताको बहुदलीय जनवादका प्रणेता मदनकुमार भण्डारीकी जीवनसँगिनी (मदन भण्डारीको मृत्युपछि वामपन्थी राजनीतिमा सक्रिय भएकी) विद्या भण्डारी राष्ट्रपति भएदेखि हिजोका राजामहाराजाहरूझैँ मठमन्दिरहरूमा पूजा गर्दै हिँडिरहेकी छिन् ।
वास्तवमा हिन्दुधर्म मान्नेहरू विभिन्न राजनीतिक संविधान मान्ने देशहरूमा पनि रहेका छन् । यो प्रक्रिया अरू धर्म मान्नेहरूलाई पनि लागू हुन्छ, त्यो क्रिस्चियन होस् वा मुस्लिम नै किन नहोस् । नेपालमा हेर्ने हो भने यहाँ अहिले पनि हिन्दुधर्म मान्नेहरूको बाहुल्य भएको देखाइएको छ । विगतका ७० वर्षलाई हेर्ने हो भने निरङ्कुश जहानिया राणाशासन, बहुदलीय व्यवस्था, निरङ्कुश पञ्चायती व्यवस्था, संसदीय व्यवस्था, ज्ञानेन्द्रको शाहीकाल वा अहिलेको दलाल संसदीय व्यवस्थासम्म आइपुग्दा यी धर्महरूले संविधान कस्तो निर्माण गर्ने भन्ने कुरा गर्दैनन् । ती धर्महरूलाई यी संविधानहरूका बीचमा के भिन्नता रहेको हुन्छ भन्ने पनि जानकारी रहेको हुँदैन । यी धर्महरूले त राज्यसत्ताप्रति शिर झुकाऊ किनभने सम्पूर्ण सत्ता ईश्वरप्रदत्त छ भन्ने सिकाउँछ । त्यसैले राज्यका संविधानहरू कति सही छन् भन्ने कुरा धर्महरूका आधारमा होइन, बरु राज्यको आफ्नो स्वभाव, चरित्र र सारका आधारमा हेर्नुपर्छ । धर्महरूको राज्यको स्वभावका आधारमा होइन, मानव राज्यको स्वभावका आधारमा परीक्षण गर्नैपर्छ । नत्र हेरौँ त क्रिस्चियन धर्मलाई आदर्श मान्ने अमेरिकाका दुईटा बाइबल लिएर राष्ट्रपतिको शपथ खाने ट्रम्पको राज्य, घन्टौँ देवीदेवताको पूजा गर्ने, आफ्नो देशका देवीदेवताले नपुगेर नेपालमा पूजा गर्न आउने भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदी हुन् वा अत्यधिक मत ल्याएर राष्ट्रपतिमा विजयी भएका इमानुयलको फ्रान्सको सत्ता, किन जनप्रेमी हुनु साटो झनै क्रूर र अनुदार भैराखेका छन् ?

त्यसैले माक्र्सले धर्मका बारेमा भन्नुभयो, ‘के क्रिस्चियन धर्म सर्वोपरि चर्च र राज्यबाट छुट्ट्याइएको थिएन र ?’
सेन्ट अगस्टिनको ‘डेसिभिटेट डेई’ वाचन गर्नुहोस् । चर्चका पादरीहरू र क्रिस्चियन आत्माको अध्ययन गर्नुहोस् । त्यसपछि फर्कनुस् र ‘क्रिस्चियन राज्य’ मा राज्य कुन हो र चर्च कुन हो भन्नुहोस् । अथवा के तपाईंको व्यावहारिक जीवनको हरपलले तपाईंको सिद्धान्त गलत साबित हुँदैन र ? तपाईं ठगिनुभएको छ भने अदालतमा गएर आवेदन गर्नु गलत हो भन्ने ठान्नुहुन्छ र ? तर पादरी उपदेश लेख्छ– यो गलत हो । तपाईंको एउटा गालामा हिर्काइन्छ भने अर्को गाला थाप्नुहुन्छ ? अग्रमोर्चामै कारबाही सुरु हुन्न र ? तर अकाट्य ग्रन्थले यसलाई मनाही गरेको छ । के तपाईं यो दुनियाँमा बौद्धिक अधिकारको माग गर्नुहुन्न ? के तपाईं बिस्तारै कर बढिरहेकोमा मुर्मुरिनुहुन्न ? के आफ्नै व्यक्तिगत स्वतन्त्रता लुटिँदा अलिकित पनि रिसाउनुहुन्न ? तर तपाईंलाई यसो भनिएको छ– यो जिन्दगीको दुःख–कष्टसँगै भविष्यको चरमानन्द तुलना गरिनु हुँदैन, धैर्यपूर्वक कष्ट सहनु र परमानन्दपूर्वक आशामा बाँच्नु सङ्घटक सद्गुणहरू हुन् । (कार्ल माक्र्स, अखबारहरूमा धर्म र दर्शनको बहस, रेनिस जेइटुङ नं. १९५, जुलाई १४, १८४२, पूरक, दार्शनिक रचनाहरू, माक्र्सदेखि माओसम्म, अनु. हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पृ. २६ तेस्रो हरफ)

यहाँ धर्म प्रचारका नाममा जाँड ख्वाइयो र पश्चिमाहरूले धर्मलाई नेपालमा दबदबा बढाउने साधन बनाएको भन्ने मात्र होइन, धर्मलाई पछिल्ला साम्राज्यवाद अथवा उत्तरसाम्राज्यवादले आदर्शवादलाई कसरी प्रयोग गरिराखेको छ भन्ने हो । आफ्नो दर्शन नभएपछि मार्गनिर्देश नपाइरहेको पुँजीवादले सामन्तवादसँगको आदर्शवादलाई सापट लिएपछि साम्राज्यवादमा स्थानान्तरित भएको थियो । हिन्दुधर्ममा पनि हिजोका ऋषिमुनीहरूले समकालीन राजामहाराजा वा सम्राट्हरूलाई धर्मद्वारा प्रशिक्षित गर्दथे । उनीहरू पनि सोमरस सेवन गर्दथे । फरक यत्ति हो– विज्ञानले धर्म छैन, भगवान् छैन भनेर १८८७ मा नै पुष्टि गरिसकेको अवस्थामा पनि धर्मका आडमा मुनहरू शुक्राणु मिसिएको जाँड ख्वाइरहेका छन्, दलाई लामाहरू मलमूत्र ख्वाइरहेका छन् । नाङ्गा बाबाहरू महिलालाई आफ्नो लिङ्गमा शिर ढोगाइरहेका छन् । त्यसैले धर्मका नाममा पुरानो राज्यप्रणालीलाई टिकाइराख्न र राज्यसत्ताविरुद्धको विद्रोह रोक्न लागिएको छ ।

२०७५ मङ्सिर २६ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :