दलित मुक्तिमोर्चाको राष्ट्रिय सम्मेलन फागुनमा

 

काठमाडौँ : दलित मुक्तिमोर्चा नेपालको राष्ट्रिय सम्मेलनमा फागुन महिनाको २७, २८ र २९ गते काठमाडौँमा हुने भएको छ । दलित मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको मङ्सिर १० र ११ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
मोर्चाका आध्यक्ष डम्बरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठकका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डले छुवाछूतलगायत सबैखाले जातीय र वर्गीय विभेदको अन्त्य अबको निर्णायक क्रान्तिले गर्ने बताए । जनयुद्धबाट स्थापित दलित समुदायको विशेषाधिकारको सवालमा संसद्वादीहरूले पूर्ण रूपमा बेवास्ता गरेका कारण समस्या पुनः नयाँ ढङ्गले बल्झेको उनको भनाइ थियो । छुवाछूत अहिले सामाजिक दलाल पुँजीवादी शैलीमा भिन्न र नयाँ रूपमा व्यक्त भइरहेकाले त्यसलाई बेलैमा चिन्न र बुझ्न सक्नुपर्नेमा उनले सचेत गराए । दलित मुक्तिका लागि राज्यसत्ता, राजनीतिक शासनप्रणाली र नेतृत्वका सबालमा दलित समुदायको स्वामित्व अनिवार्य रहेको भन्दै प्रकाण्डले त्यो एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमा मात्र सम्भव भएको धारणा राखे ।

बैठकले देशैभर भइराखेका छुवाछूत, विभेद, हत्यालगायत सवालमा पुस १३ गते देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको छ । मोर्चाको राष्ट्रिय सम्मेलन आगामी फागुन २७, २८ र २९ गते विशाल जनसभासहित काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य सन्तोषी विश्वकर्मा र बाबुराम गजमेरले मन्तव्य राखेका थिए ।

२०७५ मङ्सिर १२ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :