भ्रष्ट सांस्कृतिक क्षेत्र जनसांस्कृतिक महासङ्घको निगरानीमा

 

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको तेस्रो पूर्ण बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठकले राज्यको लगानी भएका तीनवटै प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशनलगायत सांस्कृतिक/साहित्यिक क्षेत्रमा भएका भ्रष्टाचार, बेथिति र मनोमानी अन्त्य गर्न आह्वान गर्दै नसुध्रिनेहरूलाई कारबाहीको निगरानीमा राखेको जनाएको छ ।

बैठकको अध्यक्षता गर्दै महासङ्घका अध्यक्ष एवम् नेकपाका केन्द्रीय सदस्य माइला लामाले संस्कृतिकर्मीहरूले सांस्कृतिककर्महरूका माध्यमबाट जनतामा क्रान्तिकारी आशावाद जगाउनुपर्ने र क्रान्तिप्रति प्रेरित गर्नुपर्ने बताए । एकीकृत जनक्रान्तिको कार्यदिशामा श्रमिक मजदुर, किसान मात्र नभएर संस्कृतिकर्मी, बुद्धिजीवी र मध्यमवर्ग पनि लामबद्ध र आकर्षित बन्दै गएकाले क्रान्ति सम्पन्न गर्न त्यति लामो समय नलाग्ने बताए ।

महासङ्घको बैठकले आंगिक सङ्गठनहरूको सम्मेलन र सङ्घर्ष तय गरेको छ । निर्णयअनुसार अखिल नेपाल लेखक सङ्घको सम्मेलन यही १० गते सम्पन्न भइसकेको छ । अखिल नेपाल जनकलाकार सङ्घको सम्मेलन चैत ५ गते, अखिल नेपाल लोककलाकारको सम्मेलन चैत ६ गते, अखिल नेपाल ललितकला सङ्घ र अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घको वैशाख दोस्रो साता र चलचित्रकर्मी सङ्घको जेठ पहिलो साता हुने महासङ्घले जनाएको छ । महासङ्घले भेरी, सेती र महाकाली ब्युरो संयोजकमा हरिलाल महतारा, राप्तीमा हिमाल, कर्णालीमा हिमचुली, लुम्बिनीमा खोमा तरामुमगर, गण्डक र धौलागिरिमा करुणा गाहामगर, नारायणीमा पारस ठाकुर, मेचीमा इस्लाम, कोसीमा लम्जेल, जनकपुरमा खड्ग, सगरमाथामा कार्यालय, उपत्यका र पूर्वी ताम्सालिङ हेर्ने जिम्मा आरोह नेपालीलाई दिएको छ । यसैगरी अन्तर्राष्ट्रियमा खेम थपलिया, प्रतिभाप्रवाह, प्रचारप्रसार र प्रकाशनमा अशोक सुवेदी, जनकलाकारमा सरल माझी, आर्थिक विभागको जिम्मा आरोह नेपालीलाई दिइएको महासङ्घले जनाएको छ । महासङ्घले साहित्य, कला र संस्कृतिसम्बन्धी राष्ट्रिय स्तरका गोष्ठीहरू गर्ने, साहित्यिक प्रकाशनहरू गर्ने निर्णयहरू गरेको जानकारी पनि दिएको छ ।

२०७५ मङ्सिर १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :