काठमाडौँमा नेकपाको विशाल जनसभा सम्पन्न, विप्लवले पठाए यस्तो सन्देश, प्रकाण्डले भने निर्णायक क्रान्ति आवश्यक छ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौँमा जनशक्ति प्रदर्शन गरेको छ । राज्यद्वारा नेकपाका खुला राजनीतिक गतिविधिमा समेत अघोषित प्रतिबन्ध लगाइरहेको परिप्रेक्ष्यमा नेकपाले काठमाडौँमा बीसौँ हजार जनसमुदायको प्रदर्शन गरेर केपी–प्रचण्ड सरकारलाई चुनौती दिएको छ ।
उक्त सभामा उपस्थित नभए पनि पार्टीका महासचिव विप्लवले बधाई तथा शुभकामना सन्देश पठाएका थिए । सन्देशमा विप्लवले दलाल संसदीय व्यवस्थाबाट जनता र राष्ट्रको कुनै भलो नहुने, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल झन्झन् कष्टकर हुँदै जाने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि सुरु भएको अभियानमा लामबद्ध हुन सबैलाई आह्वान गरेका छन् । जनता यो शासन व्यवस्थाबाट आजित हुन पुगेको, राष्ट्रियता इतिहासकै गम्भीर मोडमा पुगेको, देश र जनताले वैकल्पिक राज्यव्यवस्था माग गरेको र त्यो व्यवस्था वैज्ञानिक समाजवाद भएको महासचिव विप्लवको शुभकामना सन्देशमा उल्लेख छ । 
काठमाडौँको प्रदर्शनीमार्गमा आयोजित उक्त विशाल सभालाई नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले मुख्य वक्ताका रूपमा सम्बोधन गरे । सभाका प्रमुख अतिथि प्रकाण्डले देशको आमूल परिवर्तनका लागि एउटा निर्णायक क्रान्तिको आवश्यकता भैसकेको बताए । नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका प्रकाण्डले सार्वजनिक कार्यक्रम गर्न दिने ठाउँसमेत दिन नसकेको सरकार फासिवादतर्फ उद्यत रहेको भन्दै पार्टी पाँच वर्षमा प्रवेश गरेको अवसरमा महासचिव विप्लवले पठाएको शुभकामनासन्देश सहभागी जनसमुदायलाई सुनाए ।
गृह प्रशासनले नेकपाको जनपक्षीय कार्यक्रम र नारा देखेर नियोजित रूपमा कार्यक्रम गर्ने स्थलसमेत नदिएर फासिवादी सरकारको इसारामा लाचारी प्रकट गरेको उनले बताए । फासिवादी र दलाल सरकारका कारण देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताउँदै त्यो कदम तत्काल नरोकिए सबै जनता राष्ट्रिय मुक्ति सेनामा परिणत हुने चेतावनीसमेत उनले दिए ।Image may contain: one or more people, crowd and outdoor
निर्मला पन्तका हत्यारालाई पत्ता लगाएर केपी–प्रचण्डको अगाडि पछार्ने काम नेकपाले गर्ने प्रवक्ता प्रकाण्डको भनाइ थियो । निर्मला पन्तको हत्याको विरोधमा सङ्घर्ष गर्ने र त्यसका निम्ति आन्दोलन घोषणा गरिसकेकाले सहभागी हुन प्रकाण्डले अपिलसमेत गरे ।

 

प्रचण्ड डाँका हो : गोपाल किराँती
नेकपाको सभालाई सम्बोधन गर्दै पुनर्गठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले वर्तमान संसदीय व्यवस्थालाई उखेलेर फाल्न वस्तुगत परिस्थिति तयार भएको बताए । उनले भने, ‘क्रान्तिकारी कम्युनिस्टहरूको आत्मगत परिस्थिति बलियो बनाउन आवश्यक छ ।’
किराँतीले भने, ‘इतिहासमा एक सय चार वर्षको निरङ्कुश राणाशासन हटाउन नेपाली काङ्ग्रेसको अग्रणी भूमिका छ । दुई सय चालीस वर्षको निरङ्कुश राजतन्त्र माओवादीले हटाएको हो तर नेपालको राजनीतिक आन्दोलनको इतिहासमा नेकपा एमालेको कुनै भूमिका छैन । यो सधैँ पुच्छर बनेको पार्टी हो ।’ क्रान्तिकारीहरूबीच एकता अत्यावश्यक भैसकेको र उक्त एकता परिपक्व हुनुपर्नेमा जोड दिँदै नेता किराँतीले क्रान्तिकारीहरूको जुटाइले क्रान्तिको रक्षा गर्ने विश्वास व्यक्त गरे । कुनै बेलाका क्रान्तिका नायक मानिएका प्रचण्ड अहिले डाँकामा परिणत भएको भन्दै किराँतीले भने, ‘क्रान्तिकारीहरूको उद्देश्य देश र जनताको मुक्ति गर्नु हुन्छ तर डाँकाको उद्देश्य क्रान्तिकारीलाई दमन गर्ने र व्यक्तिगत स्वार्थमा लाग्ने हुन्छ ।’ किराँतीले थपे, ‘भविष्यमा देशको एकजना पनि सहिद परिवार र जनमुक्ति सेना प्रचण्डको हातमा रहनेवाला छैन किनकि प्रचण्ड क्रान्तिकारी विचार र धरालतबाट विचलित भैसकेका छन् । क्रान्तिकारी पार्टीहरूलाई पुनर्गठन गर्नका लागि हामी प्रतिबद्ध छौँ तर प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ ।’
विप्लवको प्रशंसा गरे कट्टेलले
सोही सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले विद्रोहको आरम्भ थालेको र मुक्तिका सपना ब्युँताएको भन्दै विप्लव नेतृत्वको नेकपाले सुरु गरेको जनक्रान्तिको खुलेर प्रशंसा गरेका छन् । नेकपाको कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका कट्टेलले कम्युनिस्टकै नाममा कम्युनिस्ट दबाउने, जनताका आवाज बन्द गर्न खोज्ने ओली र प्रचण्डमाथि अब जनताले प्रतिबन्ध लगाउने बेला आएको पनि बताए ।
केपी ओली र प्रचण्डहरूले पनि ज्ञानेन्द्र शाहले झैँ सत्ता छाडेर भाग्नुपर्ने अवस्था आउन लागेको बताउँदै कट्टेलले भने, ‘नेपालका क्रान्तिकारीहरू मरेका छैनन् । तिम्रा प्रतिक्रान्तिकारी कदमहरूलाई चिहानमा गाड्दै क्रान्तिमार्गमा अघि बढिरहेका छन् ।’ विश्वक्रान्तिको बदलिएको चरित्रअनुसार लाखौँ जनता विद्रोहमा सामेल हुँदै गएको र विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको यो प्रदर्शन र सभाले पनि त्यो प्रमाणित गर्दै गएको उनको भनाइ थियो । तर मेरा गोरुको बाह्रै टक्का भनेर कसैले भन्नु नहुने उनले बताए ।
उक्त जनसभाबाटै नेकपामा प्रवेश गरेका माओवादी केन्द्रका पूर्वनेता तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीले देशका सम्पूर्ण बुद्धिजीवीहरूले क्रान्तिको सही बाटो रोज्नुपर्ने बेला आएको बताउँदै उक्त बाटो एकीकृत जनक्रान्तिको बाटो भएको र त्यसलाई नेकपाले नेतृत्व गरिरहेको बताए । नेकपामा लामबद्ध हुन उनले सबै युवा र बुद्धिजीवीहरुलाई आह्वान पनि गरे ।
नेकपा सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको अध्यक्षतामा सम्पन्न जनसभाको सञ्चालन नेकपाकी पोलिटब्युरो सदस्य उभा भुजेलले गरेकी थिइन् भने स्वागतभाषण अर्का पोलिटब्युरो सदस्य पदम राईले गरेका थिए । अन्तर्राष्ट्रिय गीत गायनबाट शुरुभएको कार्यक्रमको बीचबीचमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले क्रान्तिकारी गीत र नृत्य प्रस्तुत गरेको थियो ।
सभा सुरु हुुनुपूर्व काठमाडौँका लैनचौर, कालीमाटी, बबरमहललगायत स्थानबाट हजारौँको जुलुस कार्यक्रमस्थलमा प्रवेश गरेको थियो । सरकारले शान्तिवाटिका र भृकुटीमण्डपभित्र कार्यक्रम गर्न नदिएपछि प्रदर्शनीमार्गको मूल सडकमै कार्यक्रमको आयोजना गरिएको थियो । हजारौँहजारको मानिस सहभागी भएपछि काठमाडौँको वातावरण विप्लवमय भएको थियो ।

२०७५ मङ्सिर ९ गते आइतबार बिहान प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :