नेकपाको शान्तिपूर्ण सभा भाँड्न सरकार क्रियाशील, ठाउँठाउँमा अवरोध प्रयास

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले भोलि शनिबार काठमाडौँको भृकुटीमण्डपमा बृहत् सभा गर्न लागेको बेला उक्त सभा भाँड्न प्रहरीले हस्तक्षेप गरिरहेको छ । शान्तिपूर्ण सभालाई रोक्ने कुनै बहाना नपाएपछि कमजोर बनाउने सरकारी नीतिअनुसार चौतर्फि जनता आतङ्कित पार्न थालिएका समाचारहरु प्राप्त भएका छन् । बिहीबार साँझ लैनचौरमा रहेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ भने केही सामानसमेत जफत गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

कात्तिक १७ गते सप्तरी प्रहरीले उदयपुर लैजाँदै गरेको पर्चा, पोस्टरलगायत प्रचार सामग्री कब्जा गरेको थियो भने पाँचथर र इलाममा २/२ जनालाई गिरफ्तार गरेको थियो । बिर्तामोड, दमक, विराटनगर, धरान, इटहरीलगायत स्थानमा प्रहरीले झन्डा, ब्यानर, पर्चा र पोस्टर च्यातेको छ । नेकपाका कोसी ब्युरोका कार्यकर्ता लक्ष्मणको घरमा प्रहरीले छापामारेको छ भने आज शुक्रबार बिहान रौतहट इन्चार्ज नयनकी जीवनसाथीले पढाइरहेको विद्यालयमा नै गएर मकवानपुर प्रहरीले ‘तिम्रो श्रीमान् लिएर आऊ नत्र तिमी नै हिँड’ भन्दै धम्क्याएको छ । त्यसैगरी बिहीबार रातीदेखि टोखा–काठमाडौँ सडकमा सशस्त्र प्रहरीले जाँच गर्ने निहुँमा जनतालाई तर्साउने गरेको छ । देशैभरि प्रहरीले ‘विप्लवको कार्यक्रममा नजाऊ, गोली चल्छ’ भनेर जनता तर्साउने र जनसभा कमजोर पार्ने षड्यन्त्र गरिरहेको छ । आफ्नो पार्टी र सरकारको भण्डाफोर हुने भएको हुनाले रामबहादुर थापा ‘बादल’ को गृह प्रशासन जनसभा भाँड्न षड्यन्त्र गरेकाे भन्दै नेकपाले आपत्ति प्रकट गरेको छ ।

२०७५ मङ्सिर ७ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :