मङ्सिर ५ जनयुद्धको ‘अन्त्य’

२०६३ साल मंसीर छ गते अथवा आजकै दिन तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका तत्कालिन सभापति जो प्रधानमन्त्री रहेका थिए काबीचमा बृहत् शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौताले जनयुद्धको विधिवत् अन्त्यको घोषणा गरेको मात्र थिएन कि पुरानो सामन्तवादी सत्ताका मुख्य सुरक्षा शक्ति र रक्षक सबै फौजी शक्तिहरुलाई परास्त गर्दै जनताको अजय शक्ति जनमुक्ति सेनालाई क्यान्टुनमेन्टमा राख्दै विघटन गर्ने निर्णय पनि गरेको थियो । नेपाली जनताले भीषण वर्गसंघर्षद्वारा जन्माएका जनसत्तालाई भंग गर्ने निर्णय पनि गरेको थियो । यसरी १० वर्षको महान् जनयुद्धद्वारा प्राप्त देशको ८० प्रतिशत भूभागमा जनवादी सत्ताको अभ्यासलाई गुमाइएन मात्र कि नेपाली जनक्रान्तिलाई पनि निमिट्यान्न पार्ने षडयन्त्र गरिएको थियो ।

यसरी दशौं हजार नेपाली आमाका असल सन्तानहरुको रगत र पसिनामाथि मुलरुपमा प्रचण्ड र बाबुरामहरुले होली मात्र खेलेनन् कि वियजउन्मुख र विश्व सर्वहारावर्गको आशाको केन्द्र बनेको नेपाली जनयुद्ध, नेपाली तथा विश्व सर्वहारावर्गमाथि गद्दारी गरिएको दिन हो मंसीर ५ गते । त्यसैले नेपाली सच्चा क्रान्तिकारी, आमजनता, देशभक्त, वामपन्थी शक्तिहरुकालागि यो दिन प्रतिगमनकारी दिनका रुपमा लिन सकिन्छ ।

अब आयो किन यसरी एउटा क्रान्तिकारी पार्टी र त्यसले नेतृत्व गरेको जनवादी क्रान्ति मुख्य नेतृत्वकै कारण धारासायी हुन पुग्यो त ? नेपाली कम्युनिस्ट आन्दोलनले विश्व कम्युनिस्ट आन्दोलनमा परिघटनाहरुको सामना गर्नु परेको छ । विश्वमा जसको नेतृत्वमा क्रान्तिको उठान भयो उसैले विजयोन्मुख क्रान्ति सफल नहुँदै अन्तिम चरणमा कुनै संकट नबेहोर्दै प्रतिक्रियावादीहरुका सामु आत्मासमर्पण गरेर प्रतिक्रान्तिको मतियार बन्न पुगेको इतिहास छैन । बरु नेताहरु मारिएका छन् वा दुश्मनको कब्जामा परेर जिन्दगीभर कष्टपूर्ण जेल जीवन बिताएका छन् । तर नेपालमा प्रचण्ड र बाबुरामहरुले न दुश्मनको कब्जामा परेर जेल जीवन बिताएका थिए, न त उनीहरुले मृत्यु वरण नै गरेका थिए । उनीहरुले कुनै जोखिम नै नमोलिकन, चमडी र दमडी बचाउन उनीहरुले प्रतिक्रियावादीहरुका सामु आत्मासमर्पण गरेको बुझ्न कुनै समस्या रहेको छैन । अर्को विश्व कम्युनिस्ट आन्दोलनमा नभएको अर्को परिघटना हो, मुख्य नेतृत्वले क्रान्तिकालमा आत्मासमर्पण गरिसकेपछि त्यहीँबाट लर्बराउँदै उठेर नयाँ पार्टी, संगठ र क्रान्तिको नेतृत्व पनि गरिराख्नु ।

तर जनयुद्धको तयारी, शुरुआत र लगभग बिचोबिचसम्म कुशल नेतृत्व गरेका यिनीहरुले किन यस्तो गर्न पुगेका थिए त ? अथवा कुनै समयका खाटी क्रान्तिकारी नेताहरुमा कसरी विचलन आयो र उनीहरु कसरी पतित हुन पगे त ? यो प्रश्न चाँहि निकै पेचिलो र गम्भीर रहेको छ । यसको सही उत्तर खोज्नु पर्ने भएको छ । कुनै पनि क्रान्तिकारी व्यक्ति वा शक्ति संशोधनवादी हुँदै प्रतिक्रियावादी हुनुका कारणहरु स्वभावैले रहेका हुन्छन् । त्यसैले नेपाली जनवादी क्रान्तिका कुनै समयका नायकहरु खलनायक हुनुका कारणहरु रहेका छन् ।

भर्खरै मात्र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको एउटा पुस्तक बजारमा आएको छ—महापतन । उक्त पुस्तकमा प्रचण्ड, बाबुराम र बादलहरु विचलनको श्रृंखलाबद्ध घटनाहरु र त्यसका सैद्धान्तिक पक्षहरुलाई पनि संगतिपूर्ण तरिकाले पेश गरिएको छ । त्यसमा सैद्धान्तिक वैचारिकरुपमा प्रचण्ड र बाबुराममा २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट शुरु भएको कुरालाई पहिलो पटक उजागर गरिएको छ । त्यसमा भनिएको छ जब दोस्रो राष्ट्रिय सम्मेलनद्वारा प्रचण्ड र बाबुरामले बादलको सहयोगमा मार्गनिर्देशक सिद्धान्तमा प्रचण्डपथलाई पारित गराएको र कार्यनीतिकारुपमा भन्दै ल्याइएको संविधान सभाको चुनावलाई रणनैतिक प्रश्न बनाइयो त्यहीँबाट उनीहरुले जनयुद्धको परित्याग गरी संसदीय व्यवस्थामा विलय हुने मार्ग प्रशस्त गरेका थिए ।

विप्लवले उठाएका यी तथ्यहरुलाई प्रचण्ड स्वयंले शुभशंकर कडेंलद्वारा लिखित अवतरण पुस्तकको विमोचनमा सार्वजनिक गरेका छन् । उनले त्यहाँ भनेका थिए कि अब हत्या शिंसा बढि भयो । त्यसैले शान्ति प्रक्रियामा गई मुल राजनीतिमा सामिल हुनकालागि मार्ग कोर्न मैले संविधान सभाको प्रस्ताव पारित गराएको थिएँ र वार्तामा ल्याएको थिएँ । त्यसैले देशमा शान्ति कायम गर्दै यहाँसम्म आउनका लागि मेरो मुख्य भूमिका छ । यसको असली हकदार म हुँ भनेका थिए ।

तर उनीले भनेको जस्तो सजिलोसँग हुन सकेको थिएन । पहिलो वार्तापछि नै जनयुद्धमा सबैभन्दा बढि नेता, कार्यकर्ता र जनता शहीद हुन पुगेका थिए । युद्ध झन भीषण र निर्णायक बन्न पुगेको थियो । त्यसैले भारतले प्रचण्ड र बाबुरामहरुलाई आफ्नो मुट्ठीको माखो बनाउँदै, दिल्लीमा १२ बुँदे सहमति गराएको थियो । अब यो पनि कुनै रहस्यको विषय रहेन । भारतीय साम्राजयवादको गुरुयोजनामा तयार भएको शान्ति प्रक्रियालाई उनीहरुले बृहत् शान्ति सम्झौता गराइएको थियो ।
सम्पादकीय
२०७५ मङ्सिर ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :