जनसभाको सम्पूर्ण तयारी पूरा : नेकपा

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गतेको जनसभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी पुनर्गठन दिवसमा लाखौँ जनतालाई राजधानी उतार्ने नेकपाले जनाएको छ ।
नेकपाको जनसभा प्रचारप्रसार उपसमितिले बुधबार रिपोर्टर्स क्लबमा पत्रकारसम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । पत्रकारसम्मेलनमा नेकपा केन्द्रीय सदस्य एवम् प्रचारप्रसार उपसमितिका संयोजक मिलनले पार्टीको आगामी योजना, वार्तालगायत समसामयिक राजनीतिका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न र पार्टी पुनर्गठन दिवस मनाउन देशव्यापी कार्यक्रम सञ्चालन गरिएको बताए ।


जनसभामा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी नेता मिलनले दिए । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले सञ्चालन गरेको कार्यक्रममा रातो खबर प्रकाशनगृह प्रालिका अध्यक्ष गुणराज लोहनीको पनि उपस्थिति थियो ।

हेर्नुहोस,यस्तो छ , प्रेस विज्ञप्ति

पत्रकार मित्रहरू,
सर्वप्रथम यस पत्रकार सम्मेलनमा सहभागी पत्रकार मित्रहरू लगायत सम्पूर्णमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समिति र जनसभा परिचालन तथा व्यवस्थापन समितिका तर्फबाट हार्दिक अभिवादन !

मित्रहरू,
हाम्रो पार्टी २०७१ साल मङ्सिर ८ गते एकीकृत जनक्रान्ति कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् तथा गौरवपूर्ण यात्रामा सहभागी हुन पुनर्गठन गरिएको कुरा सर्वविदितै छ ।
विगत वर्षहरूमा पनि हाम्रो पार्टीले मङ्सिर ८ गते देशव्यापी पार्टी पुनर्गठन दिवस मनाउँदै आएको यहाँहरूमा जानकारी भएकै विषय हो । पार्टी केन्द्रीय समितिको साताँै पूर्ण बैठकको निर्णय अनुसार ‘सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔ“ ! वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गरौ“ !!’ भन्ने मूल नाराका साथ यो वर्ष पनि मङ्सिर ८ मा साताव्यापी पुनर्गठन दिवस मनाउन लागिरहेको सन्दर्भ छ । यही विषय जानकारी गराउन यो पत्रकारसम्मेलन आयोजना गरिएको बेहोरा अनुरोध छ ।
१. पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शनको संयोजकत्वमा जनसभा व्यवस्थापन तथा परिचालन समितिको २०७५ साल कात्तिक २५ गते बसेको बैठकले जनसभालाई व्यवस्थित पार्न विभिन्न उपसमितिहरू गठन गरेर देशव्यापी रूपमा प्रचारप्रसारका कार्य अगाडि बढाइरहेको छ । देशव्यापी प्रचारप्रसार र तयारीका कार्यहरू अन्तिम चरणमा पुगेका छन् भने उक्त दिन देशव्यापी रूपमा पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रमसमेत आयोजना गरेर मनाइनेछ ।

२. मङ्सिर ८ गते ११ बजे काठमाडौँका ः क) गोङ्गबु बसपार्कबाट लैनचौर हुँदै, ख) कालीमाटीदेखि टेकु हुँदै र ग) बबरमहलदेखि माइतीघरमण्डला हुँदै सुन्धारामा केन्द्रीकरण भई विशाल जनसमुदायको उपस्थितिमा जुलुस सहर परिक्रमा गरी दिनको १ बजे रत्नपार्क शान्तिबाटिकामा पुगेर जनसभामा परिणत हुनेछ ।

३. मङ्सिर ८ गते रत्नपार्क शान्तिबाटिकामा आयोजना गरिने जनसभामा पार्टीका तर्फबाट प्रमुख वक्ताका रूपमा पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता कमरेड प्रकाण्डले सम्बोधन गर्नुहुनेछ । सभामा पार्टीका पोलिटब्युरो सदस्यहरू र विभिन्न मित्र पार्टीका केन्द्रीय नेतारूले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

४. मङ्सिर ८ गतेको महत्व, वर्तमान अवस्थामा देखिएका समस्या, वार्तालगायत विषयमा पार्टीको नीति, दृष्टिकोण, आगामी कार्यक्रम र योजना जनसभामार्फत सार्वजनिक गरिनेछ । साथमा सामना परिवारको केन्द्रीय टोलीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ भने देशभरका विभिन्न टेलिभिजन, एफएम रेडियो, अनलाइन, अनलाइन टेलिभिजन र विभिन्न सामाजिक सञ्जालहरूले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

५. राष्ट्रघात चुलिएको, जनघात चरम अवस्थामा रहेको, महँगी, कालोबजारी, तस्करी, कमिसनखोरी, हत्या–हिंसा र बलात्कार बढेको, विभिन्न साम्राज्यवादी शक्तिहरूको चलखेलले नेटो काटेको यो अवस्थामा हाम्रो पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको जनसभा सफल पार्न सम्पूर्ण पत्रकार, किसान, मजदुर, मध्यमवर्ग, मानवअधिकारकर्मी, संस्कृतिकर्मी, बुद्धिजीवी, वकिललगायत सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूसमक्ष आवश्यक सहयोग र उपस्थितिका लागि हाम्रो पार्टी तथा जनसभा व्यवस्थपन तथा परिचालन समिति हार्दिक आह्वान गर्दछ ।

२०७५ मङ्सिर ५ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :