आऊ फेरि गरौँ !

कविता

हावामा बिजुली जहाज जलमा सम्भावना उन्नत
टुक्कामा र उखानमा बदलिँदै जान्छन् कि बन्दै गफ !
सल्लाहा पनि लिन्न विज्ञ जनको दम्भी छ रे ‘नायक’
घेराभित्र छ रे ‘गणेश’ सित यो टाढा छ रे ‘कार्तिक’ !

मात्रै गर्जिरहन्छ ‘बादल’ यहाँ, पार्दैन पानी रति
हुक्काँ गर्छ, दगुर्छ, कुद्छ बिचमै थच्चिन्छ थ्याच्चै बसी
गुन्डाकै सरि चल्छ ‘गोकुल’ अरे भन्छन् समाचारले
हक्की ‘पण्डित बाबु’ बन्दछ लुरे, बढ्दै निराशा छ रे !

सुन्नै छाडिसके अरे अब कुरा ‘गोकर्ण’ का कर्णले
गुड्डी हाँक्छ ‘रवीन्द्र’ पर्यटनका भन्छन् युवावर्गले
‘विद्यासुन्दर’ छैन सुन्दर कतै हावा कुरा गर्दछ !
खेती मुख्य हुने छ देश जनता भोकै यहाँ मर्दछ !

चिन्ता छैन कुनै बलात्कृत बनुन् रोउन् मरुन् जोसुकै
बाटा भत्किरहुन्, चलोस् न पहिरो, सीमा मिचोस् जोसुकै
रोक्छन् झैँ ‘सुनकाण्ड’ हुन्छ दिनमा, थुप्रिन्छ रे रातमा
हाँस्छन् ‘पप्पुहरू’ यिनैसित बसी ठेक्का लिँदै हातमा ।

खर्चिन्छन् जलपाननिम्ति ढुकुटी लाखौँ करोडौँ यहाँ !
खोकी लाग्नु हुँदैन हुन्छ यिनको जापानयात्रा नयाँ !
पाउन्नन् जनता त खान घरमा हालेर चिम्टी नुनै
थप्दै छन् सुविधा परन्तु यिनले किर्ना बनी ढाडिँदै !

खान्छन् रे घुस— तान्दछन् यदि मिले धोती र सारी पनि !
मान्दैनन् यिनका कुरा अब त्यसैले कर्मचारी पनि ।
अग्लो मञ्च चढेर खोक्दछ सधैँ नेता ठुलो भाषण !
नेताकै पछि लाग्छ हेर हनुमान् यो कार्यकर्ता गण !

उस्तै नै छ नि मालपोत अहिले, उस्तै छ मन्त्रालय
उस्तै छन् घुसखोर रक्तिम जुका, उस्तै छ शिक्षालय
उस्तै छन् जनता अभाव सहँदै यी खेतबारीसित
उस्तै नै छ युवापलायन अझै बेरोजगारीसित ।

मान्दैनन् रति लाज यी नकचरा यी लोभका पिण्ड हुन्
आशा गर्नु छ व्यर्थ यीसित कुनै यी स्वार्थका झुन्ड हुन्
साना छन् कमिला तथापि तिनले मार्छन् फट्याङ्ग्रा मिली
हामी नै अब उठ्नुपर्छ नउठे उठ्दैन हाम्रो चुली ।

आऊ मार्ग बनाउँदै अब हिँडौँ आँधीहुरीझैँ सँगी !
फोर्दै पर्वतका कुना वन घना कोसी बगेझैँ बगी !
झाडी जङ्गल खोच पर्वत हुँदै बाटो बनाई नयाँ !
आऊ फेरि गरौँ नयाँ शिखरको यात्रा हिमाली यहाँ !

२०७५ कात्तिक ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :