नयाँ जनवाद, वैज्ञानिक समाजवाद र माओवाद

अनुभवहीन अवस्थामा गल्ती प्रत्येक कम्युनिस्टले गर्न सक्छ तर जे कुरा गलत हो भन्ने सिद्ध भइसकेको छ त्यसलाई कम्युनिस्टले अनुभव गरिरहँदैन ।
   क. गान्जालो
नेपाल कम्युनिस्ट पार्टीको न्यूनतम् कार्यक्रम नै वैज्ञानिक समाजवादी व्यवस्था हुने निष्कर्षमा पुगेको सर्वविदितै छ । यसले आफ्नो परिधिभित्र विभिन्न खालका बहसलाई सतहमा ल्याएको छ । कतिपयले माओवादलाई अस्वीकार गरेको आरोप पनि लगाएका छन् । यहाँ नयाँजनवादी व्यवस्था र समाजवादी व्यवस्थालाई अध्यक्ष माओले कुन परिस्थितिमा, कसरी हेर्नुभएको थियो र अध्यक्ष माओले चीन तथा विश्व–परिस्थितिअनुसार कसरी ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्नुभएको थियो भन्ने कुरा प्रस्तुत गर्न खोजिएको छ । यसले नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

राजनीतिकर्मीहरू पार्टीको क्रान्ति गर्ने तरिका (कार्यदिशा) र क्रान्तिपछि स्थापित हुने राजनीतिक व्यवस्थाका विषयमा स्पष्ट हुनुपर्छ । यो विषय वैचारिक रूपले सङ्गठित हुने विषय पनि हो । पार्टीको नीति र कार्यदिशा बुझ्नुको महत्वको सन्दर्भमा अध्यक्ष माओ भन्नुहुन्छ, ‘हामीले पार्टीको आमकार्यदिशा र आमनीति साँच्ची नै बिर्सियौँ भने हामी अन्धा, अपरिपक्व र गोब्रे बुद्धि भएका क्रान्तिकारी बन्नेछौँ । त्यस्तो स्थितिमा आफ्नो काम, विशेष कार्ययोजना र विशेष नीति लागू गर्दा दिशाविहीन भएर कहिले देब्रे र कहिले दाहिनेतिर धर्मराउनेछौँ र त्यसबाट हाम्रो कामको सत्यानास हुनेछ । (माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ४, पृष्ठ २५९, नेपाली संस्करण) ।’

अध्यक्ष माओले हामीलाई सिकाउनुभएअनुसार हामीले हाम्रो नीति, कार्यदिशाकाविषयमा राम्रो जानकारी राख्नुपर्छ । अन्यथा हामीले जनतालाई कसरी दीक्षित गरौँला र कसरी जनमत निर्माण गर्न सकौँला ? क्रान्तिपछि स्थापना हुने समाज व्यवस्थाप्रति आश्वस्त नभएसम्म जनता क्रान्तिमा कसरी सहभागी होलान् त ?

चीनमा सोभियत सङ्घको जस्तो समाजवादी क्रान्ति भएको थिएन । चीनको क्रान्ति पुँजीवादी जनवादी भने पनि त्यो न पूरै पुँजीवादी थियो नत वैज्ञानिक समाजवादी नै थियो । त्यो पुँजीवादी र समाजवादी अर्थव्यवस्थाको मिश्रित अर्थव्यवस्था थियो । अर्थव्यवस्थाको मेरुदण्ड राजकीय अर्थव्यवस्था अर्थात् समाजवादी अर्थव्यवस्था नै थियो । तर निजी अर्थव्यवस्थालाई पनि निषेध गरिएको थिएन । क्रान्तिलगत्तै अर्थव्यवस्थालाई समाजवादी र सहकारी अर्थव्यवस्था (योगदान झन्डै ५० प्रतिशत) को स्वरूप अर्धसमाजवादी थियो । त्यसको साथमा निजी पुँजीवाद र व्यक्तिगत अर्थव्यवस्था पनि समानान्तर रूपमा चलिरहेको थियो । चीनको नौलो जनवादी आर्थिक ढाँचा हेर्दा चीनमा पुँजीवादी जनवादी व्यवस्था भनिए पनि सुरुदेखिनै समाजवादी व्यवस्था थियो । तर त्यो सोभियतसङ्घको जस्तो थिएन । अध्यक्ष माओ भन्नुहुन्छ, ‘राजकीय अर्थव्यवस्थाको स्वरूप समाजवादी र सहकारी अर्थव्यवस्थाको स्वरूप अर्धसमाजवादी हुन्छ । यी दुईथरी अर्थव्यवस्था र निजी पुँजीवाद, व्यक्तिगत अर्थव्यवस्था र राज्य तथा पुँजीपतिहरूले संयुक्त रूपले काम गर्ने राजकीय पुँजीवादी अर्थव्यवस्था यी सबैको योग नै जनवादी गणतन्त्रको अर्थव्यवस्थाका प्रमुख तत्वहरू हुनेछन् र यिनै तत्वहरूबाट नौलो जनवादी आर्थिक ढाँचा बन्नेछ ।’ (माओ त्सेतुङका सङ्कलित रचनाहरू, भाग ४, पृष्ठ ४०१, नेपाली संस्करण) ।

अर्थतन्त्रको ढाँचा मूलतः समाजवादी प्रकृतिको भएपनि चीनमा सुरुदेखि नै समाजवादी व्यवस्था थियो कि थिएन ? प्रश्न उठ्छ । एकातिर सामन्तवाद–साम्राज्यवादविरोधी संयुक्त मोर्चा बनाउनुपर्ने र अर्कोतिर निजी पुँजीवादलाई निषेध गर्न तत्काल नसकिने अवस्था भएको कारण समाजवाद घोषणा नगरिएको देखिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टी र डा. सन यात सेन नेतृत्वको राष्ट्रीय पुँजीपतिवर्गको बीचमा संयुक्त मोर्चा बनेको थियो । क्रान्तिपछि पनि पुँजीवादी व्यवस्था जारी रहने कुरा सुनिश्चित नहुँदा (गर्न नसक्दा)संयुक्तमोर्चाविघटन हुन्थ्यो । त्यसैले राष्ट्रिय पुँजीपति वर्गलाई आश्वस्त पार्न अध्यक्ष माओ तल्लीन हुनुहुन्थ्यो । अध्यक्ष माओ भन्नुहुन्छ, ‘चीनको वर्तमान चरणका निम्ति बन्न लागेको व्यवस्था चीनको इतिहासको वर्तमान चरणको उपज हुनेछ र भविष्यमा निकै लामो समयसम्म चीनमा एउटा विशेष रूपको राज्य र राजनीतिक सत्ता रहनेछ । एउटा यस्तो रूप जो रुसी व्यवस्थाभन्दा एकदम बेग्लै खालको तर हाम्रा निम्ति भने एकदमै आवश्यक र तर्कसङ्गत अर्थात् जनवादी वर्गहरूको आपसी सहयोगमा आधारित नौलो जनवादी राज्य र राजनीतिक सत्ताको रूप हुनेछ ।’ (माओ त्सेतुङका चुनिएका रचनाहरू, भाग ३, पृष्ठ १८८,अनुवाद : खगेन्द्र सङ्ग्रौला, सिर्जनशील प्रकाशन, काठमाडौँ, २०५७) ।

जमिनदार वर्ग र जापानी साम्राज्यवादका विरुद्ध सारा प्रगतिशील, जनवादी र देशभक्त शक्तिहरूलाई गोलबन्द गर्नकालागि कम्युनिस्ट र पुँजीपति दुवै वर्गको साझा राज्य जसमा सर्वहारावर्गको नेतृत्वमा चल्ने राजनीतिक सत्ताको परिकल्पना गरिएको थियो । राष्ट्रिय पुँजीपति वर्गलाई आश्वस्त पार्न त्यसप्रकारको जनवादी राज्य लामो समयसम्म चल्छ भन्ने अध्यक्ष माओको घोषणा थियो । उहाँ भन्नुहुन्छ, ‘हाम्रो नौलो जनवादको सामान्य कार्यक्रम पुँजीवादी जनवादी क्रान्तिको चरणभरि अर्थात् अनेकौँ दशकसम्म अपरिवर्तित रहनेछ ।’ (उही,पृष्ठ १८८) ।

जापानी साम्राज्यवादका विरुद्ध भीषण देशभक्तिपूर्ण युद्ध चलिरहेको र संयुक्तमोर्चाको बहस चलिरहेको समयमा पुँजीपति वर्गलाई आश्वस्त पार्नैपथ्र्यो । क्रान्तिलगत्तै चीन पनि समाजवादमा जानुपर्छ भन्ने बहस चीनमा चलिरहेको थियो । त्यसको कारण पुँजीपतिवर्ग संयुक्त मोर्चामा जान हिचकिचाइरहेको थियो । त्यस्तो अवस्थामा अध्यक्ष माओले क्रान्तिपछि पनि चीनमा नौलो जनवादी व्यवस्था लामो समयसम्म चलिरहने र पुँजीपति वर्ग त्रसित हुनु नपर्ने स्पष्ट पार्नुभएको थियो । त्यसकारण अध्यक्ष माओको धारणालाई तत्कालीन परिस्थितिको आवश्यकताको दृष्टिले हेर्नुपर्छ । त्यो कुनै अपरिवर्तनीय सिद्धान्त होइन । अध्यक्ष माओले दशकौँसम्म चल्ने भनेको व्यवस्था अध्यक्ष माओकै कार्यकालमा दशकौँ चलेन, चलाइएन । परिस्थितिमा परिवर्तन आउनासाथ आफ्नो पूर्वअडानविपरीत अध्यक्ष माओले चीनमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने घोषणा गर्नुभएको थियो ।

पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका तीनवटा जादुगरी हतियार भनिएको छ । यी तीनमध्ये संयुक्त मोर्चालाई प्रभावकारी बनाउनका लागि जनवादी गणतन्त्रको नारा दिइएको थियो । यो कुरालाई प्रस्ट पार्दै माओ त्सेतुङ भन्नुहुन्छ, ‘फासिस्टवादका विरुद्ध साझा सङ्घर्ष चलाउनको निमित्त फासिस्टवादविरोधी संयुक्तमोर्चा चीनमा मात्र होइन, संसारभरि नै आवश्यक र सम्भव पनि छ । त्यसैले गर्दा हामी चीनमा एउटा राष्ट्रिय र जनवादी संयुक्त मोर्चा स्थापना गर्ने पक्षमा डटेका छौँ । यिनै आधारमा हामीले मजदुर–किसानको जनवादी अधिनायकतन्त्रको स्थानमा सबै वर्गहरूको एकतामा आधारित जनवादी गणतन्त्रस्थापना गर्ने प्रस्ताव अघि सारेका हौँ ।’
(माओ त्सेतुङका चुनिएका रचनाहरू, भाग २, पृष्ठ २५, अनुवाद : खगेन्द्र सङ्ग्रौला, विश्व नेपाली पुस्तक सदन,काठमाडौँ,२०५८) ।

चीनको यो अनुभव हेर्दा राजनीतिक व्यवस्थाको चरित्र कस्तो हुने भन्ने कुरा नेपालको वर्तमान अवस्थामा संयुक्त मोर्चाको स्वरूप कस्तो होला भन्ने आधारमा निरूपण गर्नुपर्छ । नेपालमा दलाल पुँजीपति वर्ग सत्तारूढ छ भन्नेमा कसैको विमतिछैन । सामन्तवादको अस्तित्व अर्थतन्त्र (आधार) मा भन्दा संस्कृतिमा बढी देखिन्छ । आज सामन्तवादको नेतृत्वसमेत दलाल पुँजीपति वर्गले नै गरेको छ । तसर्थ दलालपुँजीपति वर्ग र किसान, मजदुर, श्रमिक तथा उत्पीडित समुदायबीचको अन्तरविरोध नै नेपाली समाजको प्रधान अन्तरविरोध हो । दलाल पुँजीपति वर्ग प्रहारको निशाना भएपछि संयुक्तमोर्चा नेपालमा चीनको भन्दा फरक प्रकारको हुन जान्छ । त्यसकारण नेपालमा अब राज्यप्रणाली पनि चीनको भन्दा फरक हुन जान्छ ।

चीनमा सधैँ पुँजीवादी जनवादी राज्यव्यवस्था नै रहिरहन्छ त ?अध्यक्ष माओले त्यसो नहुने र वर्तमान अवस्थामा नै समाजवादका अंशहरू रहेको, भाबी वैज्ञानिक समाजवादी व्यवस्थाका चरणहरू समावेश रहेको खुलासा गर्नुभयो । कूटनीतिक चालबाजीको कारणले मात्र पुँजीवादी जनवादी व्यवस्था कहिलेसम्म रहन्छ भन्ने कुरा किटान गर्नुभएन । अध्यक्ष माओ भन्नुहुन्छ, ‘यसमा (चिनियाँ क्रान्तिको अभिभारा) पुँजीवादी जनवादी क्रान्ति (नौलो जनवादी क्रान्ति) र सर्वहारा समाजवादी क्रान्ति अर्थात् क्रान्तिका वर्तमान र भाबी दुवै चरणहरू समावेश भएका छन् ।’ (उही, पृष्ठ २९०) ।
अध्यक्ष माओका रचनाहरूलाई गम्भीरतापूर्वक हेर्दा राज्यको आधार (अर्थतन्त्र) समाजवादी बनाइरहने विषयमा दृढ रहेको बुझ्न सकिन्छ । उहाँले ‘राजकीय अर्थतन्त्र समाजवादी हुने र त्यसले राज्य अर्थतन्त्रको नेतृत्व गर्ने’ बताउनुभएको छ । चिनियाँ शासनप्रणाली (आधार) मूलतः समाजवादी भएपछि अधिरचना (राज्य व्यवस्था) कसरी पुँजीवादी जनवादी हुन्छ त ? प्रश्न उठ्छ । तसर्थ चीनको शासन प्रणाली सुरुदेखि नै मूलतः समाजवादी चरित्रको थियो । अध्यक्ष माओ भन्नुहुन्छ, ‘सर्वहारा वर्गको नेतृत्वमा चल्ने नौलो जनवादी गणतन्त्रमा राजकीय उद्योग प्रतिष्ठानहरूको स्वरूप समाजवादी हुनेछ र त्यो समस्त राष्ट्रिय अर्थव्यवस्थाको नेतृत्वदायी शक्ति हुनेछ तर यस गणतन्त्रले सामान्य पुँजीवादी निजी सम्पत्तिचाहिँ हरण गर्नेछैन र जनजीविकामाथि प्रभुत्व कायम नगर्ने खालको पुँजीवादी उत्पादनको विकासमा बन्देज लगाउनेछैन किनभने चीनको अर्थव्यवस्था ज्यादै पिछडिएको छ ।’ (उही,पृष्ठ ३१२)

पुँजीवादी र निजी स्वामित्वले जनतामाथि प्रभुत्व कायम गर्ने स्तरमा फैलिन नदिने घोषणासमेत गर्नुभएबाट विषय छर्लङ्ग हुन्छ । नेपालमा हाल दलाल पुँजीवादी सत्ता सत्तारूढ रहेको छ भन्नेमा एकरूपता देखिन्छ । दलाल पुँजीवादका विरुद्ध समाजवादी क्रान्ति हुनुपर्ने स्वतः स्पष्ट हुँदैन र !
चीनमा शासकीय स्वरूप निर्धारण गर्दा मित्रशक्तिहरूको खोजी गर्ने विषयलाई केन्द्रमा राखिएको थियो । त्यहाँ किसान, मजदुर र राष्ट्रिय पुँजीपति वर्ग आधारभूतरूपमा सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिहरू थिए । त्यसकारण अध्यक्ष माओले नौलो जनवादी व्यवस्थाको परिकल्पना गर्नुभयो । त्यसो गर्दा समाजवादी व्यवस्थाको निर्माणमा अवरोध नहोस् र संयुक्तमोर्चा सुदृढ होस् भन्ने कुरालाई ध्यान दिइएको थियो । अध्यक्ष माओ भन्नुहुन्छ, ‘चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्घर्षहरूले यति कम उपलब्धि हासिल गर्नुको कारण के थियो भने ती सङ्घर्षहरू शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरूसित एकताबद्ध हुन सकेनन् ।’ (माओत्सेतुङका चुनिएका रचनाहरू, भाग १, पृष्ठ १, नेपाली संस्करण) ।

नेपाली क्रान्तिबारे छलफल गर्दा संयुक्त मोर्चाको प्रश्नलाई केन्द्रमा राखेर राज्य प्रणालीसम्बन्धी नीति निर्माण गर्नुपर्छ ।
आजसम्म जति पनि देशहरूमा सर्वहारा क्रान्तिहरू भए, क्रान्तिका कार्यदिशाहरू दोहोरिएका छैनन् । भूगोल, समय, समाज विकासको स्तर, शोषणको रूप, परम्परा र मनोविज्ञान, शक्ति सन्तुलनको स्थिति अनेक पक्षमा रहेका विविधताका कारणले कार्यदिशामा विविधता हुन्छन् । त्यस कुरालाई बुझ्ने सन्दर्भमा भी.आई. लेनिन भन्नुहुन्छ, ‘पूर्वेली देशहरूमा जसको जनसङ्ख्या रुसको भन्दा कता हो कता धेरै छ र जसको सामाजिक स्थितिमा कता हो कता बढी विविधता छ अब जुन क्रान्तिहरू हुनेछन् निःसन्देह तिनमा रुसी क्रान्तिको दाँजोमा कता हो कता बढी विशिष्टताहरू प्रकट हुनेछन् भन्ने कुरा हाम्रा युरोपेली कूपमण्डुकहरू देख्न पनि सक्दैनन् ।’ (लेनिनसङ्कलित रचनाहरू,भाग ८, हाम्रो क्रान्तिबारे ‘नि सुखानोभका टिप्पणीहरूको प्रसङ्ग’ पृष्ठ ११३) ।

महान् लेनिनले पूर्वेली देशहरू (मुख्यतः चीन) को क्रान्तिको चरित्र र कार्यदिशाकाविषयमा बहस हुँदा यस्तो धारणा राख्नुभएको थियो । उहाँले पछौटे उत्पादन सम्बन्ध, औपनिवेशिक अवस्था र कृषिप्रधान चीनजस्ता देशहरूको क्रान्तिलाई रुसी चस्माले हेर्नु गलत हुने जिकिर गर्नुभएको थियो । यहीँनेर माक्र्सवादको सिर्जनात्मक विकास र समृद्धिको प्रश्न उठ्छ । नेपाली क्रान्तिको सन्दर्भमा चीन र नेपालको (१९४९ को चीन र २०१८ को नेपाल) वस्तुगत र आत्मगत अवस्थामा ठूलो परिवर्तन भएको छ । त्यसकारण सन् १९४९ को चिनियाँ क्रान्तिको अनुभव आजको नेपाली क्रान्तिमा जस्ताको तस्तै प्रयोग गर्न सकिन्न । हामीले त्यसो भन्दा कतिपय जडसूत्रवादी मित्रहरूले हामीमाथि आफ्नो दैनिक कर्म र क्रान्तिकारी नैतिकताभन्दा पर पुगेर आरोपहरू थोपर्ने गरेका छन् । चिनियाँ क्रान्तिका अनुभवहरू सार्वभौम सत्यहरू हुन् तर ती अर्को देश र समयमा ऐतिहासिक परिस्थितिमा निर्भर भएर मात्र (निरपेक्षरूपमा होइन) लागू हुन्छन् । त्यसलाई अझ राम्ररी बुझ्न माक्र्स र एङ्गेल्सको एउटा भनाइहेरौँ, ‘गत पच्चीस वर्षभित्र परिस्थिति जतिसुकै बदलिएको भए पनि यस घोषणापत्रका आमसिद्धान्तहरू वर्तमान समयमा पनि खास रूपमा उत्तिकै सही छन् । एकदुई ठाउँमा सानातिना केही सुधार ल्याउन सकिन्थ्यो । स्वयम् घोषणापत्रमा भनिएझैँ यसका मूल सिद्धान्तहरूको व्यावहारिक क्रियान्वयन जहाँसुकै र जहिले पनि विद्यमान रहेका ऐतिहासिक परिस्थितिहरूमा निर्भर रहनेछ ।’ ( माक्र्स–एङ्गेल्स, पेरिस कम्युन, २४ जुन १८७२, सन् १८७२ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रको जर्मन संस्करणको भूमिका, पृष्ठ ३४१) ।

ऐतिहासिक अनुभवहरूलाई परिस्थितिअनुसार त्यहाँका नयाँ र पुराना विशिष्टताहरूअनुसार आत्मसात गर्नुपर्ने विषयमा कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले स्पष्ट पार्नुभएको छ । त्यसकारण चिनियाँ क्रान्तिका अनुभवहरूलाई बेवास्ता गर्न खोजिएको होइन, झन् दह्रो गरी कसरी समात्न र समृद्ध गर्न सकिएला भन्ने हाम्रो चिन्ता हो । जडसूत्रवादले कसरी हानि पु¥याउँछ भन्ने सन्दर्भमा अध्यक्ष माओ भन्नुहुन्छ, ‘माक्र्सवाद–लेनिनवाद वस्तुगत यथार्थबाट जन्मेको र त्यसैको कसीमा जाँचिएको सबभन्दा सही वैज्ञानिक र क्रान्तिकारी सत्य हो । तर माक्र्सवाद–लेनिनवादको अध्ययन गर्ने धेरै मानिसले यसलाई निष्प्राण सूत्र ठान्छन् । यसरी तिनले सिद्धान्तको विकासलाई अवरुद्ध पार्दछन्, आफू र अरू कमरेडहरूलाई हानिगर्छन् ।’ (माओ, सङ्कलित रचना, भाग ३, कार्यशैली सुधार गर, पृष्ठ २३) ।
नेपाली क्रान्तिको बाटो तय गर्दा नेपाली कम्युनिस्टहरूले विश्वका सारगर्भित अनुभव र नेपाली विशिष्टताहरूलाई ख्याल गर्नुपर्छ र ती एकअर्कोको अन्तरविरोधी हुनुहुन्न भन्ने हाम्रो चिन्ता र चासो हो । त्यसक्रममा नै एकीकृत जनक्रान्तिको कार्यदिशा ठोस गरिएको हो । यो कार्यदिशा सही छ भन्ने हाम्रो धारणा (परिकल्पना) छ । यो निष्कर्ष हावामा नभएर निश्चित आधारसहित गरिएको छ । यसलाई व्यवहारमा लागू गरेर अन्तिम निष्कर्षमा भन्न सकिन्छ– हामी त्यसका लागि इमानदार प्रयास गरिरहेका छौँ ।

आजसम्म जति पनि क्रान्तिहरू भएका छन् तिनीहरूको बाटो सुरुमा शतप्रतिशत देख्न सम्भव भएको छैन । नेपाली क्रान्ति पनि त्यसको अपवाद हुन सक्दैन । लेनिनले ‘युद्ध कस्तो हुन्छ भन्ने कुरा तपाईं जान्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने युद्ध गर्नोस्’ भन्नुभएको थियो । जसरी विज्ञानको नयाँ आविष्कारको प्रक्रिया हुन्छ अथवा हाम्रा पुर्खाहरूले जीवनयापनका साधन पत्ता लगाउँदा मृत्यु स्वीकार गरे (मर्न बाध्य भए), ज्ञान आर्जन गरेर नयाँ तथ्यहरू पत्ता लगाए, क्रान्ति पनि पूर्वसञ्चित ज्ञानमा टेकेर नयाँको खोजी गर्ने प्रक्रियामा पत्ता लाग्ने विषय हो । भी.आई. लेनिनले भन्नुभएको छ, ‘कुनै पनि क्रान्तिको बाटो सुरुदेखि नै पूरापूर देख्न सकिँदैन र अनेकपटक अन्धकारमा पाइला चाल्नु पर्नेछ । अँध्यारामा छामछाम–छुमछुम गर्नुपर्नेछ तर अघि लम्कने तरिकाचाहिँ यही नै हो ।’ (क. गोन्जालोका विचारहरू, पृष्ठ १२१, पेरूको क्रान्ति समर्थक समिति, नेपाल, २०४९ पुस) ।

कसैले नहिँडेको बाटो हिँड्नु, नयाँ गोरेटो खन्नु, लड्नु फेरि उठ्नु, सकारात्मक–नकारात्मक शिक्षाद्वारा समृद्ध हुनु र नेपाली क्रान्तिको बाटो निश्चित गर्नु हाम्रो ऐतिहासिक दायित्व हो । अर्को कुनै उपाय हामीसँग हुनै सक्दैन । क्रान्ति लड्दै सिक्दै गर्ने विषय हो । यो कुनै गणितको सूत्र होइन । हारदेखि डराउनेहरूले युद्धलाई बुझ्न र जित्न सम्भव हुँदैन । कार्ल हेनरिक माक्र्स भन्नुुहुन्छ, ‘जित्ने कुरामा एकदमै सुनिश्चित भई सारा समस्याहरू हल गरेर क्रान्तिको थालनी गर्न पाए कति सजिलो हुँदो हो । यसो हुनु सजिलो हुँदो हो तर क्रान्ति भने यस्तो हुँदैन । समस्याचाहिँ यसप्रति प्रतिबद्ध हुनु र यसलाई अघि बढाउनु नै हो, चाहे हामीले जस्तोसुकै मूल्य चुकाउनु परोस् र जस्तोसुकै प्रयास गर्नु परोस् ।’ (उही, पृष्ठ १२१ ।

क्रान्ति अपार सम्भावना, चुनौती र अनिश्चयको क्षेत्र हो । जसका सम्पूर्ण प्रश्नको जबाफ समयअगाडि नै दिन सकिन्न । यो लड्दै सिक्दै जाने विषय हो ।
असीको दशकमा पेरूमा जनयुद्धको पहलकदमी भयो । क. अविमायल गुजमान ‘गोन्जालो’ ले त्यसको पहल गर्नुभयो । उहाँले प्रतिक्रान्तिकाविरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई थप समृद्ध गर्ने प्रयास गर्नुभयो । अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण तथा प्रचार गर्नुभयो । ‘माओवाद’ लाई समृद्ध गर्ने प्रक्रियामा क. गोन्जालोको मुख्य भूमिका रहेको छ । उहाँले निरन्तर क्रान्तिको सिद्धान्तलाई लागू गर्ने प्रयास गर्नुभएको थियो । पेरूमा जनयुद्ध सुरु भएको एक दशक वरपर (सन् १९८९) मा कमरेड गोन्जालो गिरफ्तार हुनुभयो । निरन्तर क्रान्ति, वार्ताप्रक्रिया, जनयुद्ध र चीनमा प्रतिक्रान्तिका विरुद्ध सङ्घर्षका विषयमा नयाँ बहस छेड्नुभयो । चीनमा भएको प्रतिक्रान्ति, कोरिया र भियतनाम विभाजनजस्ता घटनाहरूको संश्लेषण गर्दै क. गोन्जालोले ‘हामी उत्तरकोरिया र दक्षिणकोरिया, उत्तरभियतनाम, दक्षिणभियतनाम चाहन्नौँ, हामी सिङ्गो पेरू चाहन्छौँ’ भन्नुभएको थियो । प्रतिक्रियावादी वर्गलाई ‘आत्मसमर्पण सहज बनाउन’ कालागि अवसर प्रदान गर्न वार्ता हुन सक्ने, अन्य कुनै प्रयोजनको लागि स्वेत सत्तासँग वार्ता नहुने विचार उहाँले सार्वजनिक गर्नुभएको थियो । क्रान्तिको कुनै न कुनै समय पुरानो सत्तासँग वार्ता तथा टेबुलको सङ्घर्ष गर्नुपर्ने धारणा क. गोन्जालोको थियो । प्रत्यक्ष लडाइँमा पराजित भएको अवस्था वा जित्न नसक्ने परिस्थितिमा क्रान्तिकारीहरूलाई थकाउन–गलाउन र षड्यन्त्र गर्न पुरानो सत्ताले वार्ताको औजार प्रयोग गर्ने धारणा क. गोन्जालोको थियो । यी समग्र प्रयोग र विचारलाई ‘गोन्जालो’ विचारकारूपमा संश्लेषण गरियो । पेरूको जनयुद्धले नयाँ आशा र बहस चलिरहेको थियो । त्यही बीचमा क. गोन्जालोको गिरफ्तारी भएकाले पेरूको प्रयोग र बहसमा अवरोध पैदा भयो ।

पेरूको जनयुद्धले धक्का खाइरहेको बेला नेपालमा जनयुद्ध सुरु भयो । त्यसले तीव्र गतिमा विकास ग¥यो । नेपालको जनयुद्धलाई ‘प्रचण्डपथ’ कारूपमा संश्लेषण गरियो । २०५७ सालमा संविधानसभाको चुनाव, प्रचण्डपथ, २१ औँ शताब्दीको जनवाद आदि बहसमा आयो । त्यसलाई आरसीपी अमेरिका, भाकपा (माओवादी) लगायत भाइचारा पार्टीहरूले आलोचना गरेका थिए । २०६३ पछिको शान्तिप्रक्रियापछि नेपालमा प्रतिक्रान्ति भयो । त्यसकारण नेपालको प्रयोग पनि सफल हुन सकेन । विश्व कम्युनिस्ट आन्दोलनमा पछिल्लो अवधिमा आरसीपीअमेरिका र त्यसका नेता बब अभाकियनले नयाँ बहस ल्याएका छन् । उनले नयाँ छाल आउनुपर्ने (आउने) भनेका छन् । बबको धारणाअनुसार त्यो नयाँ छाल यसरी आउनेछ –
१) दर्शन र सङ्घर्ष तथा चिन्तनको तरिका
२) अन्तर्राष्ट्रियतावाद
३) सर्वहारा अधिनायकत्व
४) रणनीतिक शैली
क. लेनिनदेखि अध्यक्ष माओसम्म विश्वक्रान्तिको पहिलो छाल पूरा भएको र विश्वक्रान्तिको दोस्रो चरण (नयाँ छाल) आवश्यक रहेको क. बबको विचार छ । नयाँ छाल कसरी उठ्छ त, क. बबका निश्चित विचार छन् । लेनिन र माओको मृत्युपछि प्रतिक्रान्ति हुनुमा द्वन्द्ववादको प्रयोग गलत भएको, नकारको नकारसम्बन्धी गलत बुझाइभएको, स्टालिनको समयमा सोभियत समाजवाद समाजवादतिर नभएर अन्धराष्ट्रवादतिर अग्रसर भएको, चीन पनि त्यही बाटोमा अग्रसर भएको, निरन्तर क्रान्तिलाई विज्ञान र कलासहित लागू गर्नुपर्ने अर्थात् प्रतिस्पर्धात्मक शैलीमा लागू गर्नुपर्ने सर्वहारा वर्गको भित्रै छनोटको अधिकार हुनुपर्ने,सर्वाहारा सत्ताको जनआलोचना र जननिगरानी हुनपर्ने सर्त वा विचार छन् ।

लेनिनले सर्वहारा वर्ग माक्र्सवादी चेतना र सत्ता सञ्चालन गर्न लायक अनुभवसहित सत्तारूढ हुनुपर्छ’ भन्नुभएको थियो । त्यसो नहुँदा सांस्कृतिक क्रान्ति माओकै विरुद्ध गएको क. बबको आरोप छ । क. बब अभाकियनको यो विचारलाई ‘नयाँ संश्लेषण’ भनेर सूत्रबद्ध गरिएको छ । क. बबको यो विचारलाई भारत, टर्की, इटाली, अफगानिस्तानलगायत देशहरूका माओवादी पार्टीहरूले विरोध गरेका छन् । क. बबको नयाँ संश्लेषण माओवाद र अन्ततः क्रान्तिकारी माक्र्सवादकै विरुद्ध रहेको उनीहरूको दाबी छ । क. बबको विचार प्रयोगमा जाने तत्काल आधार पनि देखिएको छैन ।

आज विश्व कम्युनिस्ट आन्दोलनमा प्राधिकारपूर्ण नेतृत्वको अभाव छ । जसको कारण बहस केन्द्रित हुन सकिरहेको छैन । विषय उठ्नसाथ अध्ययन होइन, आलोचना वा अन्धसमर्थन हुने गरेको छ । विचारको विकासकालागि के गर्ने त ? क. कञ्चन भन्नुहुन्छ, ‘क्रान्तिको विकास गर्ने ज्ञान पनि अरु विज्ञानमा जस्तै यसको वैज्ञानिक परीक्षणबाट पुष्टि हुने कुरा हो तर कम्युनिस्टहरूमा दुई समस्या देखा पर्न सक्छन्ः पहिलो, विचारको विकासबारे आफूले केही अवधारणा अगाडि सार्नेबित्तिकै त्यसलाई प्राधिकारकारूपमा ग्रहण गर्ने र अर्को अरूले केही प्रस्ताव अगाडि सार्नेबित्तिकै त्यसको निषेध गर्ने ।’ जसरी वैज्ञानिकहरूले नयाँ खोज प्रस्ताव हुनासाथ प्रयोगशालामा प्रामाणिक नहुँदासम्म अध्ययनको विषय बनाउँछन्, त्यसरी नै कम्युनिस्ट आन्दोलनमा पनि नयाँ विचार वा बहसलाई अध्ययनको विषय बनाउनुपर्ने लेखकको घारणा छ । नेकपाले नेपाली कम्युनिस्ट आन्दोलनका यी सकारात्मक र नकारात्मक शिक्षाहरूलाई अध्ययन गर्दै नेपाली क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । आफ्ना सोचाइहरूलाई व्यावहारिक रूप दिने प्रयास गरिरहेको छ । त्यसअनुसार एकीकृत जनक्रान्ति कार्यदिशामार्फतवैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ । त्यसभन्दा अगाडिका कुनै पनि सङ्घर्ष वा सत्ताले नेपाली समाजका समस्याहरूलाई समाधान गर्न सक्दैन । वैज्ञानिक समाजवादी क्रान्तिले नै नयाँ जनवादी क्रान्तिको कार्यभारसमेत पूरा गर्दै (निषेध होइन) अगाडि बढ्नेछ । माओवादलाई अब त्यसरी समृद्ध गर्नुपर्छ । त्यसो गर्नु सम्भव र आवश्यक दुवै छ भन्ने नेकपाको धारणा छ । माक्र्सवादको पूर्वज्ञानहरूको समुच्च आत्मसातीकरण, विज्ञानमा पैदा भएको एकीकृत चरित्रको आत्मसातीकरण र समाज विज्ञानमा (यहाँ नेपाली क्रान्ति) थप विकास एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद हो । दलाल पुँजीवाद र नेपाली जनताकाबीचमा प्रधान अन्तरविरोध भएका कारण अब नेपालमा समाजवादी क्रान्ति अनिवार्य बन्न गएको छ ।
नयाँ सुखानीबाट

२०७५ कात्तिक २८ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :