परिवर्तन सुनिश्चित भै उदाउनेछ

कविता

विगतका गद्दारहरूको बिँडो थामेर
फेरि एकचोटि विश्वासघात गरे पनि
स्वदेशी, विदेशी प्रभुप्रति तिमीले आत्मसमर्पण गरेर
क्रान्तिकै बिसर्जन गर्न सयौँ षड्यन्त्र गरे पनि
समाजका अन्तरविरोधहरूले न यो यात्रा रोक्न सक्छ
इतिहासप्रति गरेका अपराधहरूले
न तिमीलाई चैनको जीवन जिउन दिन्छ ।

सहिदका सयौँ लासहरू, बेपत्ताका हजारौँ आत्माहरू
प्रतिगमनको अँध्यारोमा ज्यूँदा बनेर जागेपछि
तिम्रो लासको स्वर्ग तासमै धर्मराउनेछ
पद र पैसाको तुच्छ जीवन जिउने तिम्रो लाचार अभीष्ट
अन्धकारमै बिलाउनेछ ।

परिवर्तन त एउटा नियम हो, अविरल यात्राको
पात्रहरू जन्मन्छन्, हुर्कन्छन्, मर्छन् पनि
कसैको माफीमा तिमीले साफी पाए पनि
जनताको कठघरामा तिमीले उभिनै पर्नेछ
इतिहास मार्न खोज्ने तिमीले, इतिाहासमा आफैँ मरेपछि
तिमीले छेकेर किन छेकिन्छ ? तिमीले रोकेर किन रोकिन्छ ?
महान् योद्धाहरू, परिवर्तनका पराक्रमीहरू इतिहासले जन्माउ“दै गर्छ
र नेपाली समाजको परिवर्तन सुनिश्चित भै उदाउनेछ ।

२०७५ कात्तिक २७ गते प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :