सङ्घर्षशील व्यक्तित्व गज्जुमाया

 

कमरेड चित्रबहादुर आलेकी जीवनसँगिनीको नाम हो गज्जुमाया थापामगर । आलेसँग विवाह हुनुभन्दा अगाडि नै उहाँले क्रान्तिकारी छवि बनाइसक्नुभएको थियो । आमा नरमाया थापा र पिता नरबहादुर थापाकी छोरी गज्जुमायाको जन्म २०११ साल मङ्सिर २४ गते क्रान्तिकारी आन्दोलनको दृष्टिले ऐतिहासिक भूमिका रहेको बटेश्वर, धनुषामा भएको हो । उहाँका दाजु वेदबहादुर थापा कम्युनिस्ट नेता हुन् । दाजुसमेतको प्रभावले गज्जुमाया युवा अवस्थादेखि नै किसान जनसङ्घर्षमा संलग्न हुनुहुन्थ्यो । सर्लाहीमा भएको प्रकाशबहादुर सिंहको ‘भकारी फोर’ सङ्घर्षमा पाँच हजारभन्दा बढी जनता जनता सहभागी भएको बताइन्छ । उक्त सङ्घर्षमा आधाभन्दा बढी महिला संलग्न थिए । ती महिलाहरूको नेतृत्व गज्जुमायाले गर्नुभएको थियो र त्यसको पछाडि उहाँको भूमिका थियो । त्यसको पछाडि उहाँको भूमिका थियो । उक्त सङ्घर्षपछि सर्लाहीमा व्यापक दमन भएको थियो । प्रहरीले गज्जुमायालाई पनि डाँका मुद्दा लगायो । पक्राउ पुर्जी जारी ग¥यो । त्यसकारण उहाँ भूमिगत जीवन बिताउन बाध्य हुनुभयो । त्यसबेला उहाँका तीन भाइ छोरामध्ये कान्छो सञ्जीवलाई साथमै लिएर भूमिगत हुनुभयो । दुधेबालक काखमा च्यापेर उहाँ एक वर्षसम्म घर छोडेर भूमिगत जीवन बिताउन बाध्य हुनुभयो । त्यसबेला गज्जुमायाले भारत बिहारको दरभङ्गालगायत स्थानमा जीवन बिताउनुभएको थियो । एकातिर पञ्चायती व्यवस्थाको बक्रदृष्टि, घरव्यवहार समाल्नुपर्ने बाध्यता, ससाना छोराछोरी, आर्थिक दुरवस्था जीवनका यी सबै भारी उहाँले एक्लै बोक्नुभयो । अर्कोतिर वरपरका जनसङ्घर्षमा अविराम संलग्नता र कतिपय समयमा नेतृत्व गर्नुभयो । त्यो कहिल्यै रोकिएन ।

धुलो, धुवाँ, चर्को घाम, मुटु छेड्ने चिसो, भूमिगत जीवनको अथाह पीडाले गज्जुमायाको शरीरमा गोमन सर्पले झैँ गहन तर भित्रभित्रै डसिरहेको थियो । त्यसको अनुमान गर्न सजिलो थिएन । उहाँको घाँटीमा समस्या आउने, खोकी लाग्ने भइरहेको थियो । २०७२ साल वैशाखमा बहिनी नितु मगरसहित उहाँ पूरै शरीरको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम बनाएर काठमाडौँ पुग्नुभयो । त्यसक्रममा बहिनी नितुको स्वास्थ्य राम्रो देखियो । तर चिकित्सकले गज्जुमायाको घाँटीमा अर्बुद रोगको सङ्क्रमण भएको आशङ्का गरेर चितवन, भरतपुर लगेर थप परीक्षण गर्न सुझाए । त्यसभन्दा अगाडि हरिवन सर्लाहीमा नै पटकपटक उपचार गर्ने गरिरहेको भए पनि ठूलो कुनै समस्या प्रकट भएको थिएन ।

कमरेड गज्जुमाया त्यसबेला हरिवन बजारमा माहिलो छोरा तेजनारायणसँग बस्नुहुन्थ्योे । नातीहरूको हेरचाह र सानो स्टेसनरी पसलसमेत चलाउनुहुन्थ्यो । अर्बुद रोगले ग्रसित गरेको थाहा भएपछि काठमाडौँमा रहेका कान्छा छोराले आमा गज्जुमायालाई चितवन लगे । त्यसबेला छोरी इन्दिरा आले चितवनमा नै थिइन् । छोरी इन्दिरा र कान्छो छोराले उपचार अघि बढाए । आफन्तहरू सबैलाई खबर गरे । २०७२ वैशाखतिर अस्पतालले गज्जुमायालाई फोक्सोको ‘क्यान्सर’ भएको ठहर ग¥यो । थाहै नदिई रोगले भित्रभित्रै गालेको थियो । ‘केमो’ चढाउनुपर्ने सिफारिस चिकित्सकको थियो । सदाझैँ कामधन्दा गरिरहनुुभएकी, ठूलो रोगको अनुमान नगरेको र हिँडेर सामान्य रूपमा अस्पताल जानुभएकी गज्जुमाया उपाचार गर्दागर्दै झन् थलिनुभयो । ‘सास हुन्जेल आस’ भन्छन् । परिवारका सदस्यले उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल पु¥याए तर केही सीप लागेन ।

दिल्लीस्थित मेदान्त अस्पतालमा गज्जुमायालाई १२ दिन उपचारार्थ राखियो तर रोगले झन् गाल्दै लग्यो । अस्पतालले उपचार कम ग¥यो, लुट्ने काम धेरै ग¥यो । २०७२ जेठ २ गते गज्जुमायाको दुःखद् निधन भयो ।

कमरेड गज्जुमायाको जीवन अभाव, तनाव र दुःखमा बिते । कमरेड आलेलाई गज्जुमायाको व्यक्तिगत चिन्ता गर्ने समय र अवसर दुवै भएन । छोराछोरीको माया पाउने समयमा धेरै दिन बाँच्न पाउनुभएन । सपना र गुनासाहरू छातीभित्रै दबाउनुभयो । ‘जलेको घरको भग्नावशेष देशभरिको मात्र होइन, संसारभरिमा नारीमाथि थोपारिएको अन्याय–अत्याचारका प्रतीक हुन्’ एकजना लेखकले भनेका थिए । हामी बाँचेको समयले गज्जुमायाप्रति न्याय गर्न सकेन । आज कमरेड चित्रबहादुरको व्यक्तित्व र योगदानको पृष्ठभागमा कमरेड गज्जुमायाको अथाह योगदान देख्न सकिन्छ । ‘सम्पूर्ण महान् कार्यको पछाडि कुनै न कुनै स्त्रीको हात रहेको हुन्छ’ भनेर विद्वान् लार्मिटनले ठिकै भनेका रहेछन् ।

२०७५ कात्तिक २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :