एकता र फुटको द्वन्द्ववाद : शिलु

उमा भुजेल ‘शिलु’
उमा भुजेल ‘शिलु’

कम्युनिस्ट आन्दोलनमा एकता र फुटको प्रश्न सधैँ एउटा जटिल र संवेदनशील प्रश्न रहिआएको छ । हामी र हाम्रो समाजमा एकतालाई निरपेक्ष रूपमा स्वीकार गरिन्छ र फूटप्रति निरपेक्ष रूपमा नकारात्मक रहेको छ । विषयलाई सतही रूपमा हेर्दा त्यो सही नै हो । एकता भन्दा जति आनन्द लाग्छ, फुटभन्दा त्यति प्रिय लाग्दैन । फुट र एकताका कारणहरू खोज्दा चित्र अर्कै हुन्छ । यसलाई धेरैले गम्भीरतापूर्वक विश्लेषण गरेका हुँदैनन् । बरु विषय र घटनाको सारतत्वलाई तोडमोड गर्ने, रूप पक्षलाई मात्र हेरेर निष्कर्ष निकाल्ने गरेको देखिन्छ । हाम्रो समाजमा ‘कागले कान लग्यो भन्दा कान छाम्ने भन्दा पनि कागको पछि पछि दगुर्ने’ प्रवृत्ति हाबी छ । विषय र घटनालाई विभिन्न कोणबाट हेर्ने आलोचनात्मक सोचाइ कमजोर छ । कुनै विषय आउनासाथ तुरुन्त समर्थन वा विरोध भैहाल्छ । हामीले हाम्रै जीवनमा त्यसप्रकारको स्थितिको अनुभूति गरिरहेका छौँ । त्यसकारण फुट र एकताको द्वन्द्ववादी दृष्टिकोण निर्माण गर्न आवश्यक छ ।
जब हामीले प्रचण्ड–बाबुरामको धोका र गद्दारी देख्यौँ, जब हामीले क.किरणको अकर्मण्यताले समस्या पारेको देख्यौँ तब हामीले प्रचण्ड–बाबुराममण्डलीका विरुद्ध विद्रोह ग¥यौँ र क. किरणका विरुद्ध सम्बन्धविच्छेद ग¥यौँ । अर्को शब्दमा भन्दा हामी फुट्न वाध्य भयौँ । त्यसबेला जोडकोण र स्तर फरक भएपनि प्रायः सबैले फुट्नु गल्ती हो भनेका थिए । फुटेर होइन जुटेर पो केही गर्न सकिन्छ भन्ने कुरा त्यत्ति गल्ती पनि होइन । अस्वाभाविक मान्नुपर्ने विषय पनि होइन । तर त्यत्ति सरल ढङ्गले विषयलाई हेरेर सही निष्कर्ष निकाल्न सकिन्न । त्यसप्रकारको मनोगतवादी धारणाले गलत परिणाम निस्कन्छ । त्यसैले सबै विषय जसरी एकता र फुटका विषयमा कारण र कार्य खोज्नुपर्छ । फुट र एकता दुवैमा केही राम्रा र केही नराम्रा पक्षहरू निहित हुन्छन् । कहिलेकहीँ फुटमा असल पक्ष र एकतामा खराब अथवा जनविरोधी पक्ष हुनसक्छन् ।
अर्कोतिर फुटमा एकताका आधारहरू हुन्छन् । एकातिर फुट्दा अर्कोतिर एकताका आधार तयार हुन्छन् । एकता र फुटको प्रश्नमा त्यसरी द्वन्द्ववादको सार्वभौम नियम लागू भैरहेको हुन्छ । जब वर्गीय दृष्टिकोण मिल्छ, वर्ग मिल्छ, लक्ष्य र उद्देश्य मिल्छ, क्रान्तिको बाटो मिल्छ त्यहाँ एकता हुन्छ अथवा एकताको आधार तयार हुन्छ । जहाँ ती विषयहरूमा अन्तर पर्छ त्यहाँ फुट वा विभाजन हुन्छ । त्यसैले एकताका लागि एकता र फुट्नका लागि मात्र फुट्ने दुवै सोचाइहरू गलत छन् । यो गम्भीर समस्या हो । यसलाई सच्याउन आवश्यक छ ।

हाम्रो आफ्नै उदाहरण लिऔँ, प्रचण्ड– बाबुरामदेखि किरणहरूसँगको सम्बन्धविच्छेद र हाम्रो पार्टीको हालको अवस्थालाई नियाल्दा, धेरै अन्तर र फरक पाइन्छ । हाम्रो अगाडिका घटना र तथ्यहरूले के पुष्टि गर्दै गइरहेको छ भने हामी फुटेर अर्को पार्टी बनायौँ, ठीक ग¥यौँ । हामीमा यति अन्तर र फरकपना छ कि एकातिर प्रचण्ड–बाबुराम अर्कोतिर हामी नदीका दुई किनारा, जुन कहिल्यै मिल्दैन र जोडिँदैन, जोड्न सकिँदैन पनि । हो हामी कुनैबेला एकै ठाउँमा थियौँ । भिन्न ठाउँमा उभिएर सास फेर्दा पनि एउटै समयमा एकै र एउटै सास फेरिरहेको अनुभूति गर्दथ्यौँ । हाम्रो एउटै लक्ष्य र उद्देश्य थियो । एउटै बाटो थियो । जतिबेला प्रचण्ड–बाबुरामले जनयुद्धको मुख्य नेतृत्व गर्दै थिए । संसदीय व्यवस्थालाई ध्वस्त गरेर जनताको व्यवस्था नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य थियो । प्रतिक्रियावादी सत्ता ध्वस्त गरी जित्नका लागि गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको रणनीतिअनुरूप युद्ध अगाडि बढाउँदै थिए । जसको फलस्वरूप गाउँमा जालीफटाहा र सामन्तहरूप्रतिको कारबाहीले गाउँ खाली हुँदै थियो । गाउँका जनताका विरोधीहरू सहर पस्दै र बस्दै थिए । गाउँगाउँमा जनसत्ता निर्माण हुँदै थिए । नयाँ संस्कार र संस्कृतिले जनतामा नयाँ मुस्कान छरिदिएको थियो । जनताको जनसत्ता रक्षाका लागि र प्रतिक्रियावादी सत्ता ढाल्नका लागि बलियो जनमुक्ति सेना निर्माण र विकास भइरहेको थियो । पार्टीको योजना र जनमुक्ति सेनाको बल र प्रहारको कारण जाली, फटाहा, सामन्त मात्र होइन प्रहरी पनि पराजित भइसकेको थियो भने प्रतिक्रियावादी सत्ताको मुख्य शक्ति सेना पनि एक हदसम्म हारको मानसिकतामा पुगेको थियो । दुस्मनको सत्तामाथि खैलाबैला मच्चिएको थियो । दुस्मनहरू कमजोर र हामी बलियो हुँदै गइरहेका थियौँ तर दुस्मनहरू जतिसुकै कमजोर भए पनि कमजोर भयौँ सत्ता छाडिदिऊँ भन्दैनन् । खोसेर अर्थात् बल प्रयोग नै गर्नुपर्दछ र हाम्रो पनि अझै चोटिलो प्रहार गर्नुपर्ने आवश्यकता नै थियो तैपनि दुस्मन शक्ति र पुरानो सत्ता निकै तिल्मिलाएको थियो । हामी छिट्टै विजयमा पुग्छौँ भन्ने हामीलाई विश्वासका साथै आशा पलाएको थियो ।

हामी जितको नजिक छौँ भन्ने अनुभूत भइरहेको बेला ठीक त्यही समयमा शान्तिवार्ता भयो । शान्तिवार्ता गर्दा एकातिर संसद्वादी शक्तिको धार र अर्कोतिर क्रान्तिकारी शक्ति (माओवादी धार), दुईटा सेना र दुईटा सत्तालाई स्वीकार्दै भएको थियो । दुवै पक्षले आवश्यकता ठानेर भएको थियो । संसदीय पार्टीहरू राजतन्त्रको दमन र उत्पीडनले छट्पटाइरहेका थिए । सायद उनीहरू त्यतिबेला माओवादीसँग सहमति नगरेको भए, ज्ञानेन्द्रको जेलको कालकोठरीमा आजसम्म हुन्थे होला । अर्कोतिर हाम्रो विषय थियो केन्द्रीय सत्ता कब्जाका लागि उच्च स्तरको तयारी गर्नुपर्ने । त्यतिबेला प्रचण्डले भनेको कुरा मानसपटलमा ताजै छ– कमरेडहरू हामी हाम्रो लक्ष्यबाट विचलित हुँदैनौँ, बरु पूरा गरिछाड्छौँ । पूरा गर्नका लागि यो शान्तिवार्ता आवश्यक छ । हामीले शङ्का गर्ने ठाउँ थिएन । नेतृत्वको एउटै कासनमा हजारौँ बलिदान दिएका र दिन तयार भएका हामी सहमत भयौँ । नियत खराब हुनु हुँदैन । क्रान्ति पूरा गर्न कतिपय बेला वार्ता, सम्झौता कतिपय बेला युद्ध हामीले सहज ढङ्गले लियौँ । हाम्रो एउटै सोचाइ र बुझाइ थियो । पुरानो सत्ता ढाल्ने र नयाँ जनताको सत्ता स्थापना गर्ने । त्यही कारण र सोचाइमा हामी सबै एकै ठाउँमा थियौँ । जब शान्तिवार्ता भयो जनयुद्धको जगमा टेकेर २०६२÷६३ सालको जनआन्दोलन भयो । देशमा राजतन्त्रको अन्त्य भयो । लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यसपछि पहिलो संविधानसभाका विषयमा भारी मतले माओवादी पार्टी विजयी भयो । पहिलो संविधानसभामा पहिलो शक्ति भएर लडाइँमा मात्र होइन, चुनावमा पनि जनताको साथ र समर्थन पाएपछि नेपालमा मात्र होइन, विश्वमा नै माओवादी पार्टीको ओज र गरिमा बढेको थियो । त्यो स्थिति धेरै समय टिक्न सकेन किनकि सबै शक्ति (प्रतिक्रियावादी, विस्तारवादी, साम्राज्यवादी) को षड्यन्त्रमा माओवादीसँगका सहमति र समझदारी लागू नगर्ने बरु उल्टै माओवादीलाई यही संसदीय व्यवस्था मान्न यहीँ छिर्न बाध्य गराउनेतिर लाग्न थाले । यो कुरा प्रचण्ड–बाबुरामले बुझे कि बुझेनन्, दुस्मनहरूको योजना क्रस गर्नेभन्दा पनि एकएक गरी बिस्तारैबिस्तारै फस्दै गए, आफ्नो लक्ष्यमा दृढ रहन सकेनन् । शान्तिवार्ताका सहमति, समझदारी दह्रोसँग समातेर लागू गराउन सकेनन् । बरु छोड्दै गए । यो कुराले के साबित भयो भने जब रातारात जनमुक्ति सेनाका शिविर घेरा हालेर हतियार बुझाइयो अनि दुस्मनसामु आत्मसमर्पण गराइयो, विरोधीसित डराएर त त्यसो गरे । आफ्ना नेताहरू आफ्नै सेनाहरूसँग डराउनुपर्ने, दुस्मनलाई बुझाउनुपर्ने स्थिति देखाप¥यो । आफैँले निर्माण गरेको आफैँले नेतृत्व गरेको जनमुक्ति सेनासँग आफँै डराउनुपर्ने, अनि आफैँले दुस्मनलाई बुझाउनुपर्ने दुस्मन शक्तिका लागि राम्रो र खुसीको क्षण भए पनि क्रान्तिकारीहरूका लागि र क्रान्तिकारी इतिहासमा त्यो कालो दिनका रूपमा रहिरहने छ र रहनुपर्दछ । किनकि अबका कुनै पनि नेतृत्वले त्यस्तो गम्भीर गल्ती नगरोस् । तर प्रचण्ड–बाबुरामलाई त्यो गरेकोमा कुनै पश्चातापजस्तो लाग्दैन । किनकि त्यो मात्र होइन, उहाँ आफैँले सरकारको नेतृत्व गर्दा सुकुमबासीमाथि डोजर चलाउने, बिप्पाजस्तो राष्ट्रघाती सम्झौता गर्न पनि उहाँहरू पछि पर्नुभएन । त्यो त बाह्य पक्ष हो । जुन बाह्य रूपमा नै अनुभूत गर्न सकिन्छ । कुनै पनि चीजको विकास र विनासको मुख्य कारण आन्तरिक पक्ष नै हुन्छ भनेझैँ खरीपाटी भेलासम्म आउँदा उहाँहरूमा आएको विचलन प्रस्टसँग देख्न र बुझ्न सकिन्थ्यो । भेलामा प्रचण्डले प्रस्तुत गरेको लोकतान्त्रिक गणतन्त्रको प्रस्तावले त्यो बताइरहेको थियो । त्यसैकारण किरण कमरेडले अर्को जनगणतन्त्रको प्रस्ताव अगाडि सार्नुभयो । अन्त्यमा दुवै प्रस्तावलाई मिलाउँदै ‘जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र’ प्रस्ताव पारित गरियो, जसको व्याख्या अर्थात् सार लोकतान्त्रिक गणतन्त्रभन्दा माथि जनगणतन्त्रभन्दा तलको रहनेछ । साथसाथै प्रतिक्रियावादीहरूले पुँजीवादी गणतन्त्रतिर लैजान खोज्नेछन् । हामी जनगणतन्त्रतिर लैजानुपर्दछ, पुगिन्छ । हामीलाई ठिकै लाग्यो तर आज उहाँहरू जनगणतन्त्र ल्याउनेतिर होइन, लोकतान्त्रिक गणतन्त्र पूर्ण ठान्ने ठाउँमा हुनुहुन्छ । संसदीय व्यवस्थालाई ध्वस्त गर्ने होइन, संसदीय दलाल व्यवस्थाको नेतृत्व गर्दै हुनुहुन्छ । साथै संसदीय व्यवस्थाभित्रकै समाजवादको कुरा प्रचण्ड गरिरहनुभएको छ । बाबुराम त झन् टाढा पुगिसक्नुभएको छ । संसदीय व्यवस्था मान्नु, सुदृढ गर्न लाग्नु, पुँजीवादी विस्तारवादी र साम्राज्यवादीको निर्देशनमा चल्नु र लम्पसार पर्नु, उहाँहरूको इमानदारी, नैतिकता र कर्तव्यभित्र पर्ने विषय बनेको छ । उहाँ जुन ठाउँमा एकताबद्ध हुनुभएको छ फुट्ने कुरा र पतन हुने कुरा निश्चितै देखिन्छ । किनकि उहाँहरूको एकता सीमित स्वार्थमा केन्द्रित छ । जहाँ जुन एकता, निवर्गीय र विजातीय तत्व मिलेर बनेको छ किनभने सजातीय र सवर्गीय एकताले मात्र कुनै पनि लक्ष्य र उद्देश्य प्राप्त हुन्छ ।
आज यहाँसम्म आइपुग्दा झन् यस्तो अनुभूत भएको छ हामीले ठीक समयमा ठीक निर्णय लिएका रहेछौँ । फुटको आरोप खेप्नु पर्ला दुनियाँको नजरमा नराम्रो भइएला भन्ने ठानेर प्रचण्ड बाबुरामसँगै सती गएको भए देश र जनताको हालत के हुन्थ्यो होला । सहिद, बेपत्ता, घाइतेका बारेमा कसले बोल्थ्यो होला । भारतले नाकाबन्दी लगाउँदा, लिपुलेकका बारेमा निर्णय गर्दा, कसले आवाज उठाउँथ्यो, कसले त्यसका विरुद्धमा नेपाल बन्दसम्मका कार्यक्रम गर्दथ्यो होला ? जनता र राष्ट्र जुन महँगी, भ्रष्टाचार, कालोबजारी बढ्दैछ । त्यसका बारेमा कसले आवाज बुलन्द पार्दथ्यो होला, अझ मुख्य कुरा त समस्याको मुख्य जरोका रूपमा खडा भएको दलाल संसदीय व्यवस्थालाई ढालेर जनताको व्यवस्था गर्न कसरी खडा हुन्थ्यो होला ? कोही बोल्थ्यो होला, कोही उभिन्थ्यो होला तर हामीबाहेक त्यो ठाउँमा हुन सक्दैनथ्यौँ, हुने थिएनौँ होला । हामीले फुट्ने आँट ग¥यौँ र त आज विगतको समीक्षा गर्दै वर्तमानमा टेकेर भविष्यका बारेमा सुन्दर सपना लिएर नयाँ बाटो तयार गर्दैछौँ । यसले के गहिरो अनुभूत भयो भने त्यतिबेला फुट्नुपर्ने हाम्रो अनिवार्य आवश्यकता बनेको थियो । जसले फुटभन्दा सबै गलत हुँदो रहेनछ भन्ने पनि साबित गरिदिएको छ । हामी माथि उठेको अर्को प्रश्न पनि गम्भीर छ । तिमीहरू फुट्न मात्र जान्दछौ, जुट्न जान्दैनौ, एकताबद्ध हुन जान्दैनौ भनी आज हामीलाई फुटवादीको आरोप लगाइएको छ । यो बुझाइ र आरोपप्रति हामी सहमत हुन सकिरहेका छैनौँ । किनभने एकातिर फुटिराख्दा अर्को पक्षसँग मिलिराखेको हुन्छ । मिल्नुपर्छ एकताबद्ध हुनुपर्छ । एकता नै बल हो । हामीले जित्नुछ भने एकताबद्ध हुनै पर्दछ । फुटेर हुँदैन, सार्वभौम सत्यजस्तै हो । अब हामी कसरी सोच्दैछौँ र कोसँग एकताबद्ध हुने भन्ने कुरा हुन्छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर त हुनु भएन नि ! हामी यतिबेला अहिलेको परिस्थितिको विश्लेषण गर्दछौँ, विगतको वस्तुवादी समीक्षा गर्दछौँ अनि दलाल संसदीय व्यवस्था ध्वस्त पार्ने मुख्य निशाना बनाउँदै पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने गम्भीर निर्णय गरेका छौँ । यो उद्देश्य र लक्ष्यमा पुग्न एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गरिएको छ । अहिलेको मुख्य समस्या दलाल संसदीय व्यवस्था दलाल प्रवृत्ति रहेको छ । यहाँसम्म आइपुग्दा हामी एक्ला छैनौँ । त्यसका विरुद्ध आउनेहरूलाई एकताबद्ध गर्नुपर्ने हाम्रो दायित्व हो । त्यसैले त गरिब जनता, उत्पीडित समुदाय, मध्यम वर्ग राष्ट्रवादी शक्ति र कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनैपर्छ ।
यसैसँग जोडिएको अर्को पक्ष नेपाली क्रान्ति विश्व क्रान्तिको अभिन्न अङ्ग हो । नेपाली क्रान्तिलाई विश्वक्रान्तिसँग जोड्नु पर्दछ । यसलाई अलगथलग गरेर बुझ्नु हुँदैन । विश्वको प्रधान अन्तरविरोधका विषयमा स्पष्ट भएर तदनुरूप रणनीति निर्माण गर्नुपर्छ । साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताका बीचको अन्तरविरोध नै विश्वको प्रधान अन्तरविरोध हो । त्यसैले साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चा आजको आवश्यकता हो । साम्राज्यवादका विरुद्ध संसारभरि जनता उठिरहका कारण साम्राज्यवादविरोधी मोर्चा बनाउन सक्ने आधार बन्दै गएको छ । विश्व बहुधु्रवीय बन्दै जाँदा क्रान्तिकारी परिस्थिति पनि अनुकूल बन्दै गएको छ । साम्राज्यवाद र सर्वहारा क्रान्ति आजको विश्वको मूल प्रवृत्ति हो । मुख्य दुस्मन, मित्रशक्ति, रणनीतिक मोर्चा, कार्यनीतिक मोर्चा, सहयोगी शक्तिजस्ता विचार राजनीति र संयुक्त मोर्चाका विषयमा हामीले ठोस र वैज्ञानिक नीति निर्माण गरिसकेका छौँ । एकता, सङ्घर्ष र रूपान्तरणको प्रक्रियाबाट हामी आएका छौँ ।
एकता र फुटसम्बन्धी सही धारणा र बुझाइलाई सही बुझाइ र प्रयोग गरेर नै हामी यहाँसम्म आइपुगेका हौँ । दलाल संसदीय व्यवस्था ढालेर समाजवादी व्यवस्था स्थापना गर्न सकिन्छ भन्नेमा हामीमा कुनै भ्रम छैन । त्यसैले फुटलाई सधैँ नराम्रो र एकतालाई सधैँ राम्रो देख्ने धारणा बदल्नुपर्छ अन्यथा गलत ठाउँमा पु¥याउँछ ।
स्रोत: एकीकृत आवाज, अङ्क २

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :