पश्चिम कमान्डको अभियान समीक्षा बैठक : सरकारी कर्मचारी नै आए नेकपासँग गुहार माग्दै


काठमाडौँ : नेपाल कम्युुनिस्ट पार्टी पश्चिम कमान्डले भदौ १ देखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को समीक्षा गरेको छ । समीक्षा कार्यक्रम कात्तिक ६ र ७ गते नेकपाका अन्तर्राष्ट्रिय ब्युरो तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को अध्यक्षतामा सम्पन्न भएको हो ।

समीक्षामा महाकाली, सेती, भेरी र कर्णाली ब्युरोअन्तर्गत सबै जिल्लाका इन्चार्ज, जनपरिषद्का प्रमुख, जनवर्गीय सङ्गठनका प्रमुख, युवाका नेता र केन्द्रले तोकेका अभियानका प्रमुखले अभियानको रिपोर्टिङ गरेका थिए । रिपोर्टपछि सबै ब्युरोका इन्चार्ज तथा केन्द्रीय सदस्यले अभियान टिमलाई प्रशिक्षण दिएका छन् ।

अभियानमा पश्चिम कमान्डभरिमा सयौँको सङ्ख्यामा युवकयुवती पार्टीमा सङ्गठित भएको, एक लाखभन्दा बढी जनसमुदायको बीचमा एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादी क्रान्तिका बारेमा प्रशिक्षण भएको, सामाजिक दलाल पुँजीवादी सत्ताका विकृतिका बारेमा राजनीतिक भण्डाफोर भएको, दुई हजारभन्दा बढी सङ्ख्यामा विभित्र पार्टीबाट नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएको, पँच सयभन्दा बढी नयाँ सेल समिति गठन भएको, किसान, महिला, शिक्षक, विद्यार्थी, युवालगायत विभित्र जनवर्गीय सङ्गठनका समिति निर्माण भएको उक्त कमान्डले जनाएको छ ।

अभियानका क्रममा जनताले कयाैँ मुद्दा पार्टीमा पेस गरेको, कतिपय कर्मचारीले आफूमाथि भएका अन्यायअत्याचारको गुनासो गरेको र कतिपय मुद्दाको न्यायोचित फैसला गरिएको जानकारी रिपोर्टिङमा प्रस्तुत गरिएको थियो । कतिपय सरकारी कर्मचारी सरकारी पार्टीहरूबाटै उत्पीडित भएको मुद्दासमेत परेको र त्यो मुद्दा न्यायोचित तरिकाले फैसला गरिएको जानकारी उक्त टोलीका एक नेताले दिएका छन् ।

अभियानका क्रममा टोलीलाई जनताले व्यापक रूपमा स्वागत गरेका थिए । त्यस्तै अभियानलाई दसैँ र तिहारभर आफ्नो गाउँमा रहन जनताले विशेष आग्रह गरेका थिए । अभियान टोली गाउँहरूमा प्रवेश गरेपछि त्यहाँ रक्सी, जुवा, तास, महिलाहिंसा, घरझगडा र आवाराहरूको गुण्डागर्दी बन्द भएको थियो । कतिपय गाउँहरूले अभियान टोलीलाई आफ्नो गाउँमा बोलाएको र सयौँको सङ्ख्यामा युवाहरू राजनीतिक रूपले प्रशिक्षित भएको जनाइएको छ ।

अभियानमा अभियानकर्ता, राजनीतिक प्रशिक्षक, कलाकार र स्वास्थ्य सेवाविज्ञहरूसमेत समावेश थिए । विकट गाउँहरूमा स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य जाँच गर्ने र निःशुल्क औषधि वितरण गर्ने काम पनि भएको स्रोतले जनाएको छ । कतिपय औषधि व्यवसायी र सरकारी अस्पतालहरूले समेत अभियानका लागि निःशुल्क औषधि उपलब्ध गराएका थिए ।

अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कमान्ड इन्चार्ज कञ्चनले नेपालको सामाजिक दलाल पुँजीवादी सत्ता जनताले अपेक्षा गरेभन्दा कम समयमा बदनाम भएको बताए । देशको परिस्थितिको विश्लेषण गर्दै कञ्चनले भने, ‘देशमा जनवादी तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र नभएका कारण, देश स्वाधीन र स्वतन्त्र नभएका कारण सामाजिक दलाल पुँजीवादीहरूले चाहेर पनि देशका समस्या समाधान हुन सक्ने छैनन् ।’ क्रान्ति सम्पत्र भएजस्तै गरी एकातिर कथित कम्युनिस्टहरूले जनतालाई समाजवादको हौवा दिएर ढाँट्ने र सत्तामा रहनका लागि साम्राज्यवादीहरूको गुलामी गर्नुपर्ने, दलाल पुँजीवादी उत्पादनका कारण विकासका नाममा अकुत भ्रष्टाचार गर्नुपर्ने, लुटपाट गर्नुपर्ने, महँगी थोपर्नुपर्ने, कर प्रणाली अझ कस्दै जनतालई सताउनुपर्ने बाध्यताले यो केही समयमा बालुवाको घरझैँ भत्कने प्रक्षेपण पनि उनले गरे ।

त्यस्तैगरी सरकारले अनेक हथकण्डा प्रयोग गरी पार्टीका विरुद्ध अनेक प्रकारका षड्यन्त्र गर्ने, क्रान्तिलाई रोक्ने दुष्प्रयास गर्ने, पार्टीलाई बदनाम गर्न र आपराधिक सङ्गठनका रूपमा चित्रित गर्न हर्कत गर्ने प्रयास गरेको पनि उनले बताए । यसप्रकारका हर्कतको भण्डाफोर गर्दै त्यसको राजनीतिक प्रतिवाद गर्न पनि उनले कार्यकतालाई निर्देशन दिएका थिए ।

कञ्चनले त्यसका लागि जनतालाई राजनीतिक, वैचारिक रूपमा सङ्गठित गर्नुपर्ने, दलाल पुँजीवादी सत्ता तथा सामाजिक दलाल पुँजीवादी सरकारको सशक्त भण्डाफोर गरी जनतालाई सचेत पार्नुपर्ने र सशक्त आन्दोलनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनले सबै सीसीएम, पीबीएम र सदस्यहरूलाई धन्यवाद पनि दिएका थिए ।

२०७५ कात्तिक ९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :