सरकारी गाडीको दुरुपयोग गर्दै सत्तारुढ नेकपाका कार्यकर्ता

रामेछाप : स्थानीय निकायमा आफ्नो पार्टीको वर्चस्व भएको बेला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले राज्यकोषको व्यापक दरुपयोग भएको आवाज सर्वत्र उठिरहेको बेला रामेछापमा पनि सो क्रमले निरन्तरता पाएको छ । शनिबार तथा सार्वजनिक विदाको दिन कुनै पनि सरकारी गाडी चलाउन नपाउने सरकारको निर्णयलाई चुनौती दिंदै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले आफुले चढ्दै आएको सवारी साधन दुरुपयोग गर्दै आएका छन् । सार्वजनिक विदाको दिन बिहान उनले प्रयोग गर्दै आएको बा १ झ ९४०७ नम्वरको गाडी पूर्व एमाले पार्टी निकट अनेमसंघकी केन्द्रीय सदस्य शान्ता सापकोटालाई निजी सामान लिएर दशैं मनाउनका लागि घर पठाएका थिए ।

सो क्रममा घरमा प्रयोग गर्ने सिरक, डस्ना, चामल, चिउरा लगाएतका सामाग्री लिएर सदरमुकाम मन्थलीबाट सापकोटाको रामेछाप नगरपालिका १ गोठगाउँ स्थित घर जाँदै गरेको सरकारी गाडी मन्थलीको देवकोटा चोकमा पुगेपछि ट्राफिक प्रहरीले गाडीसहित नियन्त्रणमा लिएपछि यो कुराको खुलासा भएको हो ।

यस अघि पनि प्रमुख खड्काले विभिन्न समयमा आफ्ना नेता–कार्यकर्ताहरुको सुविधाका लागि राजधानी काठमाडौँ र जिल्ला बाहिर र भित्रका विभिन्न ठाउँहरुमा समेत उक्त गाडी पठाउँदै आएका थिए । जुन कुराका बारेमा सामाजिक सञ्जाल र बाह्य रुपमा पनि व्यापक चर्चा हुदै आएको थियो ।

उक्त गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि यस बारेमा व्यापक रुपमा कुरा बाहिर आएको छ । कानुनी रुपमा जिल्लाको सबैभन्दा ठूलो सरकारी प्रमुख र जनप्रतिनिधिले सरकारी नियमको वेवास्ता गर्दै देखाएको यस किसिमको हर्कतले जनप्रतिनिधिहरुप्रति सर्वसाधारणको ध्यान आकर्षित भएको छ ।

२०७५ असोज २७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :