जीवनका पाइला ५

किरण पक्षसँग अन्तर्विरोध
विप्लव पक्ष र किरण पक्ष भएर तत्कालीन नेकपा–माओवादीमा सङ्घर्ष चलिरहेको थियो । कमरेड चित्रबहादुर आले नेकपा (एकीकृत) छोडेर नेकपा–माओवादीमा ध्रुवीकरण हुने निष्कर्षमा पुग्नुभएको थियो । पार्टीमा त्यसको मिश्रित प्रतिक्रिया थियो । किरण पक्ष उहाँहरूलाई पार्टीमा ल्याएर विप्लवका विरुद्ध प्रयोग गर्न चाहन्थ्थो । विप्लव पक्ष भने सुधारवादी प्रवृत्ति नै हाबी होला भनेर चिन्तित थियो । त्यही सोचाइअनुसार उहाँहरूको मूल्याङ्कनमा पनि एकरूपता हुन सकेको थिएन । कम्युनिस्ट आन्दोलनमा पार्टी एकताका सकारात्मक अनुभव मात्र थिएनन् । झापाली समूहलाई नेतृत्व सङ्गठन र वैचारिक रूपले संशोधनवादतिर धकेलेको थियो । २०६५ सालको नेकपा (माओवादी) र नेकपा (एकताकेन्द्र) बीचको पार्टी एकताले माओवादी धारालाई विसर्जनवादतिर धकेल्न ठूलो भूमिका निर्वाह गरेको नजिर ताजै थियो । त्यसकारण नेकपा–माओवादीभित्रको क्रान्तिकारी पक्ष पार्टी एकताका लागि लालायित थिएन तर कमरेड चित्रबहादुर आलेलगायत टोली बिनासर्त एकतामा आउन तयार भएपछि पार्टी एकता भएको थियो । उता रामसिंह श्रीसहरू भने आफूहरू नै एकतामा जान तयार भएकाले पार्टीका नेताहरूलाई चोइट्याएर नलैजान दबाब दिइरहेका थिए । कमरेड आलेको टोलीले भने पदीय मोलतोल गर्नुभन्दा वैचारिक आधार र पूर्वाग्रहरहित भएर क्रान्तिका बारेमा सोचिरहेको थियो । यसलाई उनीहरूले धैर्यपूर्वक व्यावहारिक रूपमा ढाल्न खोजेका थिए ।

किरण पक्ष र विप्लव पक्षका बीचमा मतभेद चर्किंदै गएको सममया एक दिन आले निवासमा देवप्रसाद गुरुङसँग छलफल भएको थियो । छलफलमा गुरुङ विप्लवका विरुद्ध खनिए । विप्लवले नमानेर नै आलेलाई राजनीतिक समितिमा लग्न नपाएको भन्दै सहानुभूति लिन खोजे । त्यसप्रकारको तुच्छ शैली प्रयोग गर्दा आले झन चिढिनुभयो । व्यक्तिभन्दा पनि सिद्धान्त मूल पक्ष हो । नीतिसँग व्यवहार मिल्नुपर्छ भन्नुभयो । गुरुङको व्यक्तिकेन्द्रित टिप्पणी मनपराउनुभएन । त्यो छलफलबाट किरण पक्षसँग उहाँ झन् टाढिनुभयो । विप्लव पक्षसँगपनि छलफल भइसकेको थिएन । पहिलो छलफलमै कमरेड आले र कमरेड चिरन क्रान्तिकारी सोचाइमा धेरै नजिक देखियो । विचारधारात्मक एकताले भावनात्मक एकतालाई सुदृढ गर्छ भन्ने सैद्धान्तिक अवधारणा व्यावहारिक रूपले प्रकट हुँदै थियो । कमरेड विप्लवको बद्ख्याइँ गर्दा ताली बजाउलान् भन्ने गुरुङको अपेक्षा थियो । तर कमरेड आलेले कमरेड किरणकै आलोचना गर्नुभयो । त्यसपछि वैद्य पक्षले आलेसँग आशा मारेको थियो । त्यसप्रकारको वातारण बन्नुमा कमरेड चिरनको महत्वपूर्ण भूमिका थियो । ‘पहिलेको जनयुद्धमा छुटेर ठूलो गल्ती भयो । अबको क्रान्तिमा कुनै हालतमा छुट्नु हुँदैन । जे जिम्मेवारी पाए पनि सहभागी हुनुपर्छ भन्ने छलफल भएको थियो’, कमरेड चिरनको भनाइ थियो । त्यसरी कमरेड आले र कमरेड किरण पक्षका बीचमा आधारभूत वैचारिक खाडल थियो । जसलाई दुवै पक्षले ठीक ढङ्गले बुझेका थिएनन् । पार्टीमा ध्रुवीकरण भएकै वर्ष फेरि पार्टी विभाजनतिर गयो । स्थिरतामा सोच्ने अवसर पनि पाउनुभएन । कमरेड आलेले ‘मलाई जोडबल नगर्नुस् । म तपाईंहरूको विचार र व्यवहारप्रति सहमत छैन । जति सक्छु, जे जिम्मा पाउँछु, निःसर्त क्रान्तिको सेवा गर्छु’ भन्नु भयो । त्यसरी सम्बन्ध बिच्छेद भयो । उता पार्टी विभाजन सङ्घारमै थियो ।

शिवगढी भेलामा आले

२०७१ ?……. मङ्सिर ८ आयो । त्यसअगाडि नै शिवगढीमा क्रान्तिकारी पक्षको राष्ट्रिय भेला भइसकेको थियो । कमरेड आले त्यो ऐतिहासिक भेलामा जनकपुर अञ्चलको नेतृत्व गरेर जानुभएको थियो । नेकपा (एकीकृत) मा स्थायी समितिमा रहनुभएका आले शिवगढी भेलामा जाँदा केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा शिवगढी भेलाको सकारात्मक–नकारात्मक चर्चा लामो समयसम्म भइरहनेछ । दुई लाइन सङ्घर्ष र वर्गसङ्घर्षमा त्यो भेला महत्वपूर्ण आयामका रूपमा रहेको छ । ‘मैलेभन्दा अगाडि नै चिरन पुनले नेकपा (एकीकृत) बाट अलग भएर ध्रवीकरण हुनुपर्छ भनेको थियो, कमरेड आले भन्नुहुन्छ । त्यसबेला नेकपा (एकीकृत) र नेकपा–माओवादीका बीचमा पार्टी एकताको छलफल भइरहेको थियो । पदीय भागबन्डा नमिलेको हुनाले एकता लम्बिएको थियो । त्यसबेला कमरेड आले तत्कालीन नेकपा (एकीकृत) का तर्फबाट वार्ताटोलीको संयोजक हुनुहुन्थ्यो । ३३ दलहरूको बीचमा संयुक्त सङ्घर्ष पनि भइरहेको थियो ।

सीपी मैनाली नेतृत्वको नेकपा (माले) विभाजित भएपछि ऋषि कट्टेलको नेतृत्वमा नेकपा (माले) गठन भएको थियो । नेकपा (एकताकेन्द्र मण्डल) र नेकपा (माले) बीचमा पार्टी एकता भएर नेकपा (एकीकृत) गठन भएको हो । २०६७ मा ऋषि कट्टेललाई नेतृत्वबाट हटाएपछि उनले पार्टी फुटाएर नेकपा गठन गरे । नेकपा (एकीकृत) को वार्ताटोली संयोजकसमेत रहनुभएका कमरेड आले बैठकमा नै ‘विचारमा मतभेद नभएपछि पद नमिलेकै आधारमा एकताबाट पृथक् रहनु पार्टी र क्रान्तिका लागि घाटा छ, कता राख्ने हो, हामी आउँछौँ भनेर निःसर्त जानुपर्छ, म त जान्छु’ भन्दै बैठकबाटै रातोपिरो नभईकन उठ्नुभयो । आलेलाई अहिले नै किन जानुहुन्छ भन्दै परि थापा समात्न आएको स्मरण गर्नुहुन्छ कमरेड आले । त्यसपछि कमरेड आले राजनीतिक समिति, चिरन पुन केन्द्रीय सदस्य र राजकुमार लामा वैकल्पिक केन्द्रीय सदस्य भए । परि थापा र रामसिंहहरू नेकपा (एकीकृत) का नेता, कार्यकर्ता हाल जुन स्तरमा छन् त्यही स्तरमा राख्नुपर्ने सर्तमा थिए । नेकपा–माओवादीले उक्त सर्त नमान्दा पार्टी एकता रोकिएको थियो तर कमरेड चित्रबहादुर आले भने पदको कारणले गर्दा ध्रुवीकरणको बाधक बन्नुभएन ।

नेकपा–माओवादीमा गुटगत बैठकहरू चलिरहेको थियो । किरण पक्ष र विप्लव पक्ष ध्रुवीकरणमा थिए । पार्टी एकतापछि कमरेड आले क्रान्तिकारी फोकोका ३ वटा बैठकमा सहभागी हुनुभयो । त्यसप्रकारको छलफलले कमरेड आलेलाई विचार निर्माणमा सहयोग ग¥यो भने क्रान्तिकारी फोकोमा निकै ऊर्जा थपेको थियो

पञ्चायती व्यवस्थाभित्र कम्युनिस्ट दिवाकर

२०३४ सालमा तत्कालीन नेकपा (चौम) को निर्देशनअनुसार युवा दिवाकर केसी पञ्चायतमा जिल्ला सभासद् भएका थिए । त्यही वर्ष प्रकाशबहादुर सिंह काण्ड भएको थियो । सिंह सर्वोच्च अदालतका न्यायाधीस थिए । त्यस काण्डमा केसीलाई हजरिया प्रहरी चौकीले गिरफ्तार गरेर गौर लग्यो । त्यसबेला त्यस क्षेत्रको सदरमुकाम गौर थियो । केसीलाई प्रहरीले डाँका मुद्दा दर्ता गरे पनि अदालतले त्यो सदर गरेन र लुटपाट मुद्दा लाग्यो । अदालतले उहाँलाई फैसला गर्दा वादीले फैसलाअनुसार दाबी गर्न आएमा सजाय गर्ने भनेको थियो तर प्रकाशबहादुर सिंह नै अदालतमा मेलमिलाप गर्न गए । प्रहरीमा किटानी जाहेरी दिएनन् । त्यसपछि घटना सामान्य भएर गयो ।

उत्तरपूर्वी सिन्धुलीबाट केसी परिवार २०२१ सालमा सर्लाही बसाइँ सरेको हो । बसाइँसराइले पैदा गरेका गहिरो घाउ, पीडा र मनोविज्ञान उनीहरूसँग छ, जसरी हरेक आप्रवासीसँग हुन्छ । स्थानीय चुनावमा उम्मेदवार उठाएर जनसेवा गर्ने र पञ्चायतलाई अप्ठ्यारो पार्ने नीति थियो । २००८ सालमा जन्मेका केसी पञ्चायती कालमा २०३९ सालमा र संयुक्त जनमोर्चाका तर्फबाट २०४९ सालमा गाविस अध्यक्ष निर्वाचित भए । २०३४ असार १९ गते पक्राउ भई २०३६ वैशाख १ गते आममाफी भएपछि हजारौँ राजबन्दीसहित रिहा भएका थिए ।

२०५० साउनमा तत्कालीन संयुक्त जनमोर्चाले २ दिने नेपाल बन्द घोषणा गरेको थियो । पहिलो दिन बरहथवामा बसेर बन्द गराएर फर्किए । दोस्रो दिन बरहथवाबाट साइकलमा घर फर्किंदै गर्दा उच्च रक्तचापले गर्दा उनी बेहोस भएर बाटोमा ढले । सायद देख्नेहरूले जँड्याहा भन्ठाने होलान् । त्यसपछि उनको बायाँपट्टिको आधा शरीर अपाङ्ग भएको छ । स्मरण शक्ति कमजोर भएको छ । नटेश्वर टोलस्थित चित्रबहादुर आलेको निवासमा छलफल गर्दै गर्दा उनको स्वर प्रस्ट थिएन । जिब्रो लर्बरिएको थियो । आजको स्वतन्त्र र खुला समाज, उच्च सामाजिक चेतना, सामन्तवादको पतनको पछाडि हजारौँ दिवाकरहरू छन् । उनीहरू जेल बसे, प्रहरीको लातबात खाए । परिवारको खुसी लुटाए । त्यसको बदलामा हामीलाई स्वाभिमान दिए तर वर्तमानले दिवाकरहरूको बलिदान कसरी बुझेको छ ? तर दिवाकर केसीहरू बनियाँले सामानको मोलतोल गरेझैँ गरेर आन्दोलनमा होमिएका थिएनन् । ‘म कसैले भनेर आन्दोलनमा लागेको होइन, ठीक लागेर आफ्नै मनज्ञानले लागेको हुँ’, केसी गर्वसाथ भन्छन् । केसी र आले विद्यालय पढ्दाकै दौँतरी थिए । लौरो टेक्दै आएका केसीमा जोस र स्वाभिमान उस्तै थियो ।

२०७५ असोज २७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!