जनतामा क्रान्तिकारी आशावाद जगाउँदै सामना

अम्बिका चन्द, काठमाडौँ
चमचम गर्ने खकुुरी सान लाउने बेला भो
फेरि अर्को क्रान्ति उठ्छ जागै बस्ने बेला भो
फेरि जँघार तर्ने बेला भो
बारुदसँग खेल्ने बेला भो
फेरि बन्दुक बोक्ने बेला भो…
                उत्साह, उमङ्ग र जोसले भरिएको यो गीतमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका कलाकारहरूले अभिनय गर्दा आइतबार काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा उपस्थित दर्शकमाझ बेग्लै रौनक छायो । हाल नेकपाका केन्द्रीय समिति सदस्य रहेका कलाकार चिरन पुनको उक्त गीतमा सामना परिवारका कलाकारले दिएको प्रस्तुति साँच्चै जोसिलो थियो । जनतामा क्रान्तिकारी आशावाद र जागरण पैदा गर्ने खालका सामना परिवारका गीतसङ्गीतहरूले साँच्चिकै नाचघरका सहभागीहरूलाई मनोरञ्जन मात्र पैदा गरेनन्, सहभागीहरूमा बेग्लै खालको जोस, जाँगर र उमङ्ग पैदा ग¥यो । यो देशमा क्रान्तिको आवश्यकता छ भन्ने सन्देश प्रवाह ग¥यो ।
महासङ्घको केन्द्रीय कार्यक्रमअन्तर्गत सामनाले दुई दिनसम्म ‘सामना जनसङ्गीत अभियान’ सञ्चालन गरेको हो । सांस्कृतिक कार्यक्रम हेर्न वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यदेखि जनगायक रायन, जेबी टुहरे, लक्ष्मी गुरुङसम्म सहभागी भए । उनीहरूमध्ये जेबी टुहुरे, लक्ष्मी गुरुङदेखि जनयुद्धकालीन कलाकार विद्रोहीसम्मले अतिथि कलाकारका रूपमा क्रान्तिकारी गीत प्रस्तुत गरे । कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्यहरू पदम राई ‘विकास’, ओमप्रकाश पुन, कृष्ण धमला ‘गम्भीर’, मोहन कार्की ‘जीवन्त’ लगायत नेकपाका विभिन्न तहका नेता–कार्यकर्ताहरू सहभागी भए । अन्य कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, युवा र जनता सहभागी भएर सांस्कृतिक कार्यक्रम अवलोकन गरे ।
कार्यक्रममा वरिष्ठ जनगायक जेबी टुहुरेले ‘देशभक्त सबै जुट्नुपर्ने बेला भो, समाजमा समाजवादी रङ भर्नुपर्ने बेला भो’ भन्ने गीत प्रस्तुत गर्दा सहभागीहरूलाई साँच्चिकै राष्ट्रप्रेमको भावनाले ओतप्रोत बनायो । उनले गीतमार्फत सहभागीहरूलाई समाजमा समाजवादी रङ भर्नका लागि एकजुट भएर उठ्न आह्वान गरे ।
यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त
यो त सारै बेइज्जत भो, यो त सारै सरम भो
देश बेच्नु हुन्न भन्दा गोली चलाउने
भ्रष्टाचार भयो भन्दा जेल पठाउने…
कार्यक्रममा सामनाका कलाकारहरूले प्रस्तुत गरेको यो गीतले देशको शासनसत्ता र सरकारको वास्तविक चरित्र चित्रण गरेको थियो । कम्युनिस्ट भनिने सरकारले बढाएको कर, जनतालाई दिएको सास्ती र देश बचाउनुपर्छ भन्ने आवाज उठाउनेहरुमाथि राज्यले गरेको दमनको चित्र गीतमार्फत प्रस्तुुत गरिएको थियो । नेकपाका महासचिव विप्लवले हालै रचना गरेको उक्त गीतले देशको शासन व्यवस्थाको यथार्थ चित्रण गरेको छ । साँच्चिकै उक्त गीतमा महासचिव विप्लवले वर्तमान शासन व्यवस्थाको यथार्थ बिम्ब प्रस्तुत गरेका छन् ।

नभुलिदेऊ कमरेड
नबिर्सिदेऊ कमरेड
रगतको टीका लगाई कसम हामीले सँगै खायौँ
जनतासँग वर्गीय नाता पनि सँगै लायौँ
रोल्पा पनि सँगै गयाँै
पिली, बेनी, गोर्खा, अछाम पनि सँगसँगै लड्यौँ
जुम्ला पनि सँगै लड्यौँ, डोल्पा पनि सँगै लड्यौँ…

            कुनै बेला रुकुमको चुनबाङमा ‘टुटफुट र खण्डित कुरा नगर आत्मसमर्पणको कुरा नगर’ भन्ने गीत गाएर तत्कालीन जनयुद्धका नायक प्रचण्ड–बाबुरामलगायत सम्पूर्ण नेतालाई रुवाएका तर अहिले गुमनामजस्तै भएका जनगायक विद्रोहीले इतिहास सम्झाउने गीत गाउँदा जनयुद्धको प्रक्रियाबाट आएका मानिसहरू धेरै नै भावुक र उद्वेलित बनेका थिए । नेताहरूले विगतमा जनतासँग गरेका बाचा बिर्सिएको सन्दर्भ स्मरण गराउने गीत गाउँदा सहभागी साँच्चै भावुक बनेका थिए । विद्रोहीले यो गीत गाउँदा जुम्ला, बेनी, अछाम, गोर्खा, पिली र गाममा सहयोद्धा छोडेर आएका मानिसहरू अझ बढी भावविह्वल बनेका थिए ।
सहिदहरू हाँसिरहेको, बोलिरहेको
 देखेँ मैले रातो अक्षरमा
गैरी गाउँको बजारैमा
सहिद गेटैमा
बलिदानको साँचो अर्थ बुझाइरहेको
रगतले मुक्ति मार्ग खोलिरहेको
क्रान्तिको मीठो सपना बाँडिरहेको
गुराँसको थुँगा बनी फक्रिरहेको …
           यसैगरी सामना परिवारका कलाकारहरुले नेपालको राजनीतिक सत्ता परिवर्तनको बाटोमा लामबद्ध हुँदा आफ्नो जीवन समर्पित गर्ने सहिदहरूप्रति समर्पित गीतमा नृत्य प्रस्तुत गरेका थिए । उक्त गीतमा कलाकारहरूको प्रस्तुतिले तत्कालीन जनयुद्धकालीन इलाका र सहिदगाउँहरूको झल्को दिन्थ्यो । गीतले आधारइलाका चलेका जनसत्ता, जनसत्ताले गरेका विकास निर्माण, सहिद गेट, सहिद मार्ग, सहिदको नाममा नामकरण गरी निर्माण गरिएका जनवादी विद्यालय, बाटोघाटो, पुलपुलेसा र चौतारीहरू निर्माण गरिएको इतिहासको सम्झना गराएको थियो ।
कार्यक्रममा कलाकारहरूले नेपाली राष्ट्रियतामाथि विदेशीले गरेको हस्तक्षेपलाई विम्ब बनाएर प्रहसन गरेका थिए । उनीहरूले नेपाल आमा हाँसेको हेर्नलाई हामीले लड्नैपर्छ, नेपाल आमा अहिले ठूलो पीडामा छिन र रोइरहेकी छिन् भन्ने भावको प्रहसन प्रस्तुत गरेका थिए । उनीहरूले प्रस्तुत गरेको अपेरामा नेपालमाथि साम्राज्यवादीहरूले कसरी हस्तक्षेप गरेका छन् भन्ने चित्र प्रस्तुत गरेका थिए । असोज २१ र २२ गते प्रस्तुत गरिएको उक्त कार्यक्रमको सहजीकरण आरोह नेपालीले गरेका थिए ।

मिति: २०७५ असोज २४ गते प्रकाशित ,रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :