केपीको उत्तोलक

 

केपी ओली सरकार गठन भएको ८ महिना पुगेको छ ।  यो ८ महिने सरकारको अवधिले ओलीको हैसियत, मनोविज्ञान र अक्षमता त पुष्टि गरेको छ नै, साथै उनी सत्ता सञ्चालन गर्न, राष्ट्रियताका पक्षमा र कूटनीतिक क्षेत्रमा असाध्यै अस्थिर प्रमाणित भएका छन् । यी तथ्यहरूलाई शृङ्खलाबद्ध प्रस्तुत गर्ने हो भने ओली र उनको टिम संसदीय व्यवस्थाको पनि असफल चालक पुष्टि हुन पुगेका छन् । हुनत उनले आफ्नो पार्टी र सरकारलाई एउटा आधुनिक भीमकाय जेट विमान भन्ने गरेका छन् र उनी र प्रचण्ड त्यस भीमकाय विमानका कोपाइलट हुन् भन्ने गरेका छन् । यसरी दुईजना कोपाइलट भएको यस विमानले अहिले भयानक आँधीमय आकाशको यात्रा गरिराखेको छ । उनको यात्रामार्ग त भीषण नै आँधीबेहरीयुक्त छँदैछ । साथै उनको विमान, त्यसका इन्जिन, उनका सहयोद्धा वा कोपाइलटहरू स्वस्थ, सक्षम देखिएका छैनन् । उनीहरूले राम्रोसँग राडरका सङ्केतहरू ग्रहण गर्न सकिराखेका छैनन् । त्यसले स्वयम् ओलीको विमान पनि ठीकठाक छैन ।

साबिकको माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर संयुक्त चुनावी घोषणापत्र लिएर चुनावका नाममा जनतामा केपी—प्रचण्डहरू पुगेका थिए । उनीहरूले सामान्य संसदीय व्यवस्थाका मूल्यमान्यता र हैसियतभन्दा ठूला र सोम शर्माको सातु लिएर बाँड्दै हिँडेका थिए । संसदीय चुनावअन्तर्गत उनीहरूको गठबन्धनले बहुमत ल्यायो । सरकार गठन हुँदै गर्दा त्यो सरकारले दुईतिहाइ मत पनि प्राप्त ग¥यो । अहिले त्यही दुईतिहाइ बहुमतले सरकार सञ्चालन गरिराखेको छ ।

गत फागुन ३ गते सरकार गठन भएदेखि उक्त सरकार उकालो चढ्नुको सट्टा ओरालो झर्न थाल्यो । उनीहरूले चुनावी घोषणापत्रमा लेखेका र चुनावमा गरेका वाचा त पूरा गरेनन् नै खाँटी राष्ट्रवादी कहलिएका ओलीको राष्ट्रवादको नकाव त्यसबेला उत्रियो जब नरेन्द्र मोदी नेपाल आउने क्रममा सीधै जनकपुरमा तामझामका साथ ओर्लिएका थिए र केपीले उनको स्वागत मोदीकै पहिरनमा गरेका थिए । काठमाडौँ ल्याएर अरुण ३ बुझाएका थिए र मुस्ताङमा बेलगाम घुम्न दिएका थिए । मोदीको तीर्थाटनमा केपीले जेजे सुविधा र हर्कत गर्न दिएका थिए त्यसबाट नेपाली जनता रुष्ट हुन पुगेका नै थिए । साथै चुनावको बेलामा ‘वाम गठबन्धन’ लाई आर्थिक, भौतिक, नैतिक सहयोग र समर्थन गरेको चीन झस्किएन मात्र, विश्वास गर्न छाडिदिएको थियो । यसले पहिलो दर्जाको उत्तोलकको राष्ट्रवादी छेउ हलुको हुन पुग्यो र अर्को छेउ पुरानै ठाउँमा झुक्न पुग्यो ।

भारत भ्रमण गएर नेपाल फर्किई चीन प्रस्थान गर्दै गर्दा केपी सरकारप्रतिको चिनियाँ भ्रम पूर्ण रूपले साफ भैसकेको थियो । त्यसैकारण उनको भ्रमणका बारेमा बाहिर जति नै अफवाह फैलाएको भए पनि त्यो पानीको फोकासरि हुन पुगेको थियो ।
उनको सरकारले अहिले केही पनि गर्न सकेको छैन । निर्मलाको हत्यारा अहिलेसम्म पहिचान गर्न सकेको छैन । दिनदिनै भैराखेको बलात्कार र हत्या रोक्न सकेको छैन । जनतासँग प्रत्यक्ष सरोकार राख्ने, महँगी, स्वास्थ्य, शिक्षामा कुनै अङ्कुश छैन । उनीहरूले भन्दै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’ का लागि चाहिने रोजगारी, विकास शून्य प्रायः छ ।

सैद्धान्तिक रूपमा असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको यो सरकारको छिमेकीहरूसँगको सम्बन्ध एकदमै डोलयमान हुन पुगेको छ । पहिलोपल्ट चीन भ्रमण गर्दा गर्ने भनिएको यातायात तथा पारवहन सन्धि पछिल्लोपटक प्रधानमन्त्री भएर चीन जाँदा त्यसमा हस्ताक्षर हुन सकेन । त्यसको मुख्य कारण भारत थियो । भारतले उक्त सन्धिमा हस्ताक्षर गर्ने हो भने महाकालीदेखि मेचीसम्म १२ लेनको बाटो बनाएर भारतीय यातायातका साधनहरू बेरोकतोक पूर्वपश्चिम पुग्न पाउनुपर्ने सर्त सारेको थियो । उक्त सर्तलाई चीनले मानेको थिएन । भर्खरै मात्र उक्त सन्धिमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरका कारण भारत रुष्ट हुन पुगेको छ ।

भारत केपी सरकारसँग उक्त हस्ताक्षरका कारण मात्र नभएर भारतले आयोजना गरेको भनिएको बिमस्टेक सैन्य अभ्यासमा अन्तिममा आएर नेपाली सेनालाई नपठाउनु पनि रहेको छ । त्यसैगरी भारतको इच्छाविपरीत चिनियाँ कम्पनीलाई बुढीगण्डकी जनविद्युत् परियोजना दिनु पनि रहेको छ । यसरी पछिल्लो क्रममा केपीको पहिलो दर्जाको उत्तोलकमा फेरि असन्तुलन पैदा भएको छ ।
आगामी निर्वाचनमा पुनः नरेन्द्र मोदीको गठबन्धनले जित्यो भने सी जिङ पिन र मोदीले दक्षिणएसियाका देशहरूलाई हेर्ने एउटा नीतिगत सहमतिमा हस्ताक्षर गर्दैछन् । त्यसलाई उनीहरूले टु प्लस वानको नीति भन्नेछन् । त्यसबेला केपीको उत्तोलक बेकाम भएर जानेछ । यसका बारेमा केपी कति जानकार छन् ?
२०७५ असोज १९ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :