पूर्वी कमान्डमा नेकपाको अभियान तीव्र

  

पूर्वी कमाण्ड : नेकपाको ७ औँ केन्द्रीय समितिको आठौँ बैठकले तयार गरेको चारमहिने कार्ययोजनाअन्तर्गत ४५ दिने अभियान पूर्वी कमान्डमा तीव्र बन्दै गएको छ । ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ चलिरहेको बेला भदौ ३० गते सिन्धुलीमा टोली नम्बर १, २ सामना परिवार र ‘युवा टोली’ को संयुक्त प्रशिक्षण तथा मध्यावधि समीक्षा सम्पन्न भएको छ । पार्टीको पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले उठेका प्रश्नहरूको जबाफसहित हालै सम्पन्न स्थायी समितिका निर्णयहरूसहित कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा टोली नेताहरू कमरेड नवीन, कमरेड सरद, कमरेड दीपकले आआफ्नो टोलीको प्रतिवेदन तथा जिज्ञासा प्रस्तुत गरेका थिए । टोली नेताहरूद्वारा प्रस्तुत प्रतिवेदनअनुसार अभियानका क्रममा सिन्धुली इन्चार्ज तीर्थ राईले दलालको चौघेरा हेर्न गाउँ जानुपर्ने बताएका थिए । त्यसैगरी सामना सांस्कृतिक टोलीका प्रमुख सरल माझीले महासचिव विप्लवद्वारा रचित ‘यस्तो पनि हुन्छ र कम्युनिस्टको सरकार’ बोलको नयाँ गीत प्रस्तुत गर्दै ‘दलाल पुँजीवादको असली अनुहार हेर्न गाउँ जानुपर्ने’ बताए । एक नं. टोली प्रमुख तथा केन्द्रीय सदस्य नवीनले अभियानले विचारधारात्मक र भावनात्मक एकता सुदृढ गरेको बताएका थिए । टोली नं. २ का नेता कमरेड सरदले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै सुरुमा अभियानप्रति अन्योल भए पनि यसको औचित्य पुष्टि भएको, गाउँमा जुवातास र मदिरा प्रयोगले भयावह आर्थिक समस्या तथा पारिवारिक तनाव ल्याएको, प्रचण्ड–बाबुराम प्रवृत्तिले जनतामा चरम निराशा ल्याएको बताउँदै ‘यस्ता अभियान बारम्बार सञ्चालन गर्नुपर्ने’ बताएका थिए । त्यसैगरी जनसेनाका तर्फबाट कमरेड दीपकले टोलीका तर्फबाट समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश र केन्द्रीय सदस्य निर्मलले समसामयिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता जोखिम, सञ्चालन कुमार र स्वागत मन्तव्य तीर्थ राईले राखेका थिए । कार्यक्रममा ५५ जना सहभागी थिए ।

असोज १ गते टोली नम्बर ३, ७ र ८ को संयुक्त समीक्षा तथा प्रशिक्षण लहान नपा १५, कालीखोलामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी पूर्वी कमान्ड इन्चार्ज अनिल विरही र जनकपुर ब्युरो इन्चार्ज सन्देशसहित ३५ जनाको उपस्थिति थियो । प्रमुख अतिथिले पार्टीको विचार, राजनीति र कार्यकर्ताले उठाएका जिज्ञासाहरूको सम्बोधन गरेका थिए भने अर्का केन्द्रीय सदस्य सन्देशले सङ्गठनात्मक विषयमा मन्तव्य राखेका थिए । मिथिला चौहानले सहिदद्वय चन्द्रेश्वर मण्डल र रामवृक्ष यादवको स्मृति दिवस पारेर तराईमा दुईवटा टोलीले अभियान सञ्चालन गरिरहेको बताएकी थिइन् । त्यसैगरी अमर, रूपेश र राजु कार्कीले आआफ्नो टोलीको प्रगतिविवारण प्रस्तुत गरेका थिए । टोली नेता राजु कार्कीले सहिद परिवार भेटघाट ७, सङ्गठन निर्माण १३ वटा, पार्टी सेल गठन २, जनसभा पिँढीसभा ५३, ध्रुवीकरण २ वटा, महिला उत्पीडन गर्नेलाई जनकारबाही ३ वटा, विकास निर्माणमा पहल २ वटा गरिएको बताएका थिए । अभियानका क्रममा लाहान प्रहरीले धनुषा सेक्रेटरी इन्दलकुमार साह ‘साहस’, गोलबजार नपा मुसहर बस्तीका गोविन्द सदाय, ज्ञानादेवी मुखिया र अनिता सदायलाई गिरफ्तार गरेको थियो । कार्यक्रमको उद्घोषण सर्लाही सेक्रेटरी राजन र अध्यक्षता सिन्धुली इन्चार्ज शशीले गरेका थिए । कार्यक्रममा आदम कवारी, लक्ष्मण, सागरलगायत पार्टी नेताहरूको उपस्थिति थियो ।
२०७५ असोज १५ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :