मालकोट गोलीकाण्डको प्रतिवेदन सार्वजनिक

स्थानीय तहको प्रदेश नं. ३, ४ र ६ मा प्रथम चरणको निर्वाचन सम्पन्न गर्ने क्रममा २०७४।१।३१ गते प्रदेश नं. ६ को कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मालकोट, सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका प्रहरीबाट गोली प्रहार भई राष्टिय प्रजातन्त्र पार्टीको तर्फबाट सो ६ नं. वडा अध्यक्ष पदका उम्मेदवार धनरुप बटालाको घटनास्थलमा मृत्यु भएको तथा अन्य ३ जना स्थानीय व्यक्तिहरू घाइते भएको समाचार सार्वजनिक भएको थियो । त्यस सम्बन्धमा जनअधिकार अभियान नेपाल, राष्ट्रिय सरोकार अभियान नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कालीकोट जिल्ला र राष्ट्रिय मानवअधिकार तथा सरोकार केन्द्र एवं पत्रकारहरूको एक टोलीले घटना स्थल पुगी स्थलगत प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरियो । सो प्रतिवेदनको पूर्ण अंश यस्तो छ –

ekraj
मालकोट गोलीकाण्डसम्बन्धी स्थलगत अध्ययनको प्रारम्भिक प्रतिवेदन– २०७४
(२०७४ जेष्ठ ४–६ मा सम्पन्न स्थलगत अध्ययनमा आधारित)

१. पृष्ठभूमि

स्थानीय तहको निर्वाचन प्रथम चरणमा प्रदेश नं. ३, ४ र ६ मासम्पन्न गर्ने क्रममा २०७४।१।३१ गते प्रदेश नं. ६ को कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ६ मालकोट, सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयमा अवस्थित मतदान केन्द्रमा सम्पन्न भयो । तर सो मतदान केन्द्रमा सुरक्षाका लागि खटिएका प्रहरीबाट गोली प्रहार भई राष्टिय प्रजातन्त्र पार्टीको तर्फबाट सो ६ नं. वडा अध्यक्ष पदका उम्मेदवार धनरुप बटालाको घटनास्थलमा मृत्यु भएको तथा अन्य ३ जना स्थानीय व्यक्तिहरू दानबहादुर बटाला, कुलबहादुर बटाला र ब्यासी वि.क. घाइते भएको समाचार सार्वजनिक भयो । त्यस सम्बन्धमा जनअधिकार अभियान नेपाल, राष्ट्रिय सरोकार अभियान नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कालीकोट जिल्ला र राष्ट्रिय मानवअधिकार तथा सरोकार केन्द्र एवं पत्रकारहरूको गम्भीर ध्यानाकर्षण भयो । उल्लिखित अभियानकारी तथा मानवअधिकारवादी संघ–संस्था र पत्रकारहरू समेतको एक संयुक्त टोलीले स्थलगत अध्ययनका आधारमा तयार गरेको प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।

२. स्थलगत अध्ययनको विवरण

मिति २०७४।२।४ का दिन काठमाडौँ, बुटवल तथा मान्म, कालिकोटबाट मालकोट प्रस्थान गरी मिति २०७४।२।६ का दिन घटनास्थलमा पुगी विस्तृत विवरण संकलन गरी मिति २०७४।२।८ का दिन काठमाडौँ आइपुगियो । सो अध्ययन निम्नलिखित विधिबाट सम्पन्न गरियोः

(क) सर्वप्रथम घटनास्थलको विस्तृत अवलोकन गरियो । त्यसपछि मतदान केन्द्र र गोलीकाण्ड भएका क्षेत्रको फोटोहरू सहितका तथ्यहरू संकलन गरियो ।
(ख) घटनास्थल वरिपरिका प्रत्यक्षदर्शी, स्थानीय व्यक्ति र मतदाताहरूसँग भेटघाट गरी मौखिक जानकारीहरू लिइयो । त्यसपछि राजनीतिक दल, खासगरी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्टिय प्रजातन्त्र पार्टी नेपालका उम्मेद्वार तथा प्रतिनिधि, २०७४।२।७ का दिन सम्पन्न हुन लागेको निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा प्रहरीहरूसँग अलग–अलग भेट गरी घटनाबारे छलफल तथा अन्तर्वार्तासमेतका विधि अवलम्बन गरी विस्तृत जानकारी प्राप्त गरियो । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता र कार्यकर्ताहरूसँग समेत भेटघाट गरी आवश्यक जानकारीहरू लिइयो । सो समयमा उक्त घटना तथा निर्वाचनको पर्यवेक्षणका लागि खटिएका राष्ट्रिय मानवअधिकार आयोगको जुम्लास्थित उपक्षेत्रीय कार्यालयका प्रतिनिधि तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का प्रतिनिधिहरूसँग समेत भेटघाट गरी सो घटनासँग सम्बन्धित तथ्यहरूका बारेमा छलफल गरियो ।
(ग) उपचारार्थ अस्पतालमा रहेका घाइतेहरूलाई भेटघाट गरी घटनाबारे थप आधिकारिक जानकारी लिइयो ।

३. घटना विवरण

यस अध्ययनबाट संकलित सूचना, जानकारी तथा विवरणहरूका आधारमा निम्नलिखित तथ्यहरू पुष्टि भएका छन्ः

३.१ निर्वाचनसम्बन्धी विवाद

मिति २०७४।१।३१ का दिन स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने सरकारको निर्णय भएसँगै नेपाल कम्युनिष्ट पार्टीले उक्त निर्वाचन खारेज गर्दै यसमा सहभागी नहुने नीति अख्तियार गरिएको जानकारी सार्वजनिक भयो । यसप्रति तत्काल प्रतिक्रिया जनाउँदै नेपाल सरकारले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई मुख्य अवरोध गर्ने शक्तिका रूपमा प्रचार गर्दै उक्त पार्टीका कार्यकर्ताहरूलाई देख्नेबित्तिकै नियन्त्रणमा लिनु भनी सम्बन्धित सुरक्षा निकायहरूलाई निर्देशन दिइएको कुरा विभिन्न सञ्चारमाध्यमबाट प्रसारित भयो । यसैबीच निर्वाचनमा सहभागिता नजनाई यसको खारेजीका लागि प्रचारप्रसारका कार्यमा विभिन्न किसिमले संलग्न सो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निषेध गर्दै खासगरी काठमाडौँ, ललितपुर, चितवन, सुनसरी, दाङलगायत देशभरिका धेरै जिल्लाहरूमा पक्राउ गरी सार्वजनिक अपराधलगायतका मुद्दाहरू लगाई थुनामा राख्ने कार्यलाई तीब्रता दिइएकोे तथा सो पार्टीका कार्यकर्ताहरूले आयोजना गरेका सांस्कृतिक कार्यक्रमहरूमाथि समेत रोक लगाई पक्राउ गर्नेसम्मका कार्यहरू भएका समाचारहरू समेत निरन्तर सार्वजनिक भए ।

३.२ मतदानसम्बन्धी विवाद

मिति २०७४।१।३१ गतेका दिन विहान ७ बजेदेखि मालकोट, सेरापाटास्थित नन्दादेवी माध्यमिक विद्यालयमा रहेको नरहरिनाथ गाउँपालिकाको वडा नं. ६ को मतदान केन्द्रमा मतदानका लागि मतदाताहरू जम्मा हुँदै मतदानका लागि पंक्तिबद्ध हुन थाले । मतदान अधिकृतलगायतका कर्मचारी र सुरक्षाकर्मीहरू पनि आ–आफ्नो जिम्मेवारीमा खटिए । त्यसपछि मतदान कार्य शुरु भयो । मतदान शुरु हुँदै गर्दा मतदान कार्य सम्पन्न गर्न खटिएका केही राजनैतिक दलका कार्यकर्ताहरूले “खोइ निर्वाचन खारेज गर्नेहरू कहाँ छन् ? अब कति मतदाताहरूले मतदान गर्ने रहेछन् हेरौँ”भन्दै ठट्टाव्यंग्य गरिरहेको कुरा पनि मतदान केन्द्रमा उपस्थित केही व्यक्तिहरूले यस टोलीलाई बताए । अर्कोतिर, मतदानमा शारिरिक दृष्टिमा फरक रूपले सक्षमहरूको मत वारेसमार्फत खसाउने कार्य हुन थाल्यो । यस विषयलाई लिएर पनि निर्वाचनमा सहभागी दलहरूबीच विवाद शुरु भयो । त्यसैगरी मतदानमा सहभागी नभएका केही मतदाताहरूको नाममा जाली मत हालिएको भन्ने विषयमा पनि मतदान केन्द्रमा उपस्थित मतदाताहरूबीच विवाद चल्न थाल्यो । आफूलाई नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता बताउने मतदान सूचीमा नाम सूचीकृत भएका व्यक्तिले आफूलगायत मतदान केन्द्रमा अनुपस्थित अन्य करिब १० जना मतदाताहरूको नाममा जाली मत खसालिएको भन्ने विवादले चर्को रूप लियो ।

यसबारे निर्वाचनमा सहभागी राजनैतिक दलका प्रतिनिधिहरूबीच छलफल भई अर्धकट्टी हेरी सोही आधारमा जाली मत के कति खसे वा नखसेको यकिन गर्ने सहमति भयो । सो सहमतिअनुसार अर्धकट्टी हेर्दा एकजना अनुपस्थित मतदाताको नाममा जाली मत खसेको पुष्टि भयो । यही विषयलाई लिएर मतदान केन्द्रमा झनै विवाद चर्कियो । स्थानीय निर्वाचनलाई खारेज गर्दै मतदानमा सहभागी नहुने निर्णय लिएको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले पनि यस विषयलाई गम्भीर रूपमा लिएको पाइयो । उनीहरूको तर्कअनुसार नागरिकहरूलाई जसरी मतदान गर्ने अधिकार प्राप्त हुन्छ त्यसैगरी उनीहरूलाई मतदान नगर्ने अधिकारसमेत सुरक्षित रहन्छ । त्यसैले मतदान नगर्नेहरूका नाममा किन जाली मत खसालियो ? यसको जवाफ मतदान अधिकृत तथा निर्वाचन सहभागी राजनैतिक दलहरूले तुरुन्त दिनुपर्दछ र त्यस्ता जाली मतपत्रहरू तत्कालै बदर वा फिर्ता गर्नुपर्दछ भन्ने आवाज उठेको पाइयो ।

३.३ गोली प्रहारको घटना

मतपेटिका सिलबन्दी गरी मतगणनास्थलमा जाने तयारी भइसकेपछि कर्मचारी तथा प्रहरीहरू मतदान केन्द्र रहेको विद्यालय भवन कोठाभित्र बसिरहेको देखिन्छ । यसरी मतदान कार्य सम्पन्न भइसकेपछि पनि किन विद्यालय कोठाभित्र बसिरहेको भन्ने प्रश्नको जवाफमा एकजना प्रत्यक्षदर्शीले सोही समयमा हुरिबतास चली असिनापानी परेकाले ओत लाग्न भित्र जानुपरेको जवाफ दिए । अर्कोतिर, बिहानैदेखि मतदान केन्द्रदेखि करिब १ किलोमिटर दूरीमा बारीमा दुईवटा सकेट बम फेला परेकोले उक्त बम निष्क्रिय गराउने कार्यमा त्यहाँ खटाइएका सेनाहरू लागिरहेको हुँदा मतपेटिका लैजाँदा सेनाको टोलीलाई पनि पर्खनुपर्ने भएकाले मतदान कार्य सम्पन्न भइसक्दा पनि त्यहाँ बस्नु परेको बताए । साथै, यतिबेला पनि जाली मतपत्र खसेको सम्बन्धी विवाद जारी नै रहेको अवस्था छ ।

यसै क्रममा विद्यालयको प्राङ्गणमा रहेका व्यक्तिहरू पनि भित्र पस्न खोजिरहेका थिए । प्रहरीहरू भने उनीहरूलाई बाहिर पठाउन खोजिरहेका थिए । त्यसबेला १५÷२० जना जतिमात्र मानिसहरू थिए । ती बाहिर रहेका मानिसहरूले “आफूहरूको नाममा खसाइएका जाली मतलाई मान्यता दिई मतदान सम्पन्न भएको भन्न मिल्दैन” भनिरहेका थिए । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको वडा अध्यक्षका उम्मेद्वार धनरुप बटाला विवाद मिलाउनुपर्छ भन्दै भित्र पस्न लागे । यसैबीच करिब ५ः३० बजेतिर उनैलाई ताकेर एकाएक गोली चल्यो । गोलीको आवाज प्रत्यक्षदर्शीले सुने । वरपरका व्यक्तिहरूले पनि सुने । उनीलाई कम्मरमा गोली लागेको थाहा भयो । गोलीको आवाजसँगै “ऐया ! मरेँ ! बचाऊ ! बचाऊ !” भन्दैउनी विद्यालय कोठा अगाडिको ढोकानजिकै डङ्रङ्ग लडे । यसैबीच “लौ, मेरो दाइलाई कसले मा¥यो, बरु मलाई गोली हान” भन्दै दाइलाई उठाउन भनी धनरुपका भाई दानबहादुर बटाला अघि बढे । त्यतिबेला रगतका छिर्काहरू यत्रतत्र देखिन थाले ।

यत्तिकैमा पुनः प्रहरीबार्ट गोली चल्यो र दानबहादुरको बायाँ खुट्टाको घुँडामा, घुँडाको अलिकति माथि र घुँडाको अलिकति तल गरी ३ ठाउँमा गोली लाग्यो । उनको खुट्टाबाट रगतका छिर्का निस्किएपछि “ऐया ! ऐया ! बचाऊ !” भन्दै उनी भुइँमा ढले । त्यसको लगत्तै उनका भाइ नाता पर्ने कूलबहादुर बटाला पनि “यसरी गोली नहान” भन्दै भुइँमा ढलिरहेका दाइ धनरुपलाई समाउन जाँदा प्रहरीको तर्फबाट पुनः गोली चल्यो र कुलबहादुरको दाहिने घुँडामुनि गोली लाग्यो । रगत बग्यो । उनी पनि ढले । वातावरण पूरै भयावह र आतङ्कित भयो । भागदौड मच्चियो । यसैबीच स्थानीय ब्याजी वि.क.लाई पनि भाग्दै गर्दा दाहिने खुट्टाको कुर्कुच्चोमा गोली लाग्यो । गोली कुर्कुच्चो छेडेर पार भयो । उनी पनि “ऐया ! ऐया !” भन्दै ढले । लगातार गोली चलिरहेको सुनेपछि वरिपरि रहेका सबै स्थानीय जनताहरू एकैछिनमा मतदान केन्द्रमा भेला भए । उनीहरू यसरी “गोली चलाउन र मान्छे मार्न पाइँदैन” भन्दै आक्रोशित भए । त्यसपछि प्रहरी, निर्वाचन अधिकृतलगायतका कर्मचारी, उम्मेद्वार र पार्टीका प्रतिनिधिहरू ढोका लगाएर भित्र बसे । बाहिर स्थानीय जनताहरूको भिड बढ्दै गयो । त्यसपछि “तुरुन्त बाहिर निस्क, किन गोली हानियो, यसरी मान्छे मार्न पाइँदैन” भन्दै भिड झनै आक्रोशित भयो । त्यसपछि भिडबाट “जाली मत बदर नगरी बाकस लान पाइँदैन, बाकस तुरुन्त फिर्ता देऊ, नत्र हामी आगो लगाउन बाध्य हुनेछौँ” भन्ने आवाज आउन थाल्यो ।

३.४ मतपेटिका जलाइएको घटना

यही विवाद चल्दाचल्दै करिब ५ः०० बजेतिर मतपेटिका बन्द गरी सिलबन्दी गरी उक्त मतपेटिकालाई मतगणना स्थलमा लैजानै तयारी हुँदै थियो । यसैबीच माथि भनिएझैँ एकाएक ठूलो हुरिबतास र असिना पानी प¥यो । मतदान अधिकृत र अन्य कर्मचारी तथा प्रहरी, उम्मेद्वार र उम्मेद्वारका प्रतिनिधिहरू लगायत केही राजनैतिक दलका कार्यकर्ताहरू समेत विद्यालयको माथिल्लो तल्लामा मतपेटिका लिएर बसे । बाहिर जो बसेका मानिसहरूले पनि असिनापानीबाट बच्नका लागि भित्र बस्नका लागि प्रहरीसमक्ष अनुरोध गरे । तर प्रहरीले उल्टै उनीहरूलाई बलपूर्वक बाहिर धकेल्न थाले । बाहिर रहेका मानिसहरूले “हाम्रा नाममा खसाइएका जाली मतहरूबारे हाम्रो कुराको सुनुवाइ नगरी मतपेटिक सिलबन्दी गर्न पाइँदैन” भन्दै जाली मतहरू मतपेटिकाबाट बाहिर निकाल्न अनुरोध गरे । यसरी एकातिर असिनापानीबाट बच्न भित्र जान पाउँ भन्ने र जाली मतहरू तत्काल बदर गर्नुपर्दछ भन्ने विषयले संयोगवशः एकैसाथ चर्को रूप लियो । यति बेलासम्ममा करिब ४÷५ सय जना मानिसहरूको भिड पनि जम्मा भयो ।

एक प्रत्यक्षदर्शीका अनुसार, त्यसपछि भिडले जे पनि गर्न सक्दछ भनी आत्तिएर भित्रबाट मतपेटिका बाहिर फालियो । भिडले सो मतपेटिका मतदान केन्द्र स्थलमै जलाइदियो । जलाउने कार्यमा के कुन व्यक्तिहरू थिए भन्ने कुरा कसैले बताउन सकेनन् । अर्कोतिर, भिडको सम्पूर्ण ध्यान जलिरहेको मतपेटिकातर्फ केन्द्रित भएको मौका छोपी प्रहरीहरू आ–आफ्ना बन्दूक बोकेर भाग्न थाले । मतदान अधिकृत र अन्य कर्मचारीहरू पनि पछि पछि भाग्न थाले । भित्र रहेका उम्मेद्वार र दलका प्रतिनिधिहरू पनि भागे । सेनाको टोली सकेट बम निष्क्रिय बनाएर बल्ल आइपुगेको थियो । त्यसपछि गोली लागि ढलेका धनरुप बटाला र अन्य घाइतेलाई पहरा दिँदै गोली लागेका घाइतेहरूको उपचार के कसरी गर्ने भन्नेतिर लागेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए । घटनाको समयमा सेना संयमित नभएको भए ठूलो जनधनको क्षति हुने कुरासमेत बताए ।

३.५ मृतक, मृतकको परिवार र घाइतेहरूको अवस्थाबारे

गोली लागि ढलेका धनरुप बटाला पीडाले छट्पटाई रहे । व्यापक रक्तश्राबपछि जेठ १ गतेको बिहान करिब २३० बजेतिर उनको मृत्यु भयो । सोही दिन बिहान ७ः ०० बजेतिर सेनाले हेलिकप्टर झिकाएर मृतकको पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम मान्म पठाई उसै दिन पोष्टमार्टम सकी मृतकको शव परिवारलाई बुझाएपछि विधिवत मृतकको दाहसंस्कार गरियो । उपचारका लागि घाइतेहरूलाई सुर्खेत ल्याउने काम सेनाबाटै भयो । घाइतेमध्येका दानबहादुरलाई आफन्तले आफ्नै प्रकारले अस्पतालमा उपचार गराइरहेका छन् ।

यस विषयमा राजनैतिक दलहरूको सर्वदलीय बैठक बसेर तत्काल मृतकको परिवारलाई रु. दश लाख दिनुपर्न र घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्नुपर्ने निर्णय गरिएको कुरा सार्वजनिक भयो । हाल मृतक धनरुपको पत्नी सोही राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा अध्यक्षको उम्मेद्वार रहेको अवस्था छ । हाल घाइतेमध्ये कूलबहादुर बटाला र ब्यासी वि.क. को मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ । अस्पताल भ्रमण गर्दा उनीहरूको स्वास्थ्यमा सुधार आइरहेको देखिन्छ । उपचार खर्च सरकारले व्यहोर्ने भन्ने विश्वासमा उनीहरूको उपचार भइरहेको देखिन्छ । घाइतेहरूले गोली चलाउनु पर्ने स्थिति नै नभएको, जथाभावी गोली चलाई आतङ्क मच्चाएको, विवाद मिलाउन खोज्ने उम्मेद्वारकै ज्यान लिएको र आफूहरूलाई पनि विना कारण गोली हानिएको बताएका छन् । उनीहरूले यस घटनाको विस्तृत छानबिन गरी दोषीहरूमाथि कडा कारबाही हुनुपर्ने तथा मृतक र घाइतेहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा मृतकलाई सम्मान गनृुपर्ने माग गरेका छन् ।

४. निष्कर्ष

४.१ कुनै निर्वाचनमा के कसरी सहभागी हुने वा नहुने, कसैलाई मतदान गर्ने वा नगर्ने वा मौन रहने वा शान्तिपूर्ण रूपमा कुनै निर्वाचन, मतदान वा उम्मेद्वारको विरोध गर्न पाउने नागरिक, मतदाता वा राजनैतिक दलको आधारभूत अधिकार लोकतन्त्रको स्थापित सिद्धान्त र मान्यताअन्तर्गत सर्वस्वीकार्य सवाल हो । तर यसपटकको स्थानीय तहको निर्वाचनको सिलसिलामा राज्यबाट यस अधिकारमाथि निषेध गर्न खोजेको स्पष्ट देखियो । सरकारले कुनै खास राजनैतिक पार्टीका कार्यकर्ताहरूलाई देख्नेबित्तिकै नियन्त्रणमा लिनु भनी निर्वाचनपूर्व सुरक्षा निकायहरूलाई निर्देशन दिएको समाचार सार्वजनिक भएबाट समेत सरकारको यस मानवअधिकारविपरीत व्यवहार पुष्टि हुन्छ । कुनै उम्मेद्वारलाई मतदान गर्नेमात्र नभई विरोध वा बहिष्कार गर्न पाउने लोकतान्त्रिक अधिकारलाई सर्वोच्च अदालतको एक फैसलाले मान्यता प्रदान गरी सरकारलाई आवश्यक कानून निर्माणका लागि निर्देशनात्मक जारी गरिसकेको अवस्था छ । यसै अधिकारमाथि गैरसंवैधानिक एवं गैरकानूनी अङ्कुश लगाउने बदनियतकै परिणामस्वरूपः यस मालकोटलगायत देशका विभिन्न भागहरूमा विभिन्न अप्रिय घटनाहरू घटे घटाएको देखिन्छ ।
४.२ मालकोट मतदान केन्द्रका हकमा, त्यहाँ निर्वाचनमा सहभागी राजनैतिक दलहरूबाट सुनियोजित रुपमै अनुपस्थित मतदाताहरूको तर्फबाट जाली मतदान गर्ने कार्य गरेको देखिन्छ । शारिरिक रूपमा फरक किसिमले सक्षम मतदाताहरूले वारिसको सहयोगमा मत प्रदान गर्न सक्ने सुविधाको समेत व्यापक दुरुपयोग भएको देखिन्छ । यसरी निर्वाचनमा धाँधली भएकै जरियाबाट मालकोट मतदान केन्द्रमा विवाद शुरु भएको र सामान्य घटनाले समेत गम्भीर रूप लिएको देखिन्छ जसमा विवाद समाधान गर्न अग्रसर निर्दोष उम्मेद्वार स्वयंको मृत्यु भएको स्थिति छ । गोली लागेका उम्मेद्वारलाई बचाउन खोज्दा उल्टै उनीहरूमाथि समेत गोली हानेको देखिन्छ । समग्र स्थितिको अध्ययन गर्दा, त्यहाँ एक्कासी गोली चलाउनु पर्ने कुनै कारण देखिँदैन ।
४.३ कुनै कारणले कुनै मतदान केन्द्र वा मतपेटिका सुरक्षित गर्ने सिलसिलामा शान्ति कायम गर्नुपर्ने आवश्यकता सिर्जना भएको अवस्थामा भिड नियन्त्रणका लागि गोली नै चलाउनु पर्दा पनि सर्वप्रथम त्यस्तो कुनै भिड हटाउन वा नियन्त्रण गर्न कानूनतः लाठी चार्ज, अश्रुग्यास, पानीको फोहरा आदि प्रयोग गर्नुपर्ने हुन्छ । त्यति गर्दासमेत भिड नियन्त्रण नभएको अवस्थामा मात्र हवाइफायर गर्नुपर्ने हुन्छ । गोली हान्नै पर्ने अवस्थामा पनि गोली चलाउनुभन्दा पहिले “यदि पछाडि हट्दैनौ भने गोली चलाइने छ” भनी चेतावनी दिएको पनि पाइँदैन । गोली पनि अन्धाधुन्ध ढङ्गले चलाएको देखिन्छ । गोली हान्नै पर्दा घुँडामुनिमात्र हान्न पाइने कानूनको समेत पालना गरेको देखिँदैन । टोलीले भेटघाट तथा छलफल गरेका सबै उम्मेद्वार, मतदाता र स्थानीय जनताको समेत यही बुझाई रहेको पाइएको छ । यसरी यस घटनामा यी सबै कानूनी प्रावधानहरूको ठाडो उल्लङ्घन भएको देखिन्छ । यसरी यस घटनालाई मानवअधिकारको गम्भीर उल्लङ्घनका रुपमा लिनुपर्ने हुन्छ । यसरी विनाकारण अन्धाधुन्ध गोली चलाउने तथा नागरिकको हत्या गर्नेसम्मको कार्यलाई सामान्य मानवीय विवेक र संवेदनासमेत गुमाएको घटनाका रूपमा समेत लिनुपर्ने हुन्छ ।
४.४ मालकोट मतदान केन्द्रमा उत्पन्न जाली मतदान र त्यसलाई बदर गर्नेसम्बन्धी विवाद प्रारम्भमा सामान्य नै देखिन्छ । तर यसलाई संयमतापूर्वक वार्ता र संवादको माध्यमद्वारा सहजै समाधान गर्न सकिनेमा सो नगरी वातावरणलाई अनावश्यक रूपमा उत्तेजित बनाइएको देखिन्छ । यसैको जरियाबाट उम्मेद्वार र मतदाताहरूमाथि नै अन्धाधुन्ध गोली हानेपछि सिर्जना भएको आतङ्कित वातावरणकै बीच जबर्जस्ती मतपेटिका सिलबन्दी गर्दा विवाद झनै चर्केको देखिन्छ । साथै, अचानक आएको ठूलो हुरीबतास र असिनापानीका कारण त्यहाँ रहेका मानिसहरू बच्नका लागि विद्यालय भवनभित्र ओत लाग्नुलाई स्वाभाविक मान्नुपर्ने हुन्छ । तर एकातिर सामान्य मानवीय विवेक र संवेदशीलता गुमाएर असिनापानीबाट बच्न भित्र पस्नसमेत नदिने र अर्कोतर्फ जाली मतसम्बन्धी विवादकै बीच जबर्जस्ती मतपेटिका सिलबन्दी गर्ने प्रयास एकैसाथ भएका कारण मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत तथा कर्मचारी र प्रहरीहरू असफल रहेको देखिन्छ ।
४.५ जहाँसम्म मतदान केन्द्रमा उपस्थित नेपाली सेनाको भूमिकाको सवाल छ, यसमा सेना सम्पूर्ण घटनाभरि नै आत्मसंयमित रहेको देखिन्छ । यदि सेनाले संयमता नअपनाएको भए त्यहाँ ठूलो जनधनको क्षति हुनसक्ने अनुमान गरिएको छ । अर्कोतर्फ, मतपेटिका बाहिर फालेर मतदान अधिकृत तथा कर्मचारी र प्रहरीहरू सबै भागेपछि गोली लागी मरणाशन्न अवस्थामा रहेका धनरुप बटाला र अन्य घाइते तथा उनका परिवारहरूलाई सेनाले नै प्रारम्भिक हेरविचार र स्वास्थ्योपचारको व्यवस्था गरेको पाइएको छ ।
४.६ समग्रमा मालकोट मतदान केन्द्रका निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनैतिक दलका उम्मेद्वार, प्रतिनिधि र कार्यकर्ताहरू बीचको आवश्यक समझदारी र घटनालाई साम्य गर्नका लागि उचित समन्वय नभएकै कारण मालकोट घटना भएको देखिन्छ । प्रत्यक्षदर्शीहरूका अनुसार, नियोजित रूपमा जाली मतदान गर्ने कार्य नगरिएको भए तथा जाली मतदानसम्बन्धी विवादलाई संयमतापूर्वक सम्बोधन गरिएको भए गोली हान्ने र मतपेटिका जल्ने जलाउनेसम्मको घटनालाई सहजै नियन्त्रण हुन सक्ने देखिन्छ ।

५. सुझाबहरू

५.१ मालकोट मतदान केन्द्रमा जाली मतदान भएको तथा वारिसमार्फत मतदान गर्न पाउने सुविधाको दूरुपयोग भएको विषयमा निर्वाचन आयोग स्वयंले गम्भीर अध्ययन–अनुसन्धान गरी त्यसको वास्तविकता सार्वजनिक गर्नुपर्दछ । निर्वाचनमा अनियमितता र धाँधली भएको ठहरे त्यस्तो निर्वाचन परिणाम बदर गर्नुपर्दछ ।
५.२ मतदान केन्द्रमा उत्पन्न जाली मतदानसम्बन्धी सामान्य विवादलाई अनावश्यक रूपमा उत्तेजित बनाई त्यहाँ जम्मा भएको मानिसहरूको भिडलाई सामान्य पूर्वचेतावनीसमेत नदिई एक्कासी अन्धाधुन्ध गोली चलाउने कार्यलाई मानवअधिकार उल्लङ्घनको गम्भीर घटनाका रूपमा लिँदै यस बारेमा केन्द्रीय स्तरबाट आवश्यक छानबिन गरी दोषीहरूमाथि कडा कारबाही हुनुपर्दछ । अन्यथा भविष्यमा एकातिर यस्ता घटनाहरूमा स्वतः वृद्धि हुँदै जाने खतरा हुनेछ भने अर्कोतिर मानवअधिकार उल्लङ्घनकारीहरूलाई सजायको सट्टा उन्मुक्ति प्रदान गर्ने प्रचलित प्रवृत्तिलाई थप प्रेरणा मिल्ने निश्चित छ ।
५.३ मृतक तथा घाइतेका परिवारहरूलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ । त्यस्तो क्षतिपूर्तिको मृतकको परिवार तथा घाइतेहरूको पारिवारिक अवस्था र आर्थिक आवश्यकतालाई समेत ध्यानमा राखी मानवअधिकारसम्बन्धी प्रचलित अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निर्धारण हुनुपर्दछ । साथै सो घटनाका तीनजना घाइतहरूको उचित उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्नुपर्दछ । हाल उनीहरूको उपचारको अवस्था र खर्चबारे घाइते तथा घाइतेका परिवारहरूबीच अन्यौल देखिएको छ ।

अध्ययन टोलीबारे जानकारी
१. अधिवक्ता एकराज भण्डारी, अध्ययन टोली प्रमुख तथा संयोजक, जनअधिकार अभियान नेपाल, काठमाडौँ । फोनः ९८५१०१०५१९ ।
२. सह–प्राध्यापक तथा अधिवक्ता डा. गोपाल सिवाकोटी ‘चिन्तन’, प्रवक्ता, राष्ट्रिय सरोकार अभियान नेपाल, काठमाडौँ ।
३. कालीबहादुर मल्ल, जिल्ला प्रतिनिधि, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मान्म, कालिकोट ।
४. अधिवक्ता लिलाधर मरासिनी, ५ नं. प्रदेश संयोजक, राष्ट्रिय मानव अधिकार तथा सरोकार केन्द्र, बुटवल ।
५. दिया चन्द, पत्रकार, काठमाडौँ ।

२०७४ जेष्ठ ६
मालकोट, कालिकोट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :