चुनाव खारेज सशक्त

nepal bandh
अम्बिका चन्द/काठमाडौंः जेठ ६, राज्यका सबै संयन्त्रहरूको दुरूपयोगसहित (खासगरी मनी, मसल र मिडियाको दुरूपयोग) जबर्जस्ती गरिएको स्थानीय तहको पहिलो चरणको चुनाव नेकपाले सशक्त रूपमा खारेज तथा बहिष्कार गरेको छ । चुनावको अघिल्लो दिन नेकपाले आयोजना गरेको नेपाल बन्द अभूतपूर्व रूपमा सफल भएको छ र त्यसको पूर्वसन्ध्यामा गरिएको मसालजुलुसको कार्यक्रम पनि देशव्यापी रूपमा सानदार भएको छ । राजमार्ग र राजधानीमा प्रहरीको स्कर्टिङमा केही सवारीसाधन जबर्जस्ती चलाइएको भए पनि सिङ्गो देश दिनभर ठप्प भयो । तर विडम्बना ! सरकार र दल नियन्त्रित ठूला भनिएका घराना सञ्चारमाध्यमहरूले बन्दको समाचार लेख्ने हिम्मत भने गरेनन् । बन्दको दिन अवज्ञा गरी सवारीसाधन चलाउँदा डोटीको पाण्डुसैनमा एउटा मालवाहक सवारी ट्रक, तनहुँको भिरकोटमा एउटा यात्रुवाहक बस, कैलालीमा एउटा भारतीय नम्बर प्लेटको गाडी र एउटा मोटरसाइकलमा आगजनी गरिएको छ । सत्ता र शक्तिको आड लाग्दै पार्टीका विरुद्धमा उत्रने कयौँ ठाउँका उम्मेदवारहरू नेकपाको निशानामा परे । प्रहरी प्रशासनसँग मिलेर नेकपाका विरुद्ध सुराकी गर्ने मनवानपुरको मनहरीबाट माओवादी केन्द्रका उम्मेदवार रामकुमार उप्रेती र चितवनबाट माओवादी केन्द्रकै उम्मेदवार प्रेमबहादुर रिमाल नियन्त्रणमा परे । हुम्लामा पनि एक उम्मेदवार नियन्त्रणमा परे ।

निर्वाचन खारेज तथा बहिष्कारकै सिलसिलामा चुनावी लगनका २४ घन्टामा देशका दर्जनौं ठाउँमा शक्तिशाली बम विष्फोट भए । हजारौँ सुरक्षाकर्मी परिचालन गरी उच्च सुरक्षा सतर्कता अपनाइएको भनिएको राजधानीकै विभिन्न ठाउँमा बम विस्फोटहरू भए । काठमाडौँका ढुङ्गेअड्डा, डाँडापौवा, साँखु, दक्षिणकाली, भक्तपुरको गट्ठाघरलगायत ठाउँहरूमा बम विस्फोट भए । यसैगरी मकवानपुरको मनहरीका दुई स्थान, फाखेलका दुई स्थान र पालुङका तीन स्थानमा बम विस्फोट भए । मकवानपुरमै एमालेका वडाध्यक्ष उम्मेदवार धनसिंह स्याङ्तानको घरमा बम विस्फोट भयो । दोलखाको भीमेश्वरीअन्तर्गत तामाकोसी बजार, कैलालीको धनगढी, स्याङ्जा, तनहुँको दमौलीमा बम विस्फोट भए भने कास्की पोखराको लेकसाइडमा भएको विस्फोटनबाट निर्वाचन कार्यालयको पर्खाल ढल्नुका साथै भवनमा क्षति पुग्यो । लमजुङका ठूलोबजार राइसन, भेडेटार, सुन्दरबजार, रुकुमको स्यालापाखा, साँख, काभ्रेका बनेपा, पाँचखाल, बागलुङको सदरमुकाम मुख्य बजारमा पनि बम विस्फोटन भए । यस्तै नुवाकोटको बेलघडी, कालीकोट, नवलपरासीलगायत स्थानहरूमा बम विस्फोट हुनुका साथै शनिबार पृथ्वी राजमार्गसमेत अवरुद्ध रह्यो ।

नेकपाद्वारा कतिपय स्थानहरूमा मतदान केन्द्र र निर्वाचन सामग्रीहरू पूर्ण रूपमा कब्जा गरिए । सिन्धुपाल्चोकको हेलम्बुमा र हिमाली जिल्ला मुगुको छायाछत्र नगरपालिकास्थित शोभामा सम्पूर्ण सामग्री (मतपेटिका, मतपत्र, स्वस्तिक छाप) सहित मतदान केन्द्र नै पूर्ण रूपमा कब्जा गरिएको छ । त्यहाँ प्रहरी हतियार नै छोडेर भागेको छ । कालीकोट सल्लारूख गाउँका जनताले पुरानो सत्ताको विरुद्धमा शून्य मतदान गर्दै निवार्चन खारेज अभियानमा सशक्त सहभागिता जनाएका छन् । यसैबीच नेकपाका महासचिव विप्लवले सरकारले जतिसुकै प्रचार गरे पनि पहिलो चरणको निर्वाचन खारेज अभियान सशक्त प्रकारले सम्पन्न भएको बताउनु भएको छ । हजारौं नेता, कार्यकर्ता र जनता चुनावविरोधी विभिन्न रूपमा खारेज अभियानमा सहभागी भएकाले धन्यवाद दिँदै राज्य तानाशाही तरिकाले दमनमा उत्रिएको बताउनुभएको छ ।

वीरताको नयाँ कीर्तिमान रच्यो कालीकोटले
जनताका सामु निरीह बन्यो प्रशासन

नेकपाले अघि सारेको वैज्ञानिक समाजवादमा पुग्ने एकीकृत जनक्रान्तिको कार्यदिशामा कालीकोटले वीरताको नयाँ कीर्तिमान कायम गरेको छ । कालीकोटमा सक्रिय नेकपाका नेता, कार्यकर्ता र जनताका सामु प्रहरी प्रशासन निरीह बनेको छ । प्रचारप्रसारमा सशस्त्र प्रहरीसहित गाउँ पसेको चुनावी टोलीलाई पत्तासाफ गरेर लखेटेको घटना सेलाउन नपाउँदै आइतबार फेरि माल्कोटमा प्रशासनले नमिठो अनुभव गर्न पुग्यो । नेकपाका कार्यकर्ता र जनताले मालकोटमा निर्वाचन मतपेटिका कब्जामा लिएर जलाइदिएका छन् । आमजनताको हितविपरीत गरिएको निर्वाचनको विरोधस्वरूप जनताले गरेको प्रतिरोधमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा स्थानीय धनरूप बटालाको ज्यानसमेत गयो । प्रहरीले चलाएको गोलीबाट दुवैतिरका गरी झन्डै एक दर्जन व्यक्ति घाइते भए । तीमध्ये कतिपयको अवस्था गम्भीर भएको अस्पताल स्रोत बताउँछ । ठूलो सङ्ख्यामा आएका माल्कोटका बासिन्दाले प्रहरीलाई र निर्वाचन अधिकृतलगायत कर्मचारीलाई लखेटे । स्थानीयले लखेटेपछि कयौँ प्रहरी सम्पर्कविहीनसमेत भए । कालीकोटका प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदीले धेरै सङ्ख्यामा नेकपाका कार्यकर्ता तथा गाउँले आएको र पानी परिरहेकाले प्रहरीले प्रतिकार गर्न नसकेको भनी निरीहता व्यक्त गरे । साथै उनले त्यहाँ नेकपाका कार्यकर्ताहरूले लगातार बम पड्काइरहेकाले समयमै हेलिकोप्टर अवतरण गर्न नसकेको भनी घुमाउरो ढङ्गले हार स्वीकार गरे । यसैबीच साह्रा स्थानीय जनता चुनावको विरोधमा उर्लिएको र मानिसको ज्यानसमेत जाने गरी भीषण खालको झडप भएको बेला त्यहाँ भएको नेपाली सेना मौन बस्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
सयौँ गिरफ्तार
शान्तिपूर्ण कार्यक्रम गरिरहेकै अवस्थामा नेकपाका सयौँ नेता–कार्यकर्ताहरू गिरफ्तार गरिएका छन् । केन्द्रीय सदस्य सन्देश पौडेल र वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जनसहित अहिलेसम्म सयौँ नेतालाई राज्यले गिरफ्तार गरेको छ । देवकला अधिकारी (बर्दिया), अर्जुन योगी (दोलखा), लक्ष्मण उप्रेती (पर्सा र दीपक श्रेष्ठ (सोलुखम्बु गरी चारजना जिल्ला इन्चार्जलाई गिरफ्तार गरिएको छ । त्यस्तै नन्दलाल तिवारी (कास्की), उदय राई (सुनसरी), सागर तिमिल्सेना (नुवाकोट), चन्द्र बुढा (रुकुम), राजन धनुके (दोलखा), गोकुल पराजुली (तनहुँ, हरिकृष्ण घिमिरे (सिन्धुली) र मोहन राई (सोलुखम्वु गरी आठजना जिल्लाका सेक्रेटरीहरूलाई गिरफ्तार गरिएको छ । यस्तै पत्रकार, कवि तथा रसुवा जनसरकार प्रमुख टीपी तमिल्सिना रसुवाली कविसहितएक दर्जनजति पत्रकार र अन्य विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ता, समर्थक र शुभचिन्तकसहित दुई सयको संख्यामा सरकारले गिरफ्तार गरेको छ । जनपक्षीय सञ्चारमाध्यम रातो खबर साप्ताहिक, ईरातोखबर डटकममाथि आक्रमण गर्नेदेखि लिएर सामाजिक सञ्जाल फेसवुकमा बन्दको समाचार सेयर गरेकै कारण रुकुममा स्कुलका विद्यार्थीलाई धरपकड गरिएको छ ।
रातोखबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :