सीजीका मजदुर र मालिक मिल्यो

फाइल : तस्वीर

काठमाडौं : बर्दिया जिल्लाको उदीयमान नगर बाँसगढीस्थित सिजी फुड इन्टरप्राइजेज प्रालिमा कार्यरत मजदुर र कारखाना व्यवस्थापन पक्षका बीचमा लामो समयदेखिको तनाव, द्वन्द्व र हडताल आपसी सहमतिमा टुङ्गिएको छ । असोज ६ गते शनिबार मौखिक सहमतिपछि आन्दोलनरत मजदुरहरू काममा फर्किएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ अन्तर्गत रहेको पेशागत संगठन अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ बर्दियाका अध्यक्ष रमेश विकले दिएको जानकारी अनुसार ‘विनोद चौधरीको बाँसगढीस्थित सो उद्योगको व्यवस्थापन र मजदुर नेता रमेश विश्वकर्माबीच सहमतिले मजदुरले १२ घण्टा श्रम गरेको ठाउँमा अहिले ८ घण्टा श्रम गर्नुपर्ने, एक महिना कार्यविधि पूरा गरेकालाई स्थायी गर्नुपर्ने, सरकारद्वारा व्यवस्था गरिएका सबै बिदा र सुविधा मजदुरले पनि पाउनुपर्ने, सञ्चय कोषको व्यवस्था हुनुपर्ने, दुर्घटना बिमा १० लाख हुनुपर्ने, अतिरिक्त श्रम स्वेच्छिक हुनुपर्ने र पारिश्रमिक दोब्बर हुनुपर्ने, मई दिवसमा दिने गरिएको सरकारी बिदा लागू गर्नुपर्नेलगायत सहमति भएको छ ।’

मजदुर र उद्योगको व्यवस्थापनसँग पछि लिखित गर्ने सहमति पनि भएको उनले बताएका छन् । मजदुरको अधिकारको लागि अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर सङ्घ बर्दियाले माग राख्दै आन्दोलन गर्दै आएको थियो ।

२०७५ असाेज ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :