स्थानीय चुनाव खारेजीको औचित्यता : सुदर्शन

सुदर्शनसुदर्शन

पुष्पकमल दाहालको गठबन्धन सरकारले ९ फागुन २०७३ को साँझ ७ बजे कथित स्थानीय चुनावको घोषणा गर्दा हामी नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा जुटिरहेका थियौँ । सोही दिन हाम्रो पार्टीका महासचिव कमरेड विप्लवले प्रेसविज्ञाप्ति दिँदै भन्नुभएको छ– ‘जनयुद्धको मर्मविपरीत दलाल संसदीय व्यवस्था लादिएपछि नेपालमा जनसत्ता पुनर्संगठित र परिचालित भएको कुरा पनि सर्वविदितै छ । संसदीय व्यवस्थाप्रति जनताको असहमति र जनसत्ता सञ्चालन भइरहेको सन्दर्भमा हामी यो चुनावको कुनै औचित्य नरहेको स्पष्ट गर्न चाहन्छौँ ।’ हामीले जनयुद्धको पहलकदमी अघि बढाउँदै संसदीय व्यवस्थाका विरुद्ध हतियार उठाएका हौँ र साम्राज्यवाद तथा प्रतिक्रियावादका कुनै पनि प्रलोभनमा नफसेर नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादमा नपुगुन्जेल हतियार बिसाउनु जनताप्रति अपराध हुन्छ भन्ने कसम खाएका हौँ । यो कुरा दुनियाँलाई थाहा छ र दस्ताबेजमा लिपिबद्ध छ । वैज्ञानिक समाजवादको उद्देश्यका लागि ८ हजारभन्दा बढी नेपाली जनताका सर्वोत्तम छोरछोरीहरूले सहादत प्राप्त गरेका थिए र दुई हजारभन्दा बढी बेपत्ता भएका छन् । सत्ता पक्षबाट लड्दा सेना, प्रहरी र अन्यबाट गरी सात हजारको ज्यान गएको छ । यसबाट नेपालको ८० प्रतिशत भूभाग मुक्त भएको थियो । जनताको जनसत्ता, जनसेना, जनमिलिसिया, जनप्रशासन, जनअदालत र जनप्रतिनिधिसभा बनेको थियो । जनयुद्ध र जनआन्दोलनको बलले राजतन्त्र पनि शासन सत्ताबाट हट्यो । विडम्बनाको कुरा धोकेबाज नेताहरूका कारणले भारतीय साम्राज्यवादको स्वार्थअनुरूप लोकतान्त्रिक गणतन्त्रका नाममा पुनः दलाल पुँजीवादी संसदीय व्यवस्था लादियो । दुनियाँलाई थाहा छ, आज पुष्पकमल दाहाल र बाबुराम भट्टराई पुरानै संसद्वादी र सामन्तवादी दलालहरूसँग साँठगाँठ गरी देशमा संसदीय फासिवाद लागू गरिरहेका छन् । सहिद र बेपत्ताहरूको सपनामाथि विश्वासघात भएको छ ।

हामी जुन सत्ताका विरुद्ध लडेका थियौँ, त्यही सत्ताको सुदृढीकरणका लागि कथित स्थानीय चुनावमा भाग लिनु भनेको सहिदहरूको रगतमाथि होली खेल्ने गद्दारहरूकै साथ दिनु हो, जनतालाई वैज्ञानिक समाजवादको बाटो देखाउनुको सट्टा त्यतापट्टि कालो बादल लगाएर दलाल पुँजीवादी संसदीय व्यवस्थाकै पूजा गर्नु हो, राष्ट्रियताको पहरेदार बन्नुको सट्टा भारतीय साम्राज्यवादको कारिन्दा बन्नु हो । यसकारण हामीले स्थानीय चुनाव खारेजी र जनसत्ताको निर्वाचन गर्ने अभियान अघि बढाएका छौँ । दोस्रो कुरा, संसद्वादीहरूले आफ्नो संविधानले निर्धारण गरेको प्रदेश नं. ३, ४ र ६ अन्तर्गतको “स्थानीय निर्वाचन” सम्पन्न भएको घोषणा गरेका छन् । यस क्रममा उनीहरूले दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत भएको कथित स्थानीय चुनावको औचित्य नरहेको र जनताको जनसत्ता आवश्यक भएको भन्दै शान्तिपूर्ण तरिकाले राजनीतिक अभियान चलाइरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र जनतामाथि फासिवादी दमन चलाएका छन् । वैशाख ३१ गते कालीकोटको मालकोटमा दाहाल सरकारले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गरिरहेका जनतामाथि गोली चलाएको छ । उक्त गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ भने ४ जना सख्त घाइते भएका छन् । सयौँ जनतालाई चोटपटक लागेको छ । यसको प्रतिरोधमा सयौँ जनताले प्रहरी, सशस्त्र प्रहरी र सेनाको घेरा तोडी मतदान बाकस कब्जा गरी जलाइदिएका छन् । यसैगरी देशव्यापी रूपमा हाम्रो पार्टीका केन्द्रीय सदस्य, क्षेत्रीय ब्युरो सदस्य र जिल्ला समितिका सचिवलगायत सयौँ कार्यकर्ताहरू पुलिस हिरासतमा थुनिएका छन् । प्रशासनले सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइरहेको छ । “कम्युनिस्ट” नामधारी सरकारको यो फासिवादी ताण्डव नृत्यले पञ्चायती व्यवस्थालाई समेत बिर्साइदिएको छ । यी तथ्यहरूले स्थानीय चुनाव खारेजीको औचित्यलाई पुष्टि गरिरहेका छन् ।

तेस्रो कुरा, चुनावी गठबन्धनले कम्युनिस्ट नामधारी नेकपा (एमाले र नेकपा (माके प्रतिक्रियावादमा पतन भएका छन् । एमालेले राप्रपासँग गरेको गठबन्धन र माकेले काङ्ग्रेससँग गरेको गठबन्धनले यही पुष्टि हुन्छ । एमालेको विषय त पुरानो भइसकेको छ । माकेको यो चुनावी गठबन्धन वर्ग–आत्मसमर्पणवाद र राष्ट्रिय आत्मसमर्पणवादको थप प्रमाण हो । एकातिर पुष्पकमलले आफ्नी छोरीलाई मेयरमा जिताउन र अर्कोतिर भारतीय साम्राज्यवादी शासकको विश्वास प्राप्त गर्न यो गठबन्धन गरेका छन् । यो संसदीय व्यवस्थाअन्तर्गतको स्थानीय चुनावमा भाग लिनु भनेको वर्गसमन्वयवादमा फसी भारतीय गुप्तचर संस्था ‘र’ को स्वार्थ पूरा गर्नु हो । यही कुरामा कथित स्थानीय चुनाव खारेजीको औचित्य रहेको छ ।

चौथो कुरा, कम्युनिस्ट पार्टीका नाममा जनतालाई पुँजीवादी संसदीय व्यवस्थाको दलदलमा फसाउने षड्यन्त्रका विरुद्ध एकीकृत जनक्रान्तिद्वारा स्थानीय जनसत्ताहरू निर्माण गर्दै वैज्ञानिक समाजवादमा पुग्ने बाटो स्पष्ट गर्न हाम्रो नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव खारेजीको अभियान चलाएको हो । यही स्पष्ट बाटोमा हाम्रो पार्टीका नेता, कार्यकर्ता र जनताहरू अघि बढिरहेका छन् । कम्युनिस्ट लक्ष्य र उद्देश्यतिर लम्केको अभियानलाई अलमल्याउन खोज्ने, भ्रमित पार्ने र षड्यन्त्र गर्नेहरू दलाल पुँजीवादको मतियारहरू तथा साम्राज्यवादका कारिन्दाहरू हुन् जसले कम्युनिस्ट नकाव धारण गरेका छन् । हाम्रो स्थानीय चुनाव खारेजी अभियानले उनीहरूको नकाव च्यातिदिएको छ । पुँजीवादका मतियार र कम्युनिस्टहरूबीच भिन्नताको रेखा स्पष्ट रूपमा खिचिएको छ ।
पाँचौँ कुरा, हामीले विचारधारात्मक तथा राजनीतिक र व्यावहारिक रूपले जनता र जनताका मित्रहरूबीच पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यदिशा र कार्यक्रम स्पष्ट पार्दै गएका छौँ । परिणामस्वरूप विचारले भौतिक रूप लिँदै गएको छ । जनसत्ता, जनसङ्गठन र जनकारबाहीहरूमा यो कुरा प्रकट भएको छ । कुल मतदाता सङ्ख्याको ६० प्रतिशतले प्रथम चरणको मतदानमा भाग नलिनु, मतदान गर्न गएकाहरूमा पनि कुनै जाँगर नहुनु, कतिपय बुथहरू जनताद्वारा फ्याँकिनु, उम्मेदवारको घरमा कालोझन्डा गाडिनु, संसद्वादी पार्टीहरू आपसमै कुटपिटमा उत्रनु र कतिपय ठाउँमा आपसमा गोली हानाहानसमेत हुनु हाम्रो कार्यदिशाका असरहरू हुन् ।

अतः जनयुद्धको लक्ष्य र उद्देश्यलाई पुनस्र्थापित गर्न, नेपाल राष्ट्रलाई साम्राज्यवादबाट बचाउन, वर्गसमन्वयवादका विरुद्ध लड्न, यो सरकारको फासिवादी चरित्र नङ्ग्याउन, वैज्ञानिक समाजवादको बाटो अलमलिन नदिई क्रान्ति अघि बढाउन हाम्रो पार्टीले कथित स्थानीय चुनाव खारेजी अभियान अघि बढाइरहेको छ । ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ मा अघि बढौँ । मालकोटका जनताले प्रस्तुत गरेको चम्किलो बाटोलाई अभिनन्दन गर्दै अघि बढ्नु हाम्रो कर्तव्य हो । 

रातो खबर साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :