हिरासतबाटै तिम्रो स्वर्ग ध्वस्त बनाइरहेछौँ

घरमा को हुनुहुन्छ ? सानो मलिन स्वरमा एउटा आवाज आयो । प्रतिउत्तर फर्काउने सबै शरीर गलेर लखतरान थियो । मस्त निद्रामा रहेका आठजना युवाहरूको समूह एकाएक ब्युँझियो । फेरि अर्को प्रश्न थपियो घरको आँगनबाट । घरमा को हुनुहुन्छ ? यो कमल तामाङको घर होइन ? सबै ज¥याकजुरुक भयौँ । टहटह जुन लागेको थियो । आकाश सफा थियो । भदौको महिना भएकाले झ्याउँकीरी कराइरहेका थिए । जूनको सहारामा झ्यालबाट हेर्दा आँगनमा उभिएर प्रश्न सोध्ने व्यक्तिलाई देख्यौँ हामी सबैले । छोटो कदको हापप्यान्ट लगाएको, दारीजुँगा पालेको एउटा सामान्य अवस्थाको मान्छे थियो त्यो । त्यसपछि हाम्रातर्फबाट कमरेड सुवासले जबाफ फर्काउनुभयो, कमल तामाङ घरमा छैन । को हो तपाईं ? त्यसपछि त्यस व्यक्तिले गरेको अर्को प्रश्न– पानी खान पाइन्छ ?

समय रातको १ बजिसकेको छ । १२/१३ घरसङ्ख्या भएको सानो गाउँ पूरै सुनसान छ । एउटा व्यक्ति घरको आँगनमा उभिएर केही सवाल गर्छ । हाम्रो जबाफले स्वाभाविक चित्त बुझाउँदैन । हाम्रो टिम जम्मा ८ जनाको छ । हाम्रो थकान र निद्राले कसैको शरीर स्थिरमा छैन । ऊ पटकपटक प्रश्न गरिरहन्छ– घरमा कोको हुनुहुन्छ ? कतिजना हुनुहुन्छ ? कमल तामाङ कहाँ छ ? पानी खान पाइन्छ ? रातको १ बजे सबैको निद्रा बिगार्ने, खल्बल्याउने गरी निरन्तरनिरन्तर प्रश्न आउँन थालेपछि हामी सबै मुखामुख गर्न थाल्छौँ ।

हामी सबै उभिएर केही सल्लाह गर्न थाल्यौँ । हाम्रो निस्कर्ष यो प्रहरी हो भन्ने भयो । यद्यपि त्यो प्रश्न सोध्ने व्यक्तिको आवाजमा हिम्मतभन्दा ज्यादा डर भएको स्पष्ट थियो । यता घरमाथि हामी थियौँ । घरवरिपरि प्रहरी भएको थाहा पाइहाल्यौँ ।
हाम्रो चहलपहल बढ्यो । प्रतिरोध गर्ने सल्लाह भयो । हामी पूर्ण रूपमा निःशस्त्र थियौँ । हामीसँग एउटा गतिलो लौरो पनि साथमा थिएन । त्यहीमाथि हाम्रो अवस्था यति धेरै थाकेको थियो, त्यो अहिले बयान गर्न सकिन्न । बाटोमा हिँड्दा लडेर केही साथीहरू घाइते हुनुभएको थियो । हाम्रो टिम घरमाथि उभिएर सल्लाह गरेको र चहलपहल बढेको थाहा पाएपछि घरवरिपरि प्रहरी सल्बलाएको प्रस्ट थाहा भयो ।

हामी पूर्ण रूपमा प्रहरीको घेरामा परिसकेका थियौँ । प्रहरीको घेरा तोड्ने वा प्रहरीसँग भिड्ने ? यो कुरा हामीबीच केहीछिन चल्यो । हामी पूर्ण रूपमा निःशस्त्र भएको र प्रहरी असाध्यै धेरै आत्तिएको हुनाले हामीले प्रतिरोध गर्न सुरु गर्नासाथ प्रहरी फायरिङ गर्ने तयारी गर्दै थियो । सबै प्रहरीले माउजर कक गरेको आवाज आयो । यस्तै हुँदाहुँदै सल्लाह गर्दा बिनानिष्कर्ष केही साथीहरूले घरको झ्याल फुटाउन थाल्नुभयो । प्रहरीले कासन ग¥यो– ठोकठोक ! केही अपशब्दसमेत बोल्दै प्रहरीले भन्यो– यो गाउँ सबै प्रहरीको नियन्त्रणमा छ, तिमीहरू कोही यहाँबाट दायाँबायाँ ग¥यौ भने हामी गोली हान्छौँ ।

साथीहरू झ्याल फुटाउन थालेपछि र केही साथीले प्रहरीलाई गाली गर्न थालेपछि एकछिन स्थिति असामान्य बन्यो । स्थिति तनावपूर्ण बन्यो । त्यस घरका धनी अत्तालिन थाले । उनीहरू भन्दै थिए, गाउँभरि प्रहरी छन् । तपाईंहरू लडाइँ नगर्नुस् । उनीहरु हात जोडेर हामीलाई भनिरहेका थिए । यद्यपि म र कमरेड प्रशान्त भिडौँ भन्ने सल्लाहमै थियौँ ।

२०७५ साल भदौ १३ गते नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम थियो । स्थान इलामको सुन्थुङ गाउँमा तोकिएको थियो । दलाल संसदीय पुँजीवादी सत्ताको अन्त्य गरेर वैज्ञानिक समाजवादी सत्ता स्थापनाका निम्ति अगाडि बढेका हामी युवाहरूको जुझारु पाइला अविराम गतिमा थियो । हाम्रो विषयप्रति हामी एक हजार प्रतिशत विश्वस्त थियौँ । हामी सबैको मस्तिष्कमा दुस्मनहरूको सर्वनास र हाम्रो विजय स्पष्ट छ ।

हामी झापाबाट १३ गतेको उक्त प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिर्तामोडबाट सार्वजनिक ट्याक्सीमा इलामतिर लाग्यौँ । हामी सबै सचेत थियौँ– सरकारले दमन तीव्र बनाएकाले हामीमाथि पनि निगरानी छ र हामीलाई जतिबेला पनि गिरफ्तार गर्न सक्छ । सम्पूर्ण चुनौतीलाई चिर्दै हाम्रो गति अन्त्यन्तै तेज बनिरहेको थियो । २ वटा ट्याक्सीमा बिर्तामोडबाट हामी इलाम जाने तय भयो । एउटा ट्याक्सीमा हाम्रो पार्टीका केन्द्रीय सदस्य एवम् मेची ब्युरो इन्चार्ज कमरेड सुमन, म, कमरेड सुवास, कमरेड सञ्जय, कमरेड सन्तोष, कमरेड प्रशान्त, कमरेड भीम, कमरेड चमनलाल, इलामकै एकजना कमरेड र ट्याक्सी ड्राइभरसमेत १० जना थियौँ । अर्को ट्याक्सीमा मेची ब्युरो कार्यालय सदस्य कमरेड तारासहित कमरेड थापा, जिल्ला इन्चार्ज कमरेड सौगात, कमरेड सुरेन्द्र, कमरेड चित्र, कमरेड खोम, कमरेड साम्पाङ, कमरेड देवी, कमरेड मगेस, इलामका एकजना कमरेड र ट्याक्सी ड्राइभरसहित १० जना हुनुहुन्थ्यो ।

हामी इलामको कन्याम, श्रीअन्तु हुँदै गाडी पुग्ने ठाउँसम्म गाडीमा गयौँ । इलाम जिल्लाको मनमोहकता र सुन्दरताको बिम्ब कन्याम, श्रीअन्तुका रमाइला पहाडहरू, चित्रका बुट्टा, हुस्सु र कुहिरो सबैलाई दृष्टिस्पर्श गर्दै हाम्रो यात्रा अगाडि बढेको थियो । झापाको अत्यधिक चर्को गर्मी झेलेका शरीरहरू इलामको चिसोमा असाध्यै आनन्दित भएको थियो ।

बाटोमा खाजा र चिया खाँदै, केही फोटो खिच्दै गाडी रोकिएको स्थानबाट हामी अगाडि बढ्यौँ । ती सबै गाउँटोलहरूको एकिन नाम त मलाई थाहा भएन तर हामी मूल बाटैबाटो लामो हुने भएकाले पहाडको छोटो बाटो प्रयोग गर्दै हामी अगाडि बढ्यौँ । बाटाहरू निक्कै अप्ठ्यारा थिए । हामी हिँड्दै गरेको भिरालो बाटोको तल मेची खोला सुसाइरहेको थियो । भारत र नेपालबीच सिमानाको काम गरिरहेको मेची खोला पूर्वी नेपालका लागि विशेष र खास मानिन्छ । पारिपट्टि मिरिक, निकै पर कस्र्याङ र तल तराईको फाँट हेर्दा भारतका सहरहरू झलमल देखिँदै थिए । हामी हिँडिरहेको नेपाल अँध्यारो र अप्ठ्यारो थियो । यद्यपि इलामको भौगोलिक सुन्दरता र सुन्दर नेपाल निर्माण गर्ने हाम्रो सपनाले अप्ठ्यारा बाटोहरू र अँध्यारो गाउँ हामीलाई सुन्दर लागिरहेको थियो ।

हामी निक्कै कठिन यात्रामा थियौँ । तराई झापाका खुल्ला र मैदानी बाटोहरूमा हिँडेका झापाली पाइलाहरू पहाडी इलाकामा लर्बराउने नै भए । हामी हिँड्दै अगाडि बढ्ने क्रममा लगभग डेढ घन्टा हिँडेको बाटो भुलिएको कुरा थाहा भयो । हामी गन्तव्य जाने भन्दा फरक बाटो हिँडिरहेका रहेछौँ । डेढ घन्टा हिँडेको बाटोबाट हामी फर्किएर पुनः त्यही ठाउँमा आइपुग्नुपर्ने भयो । हामी फर्किएर त्यहाँबाट फेरि अगाडि बढ्यौँ । करिब अढाइ घन्टा हिँडेपछि हामी हाम्रो प्रशिक्षण स्थलमा पुग्यौँ ।

बाटोमा केही साथीहरू लड्नुभयो । उहाँहरूको खुट्टामा चोट लागेको थियो । केही साथीहरूको चप्पल छिन्यो । केहीलाई जुत्ताले साथ दिएको थिएन । केही साथीहरूलाई आफ्नो मोटोपनले गर्दा हिँड्न गाह्रो भएको थियो । जे होस्, निकै अप्ठ्यारो बाटो जून र मोबाइलको सामान्य उज्यालोको सहारामा काट्यौँ । यात्राका क्रममा रमाइला कुराहरू भए । केही गीतहरू गुन्गुनाइए । केही सल्लाहहरू भए । हामी साँझ ९ः४५ तिर प्रशिक्षणस्थल पुग्यौँ । इलामका साथीहरूको व्यवस्थापकीय जिम्मेवारी भएका कारण इलामका कमरेड लक्ष्मीचरण, कमरेड दिपेन, कमरेड विवश र अन्य केही मैले नचिनेका कमरेडहरूसमेत मेसमा लाग्नुभएको थियो ।

सबैले हामीलाई खाना तयार गरेर पर्खिराख्नुभएको रहेछ । हामी त्यहाँ पुगी हातमुख धोएर खाना खानका लागि लाममा बस्यौँ । सबै खाना खान थाल्यौँ । हाम्रो पार्टीका पूर्वी कमान्ड इन्चार्ज कमरेड विरही पनि आउनुभयो । उहाँको स्वास्थ्यस्थिति त्यति राम्रो छैन । धेरै औषधि सेवन गरिरहनुपर्ने अवस्था छ । एकदमै कमजोर स्वास्थ्य स्थिति र एकदमै कमजोर शरीर भएर पनि उहाँको विचार, चेतना र क्रियाशीलता देखेर म सधैँ नतमस्तक हुने गर्छु । उहाँ पनि खाना खान थाल्नुभयो । मेची ब्युरो इन्चार्ज कमरेड सुमन उहाँ पनि एकदमै बिमारी हुनुहुन्छ । उहाँको मिर्गौलामा पत्थरी भएको छ । नसाको समस्या छ । उहाँको दृढता र क्रियाशीलता हामी युवाहरूसँग सँगसँगै काँध मिलाएर अगाडि बढ्ने खालको छ । उहाँ पनि खाना खान थाल्नुभयो । हामी सबै खाना खान थाल्यौँ । गलेको शरीर, भोको पेट । हामी सुखद कुराकानी र एकअर्काको अवस्थाका विषयमा जानकारी दिँदै खाना खायौँ । खाना खाइसकेपछि पूर्वतयारीअनुसार हामी आआफ्नो स्थानमा सुत्नका लागि प्रस्थान गर्नुपर्ने भयो ।

११ बजिसकेको छ । छिटोभन्दा छिटो ओछ्यानमा पुगेर आराम गर्नुपर्ने स्थिति छ । बिहान भेट्ने सल्लाह गर्दै हामी सुत्ने स्थानतर्फ लाग्यौँ । अरू साथी र अतिथि कता लाग्नुभयो जानकारी थिएन तर झापाबाट आएको मेरो नेतृत्वको टोली सिरानको घरमा विश्राम गर्ने कुरा थियो । सोहीमुताबिक हाम्रो टोली त्यस घरमा गयो । हामीलाई त्यहीँका स्थानीय साथीले पु¥याउनुभएको थियो । हामी सबै युवाहरू भएको कारण सिरानको घरमा विश्राम गर्ने योजना बनेको थियो ।

हाम्रो टोलीमा म, कमरेड प्रशान्त, कमरेड चमनलाल, कमरेड सन्तोष, कमरेड सुवास, कमरेड सञ्जय, कमरेड भीम, कमरेड सुरेन्द्र थियौँ । हामी सबै युुवा र जुझारु प्रकारका थियौँ । हामीले ओछ्यानहरू मिलायौँ । त्यसपछि पालैपालो १÷१ जना जागै रहने सल्लाह ग¥यौँ र सोहीअनुसार १÷१ घन्टाको तालिकासमेत तयार ग¥यौँ । १ घन्टा जागै रहने कमरेडले कोही आए विशेषतः प्रहरी आएनआएको चाल बुझ्ने, लाइट बलेनबलेको बुझ्ने, कुकुर भुकेको चाल बुझ्ने र सोहीअनुसार सावधान रहने सल्लाह भएको थियो र हामी परिस्थितिअनुसार भिड्ने प्रतिरोध गर्ने योजना र सल्लाहमा थियौँ । हामी निःशस्त्र भए पनि प्रतिरोध गर्ने मानसिकतामा थियौँ । त्यसअनुसारको सल्लाह गरिसकेपछि हामी अआफ्नो ओछ्यानमा विश्राम गर्न पस्यौँ र जागै रहने साथी सल्लाहअनुसार नै रहनुभयो । एकदमै थाकेको थियो शरीर । सबै सुत्नेबित्तिकै निदाइयो ।

हामीबीच प्रतिरोध गर्ने सल्लाह हुँदाहुँदै केही कमरेडहरूले झ्यालको सिसा फुटाउन थालेपछि अत्तालिएको प्रहरी बल प्रयोग गर्ने प्रकारको हल्लाखल्ला र कासन गर्दै घरभित्र पस्यो । पस्नेबित्तिकै प्रहरीले कमरेड प्रशान्तलाई टाउकोमा माउजर ताकेर कुटपिट गर्दै नियन्त्रणमा लियो । सबैको हातमा माउजर थियो । सबैले सबैलाई नियन्त्रणमा लिन भटाभट बल प्रयोग गर्न थाले । त्यस क्रममा कमरेड सुरेन्द्र, कमरेड सञ्जय, कमरेड चमनलाललाई केही कुटपिट गरी हतकडी लगाइहाल्यो । मलाई हुत्याउँदै तानेर अगाडि ल्यायो । एकजनाले बुटले टाउकोमा हान्यो । त्यसपछि मेरो हातमा पनि हतकडी लगायो । हामी सबै आठैजनालाई प्रहरीले हतकडी लगाएर पूर्ण रूपमा नियन्त्रणमा लियो । त्यसपछि सबैको नाम सोध्न थाल्यो । सबैको एकएक नाम सोध्दै प्रहरीसँग भएको खेस्रा कपीमा नाम टिप्न थाल्यो । हामीलाई गिरफ्तार गर्न इलामका इलाका प्रहरी कार्यालय मातहतका चौकीका प्रहरीसमेत हामीलाई गिरफ्तार गर्न आएका थिए । हेमराज ओलीलाई मैले अगाडिबाटै चिनेको कारण हामीमाथि कुटपिट नगरेको हो वा नचाहेको हो जे भए पनि प्रहरीहरूले हामीलाई नियन्त्रणमा लिनुअघि गरेको बलप्रयोगभन्दा थप कुटपिट नियन्त्रणमा लिएपछि गरेन । चाहे जे भए पनि देश पूर्ण रूपमा दलाल तस्करको पञ्जामा गएको यो दुःखद् परिवेशमा हामी दलाल र तस्करविरुद्धको सङ्घर्षमा छौँ । तिनै दलालको स्वार्थ र योजनाबमोजिम हामीविरुद्ध मरिमेटेर लागेका प्रहरीहरूको हामीविरुद्धको सक्रियता लज्जास्पद छ र दलालहरूको यो रबैया निन्दा र भत्र्सनायोग्य छ । समयको चक्रलाई प्रहरीहरूले राम्रोसँग आत्मसात गर्न जरुरी छ । दलालहरूको उक्साहटमा र केही प्रहरीभित्रकै गिरोहको सक्रियतामा हामीविरुद्ध भइरहेको धरपकड र दमनको कालो इतिटहासले एक दिन सबैलाई उठाउने छ ।

हाम्रो नाम सोध्दै थियो । मेरो नाम सोध्यो एकजना प्रहरीले– तेरो नाम के हो ? मैले मेरो नाम सुमन हो भनेँ । त्यसपछि उसैले मेरो नाममा सिंह थपेर सुमनसिंह हारेन भन्यो । मैले हो भन्दिएँ । त्यसपछि तँ तँ भनेर बोलिरहेको प्रहरीले तपाईं भनेर सम्बोधन ग¥यो । अरूको नाम पनि सोध्यो । सञ्जय र चमनलालको नाम पनि प्रहरीले धेरै सुनेको रहेछ । उहाँहरूलाई पनि प्रहरीले बारम्बार अनेकौँ प्रश्न सोधिरह्यो । हामीलाई गिरफ्तार गरेको जानकारी गरायो– सर, ८ जना पक्राउ परे । सुमनसिंह पनि पक्राउ परेको छ ।

यसैमा हामीमाथि प्रहरीहरूले प्रश्न गर्दै थिए । दिपेन कहाँ छ ? अनिल शर्मा कहाँ सुतेको छ ? तिमीहरूका अन्य साथीहरू कहाँकहाँ सुतेका छन् ? ‘हामीलाई केही थाहा छैन’ हामीले जबाफ फर्कायौँ । उनीहरूले ‘पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा यहाँ आएको छ । उनीहरू दिउँसो मिरिक घुम्न गएका थिए । हामीलाई नढाट्नुस्, कहाँ छ भन्दिनुप¥यो ?’, यस्ता प्रश्न गर्न थाले ।

‘हामीलाई जानकारी छैन । अनिल शर्मा यहाँ आएनआएको हामीलाई थाहा हुँदैन’ हामीले जबाफ राख्न पाउँदानपाउँदै इन्सपेक्टरले उसको टिमका अन्य सदस्यलाई तलको घरमा सर्च गर्नुस् भनेर पठायो । हामीसँग प्रहरीको भनाभन, हल्लाखल्ला र आवाजले अन्य घरमा सुतेका साथी उम्कन सफल हुनुभयो होला भन्ने हामीले मनमनै आशा ग¥यौँ र यति कुरामा त हामी सफल भयौँ भन्ने परियो । कमान्ड इन्चार्ज कमरेड अनिल, ब्युरो इन्चार्ज कमरेड सुमन गिरफ्तार हुनु हामी गिरफ्तार हुनुभन्दा कैयौँ गुणा ज्यादा क्षतिको कुरा हुन्थ्यो । त्यसकारण हामीलाई उहाँहरूको गिरफ्तारी जसरी पनि बचाउनु थियो । हाम्रो हल्लाखल्लाको उद्देश्य त्यो विषयसँग पनि जोडिएको थियो ।

‘सर ! एकजना पक्राउ प¥यो’, एउटा प्रहरीले आएर भन्यो । पछिको प्रहरीले सँगसँगै लिएर आयो । इलामका ६८ वर्षीय वृद्ध कमरेड मोहन बराललाई दाम्लोले हातमा बाँधेर ल्यायो । म एकदमै आक्रोशित भएँ । ‘यस्ता वृद्ध व्यक्तिलाई किन समाएको तपाईंहरूले ?’, मैले प्रश्न गरेँ । ‘को हुन् यिनी ? चिन्नुहुन्छ ?’, मलाई प्रश्न ग¥यो प्रहरीले । वृद्ध उमेरका कमरेडलाई छोड्छ कि भन्ने आशाले मैले उहाँलाई चिन्दिनँ भन्दिएँ । मैले उहाँ यही गाउँको कोही वृद्ध बा होलान् भन्दिएँ तर बराल कमरेडले गिरफ्तार हुँदै ‘म नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता हुँ’ भनेर हाम्रो क्रान्ति र आन्दोलनका विषयमा जबाफ दिइसक्नुभएको रहेछ । मेरो जबाफले काम दिएन । उहाँलाई छोडेन । सबै गाउँभरि हामी छौँ भन्ने त्यति भेउ प्रहरीले पाएको थियो जस्तो लागेन । हामी जम्मा ८ जना भए पनि सबै प्रहरीको हातमा माउजर थियो । उनीहरू हाम्रो कमान्ड इन्चार्जलाई गिरफ्तार गर्न आएका रहेछन् । एकैचोटि ८ जना युवा गिरफ्तार गर्दा, तलबाट मोहन बरालसमेतलाई गिरफ्तार गर्दा र त्यहाँबाट झोला छोडेर केही कमरेडहरूले घेरा तोड्दा प्रहरीको सङ्ख्या सानो भएको र बाहिरबाट आक्रमण हुनसक्ने डरले होला प्रहरीले थप टोली बोलाउन थाल्यो । सबै टोलीलाई इन्सपेक्टरले फोन गर्न थाल्यो ।

इन्सपेक्टर हेमराज ओलीको फोनगराइ हेर्दा र सुन्दा यस्तो लागिरहेको थियो, इलाम जिल्लाका सम्पूर्ण प्रहरी रातभर सुतेका थिएनन् । इलामका मात्र होइन, हामीलाई गिरफ्तार गरेको हल्ला रातारात झापामा र सम्पूर्ण दलालका अखडामा सल्बलायो । यो सबै प्रहरीको फोनगराइ र व्यवहारबाट प्रस्ट नै थियो । हामीलाई गिरफ्तार गरेको हल्ला दुस्मनको अखडामा छिटो प्रचार भयो । हामी गौरवपूर्ण लवजमा शिर ठाडो गरेर बाघझैँ थियौँ । इन्सपेक्टर हेमराज ओलीलाई अर्को फोन आयो ‘सर टु प्लस, टु प्लस !’ यताबाट ओलीले कन्फर्मका लागि थप प्रश्न ग¥यो । ‘हजुर दुईजना पक्राउ परे ।’ मलाई एकदम तनाव भयो । सायद सबैजनाको दिलदिमागमा त्यही थियो चिन्ता । कमसेकम थप साथी गिरफ्तार नहोऊन् भन्ने हामी सबैलाई लागिरहेको थियो ।

मैले इन्सपेक्टरलाई सोधेँ– थप कोको गिरफ्तार भए, भन्न मिल्छ ? उसले राखिसकेको फोन फेरि डायल गरेर कोको हो ? भनी नाम सोध्यो । उताबाट जवाफ आयो अर्जुन आचार्य र चित्र बिउ । जे नहोस् भनेर सोचेको थिएँ त्यही भयो । झापाका इन्चार्ज कमरेड अर्जुन आचार्य पक्राउ नपरेको भए झापामा धेरै सहज हुने थियो । हामी सबै एकपल निराशजस्तै भयौँ । सबैको अनुहार स्तब्ध देखियो ।

उहाँहरू सुतेको घरबाट बाहिर निस्किएर गाउँको उकालोतिर लाग्नुभएछ । अलि माथि पुगेपछि टर्च लाइटको उज्यालो देख्नुभएछ । हाम्रै साथीहरू कतै आपत्मा परेका हुन् कि भनेर उहाँहरू त्यतै जानुभएछ । तर ती त आफ्ना साथीहरू नभएर इन्सपेक्टरले मगाएको थप प्रहरी टोली रहेछ । केही वादविवाद हुँदाहुँदै प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीको घेरा तोड्न उहाँ त्यहाँबाट तल हामफाल्नुभएछ । घेरा तोड्ने क्रममा उहाँ गम्भीर घाइते हुनुभएको रहेछ ।

कमरेड संगमलाई र कमरेड चित्र विकलाई समेत प्रहरीले केही दिनमा हामीलाई नियन्त्रणमा राखेको ठाउँमा लिएर आयो । त्यसपछि हामीलाई उज्यालो होउन्जेलसम्म त्यहीँ राखियो । त्यस घरमा घरधनीको एउटा पुरानो बिग्रिएको भरुवा बन्दुकले पनि केही समस्या बनायो । तर त्यस विषयमा प्रहरीले झूट्टा मुद्दा बनाएर बन्दुक बरामद गरेर घरधनीलाई इलामसम्म ल्याएर छोडिदियो ।

हामीलाई श्रीअन्तु चौकीमा केही समय राखेर इलाम ल्याइयो । इलाम ल्याइपु¥याउँदा साँझ भइसकेको थियो । इलाम ल्याएर हामीलाई जि.प्र.का. इलामको हिरासत कक्षमा लगियो । हिरासतमा पुग्दा थाहा भयो विभिन्न जिल्लाको हिरासतमा राख्दै हाम्रो पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहलाई समेत त्यहीँ ल्याएर राखिएको रहेछ । त्यस्तै भदौ ५ गते दानाबारीबाट पक्राउ पर्नुभएका कमरेड डम्बर मगर र विजय नेम्बाङलाई समेत राखिएको रहेछ । हाम्रो ११ जनाको टोलीसमेत हिरासतमा ल्याएर प्रहरीले हाल्यो । कमरेड देवनारायण शाहलाई बम विस्फोटको मुद्दा लगाएको रहेछ । त्यस्तै कमरेड डम्बर मगरलाई पनि बम विस्फोट र अरू २ वटा मुद्दा लगाएको रहेछ । झूट्टा मुद्दा लगाउने दलाल सत्ताको रबैया आमजनतालाई थाहा भएकै कुरा हो । हामीलाई इलाम ल्याएर मसहित कमरेड सौगात, कमरेड प्रशान्त, कमरेड चमनलाल, कमरेड सेसेहाङलाई त्यही बम विस्फोटको झूट्टा मुद्दा दायर ग¥यो । कमरेड सञ्जय, कमरेड सुवास, कमरेड सुरेन्द्र, कमरेड भीम, कमरेड चित्र विक र कमरेड मोहन बराललाई केही सार्वजनिक अपराधसहितको झूट्टा अभियोग लगाइयो । कमरेड विजय नेम्बाङलाई पनि त्यही सार्वजनिक अपराधअन्तर्गतकै मुद्दा थियो ।

हाम्रो राजनीतिक मुद्दा र अभियानबाट आत्तिएर सरकार हामीमाथि सर्वत्र दमनमा उत्रिएको छ । हामीलाई पहिलोचोटि ७ दिनको म्याद थप गरेर त्यो सकिएपछि दोस्रोपटक १५ दिनको म्याद थप गरियो । हामी हिरासतमा रहेको २ दिनपछाडि झापाबाट साउन २८ गते पक्राउ पर्नुभएका कमरेड राजु दास र असललाई समेत झापा कारागारबाट इलाम हिरासतमा बेलुका ८ बजेतिर ल्याइपु¥याइयो । उहाँहरूलाई पनि त्यही विस्फोटको झूट्टा मुद्दा लगाइयो र उहाँहरूलाई झापा नै लगियो ।

हामीलाई भदौ १३ गते गिरफ्तार गरेर त्यसपछि विभिन्न झूट्टा मुद्दा लगाउँदै इलाम हिरासतमा राखिएको छ । हामी हिरासतको बन्द कोठाभित्र कैद भएका छौँ । जिल्ला प्रहरी कार्यालय इलाममा कथित १ नं. प्रदेशका माननीयहरू सलामी थाप्न आइरहेका छन् र हाम्रो हिरासतभित्रबाट गुन्जिएको क्रान्तिकारी आवाजले आत्तिएर हामीलाई झूट्टा मुद्दा लगाउने, थुन्ने र चैनको निद्रा निदाउने कोसिस गरिरहेका छन् । हामी त्यो देखिरहेका छौँ । हामीसँग हाम्रो विचारसँग दलालहरूको दुनियाँ काँपेको छ । हामी हिरासत मोर्चाबाटै दलाल सत्तालाई खुला चुनौती दिन चाहन्छौँ– हामी तिमीहरूको सर्वनाशक हौँ । हामीलाई हिरासतभित्र कैद गरेर तिमीहरूको डर लुकाउने प्रयत्न नगर । हामी हिरासतभित्र पड्किरहेका छौँ । हामी १०० वर्ष स्याल भएर बाँच्नुभन्दा १ दिने बाघ भएर मर्नुमा आनन्दित हुनेछौँ । हिरासतभित्रबाटै पनि तिमीहरूको स्वर्गमा हमला गरिहनेछौँ । एकीकृत जनक्रान्ति जिन्दावाद ! इलाम हिरासतबाट ।
२०७५ असोज ३ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :