नेकपाका दुई पोलिटब्युरो सदस्य रिहालगत्तै सर्वोच्च अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका दुई पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई सर्वोच्च अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार भएको बहसपछि भएको सुनुवाईमा न्यायाधिश तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । तर रिहालगत्तै महानगरीय काठमाडौँ प्रहरी परिसर टेकुबाट आएको टोलीले साँझ ७ बजे सर्वोच्च अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।

नेताद्वयलाई काठमाडौँ प्रहरीले सोमबारै दाङ प्रहरीलाई जिम्मा लगाउने तयारी भएको स्रोतको दाबि छ ।  कार्की र धमलामाथि नुवाकोट प्रहरीले लगाएको आगजनीको अभियोग प्रमाणित हुन नसकेको ठहर गर्दै रिहा मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो । उनीहरुलाई अदालतपरिसरबाटै गिरफ्तार गरेको यो दोस्रोपटक हो ।

यसअघि नेताद्वयलाई काभ्रे प्रहरीले क्रसर उद्योगमा ‘आगो लगाएर संगठित अपराध’ अभियोगमा थुनामा राख्दै आएको थियो । तर सो अभियोगलाई पनि सर्वोच्चले अप्रमाणित ठहर गर्दै भदौ १८ गते थुनामुक्त गरिदिन आदेश दिएको थियो । त्यो बेला पनि रिहालगत्तै परिसरबाट गिरफ्तार गरी नुवाकोट पुर्याइएको थियो ।

नुवाकोट प्रहरीले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग राखेर धमला पुत्र चेतन शर्माले दोस्रोपटक बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।

आजको आदेशपत्रले नेकपाका नेता–कार्यकर्तालाई सरकारले राजनीतिक प्रतिशोधबाट मुद्दा चलाएको ठहर गरेको छ । आदेशपछि जारी संक्षिप्त आदेशपत्रमा सरकारले पटकपटक गरिएको गिरफ्तारीलाई सर्वोच्चले ‘राजनीतक प्रतिशोध’ भनिएको छ । साथै नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलाई आदेशले संविधानबमोजिम संचालित राजनीतिक पार्टीको रुपमा व्याख्या गरेको छ ।

आदेशको दोस्रो पृष्ठको दोस्रोमा ‘संविधान बमोजिम राजनीतिक गतिविधि संचालन गरेका राजनीतिक पार्टीका कार्याकर्तालाई राजनीतिक प्रतिशोधको आधारमा प्रवृत्त भारणा राखी पूर्वाग्रही भई फौजदारी एवं राज्यविरुद्धका मुद्दाहरु लगाइरहन उचित हुँदैन’ उल्लेख छ ।

२०७५ भदाै २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :