जनसांस्कृतिक महासङ्घको देशव्यापी सांगीतिक अभियान सुरु

  नवलपरासी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत केन्द्रीय सामना परिवार “सामना जनसङ्गीत अभियान” लिएर जनताको माझ पुगेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा विद्रोह, वीरता र क्रान्तिका गीत गाउँदै केन्द्रीय सामना परिवार जनताको आगनमा पुगेको हो । परिवारले विहीबार नवलपरासीको बर्दघातबाट सांस्कृतिक अभियान सुरु गरेको हो ।

नेपालको क्रान्तिकारी एवं जनवादी सांस्कृतिक आन्दोलन तथा रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको केन्द्रीय सामना परिवारले ‘शान्ति, समृद्धि र समानताका लागी वैज्ञानिक समाजवाद ! र वैज्ञानिक समाजवादका लागी सामना जनसङ्गीत अभियान ! नाराका साथ देशव्यापी सांस्कृतिक अभियान सुरु गरेको हो । सामना परिवारले क्रान्तिकारी गीत, संगीत, नाटक, अपेराको माध्यमद्धारा प्रतिगामी संसदीय व्यवस्था तथा ओली–दाहाल नेतृत्वको सामाजिक दलाल फासीवादी सत्ताका विरुद्ध गरिब, दीनदुःखी, शोषित पीडित जनताको पक्षमा सांगीतिक प्रस्तुति देखाएको छ ।


सांगीतिक प्रस्तुतिमा अपेरा र “क्रान्ति मरेको छैन” नाटक उल्लेखनीय रहेको छ । नाटकको माध्यमद्धारा राज्यसत्तामा भएको भ्रष्टाचार, महंगी र दलालीकरणले जनतामा फैल्याएको आतंक, हैरानी र त्यसविरुद्ध भइरहेको जनप्रतिरोधलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । नाटकमा जनताले चलाएको शान्तिपूर्ण कार्यक्रममाथि देशव्यापी भइरहेको राज्यआतंक, धरपकड र गिरफ्तारी विरुद्ध क्रान्तिमा जुट्न आह्वान गरिएको छ । नाटकले नेपाली जनताको क्रान्तिको सपना पुरा नभएको र वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागी निरन्तर क्रान्तिमा जुट्नुपर्ने सन्देश दिएको छ ।

सांस्कृतिक कार्यक्रममा कलाकारहरुले नेपाली संस्कृतिहरु झल्किने गीत, नाचका साथै शोषित पीडित नेपाली जनताले भोग्नुपरेको दुर्दशालाई चित्रण देखाइएको थियो । नवलपरासी जिल्लाका विभिन्न क्षेत्रहरुबाट हजारौँको संख्यामा उपस्थित जनताले सांगीतिक कार्यक्रमको अवलोकन गरेका थिए । कार्यक्रमको सञ्चालन कलाकार आरोह नेपालीले गरेका थिए । कार्यक्रममा क्षितिज सांस्कृतिक परिवार लुम्बिनी व्युरोले पनि विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
२०७५ भदौ २२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :