‘राज्यआतङ्क चलिरहेको छ भीषण प्रतिरोधको सामना गर्नुपर्नेछ’

काठमाडौँ : अहिले राज्यले नेपाल कम्युनिस्ट पार्टीमाथि भीषण दमन गरिरहेको छ । काठमाडौँलगायत मुख्य सहरहरूमा सरकारले उक्त पार्टीको शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएको छैन । अहिले राज्य नेपाल कम्युनिस्ट पार्टीका माथिल्ला तहका नेताहरूलाई बलबुताले भ्याएसम्म गिरफ्तार गरिराखेको छ । अहिले प्रवक्ता प्रकाण्डलगायत ११ जना केन्द्रीय नेताहरूलाई गिरफ्तार गरेर मानसिक र शारीरिक यातना दिइराखेको छ । एकातिर उक्त पार्टीप्रति राज्यको रबैया ठीक मात्र छैन, सर्वोच्च अदालतलगायत अदालतले रिहा गर्न आदेश दिए पनि पुनःपुनः गिरफ्तार गर्दै यातना दिनुका साथै हिजो पञ्चायतकालमा अड्डासार गरेझैँ गरिराखेका छन् । अर्कोतिर वार्ताको नाटक रचिराखेका छन् । यिनै कुराहरूलाई लिएर आफ्नो पार्टीको धारणा स्पष्ट पार्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले रातो खबरका लागि एउटा लेख पठाएका छन् ।

राज्यले किन दमन गरिराखेको छ भन्ने प्रसङ्ग निकाल्दै विप्लवले भनेका छन्, ‘वास्तवमा केपी—प्रचण्ड सरकारले हामीमाथिको दमनबारे जे कारणहरू पेस गरेको छ ती सही एवम् वास्तविक कारण होइनन् । वास्तविक कारण अर्कै छन् । ती कारणहरू निम्नरहेका छन्– पहिलो, उनीहरूले संसदीय व्यवस्थालाई सुदृढ गर्न खोज्नु र हामीले त्यसका विरुद्ध सङ्घर्ष गर्नु, दोस्रो, केपी—प्रचण्ड सरकार श्रमिक वर्गीय कम्युनिस्ट सरकार नभएर नामको कम्युनिस्ट, कामको दलाल पुँजीपति वर्गको संरक्षक सरकार हुनु, तेस्रो, केपी—प्रचण्ड सरकार विभिन्न साम्राज्यवादी शक्तिहरूको, विशेषतः भारतीय साम्राज्यवादको दलालमा परिणत हुनु र चौथो, नेपालमा क्रान्ति विकास हुँदै जानु तर केपी—प्रचण्ड क्रान्तिका विरुद्ध हुनु ।’

राज्यले यसरी गरिरहेको दमनका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले प्रतिरोध गरिरहेको र अझ गर्नुपर्ने उल्लेख गर्दै विप्लवले अघि भनेका छन्, ‘हामीमाथि दमन हुने वा नहुने कुराले यसलाई कुनै प्रभाव पार्दैन । जति नै दमन भए पनि दलाल पुँजीवादी सत्ताको प्रतिरोध गर्नु र क्रान्तिलाई सफलतापूर्वक अगाडि बढाउनु हाम्रो जिम्मेवारी हुन्छ र हामी त्यसै गरिरहेका छौँ । दलाल पुँजीवादी सत्ताको दमन, हाम्रो प्रतिरोध साथै हाम्रो प्रतिरोध र केपी—प्रचण्डको दमन यसैको प्रतिबिम्ब हो ।’

अहिले राज्यले वार्ताका लागि गरिएको भनिएको आह्वानप्रति इङ्गित गर्दै विप्लवले भनेका छन्, ‘आफैँ दमन गर्ने, आतङ्क मच्चाउने र आफैँ वार्ताको हल्ला फैलाउनुमा कुनै तुक छैन । सरकारले हामीसँग राजनीतिक आचरण देखाउन चाहन्छ भने प्रथमतः सरकार हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउँदै (अघोषित रूपले) यति चर्को दमनमा आउनुपर्ने कुनै कारण नै छैन । उसले दमन तुरुन्तै रोक्नुपर्छ र गिरफ्तार गरिएका कमरेड प्रकाण्डलगायत नेताहरूलाई तुरुन्त मुक्त गर्नुपर्छ । राजनीतिक विचार र आस्थाका आधारमा गरिएको दमनप्रति माफी माग्नुपर्छ । दोस्रो, सरकारले वार्ताको नाटक बन्द गरेर राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता र पार्टी स्वतन्त्रतालाई सुनिश्चित गर्नुपर्छ र नेपाल कम्युनिस्ट पार्टीका विचार र नीतिहरूलाई जनताका बीचमा राख्दा सुन्ने आँट गर्नुपर्छ ।’
२०७५ भदौ २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :