बिमस्टेक : मोदी डक्ट्रिन

परिचय

दक्षिणएसिया र दक्षिण–पूर्वीएसियाका बङ्गलादेश, भारत, म्यान्मार, श्रीलङ्का, थाइल्यान्ड भुटान र नेपालसहितका साटवटा राष्ट्रहरू जनसङ्ख्या १ अर्ब ५० करोड र ३.५ ट्रिलियन डलर कुल गार्हस्थ उत्पादन भएका देशहरूको एउटा साझा अन्तर्राष्ट्रिय सङ्गठन नै बिमस्टेक हो । ६ जुन १९९७ मा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्ड मात्र समावेश भएर बिस्ट—एक (द्यक्ष्क्त्(भ्ऋ) का नामबाट आर्थिक सहयोगका लागि मात्र भनेर बनाइएको उक्त सङ्गठनमा २२ डिसेम्बर १९९७ मा म्यान्मार मिसिएर बिमस्टेक बन्न पुगेको थियो । १९९८ मा नेपाल पर्यवेक्षक बनेको थियो भने फेब्रुअरी २००४ मा नेपाल र भुटान पूर्ण सदस्य बनेका थिए । जुलाई ३१, २००४ मा भएको पहिलो शिखर सम्मेलनमा बिमस्टेक अथवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी राष्ट्रको प्रयासले पूर्णता पाएको थियो ।

काठमाडौँको सम्मेलन

त्यही बिमस्टेकको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौँमा ‘अर्थपूर्ण सम्मानजनक सहकार्य’ को वाचा गर्दै सकिएको छ । तर काठमाडौँमा यो सम्मेलनको तयारीदेखि समापनको दोस्रो दिनसम्म यहाँका बासिन्दा खुसी हुनुभन्दा पनि बढी उकुसमुकुस, त्रास र यातनाको महसुस गरिराखेका थिए । काठमाडौँ महानगरभरिका भत्किएका बाटोहरू विदेशी पाहुनालाई देखाउनका लागि रातारात टालिएका थिए । ती टाटेपाटे टालाहरू पाहुना फर्कंदै गर्दा उक्किँदै पनि थिए । त्योबाहेक पाहुनाको सवारी चलाउँदा र कार्यक्रम गर्दैगर्दा दुई दिन काठमाडौँका सबै सडक पूरै अस्तव्यस्त रहेकाले आमनागरिक हिँडडुल गर्न सकिराखेका थिएनन् भने सुरक्षाका नाममा सडक यात्रीहरूलाई अनावश्यक खानतलासी गरिएको थियो । धरपकड गरिएको थियो । यस्तो लाग्थ्यो काठमाडौँमा कुनै कार्यक्रम भैराखेको छैन, तानाशाही बुटहरू बजारिएका छन् ।

मोदीको वरिपरि घुमेको सम्मेलन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा जेजस्तो दृश्य, सोख र सान देख्न पाइन्थ्यो यसपालि झनै बढी तामझाम रहेको थियो । उनको सुरक्षाका लागि भनेर छुट्टै भारतीय सुरक्षा फौज नेपाल प्रवेश गरेको थियो । अन्य ५ देशका कुनै पनि प्रमुखले यसरी आफ्नो देशको ठूलो सङ्ख्यामा सुरक्षा फौज ल्याएका थिएनन् । यसप्रति नेपाल सरकारले कुनै सरोकार नै राखेन । मोदीले १४ गते सम्मेलनलाई सम्बोधन गर्दैगर्दा जे अभिव्यक्ति दिएका थिए त्यो नेपाल र नेपालीको मानमर्दन गर्ने खालको त थियो नै साथै सिङ्गो बिमस्टेक देशहरूलाई पनि पच्ने खालको थिएन । उनले भनेका थिए, ‘बिमस्टेक राष्ट्रका सेनाबीच हुन लागेको संयुक्त सैनिक अभ्यासको स्वागत गर्न चाहन्छु ।’ साथै उनले ‘सैन्य अभ्याससँगै स्थल सेनाका प्रमुखबीच हुने बैठक फलदायी हुने विश्वास गरेको छु’ पनि भन्न भ्याएका थिए ।
मोदीको यो भनाइले भारत बिमस्टेक देशहरूमा सैन्य हैकम कायम गर्न चाहन्छ र बिमस्टेकलाई जुन उद्देश्यसहित गठन गरिएको थियो– प्राविधिक र आर्थिक सहयोग, त्यो नभएर दक्षिणपूर्वी एसियामा सैन्य दबदबा कायम राखेर सदस्य देशहरूलाई आफ्नो हितमा प्रयोग गर्न चाहन्छ । त्यो उसको हितको चाहना भनेको चीन र पाकिस्तानको पछिल्लो सैन्यलगायत सबैखाले सामीप्यलाई चुनौती दिनु हो । उनले आफ्नो भनाइमा ‘आतङ्कवादसँग नजुधेका कुनै देश नरहेको’ भन्दै अमेरिकी भाषालाई आफ्नो मुखबाट दोहो¥याएका थिए । अङ्ग्रेजले भारत छाडेदेखि नै त्यहाँ क्षेत्रीय र जातीय मुक्ति आन्दोलन चलिरहेको छ भने क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पनि निरन्तर चलिराखेको छ । यस्ता राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलनहरूलाई अमेरिकाले आतङ्कवादी भन्दै आएको छ भने भारतले यी मुद्दाहरूलाई राजनीतिक रूपमा समाधान गर्ने चासोसम्म पनि नराखी आतङ्कवादको जामा लगाएर दमन गरिराखेको छ । उसको छिमेकी राष्ट्र पाकिस्तानसँग अगस्त १५, १९४७ देखि लगातार अन्त्यहीन द्वन्द्व चलिराखेको छ । आफ्नो देशमा देखापरेका यी समस्याहरूलाई लिएर अन्य देशमा चलिरहेका राष्ट्रिय र वर्गीय आन्दोलनहरूमाथि पनि समान दृष्टि रहोस् र दमनका लागि समान धारणा र व्यवहार होस् भन्ने भारत र मोदीको चाहना यसपालिको सम्मेलनमा स्पष्टै प्रकट भएका थिए । उनका यी अभिव्यक्तिहरूले एकातिर चीन र पाकिस्तानलाई रणनीतिक रूपमा नै दक्षिण र दक्षिणपूर्वी एसियामा पूर्ण रूपले प्रवेश निषेध गर्ने योजना रहेको देखिन्छ भने नेपाललगायत देशमा आतङ्कवादका नाममा यहाँ चलिरहेका वर्गीय मुक्ति आन्दोलनहरूमाथि दमन गर्ने आशय प्रकट हुन्छ ।

साथै उनले ‘डिजिटल कनेक्टिभिटीका क्षेत्रमा भारत राष्ट्रिय ज्ञानको नेटवर्कमा श्रीलङ्का, भुटान र नेपाललाई साथ लिएर अगाडि बढ्ने’ प्रतिबद्धता जनाएका थिए । उनको यो भनाइले प्रविधि र सूचनाप्रविधिलाई आफ्नो छाताभित्र राख्ने योजना प्रस्तुत गरेका थिए । साथै सन् २०२० को अगस्टमा भारतमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने कुरा पनि घुसाइहालेका थिए । सम्मेलनको भोलिपल्ट पशुपति दर्शनमा जाँदै गर्दा उनले ‘गौतमलाई नेपालले जन्माएको तर बुद्धलाई भारतको गयाले जन्माएको’ भन्न भ्याएका थिए । यसरी भारतले बुद्ध भारतमा जन्मिएको भन्ने गर्दै आएको दाबीलाई मोदीले आफ्नै मुखबाट नै ओकलेका थिए । उनको यो भनाइले भारतले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने उसको तर्कलाई वैधानिकता दिन खोजिराखेको छ । बिमस्टेकमा आएर मोदीले गरेको एउटा कुरा यो हो ।

सार्क र बिमस्टेक

बिमस्टेकको स्थापना भएको ठीक १२ वर्षअघि अर्थात् सन् १९८५ डिसेम्बर ८ मा बङ्गलादेशको ढाकामा दक्षिणएसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को स्थापना भएको थियो । सार्कमा सुरुमा नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स सदस्य रहेका थिए । पछि त्यसमा अफगानिस्थान पनि थपिएको थियो । चीन पनि उक्त सङ्गठनको सदस्य हुन उत्सुक थियो तर भारतका कारण चीनले सदस्यता पाएन । सार्कको १९ औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा १५ र १६ नोभेम्बर २०१६ मा हुने तालिका थियो थियो । भारतलगायत अफगानिस्तान, भुटान, बङ्गलादेश, श्रीलङ्का र मालदिभ्सले २०१६ को युरी आक्रमणको निहुँ बनाएर उक्त सम्मेलनमा भाग नलिएका कारण अहिलेसम्म भैराखेको छैन । सबै संरचना बनिसकेका र दक्षिणएसियामा एक प्रकारको प्रभाव छाडिसकेको सार्कलाई अहिले भारतको नियतमा पूर्ण रूपले निष्क्रिय बनाइएको छ । यति मात्र होइन, भारतकै कारणले इस्लामाबादमा स्थापना गरिएको सार्क इनर्जी सेन्टरलाई बेकाम बनाइएको छ । यो बिमस्टेकलाई त्यही सार्कको ठाउँमा भारतको चाहनामा उभ्याइएको छ ।

बिमस्टेक स्थापना हुँदै गर्दा चीनको आर्थिक अवस्था त्यत्ति राम्रो थिएन । मूल रूपमा चीनलाई आर्थिक, राजनीतिक र रणनीतिक घेराबन्दी गरी भारतीय दादागिरी कायम राख्ने कुत्सित उद्देश्यका साथ बिमस्टेकको स्थापना गरिएको थियो । बीचमा यो त्यति सक्रिय हुन सकेन । जब अमेरिकी योजनामा म्यान्मारमा राजनीतिक परिवर्तन भयो तब चीनको पक्षधरता लिइरहन नसक्ने देशहरूलाई आफ्नो छाताभित्र राख्ने हैसियतसहित भारतले बिमस्टेकलाई सक्रिय बनाएको थियो ।

मोदीले आफ्नो भाषणमा धेरै कुरा बोलेका थिए । उनले ‘बङ्गालको खाडी क्षेत्रमा कला, संस्कृति, सामुद्रिक कानुनलगायत विषयमा अध्ययनका लागि नालन्दा विश्वविद्यालयमा सेन्टर फर बे अफ बङ्गाल’ स्थापना गर्ने बताएका थिए । उनले ‘आतङ्कवादलगायतलाई नश्लीय पदार्थ भएकाले यसका विषयमा कार्ययोजना बनाएर’ दबाब दिएका थिए । यी तथ्यहरूले अहिले भएको बिमस्टेक सम्मेलनमा भारत हाबी मात्र भएन, मोदी डक्ट्रिन लागू भएको स्पष्ट नै छ । उक्त कुरा १८ बुँदे घोषणापत्रको बुँदा ४ मा उल्लेख गरिएको ‘बिमस्टेक राष्ट्रहरूसमेत विश्वको जुनसुकै कुनामा भएको आतङ्कवादी हमलाको भत्र्सना गर्छौं । आतङ्कवादविरोधी लडाइँमा आतङ्कवादी, सङ्गठन तथा सञ्जाललाई मात्र होइन, तिनलाई प्रोत्साहित गर्ने, समर्थन गर्ने, लगानी गर्ने र तिनलाई शरण दिने राष्ट्र वा गैरराष्ट्रिय तत्वको पनि पहिचान गर्ने उत्तरदायी बनाउने कुरा दृढतापूर्वक व्यक्त गर्छौं । आतङ्कवादसँग लड्न कडा प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छौँ’ ले प्रस्ट पार्दछ ।

तयारीका लागि भनेर ४ करोडभन्दा बढी सडक शृङ्गारमा खर्च गरिएको यो सम्मेलनले यस क्षेत्रका जनता र राष्ट्रका लागि भनेर नयाँ कुनै निर्णय गर्न सकेन । पुनर्निर्माण, सफाइ गरेको रातो कार्पेट ओछ्याइएको सडकमा टेकेर नेपाल प्रवेश गर्दैगर्दा मोदीले भारतका प्रगतिशील लेखक, साहित्यकार तथा पत्रकारहरू बरबर राव, गौतम नौलखालगायतलाई गिरफ्तार र घरमा नै नजरबन्द गरेका थिए । यहाँ पनि केपी—पीके सरकारले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसहित १० जना केन्द्रीय नेताहरूलाई गिरफ्तार गरेर मोदी डक्ट्रिनको निर्देशन पालना गरेका थिए । एकै प्रकारका तर फरक देशका शासकहरूले गरेको क्रियाकलापले हस्ताक्षरका बुँदा ४ जन्माएको सहजै महसुस गर्न सकिन्छ ।
साथै अहिले जति पनि देश बिमस्टेकमा रहेका छन् कुनै समयमा यी देशहरूले असंलग्न परराष्ट्र नीतिको वकालत गर्दथे । त्यही असंलग्न परराष्ट्र नीतिलाई कुल्चिएर मोदीले आह्वान गरेको भदौ २५ गतेदेखिको संयुक्त सैन्य तालिमको नेपालका पूर्वसुरक्षा अधिकृत, नोकरशाह र कूटनीतिज्ञहरूले समेत विरोध गरिराखेका छन् । यसको विश्व–राजनीतिमा निकै ठूलो असर मात्र होइन, युद्धको मुखमा रहेको विश्वलाई सायद मलजल गर्नेछ । विश्वमा मात्र नभएर एसियामा रहेको परम्परागत शक्ति सन्तुलन भत्किन पुग्छ । यस क्षेत्रमा रहेका आसियान, सार्कजस्ता सङ्गठनहरू नाकाम हुन पुग्दैछन् । आफ्नो देशभित्र रहेका अन्तरविरोधहरू समाधान गर्नुको साटो यस क्षेत्रका पछिल्ला साम्राज्यवादीले बाह्य अन्तरविरोध उत्पन्न गरी लुटको स्वर्ग कायम राख्ने खेल खेलिरहेका छन् । त्यही खेलका किनाराका साक्षी नेपालजस्ता देशका शासकहरू बनिरहेका छन् । यसरी भारतले आफ्नो अनुकूलता र सहजताका लागि तयार पारेको १८ बुँदेमा हस्ताक्षर गरेर बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरू नेपालमा तीर्थाटन गरेर फर्किएका छन् । त्यसैले उनीहरूका लागि यो शिखर सम्मेलन ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ जस्तो मात्र भएको छ ।

२०७५ भदाै २० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :