अभियानमय बन्दै गाउँसहर

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गतेदेखि सुरु गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ देशव्यापी रूपमा सानदार तरिकाले अघि बढिरहेको उक्त पार्टीले जनाएको छ । उक्त अभियान लुम्बिनी ब्युरोअन्तर्गत पर्ने रूपन्देही, कपिलवस्तु अर्घाखाँचीलगायत जिल्लाहरूमा सानदार रूपले सफल हुँदै गएको अभियानकर्मीहरूले बताएका छन् ।

नेकपाका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले भदौ १ गते लुम्बिनीमा एक कार्यक्रमबीच अभियानको भव्य रूपमा उद्घाटन गरेका थिए । उद्घाटनमा अभियानका २८ समूह सहभागी थिए । ६ केन्द्रीय र २४ ब्युरोस्तरीय टोलीले जनताको घरदैलोमा पुगेर सङ्गठन निर्माण, जनभेला, पिँढीभेला, घरदैलो, जनसेवा, दलाल संसदीय व्यवस्थाको भण्डाफोर र एकीकृत जनक्रान्ति तथा वैज्ञानिक समाजवादका पक्षमा प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी केन्द्रीय समूहको एक टोलीका कमान्डरसमेत रहेका अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष पूर्णबहादुर सिंहले रातो खबरलाई दिए ।

लुम्बिनीमा सञ्चालन भैरहेको अभियान उद्घाटन गर्दै पार्टी पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले दलाल संसद्वादको अन्त्य भएर छिट्टै वैज्ञानिक समाजवाद स्थापना हुने बताएका थिए । अहिले अभियानका टोलीहरू ब्युरोभरि नै क्रियाशील रहेको र जनताले दलाल संसदीय व्यवस्थाको विकल्पमा हृदयदेखि नै वैज्ञानिक समाजवाद अवलम्बन गर्ने प्रतिक्रिया व्यक्त गरेको अभियानका कमान्डरहरूले बताएका छन् । जनताले दलाल संसद्वादका मतियार रहेको केपी ओली–पुष्पकमल दाहाल गठबन्धन सरकार मात्र नभएर यो व्यवस्था नै छिट्टै धराशयी हुने र एकीकृत जनक्रान्तिको सफलतासँगै वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरेको प्रतिक्रिया अभियानका कमान्डरहरूले दिएका छन् ।

यसैबीच तत्कालीन जनयुद्धको आधारइलाका रुकुम, रोल्पा, दाङ र कालीकोटमा पनि उक्त अभियान घनीभूत रूपमा सञ्चालन भैरहेको नेकपाका स्थानीय नेता–कार्यकर्ताहरूले बताएका छन् । जनताको बीचमा गएर सङ्गठन विस्तार र सुदृढीकरण गरिरहेको र आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिका बारेमा जनतालाई बुझाउने काम भइरहेको उनीहरूको भनाइ छ । नेकपाको चारमहिने यो अभियान देशका चारवटै कमान्डभरि नै चलिरहेको नेकपाले जनाएको छ । २०७५ भदौ १६ गते शनिबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :