सरकारी दमन बन्द गर, शनी खुनालाई शहीद घोषणा गर : विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुरमा प्रहरीको गोलीद्वारा मारिएका शनी खुनालाई शहीद घोषणा गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न सरकासँग माग गरेको छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कार्वाही गर्नुको सटटा हत्याको विरुद्ध उत्रिएका जनतामाथि हत्या र दमन गरिएको भन्दै उक्त पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेका छन् । शनिबार बिहानै जारी गरेको प्रेस विज्ञप्तिमा महासचिव विप्लवले हत्या र बलात्कारको बिरोध गर्दै आन्दोलनमा उत्रिएका जनतामाथि हत्या दमन गर्ने सरकारका विरुद्ध उत्रन आह्वान गरेका छन् । साथै विज्ञप्तिमा महिला हत्या र बलात्कारका विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गर्न पनि माग गरिएको छ । 

प्रस्तुत छ नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :

प्रेस विज्ञप्ति
             अहिले दिनदिनै जसो महिला हिंसा बढेर गएको छ । महिलामाथि हिंसा, हत्या र बलात्कार भैरहेको छ । यसरी बलात्कारमा संलग्नलाई खोजी छिटोभन्दा छिटो कार्वाही गर्नुको सट्टा हत्यारा र बलात्कारीलाई कार्वाही गर भनी जनताले गरेको विरोध र जुलुसमा प्रहरीले गोली चलाई हत्या गर्ने, घाइते बनाउने काम गरिराखेको छ । गत साउन १० गतेदेखि हराएकी कञ्चनपुरकी निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएपछि कञ्चनपुर लगायत देशका विभिन्न स्थानहरुमा आन्दोलन भैराखेको छ । यस्ता घटनालाई बलात्कार, हत्यालाई रोक्नुको सट्टा राज्य झनै दमनमा उत्रिएको छ । हाम्रो पार्टी राज्यले चलाएको यस्तो हत्या र दमनको घोर विरोध तथा भत्र्सना गर्दछ । निर्मला लगायत देशै भरी भैराखेका बलात्कारी तथा हत्यारालाई तुरुन्त परिचान गरी कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछ । महिला हत्या र बलात्कारका विरुद्ध जनताद्वारा गरिएका आन्दोलनमा गोली चलाउने, दमन गर्ने, यस्तो कार्य गर्न निर्देशन दिने सरकारी पक्षलाई कार्वाही गर्न पनि माग गर्दछौं ।
            प्रहरीको गोलीद्वारा हत्या गरिएका शनी खुनालाई शहीद घोषणा गरियोस् । उनको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् । साथै घाइतेहरु कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट लगायत सबैको स्वास्थ्य उपचारको सुनिश्चित गरियोस् । साथै नेपालका महिलाहरुमाथि शृंखलाबद्ध भैराखेका बलात्कार र हत्याका विरुद्ध सबै सरोकारवालाहरु एक भएर सशक्त आन्दोलनमा उत्रिन पनि हाम्रो पार्टी आह्वान गर्दछ । यी घटनाहरुले महिलाको अधिकार प्राप्ति र सुनिश्चितता यो दलाल संसदीय व्यवस्थाले गर्दैन भन्ने पनि पुष्टि भएको भएको छ । त्यसैले यसको विकल्पमा वैज्ञानिक समाजवादको अपरिहार्यता पुनर्पुष्टि भएको छ ।

विप्लव
महासचिव

२०७५ भदौ ९ गते शनिबार प्रकाशित                                                                                                                                   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :