सिक्किम विलयपछि बीपी चिन्तित हुनुहुन्थ्यो विष्णु आचार्य

(२०१२ सालमा माझीटार, विदुर ५ नुवाकोटमा जन्मनुभएका विष्णु आचार्य २०२७ सालमा नुवाकोटको सबैभन्दा पुरानो त्रिभुवन त्रिशूली उच्चमाविमा कक्षा १० मा अध्ययन गर्दादेखि नेवि सङ्घ हुँदै राजनीतिमा प्रवेश गर्नुभएको हो । विश्वेश्वरप्रसाद कोइरालासँग अत्यन्त नजिक रहेका आचार्य पञ्चायतीकालमा अर्जुननरसिंह केसी पञ्चायतमा र रामशरण महत अमेरिकामा रहेका कठिन दिनमा नुवाकोटमा एक मात्र पाका नेतामा गनिनुहुन्थ्यो । पञ्चायतका विरुद्ध लड्दा पटकपटक जेल पर्नुभएका हाल बीपी विचार मञ्चको अध्यक्ष रहनुभएका आचार्यसँग गरिएको वार्तालापको सम्पादित अंश)

एकजना चिन्तक र लोकतन्त्रवादीका नाताले देशको पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
संविधान जारी भएसँगै संशोधन गर्नुपर्ने आवाज सडकमा बलियो नै देखिएको छ । संविधानलाई अस्वीकार गर्ने शक्ति पनि छन् । अर्कोतिर संविधान जारी गर्ने दलहरू संविधान लागू नगर्दै विभाजित मानसिकतामा देखिन्छन् । एउटा सरकारमा जाने अर्को आउने कुरा मात्रले कुनै अर्थ राख्दैन । भूकम्पपीडितहरूले झुप्रा बनाउन पाएका छैनन् । बाढीले तहसनहस पारेको छ । नाकाबन्दीको आर्थिक मन्दी यथावत् छ । अब बन्ने सरकारले पनि देशलाई गति दिने सम्भावना देखेको छैन । Bishnu Acharya
काङ्ग्रेस र माओवादी केन्द्रको सरकार बन्दैछ । काङ्ग्रेस र कम्युनिस्ट गठबन्धनले निकास दिन सहज हुँदैन ?

जनयुद्धका समयमा आपशमा शत्रुतापूर्ण ढंगले लडेका शक्तिहरूबीचको सरकार बन्दैछ । तर हिजो जनयुद्ध लडेको माओवादी सग्लो रूपमा नै सरकारमा जाने होइन । ठूलो शक्ति बाहिर नै रहनेछ । आजका काङ्ग्रेसका सभापति त्यसवेला काङ्ग्रेसमा होइन, अर्कै पार्टीमा थिए । शान्तिप्रक्रियाको पहलकदमी देउवाले नभएर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । उहाँ हुनुहुन्न र अहिलेका सभापतिमा कोइरालाको चिन्तन, विचार र सामथ्र्य पनि छैन । गठबन्धनका दुई दल नेतामा देशलाई निकास दिने सोचाइ र सामथ्र्य नै देख्दिनँ ।

काङ्ग्रेस पार्टी आज गिरिजाप्रसाद कोइरालाको बाटोमा हिँडिरहेको छैन त ?

मैले अघि पनि भनेँ आजको नेपाली काङ्ग्रेसका नेता उसबेला अर्कैै पार्टीको सभापति हुनुहुन्थ्यो । अहिले सिङ्गो नेपाली काँग्रेस पार्टीको नेतृत्वमा हुनुहुन्छ । हिजो देउवाजीको पार्टीमा रहेका कतिपय हस्तीहरू आज काङ्ग्रेसमा छैनन् । गिरिजाप्रसाद कोइरालाको सोचाइ र सामाथ्र्य दुवै देउवामा छैन । त्यसैले गिरिजाप्रसाद कोइरालाको दिसाबोधबाट नेपाली काङ्ग्रेस हिँड्ने, हिँडाउने नेताको अभाव खट्किएको हो ।
त्यसो भए राजनीतिक गत्यावरोधको निकास निस्कन्न त ?

काङ्ग्रेस र माओवादी केन्द्र मिल्दैमा संविधान संशोधन हुने अवस्था छैन । नेकपा (एमाले ले नयाँ गठबन्धनलाई सहज सहयोग गर्लाजस्तो देखिन्न । शान्तिप्रक्रियाको टुङ्गो र मधेसी दलहरूको मागको सम्बोधन तथा भूकम्पपीडितको प्रश्न तीन विषयलाई सरकार ढाल्नुपर्ने कारण भनिएको छ । यी तीनै कुरामा तगाराहरू देखिन्छन् । शान्तिप्रक्रियाका सन्दर्भमा त अन्तर्राष्ट्रिय शक्तिहरूको प्रश्नसमेत जोडिन्छ । मापदण्डका विषयहरू छन् । तसर्थ राजनीतिक निकासको मार्गचित्र अन्योलपूर्ण नै देखिन्छ ।
प्रसङ्ग बदलौँ, कोसी बाँधका विषयमा भारतीय पक्षबाट चलाइएका हल्लाहरूलाई कसरी लिनुभएको छ ?

आईएसआईले पूर्वसूचना दिएर अनिमात्र आक्रमण गर्ला भन्ने कुरा नै गलत लाग्छ । त्यस्तो सूचना कतै भारतले पाएको हो भने उसले केन्द्र सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउनुपथ्र्यो । भारत राज्यद्वारा नेपालका जिल्लालाई सीधै किन दिइयो ? नेपालको गृह मन्त्रालयले कोसीबारेको हल्ला आधारहिन बताइसकेको छ ।
हालै कतिपय भारतीय सञ्चारले नेकपा माओवादीलाई कहिले चीनसँग त कहिले आतङ्कवादी सञ्जालसँग जोड्ने गर्नुको कारण के होला ?

भारत ठूलो र उदार प्रजातन्त्र भएको देश हो । भारतीय सञ्चारमा अनेक शक्ति केन्द्रको प्रभाव छ । कसको के मिसन छ भनेर बुझ्नै कठिन छ । कता जोड्दा फाइदा हुन्छ भनेर सोच्ने गर्छन् । नेपालका दलहरूलाई भारतसँग जोडिन पनि सहज छैन । नेपाली जनतासँग खुला रूपमा जोडिएर राजनीति गर्ने माओवादी अथवा अरू कुनै शक्ति विवादास्पद शक्तिसँग जोडिने सम्भावना नै छैन । त्यसकारण त्यसप्रकारका हल्लाको अर्थ छैन ।
ओली सरकारले चीनसँग गरेका सम्झौताहरूको अवस्था के होला ?

ओली सरकारको राजनीतिक संयन्त्रको संयोजक प्रचण्ड नै हुनुहुन्थ्यो । त्यही संयन्त्रको निर्णमा प्रचण्डसमतेले उक्त सहमति गरेको सत्य हो । उनै प्रचण्ड सरकारको नेतृत्व गर्न जाँदै हुनुहुन्छ । त्यसकारण ओली सरकारको समयमा चीनसँग गरिएका सहमतिहरू धरापमा पर्लान् भन्ने लाग्दैन ।
नेपाली काङ्ग्रेस कोइराला परिवारको आदर्सबाट मोडिन खोजेको हो ?

अहिलेको संविधान बनाउँदा नेपाली काङ्ग्रेसको कसैको पनि असहमति थिएन । सर्वसम्मत रूपले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी पारित भएको हो । पहिलो संविधानले गणतन्त्र ल्यायो । दोस्रोपटक थप ३ विषय पनि संस्थागत भए । यिनै नाराका आधारमा काङ्ग्रेसले जनताको मत पाएको हो । त्यसैले काङ्ग्रेसको कुनै नेताले व्यक्तिगत रूपमा के भन्छ भन्ने कुराले त्यति महत्व राख्दैन ।
नेपाली काङ्ग्रेस वैचारिक रूपले नै २०६२÷०६३ को आन्दोलन पूर्वतिर डोलायमान हुँदैछ भन्छन् नि ?

अस्थिरता भएर गयो । यो संविधान खारेज वा निष्क्रिय भएर शून्यता आयो भने नयाँ ढंगले सोच्नु पर्दा के होला म भन्न सक्दिनँ । तर यो संविधान र संसदीय प्रणाली कायम रहेसम्म २०६२÷०६३ भन्दा पछाडि फर्किने सम्भावना छैन ।
प्रसङ्ग बीपीतिरै मोडौँ, बीपीलाई भारतपरस्त नेताको चस्माले हेर्नेहरूको पनि कमी छैन । बीपीलाई नजिकबाट हेर्दा कस्तो देख्नुहुन्थ्यो ?

सत्तामा बस्नेहरूले त्यो आरोप लगाउने गर्छन् । बीपी अब रहस्य नभएर खुला पानाजस्तै हुनुहुन्छ । नागरिकले स्वतन्त्र धारणा बनाउन सक्छन् । मलाई लाग्छ, बीपी भारतका लागि नेपालको सबैभन्दा ठूलो दुस्मन हुनुहुन्थ्यो । बीपीले ‘भारतमा बसिरहनुभन्दा विष, नेपाल फर्किनु आत्महत्याजस्तै हो’ भन्नुभएको थियो । देशको अस्तित्व नै खतरामा परेको महसुस गरेपछि उहाँ मृत्युदण्डको खतरा मोलेर देश फर्किनुभएको हो । त्यसबेला बीपीले एउटा लिखित सन्देश वितरण गर्नुभएको थियो । त्यही पर्चा बाँड्दा म गिरफ्तार भएको थिएँ । त्यसबेला भारतमा इन्दिरा गान्धी सत्तारूढ थिइन् । बीपीलाई नेपालमा मार्लान् भनेर रोक्न पटना हवाईअड्डामा इन्दिरा आफैँ पुगेकी थिइन् । चर्चामा त्यति नआएको कटु यथार्थ के हो भने बीपीको निकटता नेहरू र गान्धी परिवारमा थिएन । बाहिरबाट हेर्दा गान्धी र नेहरू परिवारसँग भएजस्तो देखिने भावनात्मक निकटता भने मोरार्जी देसाईं, आरके नारायणहरूसँग थियो । उनीहरू नेहरू परिवारका विरोधी थिए । त्यसकारण पनि बीपी भारतको सत्ता पक्षभन्दा विपक्षको नजिक हुनुहुन्थ्यो । यो कुरा दिल्लीको संस्थापनले रुचाएको थिएन ।
राजाको विषयलाई लिएर बीपी सधैँ विवादमा तानिनुहुन्छ नि ?

बीपीले राजासँग सङ्घर्ष नगर्ने, पञ्चायतसँग आत्मसमर्पण नगर्ने नीति लिनुभएको थियो । पञ्चायतलाई हटाउने, राजालाई सक्रिय राजनीतिबाट पृथक राख्ने उहाँको नीति थियो । पञ्चायती व्यवस्था महेन्द्रले होइ,न भारतले ल्याएको हो । भारतमा अहिले पनि माथि संसदीय बहुदलिय व्यवस्था र तल पञ्चायत जिउँदै छ । पञ्चायतीकालमा भएका सुरुका १४ जना अञ्चलाधीशमध्ये १० जना भारतपरस्त र ४ जनामात्र राजदरबारप्रति बफादार थिए । बीपीले पहिले देश बचाऔँ, त्यसपछि प्रजातन्त्रका लागि लडौँला भन्नुहुन्थ्यो ।
तपाईं अहिले बजारको बिकाउ राजनीतिक मालका रूपमा हुनुहुन्न । २०४६ सालको ठमेल, चाक्सीबारीको चर्चित सभामा पनि बीपीसँग निकटताका कारण मन्तव्य दिनुभएको थियो । तसर्थ इन्दिरा गान्धीले बीपीसँग लेन्डुप दोर्जेको अपेक्षा गरेपछि बीपी स्वेदस फर्केको भन्ने पनि गरिन्छ ।

बीपीसँगको निकटताका कारण त्यो पाटोलाई कसरी बुझ्नुभएको छ ?

२०३१ सालमा एउटा स्वतन्त्र देश, भारतको भन्दा पुरानो र भारतभन्दा पछिसम्म अस्तित्वमा रहेको देश सिक्किम भारतमा गाभियो । त्यो घटनाले बीपी असाध्यै चिन्तित हुनुभयो । सिक्किमबाट पहिले राजा फालियो । त्यसपछि देश नै कब्जामा प¥यो । त्यसैले बीपीले राजा नभए देश रहन्न, प्रजातन्त्र नभए राजा रहन्न भन्नुहुन्थ्यो । सिक्किममा पुग्दा त्यहाँका जनताले बीपीलाई ‘हामीले राजा हटायौँ, राजासँगै देश पनि गयो’ भनेका रहेछन् । बीपीलाई यी घटनाहरूले प्रभाव पारेका थिए । तर इन्दिरा गान्धीले बीपीलाई लेन्डुपे बन भन्नसक्ने अथवा त्यो स्तरमा न्यूनीकरण गर्नसक्ने अवस्था देख्दिनँ ।
जनमतसङ्ग्रहमा पञ्चायती व्यवस्थाले जित्ने सरकारको नेतृत्वमा चाहिँ भारतपरस्तहरू नै आएको देखिन्छ त ?

जनमतसङ्ग्रहमा पञ्चायतले जित्यो । सरकारको नेतृत्व गर्न भारतपरस्त सूर्यबहादुर थापा आए । पञ्चायती व्यवस्था भारतको नियन्त्रणबाहिर थिएन । भारतपरस्तलाई प्रधानमन्त्री बनाउँदा आफू सुरक्षित भइन्छ भन्ने सोचाइ राजामा पनि देखिन्थ्यो । नेपालका हरेक आन्दोलन र विद्रोहपछि भारतपरस्त शक्ति नै सत्तारुढ भएको देखिन्छ । विदेशीको आडभरोसामा भएको आन्दोलनबाट अन्तिम फाइदा उसैले लिन्छ । २०३६, २०४६, २०६३÷०६३ मा सधैँ त्यही चक्र घुमिरहेको छ ।
बीपी र साम्यवादका बीचको सम्बन्ध अथवा कम्युनिस्टबारे बीपीको सोचाइ कस्तो थियो ?

बीपीले आफूलाई सधैँ माक्र्सवादी भन्नुहुन्थ्यो । २०१२ सालको महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादी कार्यक्रम पारित गराउनुभयो । २०१६ सालमा चीन भ्रमण जानुभयो । भारत बीपी चीन भ्रमण नजाओस् भन्ने चाहन्थ्यो । भारतले बीपीलाई भारत र नेपालका बीचमा भएका सन्धिहरू नमानेको आरोप लगाएको थियो । नेपालमा विदेशी दूतावास खोल्न भारतको सिफारिस लेओस् भन्ने भारत चाहन्थ्यो । बीपीले भारतलाई नसोधी इजरायललाई दूतावास खोल्न दिनुभयो । भारतले त्यो घटनालाई बीपीद्वारा धोका पाएको ठान्यो । बीपीले माओ र चाओसँग भेटेर कयौँ सम्झौता गर्नुभयो । ती सम्झौता भारतविरोधी थिएनन् । बीपीको काम र व्यक्तित्वसँग दिल्लीको संस्थापन डरायो । बीपीको निकटता भारतका नेहरूविरोधीसँग भएका कारण पनि भारतीय संस्थापन बीपीसँग चिढिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!