‘देउवा–प्रचण्ड’ भारतपरस्त राष्ट्रघाती गठबन्धन हो’

यतिबेला देश राजनीतिक रुपमा अत्यन्तै संकटको अवस्थामा छ । यो संकटको अवस्थालाई पार लगाउन संसदवादी राजनीतिक दलहरु सफल हुने छाँटकाँट देखिएको छैन । संसदवादी दलहरु एक पछि अर्को गर्दै सत्ता र शक्तिको खेलमा जस्तासुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने भर्खरै भएको सत्ता परिवर्तनको खेलले प्रष्ट पारेको छ । यहि बिचमा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले दुई खाले सांगठनिक संरचना खडा गरेको छ । यसै सन्दर्भमा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल ‘गौरव’ सँग गरिएको कुराकानीको सारसंक्षेपः

cp-gajurel

पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका महत्वपूर्ण निर्णयहरुबारे बताइदिनुस् न ।

पार्टी केन्द्रीय समितिको यो बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । जसलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ – १) गत राष्ट्रिय भेलाले पार्टी केन्द्रीय समितिलाई ९५ को संख्यामा नबढाई केन्द्रीय समितिको खाली पद पूर्ति गर्ने जिम्मा दिएको थियो । छुटेका योग्य कमरेडहरुलाई थप्न केही सिट खाली राखी अन्य सिट पूरा गरिएको छ । २) पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा बनाउने राष्ट्रिय भेलाले दिएको जिम्मेवारी पूरा गरिएको छ ।

संघर्ष र सत्ताको साधनका रुपमा यो मोर्चाको गठन गरिएको हो । आगामी भाद्र महिनामा राष्ट्रिय भेला गरी यसलाई पूर्णता दिइने छ । ३) संगठन विस्तार र सुदृढीकरणको ठोस योजना तयार पारिएको छ । ४) जबस र मोर्चाहरुको भेला, सम्मेलन आदि तय गरिएको छ । (५) यी सबै कार्य सम्पन्न गर्दै राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाका विषयलाई लिएर संघर्ष संचालन गर्ने योजना पनि पारित गरिएकोे छ ।

पार्टीमा आएको पछिल्लो विभाजनपछि गरिएको राष्ट्रिय भेलादेखि अहिलेसम्मको पार्टी जीवनको स्थितिलाई बैठकले कसरी मूल्यांकन गरेको छ ?

हाम्रो पार्टी केन्द्रबाट तुलनात्मकरुपमा अलि बढी र तल्ला समितिबाट एकदमै कम साथीहरु तत्कालिन एकीकृत माओवादीमा विलय हुन पुगे । त्यस घटनालाई हाम्रो पार्टीले दुई कोणबाट मूल्यांकन गरेको छ –पहिलो, यो फूटले पार्टीलाई केही मात्रामा कमजोर बनाउने काम गरेको छ ।

दोस्रो, माओवादी पार्टी आफैं फुटेर सकिने भयो भन्ने प्रचारका कारण पार्टी कार्यकर्ता र समर्थक वीचमा निरासा, अविश्वास र निस्कृयता बढेको छ । तेस्रो, यो फूटको सकारात्मक प्रभाव के परेको छ भने पार्टीमा भएका गलत तत्वहरुबाट पार्टी सफा भएको छ र पार्टीमा शुद्धिकरण भएको छ ।

क्रान्तिकारी माओवादीमाथि अहिले दायाँ र बायाँ दुवै कोणबाट वैचारिक, राजनीतिक आक्रमणहरु भइरहेका छन् । त्यसको प्रतिरक्षा र प्रतिरोध कसरी गर्न सकिएला ?

क्रान्तिकारी माओवादीमाथि दायाँ र बायाँ दुवै कोणबाट वैचारिक, राजनीतिक आक्रमण भैरहेका छन् । मुख्यतः दायाँ कोणबाट र वाम खोल ओढेको दायाँ कोणबाट यस प्रकारको आक्रमण भैरहेको छ । विश्व कम्युनिष्ट आन्दोलनमाथि ध्यान दिँदा यस प्रकारको आक्रमण संसारका सबै सच्चा कम्युनिष्ट पार्टीहरु माथि हुँदै आउने गरेको पाइन्छ ।

हाम्रो पार्टीले यसको प्रतिरक्षा र प्रतिरोध गर्नका लागि दुई तरिका अपनाउने योजना बनाएको छ । पहिलो, उपरोक्त ती प्रवृत्तीको जनविरोधी र क्रान्तिविरोधी चरित्रका बिरुद्ध वैचारिक, राजनीतिक संघर्ष संचालन गर्ने । दोस्रो, राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाका विषयलाई लिएर संघर्ष गर्दै पार्टीलाई जनतामा स्थापित गराउने । हामीलाई विश्वास छ, हामी यी दुई गलत प्रवृत्तिलाई चाँडै नै परास्त गर्न सफल हुनेछौं ।

संयुक्त मोर्चा समिति निर्माणको आवश्यकतासम्बन्धी पार्टीको अवधारणाबारे प्रष्ट पारिदिनुस् न ।

अर्ध वा नवऔपनिवेशिक र अर्धसामन्ती राष्ट्रमा क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण एउटा अनिवार्य आवश्यकता हो । यस प्रकारको संयुक्त मोर्चाविना क्रान्तिको पक्षमा लाखौं जनतालाई गोलबन्द गर्न र क्रान्तिमा संलग्न गराउन सम्भव हुँदैन । मुख्य दुश्मनलाई एक्लो पारेर मित्र शक्तिहरुलाई संगठित गर्न र अन्य शक्तिलाई तटस्थ राख्नका लागि पनि संयुक्त मोर्चाको ठूलो महत्व छ ।

जनताका दैनिक जीवनमा प्रभाव पार्ने विषयहरुमा जनतालाई साथ दिन, उनीहरु माथि आएका समस्या समाधानका निमित्त संघर्ष गर्ने माध्यमका रुपमा काम गर्न संयुक्त मोर्चा आवश्यक पर्दछ । सही विचार र नीति भएको कम्युनिष्ट पार्टी, त्यस प्रकारको पार्टीको नेतृत्वमा सेना र संयुक्त मोर्चा, यी तीन चिजलाई माओले क्रान्तिका तीन साधन र जादुगरी हतियार भन्नुभएको छ । नेपालको नयाँ जनवादी क्रान्ति पूरा हुने दिशामा अघि बढिरहेको अवस्थामा यसलाई बीचैमा तुहाउने काम त्यतिखेर कम्युनिष्ट पार्टीको नेतृत्व हत्याउन सफल भएकाहरुले नै गरे । परिणामस्वरुप क्रान्ति असफल भयो, पराजित भयो ।

त्यो क्रान्तिलाई पूर्णता दिन, नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा, जनगणतन्त्रको स्थापना र जनताका जनजीवीकाका समस्या समाधान गर्ने संघर्षलाई नेतृत्व दिन यस प्रकारको क्रान्तिकारी संयुक्त मोर्चा आवश्यक छ । यस प्रकारको संयुक्त मोर्चा त्यसबेला मात्र क्रान्तिकारी हुन्छ, जतिबेला यसको नेतृत्व सच्चा कम्युनिष्ट पार्टीले गर्दछ । नेपालको सन्दर्भमा, नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा बन्ने संयुक्त मोर्चा नै सच्चा अर्थमा क्रान्तिकारी संयुक्त मोर्चा हुन सक्दछ । अहिले बन्न लागेको संयुक्त मोर्चा नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा बन्ने क्रान्तिकारी संयुक्त मोर्चा हो ।

कतिपय मिडियाले यसलाई चुनावी मोर्चाको अर्थमा पनि टिप्पणी गरेका छन् नि ?

विगतमा भएका संविधान सभाका चुनावहरुमध्ये पहिलो संविधान सभाको निर्वाचनमा अविभाजित नेकपा (माओवादी) पार्टीले निर्वाचनमा भाग लिएर देशको सबैभन्दा ठूलो पार्टीका रुपमा निर्वाचित भएको थियो । न्यायाधिशको नेतृत्वमा सरकार बनाएर प्रायोजित गरिएको कथित “दोस्रो निर्वाचन”मा हाम्रो पार्टीले सक्रिय बहिष्कार गरेको थियो र नवसंशोधनवादी एकीकृत माओवादीले चुनावमा भाग लिएर संसदमा तेस्रो दलमा घटुवा भएको थियो ।

उक्त निर्वाचनले माओवादी आन्दोलनका क्रान्तिकारी र पश्चगामी धार छुट्टयाइदिएको थियो र दुई अलग धारका रुपमा स्थापित भएका छन् । अब संविधान सभाको निर्वाचन सहजै हुने अवस्था छैन । पश्चगामी राजनीतिक संविधानले नेपाल अब संसदीय व्यवस्थामा जाने घोषणा गरिसकेको छ । यो अवस्थामा पार्टीले निर्वाचनमा भाग लिने वा वहिष्कार गर्ने ? भन्ने प्रश्नबारे सर्वत्र चासो छ । यसको जवाफ हालै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी)को राष्ट्रिय भेलाले ठोस रुपमा दिएको छ ।

पुँजीवादी संसदीय व्यवस्थामा भएको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषय क्रान्तिकारी कम्युनिष्ट पार्टीका लागि कार्यनीतिको विषय हो । आवश्यकता अनुसार भाग लिन पनि सकिन्छ र वहिष्कार गर्न पनि सकिन्छ । यतिखेर यो पश्चगामी संविधानलाई लागु गर्ने कामको सुरुवात् नेपालमा संसद र स्थानीय निकायको निर्वाचन सम्पन्न गरेर गर्ने भन्ने पश्चगामी पार्टीहरुको योजना छ । यसका निमित्त मधेश केन्द्रीत दलको सहयोग चाहिन्छ । उनीहरु आधा त समर्थनमा गैसकेका छन् ।

अब सरकारमा गएपछि चाहिँ तिनीहरु समेत भएर चुनावमा जाने संभावना बढ्दछ । फेरि पनि मुख्य कुरा के हो भने भारतले बनाइदिएको प्रचण्ड नेतृत्वको सरकारले चुनाव गराउने कुरा भारतले भने अनुसार संविधानमा संशोधन गरेर संविधान तयार पार्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ । त्यसैले निर्धारित समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरा निश्चित भै सकेको छैन । निर्वाचन हुने नै भयो भने निर्वाचन आयोगले दल दर्ताको सूचना जारी गर्दछ ।

हाम्रो राष्ट्रिय भेलाको निर्णय के छ भने यदि निर्वाचनलाई उपयोग गर्ने अवस्था आयो भने पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छैन । यही संयुक्त मोर्चालाई दर्ता गरिने छ र यसैको मार्फत् नै निर्वाचनको उपयोग गरिने छ । त्यसकारण, यो मोर्चालाई चुनावी मोर्चाका रुपमा टिप्पणी गरिएको हुन सक्दछ । तर, यो मोर्चाको नाम केवल ‘चुनावी मोर्चा‘ मात्र राख्नु यसकारणले पनि उपयुक्त छैन कि यसले सँधैभरि चुनावलाई उपयोग मात्र पनि गरिरहँदैन । कतिपय अवस्थामा चुनावको वहिष्कार गर्नुपर्ने अवस्था आयो भने यसले वहिष्कार पनि गर्न सक्दछ । यसका साथै यो मोर्चा त संघर्ष र सत्ता दुवैको साधन हो । त्यसकारण यो चुनावी मोर्चा मात्र होइन ।

संयुक्त मोर्चाको संगठनात्मक संरचना कस्तो हुन्छ ? र त्यसको अभ्यास चाहिं कसरी गरिन्छ ?

यसका समग्र पक्षका विषयमा त आगामी भाद्र महिनामा सम्पन्न हुन गइरहेको यसको प्रथम राष्ट्रिय भेलाले गर्नेछ । तथापि, यसको संगठनात्मक संरचनाको विषयमा चर्चा गर्दा यो संघर्षको साधन र सत्ताको साधन हो भन्ने मान्यतालाई आधार मानिने छ । जहाँ सत्ताका विविधरुपहरु विद्यमान हुन्छन् त्यहाँ यो मोर्चाको पनि संगठन हुनु आवश्यक हुन्छ ।

त्यसकारण, स्वभावैले यसको संरचना राष्ट्रिय स्तर, राज्य वा प्रदेश स्तर, जिल्ला, गाउँ विकास, गाउँ पालिका वा नगर पालिका र त्यसका वडासम्म पनि हुनु आवश्यक छ । यसको अभ्यास गर्दा जनताका आवश्यकता पुरा गर्न, जनतामा परेका अन्यायका विरुद्ध, संघर्ष गर्नका लागि तथा निर्वाचनलाई उपयोग गर्दा तल्लो भन्दा तल्लो इकाईसम्म पनि गठन गर्नका लागि यसको अभ्यास गरिन्छ । सबै तहमा प्रतिकृयावादी सत्ताको समानान्तर रुपमा यसले काम गर्दछ ।

यो एउटा संघर्षको साधन भएको हुनाले र विद्यमान् प्रतिकृयावादी सत्ताले जनतामा गरेका उत्पीडनको विरोधमा तलैसम्म संघर्ष संचालन गर्नुपर्ने भएकोले यसको संरचना तलैसम्म निर्माण गर्ने र यसलाई सही अर्थमा संघर्षको साधन र सत्ताको साधनका रुपमा अघि बढाउने प्रयत्न गरिने छ ।

जनयुद्धकालमा तत्कालीन नेकपा (माओवादी)ले बनाएको संयुक्त क्रान्तिकारी जनपरिषद् र यसमा के भिन्नता छ ?

जनयुद्धका दौरानमा तत्कालीन नेकपा (माओवादी)ले बनाएको संयुक्त क्रान्तिकारी परिषद्को र यो नयाँ क्रान्तिकारी मोर्चाको आधारभूत नीतिमा समानता छ । यसको अर्थ यो मोर्चा संयुक्त क्रान्तिकारी परिषद्को फोटोकपि अथवा त्यसैको निरन्तरता चाहिँ होइन । अन्तर के कुरामा छ भने त्यतिबेला पार्टीको नेतृत्वमा जनसेना पनि थियो ।

क्रान्तिकारी परिषद्ले मुख्यतः सत्ताको काम गरेको थियो । त्यो सत्ताको रक्षा जनमुक्ति सेनाले गरेको थियो । तर अहिले पार्टीसँग सेना छैन । मोर्चाले भर्खरै मात्र काम सुरु गर्दैछ । यो अवस्थामा यतिखेर मोर्चा सत्ताको साधन नभएर मुख्यतः संघर्षको साधन बन्ने छ । यदि सत्ताको साधन बनिहाल्यो भने पनि त्यो पहिलेको जस्तो जनसेनाले रक्षा गरेको सत्ता हुने छैन ।

देशको ठूलो हिस्सामा जनसरकारहरु निर्माण भैसकेका र २५ हजारभन्दा बढी जनसेना सक्रिय रुपमा काम गरिरहेको अवस्थामा देशमा महान जनयुद्ध चलिरहेको समयमा जनतामा पार्टी र क्रान्तिप्रति जुन विश्वास थियो, जुन उत्साह थियो त्यो यतिखेर छैन । परिस्थितिमा आएको यो परिवर्तनकै सापेक्षतामा मोर्चाका गतिविधि पनि अघि बढ्दै जानेछन् ।

यो मोर्चाले नयाँ जनवादी क्रान्तिका पक्षधर अन्य पार्टीसँग कस्तो सम्बन्ध राख्छ र एजेण्डा मिल्नेहरुसँग एकता वा सहकार्यको सम्भावना कस्तो देख्नुहुन्छ ?

यो मोर्चाले नयाँ जनवादी क्रान्तिका पक्षधरसँग मित्रतापूर्ण सम्बन्ध राख्ने छ, उनीहरुलाई मित्रशक्तिका रुपमा लिइनेछ र उनीहरुसँग नयाँ जनवादी क्रान्तिका लागि सहकार्य गर्ने नीति लिइने छ । यदि संभव छ भने उनीहरुसँग नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यमा दीर्घकालिन प्रकारको संयुक्त मोर्चा निर्माण गर्ने प्रयत्न पनि गरिने छ । मुख्य कुरा के हो भने उनीहरु वास्तवमै नयाँ जनवादी क्रान्तिका लागि इमान्दारीपूर्वक लाग्ने शक्ति हुनु पर्दछ ।

यसका साथै नयाँ जनवादी क्रान्तिका विषयमा स्पष्ट नभएका वा नयाँ जनवादी क्रान्तिका लागि तयार भइनसकेका शक्तिहरु र व्यक्तित्वहरुसँग पनि यो प्रतिकृयावादी व्यवस्थाका विरुद्ध संघर्ष गर्न, जनताका समस्या समाधानका लागि संघर्ष गर्न र तत्कालका लागि मिल्ने मुद्दाहरुमा एक साथ अघि बढ्नका लागि कार्यगत एकता गर्न सकिने छ । क्रान्तिकारी मोर्चाको नीति धेरै सँग मित्रता र सहकार्य गर्ने र दुश्मन शक्तिलाई एक्ल्याएर यसमाथि चोटिलो प्रहार गर्ने नीति हुनेछ ।

जहाँसम्म अहिले त्यसप्रकारको संयुक्त मोर्चा, कार्यगत एकता वा सहकार्यको कुरा हो, नेकपा (क्रान्तिकारी माओवादी) बाहेक त्यस प्रकारको शक्ति देखापरेको छैन । जसले नयाँ जनवादी क्रान्तिको कुरा गरिरहेका छन्, तिनीहरुका विचार, नीति र आचरणमा समस्याहरु देखापरेका छन् । तत्कालै यसको स्वरुप नेकपा (क्रान्तिकारी माओवादी)ले नेतृत्व गरेका विभिन्न जनवर्गीय संगठन र मोर्चाहरुको सहभागिता नै मुख्य हुनेछ । कामका दौरानमा यो संयुक्त मोर्चा व्यापक बन्ने पर्याप्त आधारहरु छन् ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा संघर्षलाई कसरी संगठित गर्छ मोर्चाले ? र संघर्षका कस्ता कस्ता रुपहरुलाई यसले प्रयोग गर्छ ?

यतिखेर हाम्रो पार्टी, नेकपा(क्रातिकारी माओवादी) नयाँ जनवादी क्रान्तिको तयारीका कामलाई प्राथमिकतामा राखेर, समग्र योजना निर्माण गरिरहेको छ । पार्टीले संगठन विस्तार, सुदृढिकरण, जनसम्बन्धलाई व्यापक विस्तार गर्ने कामलाई प्राथमिक स्थानमा राखेको छ । यी सबै काम पार्टीले संघर्षको तयारीको निमित्त हो भन्ने स्पष्ट पारेको छ ।

सामान्यतया नयाँ जनवादी क्रान्तिको तयारी र यो क्रान्ति पूरा नभएसम्म पनि राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाका मुद्दाहरुले नै प्रमुखता पाउँदछन् । यी समस्या समाधानका लागि गरिने संघर्षले नै यतिखेर मुख्य भूमिका खेलिरहेका हुन्छन् । त्यसकारण, मोर्चाले पनि यिनै मुद्दालाई प्राथमिकतामा राख्ने कुरा स्वभाविक हो । यो संघर्षमा आम जनतालाई वा जनताको ठूलो हिस्सालाई सहभागि गराउने मोर्चाको उद्देश्य रहन्छ ।

जहाँसम्म संघर्षका विशिष्ट रुपहरुको प्रयोगको कुरा हो, अहिलेलाई ती कानूनी र वैधानिक नै हुन्छन् । तर, वैधानिक र अवैधानिकका वीचमा कुनै चीनियाँ पर्खाल हुँदैन । वैधानिक संघर्षमाथि यदि प्रतिकृयावादी सत्ताले हस्तक्षेप ग¥यो भने त्यो पनि अवैधानिक जस्तो बन्न पुग्दछ । हाम्रो तर्फबाट वैधानिक संघर्षमा नै जोड दिने हो, तर संघर्ष कै क्रममा सत्ता पक्षको हरकतका कारण आउन सक्ने चुनौतिको सामना गर्नका लागि तयारी चाहिँ गरेरै जानु पर्दछ ।

नेकपा (क्रान्तिकारी माओवादी) नेपाली राजनीतिको वैकल्पिक शक्तिको हैसियतमा अगाडि आउने प्रयत्नमा छ । नेपाली राजनीतिका पछिल्ला घटनाक्रमलाई पार्टीले कसरी हेरेको छ ?

विचारका हिसावले, राजनीतिक दिशाका हिसावले, आचरणका हिसावले नेकपा (क्रान्तिकारी माओवादी) नेपालको वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखा परिसकेको छ । अहिलेसम्म नेपालमा भएका राजनीतिक शक्तिमध्ये अन्य सबै एकातिर र यो पार्टी एकातिर भएको अवस्था छ । त्यसैले यो प्रतिकृयावादी सत्ता त यसको विरुद्ध लागिरहेको छ नै । अन्य पार्टीहरु पनि यसको विपक्षमा छन् ।

यसलाई सकेसम्म जनताका बीचमा परिचित हुन र स्थापित हुन नदिने प्रयासमा लागिरहेका छन् । त्यसैले शक्तिका हिसावले अहिले यो पार्टी वैकल्पिक शक्ति बनिसकेको भने छैन । पटक–पटक फूट व्यहोर्नु परेको र चौतर्फी हमलाको सामना गर्नुपरेका कारण चुनौतीहरु धेरै छन् । तर, यो कुरा पक्का हो कि यही पार्टी नेपालको वैकल्पिक क्रान्तिकारी शक्तिका रुपमा चाँडै नै स्थापित हुनेछ र यसले प्रतिकृयावादी शक्तिलाई विस्थापित गर्नेछ ।

मधेसी मोर्चा तथा संघीय गठबन्धनले प्रचण्ड सरकारसँग गरेको ३ बुँदे सहमतिले के मधेसी र आदिवासी जनजातिहरुको वास्तविक अधिकार प्राप्त हुन सक्छ ? अर्थात् संविधान संशोधनले नेपालमा विद्यमान राजनीतिक संकटको समाधान दिनसक्छ ?

मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरुले जुन तीन बुँदे सहमति गरेका छन्, त्यसमा उनीहरुका आफ्ना प्रमुख माग सामेल छैनन् । त्यत्तिका लागि त केपी ओली नै तयार भैसकेका थिए । तर उनीहरुले ओलीसँग वार्ता गरेनन् । अहिले आएर तिनै तीन बुँदे सहमतिका आधारमा सरकारमा जान समेत लालायित भएर बसेका छन् । यसो गरेर उनीहरुले प्रचण्डकै बाटो समातेका छन् ।

जसरी प्रचण्डले माओवादी आन्दोलनका मागहरुप्रति विश्वासघात गरेर त्यसको मूल्यमा प्रधानमन्त्री पद लिने सौदावाजी गरे, त्यही काम मधेसी मोर्चा र संघीय गठबन्धनका नेताहरुले गर्दैछन् । यसले मधेसी आन्दोलन र संघीय गठबन्धनमा विभाजन ल्याएको छ । वास्तविकता त यो हो कि उनीहरुलाई भारतका एजेण्डा कसरी पूरा गर्ने हो भन्नेमा वढी चिन्ता छ, मधेसी र आदिवासी जनजातिहरुको अधिकारसँग होइन ।

हाम्रो विचारमा जनगणतन्त्र नेपालको संविधानबाट मात्र मधेसी, आदिवासी जनजातिहरुको माग सम्बोधन हुन सक्छ । यही लोकतान्त्रिक गणतन्त्रले उनीहरुका मागलाई सम्बोधन गर्न सक्दैन । त्यसकारण, संविधानको सम्बोधनको नौटंकीले नेपालको विद्यमान राजनीतिक संकटको समाधान गर्न सक्दैन । यो कुरा निश्चित हो ।

पछिल्ला बर्षहरुमा राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनतामा अभूतपूर्व जागरण पैदा भएको देखिन्छ । सप्तरीको तिलाठीमा त्यहाँका बासिन्दाले भारतीय हस्तक्षेपको सशक्त प्रतिरोध गरे । राष्ट्रियताको पक्षमा देखिएको यो लहरलाई क्रान्तिकारी माओवादीले कसरी लिएको छ ?

यो कुरा सत्य हो कि पछिल्ला बर्षहरुमा राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनतामा अभूतपूर्व जागरण पैदा भएको छ । यसका साथै खासगरी प्रतिकृयावादी, अवसरवादी राजनीतिक पार्टीमा राष्ट्रघात त्यसरी नै प्रकट हुने गरेको छ । देउवा–प्रचण्डमार्काको विदेशी शक्तिको दलाली गर्ने र राष्ट्रघात गर्ने गठबन्धनले त नेपालमा सत्ता संचालन नै गरिरहेको छ ।

यस प्रकारको अवस्थामा गत श्रावण १३, १४ गते सप्तरीको तिलाठीका देशभक्त नेपालीले जुन साहस र सौर्यको प्रदर्शन गरे, देशको एक एक इंच जमिनका लागि लड्ने ती महान् देशभक्तलाई त हामीले उच्च सम्मान गर्दै सलाम गरिसकेका छौं । हामीले देशभक्तिको तिलाठी मोडेललाई समर्थन गर्ने मात्र होइन, त्यसलाई देशैभरि स्थापित गर्नु पर्दछ र व्यवहार मै ऐक्यवद्धता कायम गर्नुपर्दछ ।

त्यसैगरि, नेपालको स्वास्थ क्षेत्रमा जनपक्षीय सुधारका लागि संघर्ष गरिरहेका डा.गोविन्द के.सी.ले बाढी पीडितको उपचार गर्ने स्थान तिलाठीलाई छान्नु स्वागत योग्य कुरा हो । डा. के सीजस्तै सबैले तिलाठीका जनतासँग ऐक्यवद्धताका कार्यक्रम लिएर जानु पर्दछ ।

भारतले अन्तर्राष्ट्रिय कानूनविपरीत दशगजा क्षेत्रमा एकतर्फीरुपमा बाँधेका बाँधका कारण तराई÷मधेशमा बस्ने नेपालीहरु डुवान र कटानलगायत समस्याका कारण प्रत्येकवर्ष हजारौं नागरिक विस्थापित हुनुपर्ने स्थिति पैदा भइरहेको छ । तर राज्य मौन छ । यीलगायत भारतीय हस्तक्षेपबाट मुक्ति पाउन नेपालीहरुले के के गर्न जरुरी छ ?
माथि तपाईले जुन विषय उठाउनु भएको छ, यस्ले नेपालमाथि भारत सरकारको विस्तारवादी हस्तक्षेपलाई स्पष्ट पार्दछ । नेपाली जनताको दैनिक जीवनलाई सिधै प्रभाव पार्ने यी हस्तक्षेपबाट नेपाली जनता र नेपाल राष्ट्रलाई जोगाउने प्रमुख जिम्मेवारी त राज्यको हो । तर राज्य मौन छ । किनभने यो भारतद्वारा अप्रत्यक्षरुपमा संचालित छ ।

देउवा–प्रचण्ड गठबन्धन नेपालको इतिहास कै चर्चित राष्ट्रघाती भारतपरस्त गठबन्धन हो । भारतीय हस्तक्षेपबाट मुक्ति पाउनका लागि सबैभन्दा पहिले त आफ्नै देशमा शासन गरिरहेको भारतीय दलाल सत्ताका विरुद्धको संघर्षलाई जोडदार रुपमा अघि बढाउनु पर्दछ । यसका साथै भारतीय विस्तारवाद विरोधी अभियान र संघर्षमा पनि तीब्रता ल्याउनु पर्दछ ।

यसमा एउटा महत्वपूर्ण थप कुरा के हो भने स्वयम् भारतभित्रै भारतीय विस्तारवादका विरुद्ध संघर्ष गर्ने क्रान्तिकारी शक्तिहरु छन्, उनीहरुसँगको सम्बन्ध विकासमा जोड लगाउनु पर्दछ । हाम्रो पार्टी यी सबै काममा पहल लिने प्रयत्न गरिरहेको छ ।

अन्तमा, केही भन्न चाहनु हुन्छ कि ?

यतिखेर पश्चगमन र प्रतिक्रान्तिका पक्षमा हावा सृष्टि गर्न संस्थापन पक्षको मिडियाले ठूलो भूमिका खेलिरहेको छ । नेपालको राष्ट्रियता, जनगणतन्त्र र जनजीविकाको पक्षमा र यसका निमित्त संघर्ष गर्ने क्रान्तिकारी पार्टी वा शक्तिका पक्षमा उभिने मिडियाको खडेरी परेको देखिएको छ । तपाईहरुले यो खडेरीको बेलामा पनि देश र जनताको पक्षमा, क्रान्तिको पक्षमा उभिने जुन जमर्को गर्नुभएको छ, यसका निमित्त म तपाईंहरुलाई बधाई र शुभकामना दिन चाहन्छु । 

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!