प्रकाण्डको गिरफ्तारी र प्रचण्ड–बादलको प्रतिक्रिया

ठ्याम्मै एउटै भाषाशैलीमा वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तथा निवर्तमान माओवादी केन्द्रका अध्यक्ष एवम् नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षमण्डलका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले गिरफ्तार गरेपछि ‘अपराधी’ करार गरे । नेकपालाई ‘अराजनीतिक’ र ‘आतङ्कवाद’ उन्मुख रहेको ‘ऐलान’ गरे । प्रकाण्ड र उनको पार्टीको अपराधबारे भनियो, ‘चन्दाका नाममा करोडौँ रूपैयाँ असुल गरियो ।’

समयको गजब संजोग के भने प्रकाण्ड प्रवक्ता रहेको पार्टीको नाम नेकपा, प्रचण्ड–बादलहरूको पार्टी पनि नेकपा । प्रकाण्ड र प्रचण्ड–बादलहरू विगत जनयुद्धका सहयात्री, सहयोद्धा । प्रकाण्ड अझै जनयुद्धका मूल्यको निन्तरतामा, प्रचण्ड–बादल त्यसको विपरीत यात्रामा । हिजो प्रचण्ड–बादलहरूको नेतृत्वमा आज प्रकाण्डहरूको नेतृत्वमा संसद्वादको विरोध र क्रान्तिकारी आन्दोलनको पक्षपोषण । हिजो प्रचण्ड–बादलहरूको नेतृत्वमा थियो ‘चन्दा असुली’, आज प्रकाण्डहरूको नेतृत्वमा । हिजो प्रचण्ड–बादलहरू क्रान्ति र नयाँ सत्ताका पक्षमा, आज प्रकाण्डहरू । समयको यो सानो चक्रमा एउटा फरकचाहिँ के भने हिजो क्रान्तिकारीहरू र क्रान्तिकारी आन्दोलन दमनको ठाउँमा काङ्ग्रेस–एमालेहरू थिए, आज प्रचण्ड–बादलहरू थपिए ।

उपर्युक्त संजोगले मानिसहरूको मनमा तरहतरहका प्रतिक्रियाहरू हुनु स्वाभाविक छ । सामाजिक सञ्जालहरूमा राजनीतिक आलेखहरूमा, विज्ञप्ति र अन्य विविध सन्दर्भहरूमा यो घटनाका बारे विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । यो आलेखमा प्रचण्ड–बादलहरूले गरेको प्रतिक्रियाबारे ‘प्रतिक्रिया’ समेट्ने प्रयास गरिनेछ । प्रकाण्ड र प्रचण्ड–बादलहरू यो विपरीत ध्रुवीय यात्रामा लागेको धेरै लामो समय भएको छैन । २०६८ मङ्सिरमा सम्पन्न पालुङटार विस्तारित बैठकको निष्कर्षलाई बादलले एउटा सूत्रवाक्य बनाएका थिए– विद्रोहको विकल्प छैन, एकताको विकल्प छैन, रूपान्तरणको विकल्प छैन । त्यो बेला केन्द्रमा किरण–विप्लव, प्रचण्ड र बाबुराम गरी तीन चिरामा पार्टी विभाजित भएको थियो । सबैको मनमा अब पार्टी के हुने होला ? क्रान्तिको अधुरो कार्य पूरा होला कि नहोला ? यी यस्ता थुप्रै प्रश्नहरूले कार्यकर्ताहरू चिन्तित थिए । त्यो बैठकमा महासचिवको हैसियतले बादलको संश्लेषण– ‘विद्रोह, एकता र रूपान्तरण !’ सम्पूर्ण पार्टीपङ्क्तिमा उद्वेलनाको छाल बनेको थियो । साँच्चै त्यो वाक्यले पैदा गर्ने उद्वेलना, नेताहरूको हकमा के भयो, उनैले जानून् तर अधिकांश कार्यकर्ताको जिब्रोमै झुन्डिएको थियो, त्यो सूत्र वाक्य । माओवादी आन्दोलन र पार्टीको आन्तरिक जीवनमा सजीव नारा बनेको थियो ।

पालुङटारले किरण–विप्लव–प्रकाण्डहरू र प्रचण्ड–बादलहरूलाई एकै ठाउँमा घचेटेको थियो । त्यो बेला बरु बाबुराम भट्टराई फरक धारमा उभिएका थिए । अर्को भाषामा भन्ने हो भने बाबुरामको पङ्क्तिबाट प्रचण्ड–बादलहरू किरण–विप्लव–प्रकाण्डहरूको कित्तामा बदली भएका थिए । अझ बादल अर्थात् मिस्टर ‘क्लाउड’ (नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति रुक्माङ्गत कटुवालको शब्द सापट लिएकोमा क्षमा चाहन्छु) त २०७० मा आयोजित संविधानसभाको दोस्रो निर्वाचनसम्मै प्रकाण्डहरूको नेतृत्व गर्दै निर्वाचन बहिष्कारको उद्घोषसहित मतपेटिकामा घन उज्याउँदै थिए । निर्वाचन बहिष्कारको त्यो निर्णय लिन पोखरामा आयोजित केन्द्रीय समितिको बैठकमा बादलको संश्लेषण थियो, ‘विद्रोह, सन्तुलन र जनयुद्ध ।’ त्यसलाई व्याख्या गर्दै भनिएको थियो पहिलो सम्भावना विद्रोह हुनेछ । विद्रोह भएन भने सन्तुलन अर्थात् वार्ता हुनेछ र त्यो पनि भएन भने जनयुद्ध हुनेछ ।

इतिहासको दोहोर्याई ‘भद्दा मजाक’ वा ‘दुःखान्त अन्त्य’ को नियमअनुसार नै होला प्रचण्ड–बादलीय यो अभिव्यक्ति । परिस्थितिको कठोरतालाई आत्मसात गर्दै प्रचण्ड–बादल कमरेडहरूलाई प्रश्न गर्न चाहन्छु— चन्दा उठाउनु अपराध हो भने छातीमा हात राखेर भन्नुस् कमरेडहरू, नेपालको राजनीतिक इतिहासमा सायद तपाईंहरू नै सबभन्दा धेरै चन्दा उठाउने नेताहरूमा पर्नुहुन्छ होला । दस वर्षको युद्ध अवधिमा करोडौँ चन्दा उठ्यो होला । आफूलाई सबैभन्दा पुरानो र ‘प्रजातान्त्रिक’ पार्टी भन्ने नेपाली काङ्ग्रेसले के बिनाचन्दा तीनतीनपटक हतियार उठाएको थियो ? झापा आन्दोलनको नामले चिनिएको सशस्त्र सङ्घर्षमा सहभागी हाल प्रधानमन्त्रीको आसनमा रहेका केपी ओलीहरूले चन्दा उठाएका थिएनन् ?

कुन कारणले विप्लव नेतृत्वको नेकपा अराजनीतिक र आपराधिक गतिविधितिर उन्मुख ? के त्यही चन्दा उठाएकै कारणले वा अरू कुनै कारण पनि छन् ? हो, कमरेडहरू हाम्रो दृढ मत के छ भने– क्रान्तिको उद्देश्य पूरा भएको छैन । जनयुद्धको उद्देश्य चौबाटोमै छोडिएको छ । सहिद–बेपत्ता–घाइते कमरेडहरूको सपना पूरा भएको छैन । जनताका आशा र अपेक्षाहरू अलपत्र छन् । राष्ट्र स्वाधीन भएकै छैन । यी तपाईंहरूले नै सिकाएका कुराहरू हुन् । यथार्थ कुरा हुन् । तपाईंहरूले नै जगाइदिएका तृष्णाहरू हुन् ! के यही कुरा आज अर्कोले भन्दा त्यो अपराध भयो ? कृपया तपाईंहरू नै भन्नुस्– आज लाखौँ नेपाली जनताका सन्तानहरूलाई विदेशीका नोकर बनाउन हामीले जनयुद्ध लडेका थियौँ ? के एकजना ज्ञानेन्द्रको ठाउँमा केही दर्जन विनोद चौधरी र सुमार्गीहरू करोडपतिको पङ्क्तिमा थप्न जनयुद्ध लडिएको थियो ? जनमुक्ति सेनाका हजारौँ योद्धाहरू विदेश र स्वदेशका गल्लीहरूमा भोको पेट लिएर डुल्दै हिँडिरहेको दुर्दशा खप्न जनयुद्ध लडिएको थियो ? अझ त्यसमाथि थपिएको छ जनयुद्ध लडेको सामाजिक अपमान । तपाईंहरूले नै जनयुद्धको बेला चन्दा उठाउन आदेश दिएर, रसिद दिएर पठाएका कार्यकर्ताहरूलाई जनताले आज पनि घेरा हालिरहेका छन् । ठूल्ठूला कार्यक्रमको बेला हराएका भाँडाकँुडा र दरी–पाखीहरू मागिरहेका छन् । के त्यसका बारेमा तपाईंका प्रहरीहरूले कहिल्यै सूचना दिएनन् ? जनयुद्धताका जनसत्ताको रोहवरमा गरिएका अन्तरजातीय विवाहहरू धमाधम बिछोड भएका सूचना कसैले दिएका छैनन् ? तपाईंहरूको आदेशमा कब्जा गरेको जमिनमा बसाइएका गरिब किसानहरू जमिनदारले पुलिस लगाएर लखेटेका छन् । त्यसमा तपाईंहरूकै समूहका केही मान्छेहरू दलाल भएर जनता चुट्न दिनदहाडै खटिएका छन्, त्यसको खबर त पक्कै होला नै ? शिक्षा र स्वास्थ्य गरिब जनताको होइन, आज पनि धनीहरूकै भएको छ । महँगी, घुस, भ्रष्टाचार, दलाली, अभाव त्यसले पनि नपुगेर तपार्इंको राज्यले थोपरेको कर तिर्न नसकेर जनता जग्गा धितोमा राखेर कर तिर्न बाध्य छन् !

प्रिय कमरेडहरू, तपाईंहरू अब जनताको घेरामा हुनुहुन्न । ती सिकुटे अभागी जनसेना र कार्यकर्ताहरूको घेरामा पनि हुनुहुन्न जसले ‘हाम्रो सुप्रिम कमान्डरलाई नदेखेरै मर्ने भइयो’ भन्दै जीवन बलिदान गरेका थिए । जनताको घर आँगनमा पुग्ने ‘तुच्छ’ काम तपाईंहरूको दिमागले ‘डिलिट’ गरिसक्यो । कतै ‘रिसाइकल बिन’ मा केही कुरा बाँकी छ कि ? कृपया हेर्ने कष्ट गरिदिनुप¥यो । जनताले रक्सी खाँदा बङ्गारा फुत्किने गरी बजाउने कार्यकर्ताले लुकाइलुकाई तपाईंहरूलाई रक्सी बोकेको, जनसेना र तल्लो तहका कार्यकर्ताहरूले गाई, भैँसी र सुँगुरको मासु खाँदा तपाईंहरूलाई सके खसी, नभए कुखुराको भाले अनिवार्य पकाउने कार्यकर्ताहरू, जनता र कार्यकर्ताहरू झुपडीमा बसेर ‘सर्वहारा वर्गको हेडक्वार्टर’ लाई ढुङ्गामाटोकै भए पनि पक्की घर खोजेर अनि त्यहाँ भित्तामा चटक्क सुकोमल, सफा र उज्याला कपडाहरूले बेरेको फायल कतै खुल्छ कि ? कमरेडहरू त्यो सब क्रान्तिका लागि समर्पण थियो ! त्यसमा साँच्चै असीम विश्वास र माया थियो । त्यहाँ कुनै रिस, द्वेष छँदै थिएन । बडो गौरवको कुरा त के हुन्थ्यो भने तपाईंहरूलाई देखेको, अझ त कहीँ हात मिलाउने अवसर जुटेछ भने त त्यो ठूलै युद्ध जितेसरहको ‘अभिमान’ हुन्थ्यो ।

प्रिय कमरेडहरू, तपाईंहरूका छोराछोरी, श्रीमती सके युद्धमा सामेल भएनन्, सामेल थिए भने पनि ती तपाईंहरूसँगै अति सुरक्षित थिए । त्यसैले नै हो उनीहरूले आफ्नो जिउका चोक्टा गोली दागेर चुँडाएको दैनिक देख्ने ‘सौभाग्य’ तपाईंहरूलाई जुरेन । सहिदको कोटा त अलि टाढाकै कुरा भयो तर उता प्रकाण्डको घरबाट त दुईजना भाइ सहिद भएका छन्, त्यो तपाईंहरूकै आदेशको शिरोपर गरेर । युद्धमैदानमा लड्दालड्दै गोली खाएर ! आज विप्लव नेतृत्वको नेकपा जहाँ प्रकाण्ड र अरू थुप्रै नेता–कार्यकर्ताहरू लामबद्ध भएका छन् ती तपाईंहरूकै हिजोका सपनाहरूको अनुयायी हुन् । ती कसरी अपराधी हुन पुगे, तपाईंहरूको दृष्टिमा ? जसले क्विन्टलका क्विन्टल सुन खाएर दिसा गरेका छन्, ती अपराधी नहुने ? जसले अर्बौँअर्ब भ्रष्टाचार गरेका छन्, ती अपराधी नहुने ? जसले देशको प्राकृतिक स्रोतसाधन विदेशीलाई कौडीको मोलमा बेचेका छन् ती अपराधी नहुने ? शिक्षा र स्वास्थ्यलाई सुपर मार्केटको व्यवसाय बनाएर जनताको जिन्दगीमाथि खेलबाड गर्नेहरू अपराधी नहुने अनि त्यसको विरोध गर्ने पार्टी र तिनका नेताकार्यकर्ताहरू अपराधी हुने ? यो इतिहासको ‘भद्दा मजाक’ हो वा ‘दुःखान्त अवसान !’

बादल कमरेड ! प्रचण्ड कमरेडभन्दा अझ पछिसम्म तपाईं प्रकाण्डहरूको नेता हुनुहन्थ्यो । प्रचण्डलाई ‘लालगद्दार’, भारतीय जासुसी संस्था ‘र’ को एजेन्ट भनेको अहिले पनि हाम्रो दिमागमा बेलाबखत प्रतिध्वनित भइरहन्छ । तपाईंले पालुङटारमा भनेको विद्रोह, एकता र रूपान्तरणको नारा अहिले पनि त्यो हाम्रो मार्गदर्शन भइरहेको छ । बादल कमरेड, जुन सत्ताको तपाईं आज गृहमन्त्री हुनुहुन्छ तपाईंले खारेज गर्ने भनेको ‘सिन्डिकेट’ खारेज भयो त ? काममा लापरबाही गर्ने ठेकेदारहरू तपाईंका आदेश लत्याउँदै हिँडिरहेका छन् नि ? अनि सुनकाण्डका ठूला माछाहरू गहिरो तलाउमा आरामदायी रोमान्स गरिरहेको तपाईंलाई थाहा नै त छ ?

प्रचण्ड कमरेड ! जनमुक्ति सेनाको क्यान्टोनमेन्टलाई तेह्रौँ वर्षको ‘गुप्तबास’ अथ्र्याउने अनि ‘मुखमा चुनाव, दिमागमा विद्रोह’ भन्न सिकाउने तपाईंहरूलाई प्रश्न गर्न जरुर मन लागिरहेको छ– विप्लव नेतृत्वको नेकपा तपाईंहरूले नै सिकाउनुभएको बाटोमा हिँडिरहेको छ । त्यो पार्टी र त्यसका नेताकार्यकर्ताहरू अपराधी भए त्यही मन्त्र सिकाउने तपाईं गुरुहरूलाई के भन्ने ?

कमरेडहरू, इतिहासले सिकाएको कठोर शिक्षा यही हो कि स्टालिनलाई ‘तानाशाह’ र ‘पागल’ भन्ने पहिलो व्यक्ति उनकै सहकर्मी ख्रुस्चोभ थिए । चियाङ चिङ र चाङ चुङ चियाओहरूलाई फाँसीमा झुन्ड्याउने र जेलमा कुहाएर मार्ने अरू कोही नभएर आफ्नै सहकर्मी सहयोद्धा ‘कमरेड’ हरू नै थिए । मुटु थामेर हामीले विश्वास गर्नैपर्ने भयो, हाम्रा लागि त्यो समय अब धेरै टाढा रहेन ! समयको त्यो ‘फर्ज’ निर्बाह गर्न तपाईंहरू एउटा कित्तामा र प्रकाण्डहरू अर्को कित्तामा ! यो भयानक, रोमाञ्चकारी र पीडादायी परिदृश्यका आगामी पर्दाहरू खुल्दै जानेछन् । हामीलाई भने तपाईंहरूले नै सिकाउनुभएको हिजोकै मार्गदर्शन प्यारो लागिरहेको छ— पट्यारलाग्दो अर्थहीन लामो जिन्दगीभन्दा वीरतापूर्ण छोटो जिन्दगी कैयौँ गुणा आनन्ददायी हुन्छ !

२०७५ भदौ ६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :